के सोंच्दै छन् ? नेपालगन्जका मतदाता

कृष्ण अधिकारी

नेपालगन्ज, पश्चिम नेपालको प्रमुख शहर ! कुनै बेला नेपाल कै प्रमुख चार शहर मध्येको गन्तीमा थियो नेपालगन्ज ।
२०१७ साल मै नगरपालिका बनिसकेको नेपालगन्ज ५४ बर्ष पछि अहिले आएर उप महानगरपालिका घोषित भएको छ । तर, उप महानगरपालिकाका लागि आवश्यक पर्ने पुर्बाधारको अबस्था भने नाजुक नै छ ।

आजको नेपालगन्जको अबस्था हेर्ने हो भने यो नेपालको प्रमुख १० शहर भित्र पनि गन्तीमा पार्न गा¥हो पर्छ । अन्य शहरको बिकास र पुर्बाधारहरुको तुलनामा नेपालगन्जको अबस्था दिनानु दिन कमजोर बन्दै गएको छ । कुनै बेला मध्य र सुदुरका २४ जिल्लाको केन्द्रको रुपमा रहेको नेपालगन्ज संघिय राजधानीका लागि प्रस्ताबित सम्म छैन । अन्तर्राष्टिूय बिमानस्थल, सुख्खा बन्दरगाह, बिशेष औद्योगिक क्षेत्र, रिङ रोड, नेपालगन्ज बिश्व बिद्यालय र हुलाकी सडक जस्ता नेपालगन्जको बिकासका आधारहरु लामो समय देखि अलपत्र छन् । तर ती योजनाहरुलाई कार्यान्यनको तहमा लैजान सक्ने आँट र क्षमता भएका कुनै नेता नेपालगन्जमा छैनन् भन्ने परिरहेको छ, जनतामा । यद्यपी अहिलेको संसदमा बाँकेका १२ जना सांसद छन् ।

यतिबेला नेपालगन्जको तापक्रम अधिकतम बिन्दुमा पुगेको छ । पछिल्ला दिनहरुमा नेपालगन्जको तापक्रम ४२ डिग्री सेन्टिग्रेटको आसपासमा छ । नेपालगन्जको तापक्रम जस्तै यहाँको चुनाब पनि चर्चामा छ ।
१७ वडामा रहेको साबिकको नगरपालिका र १० वटा गाबिसलाई समायोजन गरेर २३ वटा बडा सहितको नेपालगन्ज उप महानगरपालिका बनाइएको छ । उपमहानगरपालिकामा ६२ हजार ५ सय ३० मतदाता छन् ।

साबिकको नगरपालिका बाँकेको क्षेत्र नं ३ मा पर्थ्यो । अहिले क्षेत्र नं २ का पुरैना, पुरैनी, जयसपुर, पिप्रहवा, भवानियापुर, कारकांदो, बसुदेबपुर, मनिकापुर र हिरमिनियाको ७ नं. वडा क्षेत्र नं. २ बाट नगरमा गाभेर उपमहानगर बनाइएको हो । २०४८ साल देखि हाल सम्म भएका संसद तथा स्थानीय निर्बाचनमा लगातार दुई पटक कुनै नेताले निर्बाचन जितेका छैनन् । यसको अर्थ, कुनै एक पार्टी वा नेताले मन स्थायी रुपले जित्न सकेनन्, नेपालगन्जवासीको । त्यसैले होकी, दलहरुले पनि टेष्टेड, उनै बासी उम्मेदवारलाई अघि सारेका छन् ।

यस पटकको निर्बाचनमा नेपाली काँग्रेस, एमाले, माओबादी र राप्रपाले गत संसदिय निर्बाचनमा प्रत्यक्ष तथा समानुपातिक उम्मेदबार बनेर चुनाबी मैदानमा होमिएका तर सांसद बन्न असफल भएका नेताहरुलाई नै मेयरको उम्मेदबार बनाएका छन् । मुख्य प्रतिष्पर्धी चार वटै पार्टीले पुराना उम्मेदबारलाई नै रोजेका छन् ।
नेपाली काग्रेसबाट उम्मेदबार बनेका डा. सुरेश कुमार कनोडिया नेपाली कांग्रेसबाट समानुपातिक तर्फबाट उम्मेदबार थिए । कांग्रेसले बांकेका ५ जनालाई समानुपातिक उम्मेदबार बनाउँदा समेत कनोडियाले अवसर पाएनन्् । त्यसैको गुन तिर्न पनि कांग्रेसले कनोडियालाई मेयरको उम्मेदबार बनाएको चर्चा छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशक समेत रहेका कनोडियाले संबिधान सभाको दोस्रो निर्बाचनमा सुशिल कोइरालालाई चुनाब जिताउनका लागि ठुलै सहयोग गरेका थिए । उनी नेपालगन्जका मधेशी र मारवाडी परिबारका सदस्य हुन् । प्रत्यक्ष रुपमा राजनीतिमा सक्रिय नभए पनि डा. कनोडिया लामो समय देखि कांग्रेस मै थिए । मधेशी समुदाय र सामाजिक सेबाको क्षेत्रमा सक्रिय रहेका कारण डा. कनोडिया प्रतिस्पर्धाको अग्रपंक्तिमा छन् । नेपालगन्जमा करिब १८ हजार मधेशी समुदायका मतदाता छन ।

