{अनुभूति} २० वर्षपछिको स्थानीय निर्वाचन : दृष्य अनेक, उद्देश्य एक

काशी शर्मा 
चर्को घाम, छाताको छाँया, व्यग्र प्रतिक्षा । २० वर्षपछिको स्थानीय निकायको निर्वाचनमा अनेकन दृष्यहरु देखिए । बैसाख ३१, जेठ ३१, असार ९ र असार १४ अविश्वास थियो मनोनयनसम्म । तर असार १४ मै साइत जु¥यो भोट हाल्ने । अनि विश्वस्त बनायो दोस्रो चरणको निर्वाचनले । चर्को र गुम्म परेको गर्मीको कुनै महसुस थिएन, पसिनाले शरीर निथ्रुक्क भिज्यो, पानी प्यास त्यस्तै, तर कुनै प्रवाह थिएन मतदाताहरुमा । बस् मतदातालाई एउटै कुराको उद्देश्य थियो मतदानको ।
मतदानमा मतदाताहरुको निकै उत्साहपूर्ण सहभागिता, कानेखुसी चल्दै थिए, २० वर्षपछि अर्थात् २० वर्षपछि स्थानीय निर्वाचनमा भोट हाल्न पाइयो । मतदाताहरुमा खुसी छाएको थियो । विभिन्न खालका हल्ला, अफवाह र त्रास फैलिँदै गरेको भए पनि मतदाताहरुमा प्रतिनिधी चुन्नकै हतारो थियो । उनीहरुलाई हल्लाले कुनै फरक पारेको थिएन ।
सुरक्षा मजबुत देखिन्थ्यो, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तीन घेरामा सुरक्षाकर्मीहरु तैनाथ, सबैभन्दा बढी नेपाल प्रहरीलाई व्यवस्थापनमा खटनपटन गरिरहनु परेको थियो । तर सुरक्षाकर्मीमा पनि उत्तिकै उत्साह र उमंग थियो । मुलुकमा शान्ति, विकास र समृद्धि पनि सुरक्षाकर्मीहरुको चाहना नै हो । मतदानका क्रममा सुरक्षा व्यवस्थापनमा खलबल नहोस् भन्नेमा सुरक्षाकर्मीहरु निकै चनाखो र जिम्मेवार थिए । सुरक्षा निकायका गाडीहरु मतदान केन्द्र आसपासमा पेट्रोलिङ् समेत गरिरहेका थिए । मतदान केन्द्र शान्त र भयमुक्त थिए ।
यतिबेला रोपाईको चटारो सुरु भइसक्थ्यो । यसबर्ष त्यसको कुनै रौनक र तयारी छैन । असार पहिलो सातादेखि ने रोपाईको चटारो हुने बाँकेमा यसबर्ष असार मध्य वितिसक्दा पनि रोपाइँको कुनै छाँट छैन । निर्वाचन सरेको स¥यै, राजनीतिक दलका प्रचार लम्बिएको लम्बियै । बाँकेबासीले रोपाइको तयारी गर्न पाएनन्, किनकी उनीहरुलाई निर्वाचनको तयारीमा लाग्नुपर्ने, मतदान गर्नुपर्ने । यही मतदानको लामो पर्खाई र निर्वाचनको पुरै अन्यौलता एकाएक हट्यो, नागरिकले मतदानको लामो प्रतिक्षालाई पन्छाउँदै मतदानमा सहभागी भए ।
अरु त के कुरा ८४ बर्षिय पम्फा जिसी चर्को घामलाई चिर्दै खजुरा गाउँपालिकाको ज्ञानोदय मतदान केन्द्रमा मतदान गर्न पुगेकी थिइन् । यसले पनि मतदानलाई न बुढ्यौलीले छेक्यो, न धाम, पानी वा अन्य कुरै शारिरीक अपाङ्गताले नै छेक्यो । प्रदेश नं. र १ र ५ का केही जिल्लामा मुसलधारे पानी प¥यो, पश्चिम नेपालको गर्मी, अझ नेपालगन्जको हपहपी पोल्ने आगोको रापजस्तो गर्मीका बीचमा पनि मतदाताहरु मतदानका लागि निर्वाचन केन्द्रमा आइरिए । उत्साहपूर्वक मतदान गरे, खुशी व्यक्त गर्दै फकिए ।
कामको चटारो भए पनि प्रदेश नं. १, ५ र ७ का बहुसंख्यक श्रमजिवी नागरिक स्थानीय निर्वाचनमा सहभागी भएर मतदान गर्न आतुर देखिएका थिए । उनीहरुलाई जनप्रतिनिधी चाहिएको छ, विकास चाहिएको छ र शान्ति र समृद्धि चाहिएको छ, त्यसैले त उनीहरु आतुर भए मतदान गर्न । नागरिकले काम नगरी खान पाउने अवस्था छैन, तर पनि यो निर्वाचनमा भाग लिएर लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको कार्यान्वयन र समावेशी विकाससँग निर्वाचन जोडिएकाले यसलाई जसरी भए पनि सफल बनाउनुपर्छ भन्ने जनमत यो निर्वाचनमा देखियो ।

प्रतिक्रिया

प्रतिक्रिया