सबैको झण्डा

गाँउमा चुनाव लागेको छ । दलहरु प्रचार प्रसारमा व्यस्त छन् । दल सम्वद्ध कार्यकर्ताहरुका अनुसार, यसपटक दलहरुले टोपी, टिसर्ट र झण्डालाई मुख्य प्रचार सामाग्री बनाएका छन् । राप्ती सोनारी गाउँपालिकाको वडा नं. ६ बम्दहवा गाउँमा पनि प्राय सबै घरका धुरी र खाँबोमा दलका चुनाव चिन्ह अंकित झण्डा छन् ।
तर बम्दहवा कै फुलमती थारु (३८) को घरमा भने दृश्य फरक थियो । उनको घरको अगाडिको खाँबोमा ५ दलका फरक फरक झण्डा फरफराइरहेका थिए । फुलमती भन्छिन्, ‘बम्दहवामा सबै दलहरु पालै पालो आउँछन् । अनि झण्डा राखेर जान्छन् । मैले कसैको पनि नहटाउनु, तपाईको पनि राखिदिनु है भनेको छु ।’ ‘हाम्रो घरमा तीन भोट
छ । पाँच दलको झण्डा छ । तीन दललाई बाँडेर दिनुपर्ला’, उनले भनिन् ।

फुलमतीको घर भएको जग्गा ऐलानी हो । दलहरु सबैले नम्बरी बनाइदिन्छु भनेका छन् । बाटो पिच गर्ने कुरा गरेका छन् । कसै कसैले चाहि ५० वर्ष कै उमेरमा वृद्ध भत्ता दिन्छु समेत भन्छन् । नातीनीलाई बोकिरहेका फुलमतीका श्रीमान शेखा थारु भन्छन् ।
गाउँमा यस्ता दृश्य जहाँतहि देखिन्छन् । ‘मतदाताहरु नखुलेको संकेतका रुपमा यसलाई बुझ्नुपर्छ’, स्थानीय युवा हरेराम थारुले  नेपालगन्जन्यूजसंग भने । फुलमतीका कान्छो छोरा स्याङ्गजा गएका छन् हाइडो पावरमा मजदुरी गर्न । गाउँको स्कुलमा बर्षे विदा छ ।

बर्षे विदाको सदुपयोग गर्न फुलमतीका छोरा जस्तै कक्षा ९ र १० मा पढ्ने अधिकांश केटाहरु पोखरा र काठमाडौं तिर गएका छन् मजदुरी गर्न । हरेराम थारु थप्छन्, ‘गाउँका युवाहरुलाई रोजगारीको अवसर दिन सकियो भने पक्कै चुनावको सार्थकता रहन्छ ।’


(तस्वीर : विशाल रानामगर/नेपालगन्जन्यूज)

प्रतिक्रिया

प्रतिक्रिया