सुशासन, स्बच्छ, सफा हराभरा र डुबान मुक्त शहर निर्माणका आफ्नो प्रमुख एजेन्डा रहेको डा. कनोडिया बताउंछन् ।
प्रतिस्पर्धाको अग्रपंक्तिमा भएका अर्का उम्मेदवार हुन्, समशुद्दिन सिद्दिकी । एमालेका उम्मेदवार सिद्दिकी २०५४ सालमा एमालेबाट उपमेयरमा निर्बाचित नेता हुन् । उनै सिद्दिकी २०६४ सालमा बाँके क्षेत्र नं ३ बाट उम्मेदबार भई पराजित भएका थिए । नेपालगन्जका रैथाने मुस्लिम परिबारका सिद्दिकी भारोत्तलनका अन्तर्राष्ट्रिय खेलाडी हुन् । उनले साफ गेममा सन १९८३ देखि १९९५ सम्ममा नेपालका लागि ६ वटा रजत र ९ वटा कास्य गरी १५ वटा पदक जितेका थिए ।

२०४२ र २०४५मा उनी नेपालकै सबै भन्दा बलशाली ब्यक्ति योङगेष्ट म्यान अफ नेपालको उपाधी समेत जितेका थिए । दुई दशक भन्दा लामो समय देखि एमालेको सक्रिय राजनीति गर्दै आएका सिद्दिकी नेपालगन्जका मुस्लिम समुदायका प्रभाबशाली नेता हुन् । नेपालगन्जमा करिब १९ हजार मुस्लिम मतदाता छन । मुस्लिम मतदातामा भिजेका उम्मेदवार दिएको एमाले करिब १८ हजार मतदाता भएको मधेशी समुदायमा कमजोर छ । प्रमुख पार्टीबाट मेयरमा टिकट पाउने एक मात्र मुस्लिम उम्मेदबार भएका कारण उनी प्रतिस्पर्धामा अगाडि नै छन । उपमेयर भएर काम गर्दा अधुरा रहेका योजना पुरा गर्न नेपालगन्जलाई सफा, डुबान मुक्त र पश्चिम नेपालकै नमुना शहर निर्माण आफ्ना एजेन्डा रहेको सिद्दिकीले
बताए ।

राप्रपाबाट उम्मेदबार बनेका डा धबल शम्सेर राणा ०५४ मा एमालेका तर्फबाट मेयरमा निर्बाचित भएका थिए । एमालेबाट बहुमत सहित नेपालगन्ज नगरपालिकामा एक कार्यकाल बिताएका उनको ब्यक्तिगत ब्यबहार सरल छ । पार्टी संगठन भन्दा उनको व्यक्तिगत प्रभावनै बलियो हो । त्यसैले पनि यसपटक उनीहरुको नारानै छ, ‘हाम्रो होइन, राम्रोलाई चुनौं ।’

राणा पनि पछिल्लो संविधान सभा निर्वाचनमा बाँके क्षेत्र नं ३ बाट उम्मेदबार भई सुशिल कोइराला संग झिनो मतले पराजित भएका हुन् । पार्टी महामन्त्री उनी राप्रपाले मेयरमा जित्ने आशा गरेका उम्मेदबार हुन् । पहिलो चरणको निर्बाचनमा राप्रपाले देशैभर धक्का खाएका कारण राणा र उनको टिम मनौबैज्ञानिक दबाबमा छ । तरपनि नेपालगन्जमा राणा द¥हो प्रतिस्पर्धीमा हुन् । २० बर्ष पहिले मेयर हँुदा सुरु गरेका योजनाहरुलाई पुरा गर्न, नेपालगन्जलाई भ्रष्टूाचार मुक्त, सफा र हराभरा र औद्योगिक शहरको बनाउने आफ्ना एजेन्डा रहेको राणाले बताए ।

माओवादी केन्द्रका उम्मेदवार दामोदर आचार्य नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हुन । नेपालगन्जका उद्योगी ब्यबसायी क्षेत्रमा उनको राम्रो प्रभाब मानिन्छ । आचार्य पनि संविधानसभा निर्वाचनमा बाँके क्षेत्र नं ३ बाट पराजित भएका थिए । पार्टीमा सक्रिय राजनीति नगरे पनि उनी प्रतिपर्धा मै छन । आचार्यले शान्ति, सम्बृद्धि र बिकास आफ्ना प्रमुख एजेन्डा भएको बताए ।

मधेसी दलको प्रतिनिधित्व गर्दै संघीय समाजवादी फोरमबाट कमरुद्दिन राई र फोरम लोकतान्त्रिकबाट ऋतु शाहीले मेयर पदमा उम्मेदवारी दिएका छन् । नेपालगन्जका लागि १६ जना प्रमुख पदका दावेदारमा ४ जना स्वतन्त्र छन् ।
नेपालगन्ज उपमहा–नगरपालिकामा यहि नै उम्मेदबारले जित्छ भनेर आंकलन गर्न निक्कै गाहे छ किन भने मतदान भन्दा एक दुई दिन पहिले हुने जातिय र धार्मिक फ्याक्टरका खेलाडीहरु कसको पक्षमा उत्रिन्छन त्यसैले चुनाब जित्ने सम्भाबना बढी हुन्छ ।

तर, नेपालगन्जलाई पश्चिम नेपालको प्रमुख शहर अर्थात महानगर बनाउने बनाउने योजना र त्यसलाई कार्यान्बयन गर्न सक्ने क्षमता भएका नेता नै नेपालगन्जको मेयर बन्नु पर्छ भन्ने आम मतदाताको चाहाना भने प्रष्ट देखिन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया