काँधमा धम्बोझी

नेपालगन्जको मुटु हो धम्बोझी । नेपालगन्जको मुटुलाई स्वस्थ्य बनाउन पर्यावरणिय सुन्दरतालाई विशेष ख्याल
गर्नुपर्छ । नेपालगन्जको पहिलो गेट हो धम्बोझी । धम्बोझी चोक नेपालगन्जको प्रमुख चोक हो । सायद यसैले होला यो उपमहानगरपालिकाको वडा नं. १ पनि हो ।

हामी धम्बोझी बनाउने अभियानमा खटिएका प्रमोद रिजालसंग गफिदै थियौं । मर्निंग वाकबाट असिनपसिन हुदै आएका उनीसंग भेट्नका लागि रोज्यौं वाटरपार्क । प्रमोदले हिजै मात्र वडा अध्यक्षको उम्मेदवारी दर्ता गराएका छन् एमालेका तर्फबाट । १ दशक भन्दा पनि लामो समयसम्म सामाजिक अभियन्ताको छवी बनाएका उनीसंग हामीले सोध्यौं किन वडा अध्यक्ष ? आखिर उनको धम्बोझि सपना के छ ?

धम्बोझी मै खाई खेली हुर्केका युवा जस्ले धम्बोझि युवा क्लबको नेतृत्व गरिसकेको अनुभव छ । उनका समर्थकहरु भन्छन्, प्रमोद धम्बोझिसंग हैन कि धम्बोझी उसंग परिचित छ । यसैले होला उनका योजनाहरु प्रष्ट छन् । सुचक सहितको ४६ बुँदे प्रतिवद्धतापत्र जारी गरेका छन् ।

अधिवक्ता हुने रहर जागेर क्याम्पस पढिरहेका उनी अखिलको राजनीतिमा आए । स्ववियु सभापति लडेको मात्र हैन, पुनरावेदन वारमा जितेको अनुभव पनि छ उनीसंग । उनी गैर सरकारी महासंघ बाँकेका अध्यक्ष पनि हुन् । स्पोर्टस क्लब, अखिल, पुनरावेदन वार, गैसस हुदै फेरी राजनीतिको मूलधारमा आएका छन् । अधिवक्ता प्रमोद भन्छन्, राजनीति नै मूल नीति हो । यसैले शसक्त,हस्तक्षेपकारी र परिणाममुखि भूमिका निर्वाह गर्न वडा अध्यक्षमा उम्मेदवारी दिएको हुँ ।

सांगठनिक रुपमा एमालेको राम्रै प्रभाव रहेको वडा नं. १ को उनी निर्विरोध अध्यक्ष भए पार्टीको । र पार्टीले उनलाई टिकट दियो । अर्थात टिकटका लागि कुनै माथापच्ची गर्नुपरेन उनले । उनलाई पार्टी पंक्तीभन्दा बाहिरको युवाहरुको पनि दवाव थियो । आफ्नो १ दशक लामो गैसस क्यारियरलाई चटक्कै छाडेर चुनाव लड्न पक्कै सहज थिएन । तर परिस्थिती यस्तो निर्माण भयो कि उनी उम्मेदवार हुनै पर्यो ।

उनी भन्छन्, मेरो उम्मेदवारी धम्बोझीको सम्बृद्धिका लागि हो । वडा नं. १ मा रहेको धम्बोझि युवा क्लबको अगाढि उनकै नेतृत्वमा बनेको ज्येष्ठ नागरिक विश्रामस्थल हेरे पछि उनको जज्वालाई देख्न सकिन्छ । उनी भन्छन्, जे गर्ने हो ज्यानै फालेर गर्ने हो । हुन पनि करिब ९ लाखको लागतमा बनेको त्यो स्टान्डर्डको नवनिर्मित प्रतिक्षालय सम्भवत नेपालगन्ज शहर मै छैन । भन्छन्, यो बनाउने सोच गर्दै गर्दा हामीसंग १० हजार पनि थिएन । असल कामका पछाडि सहयोगी हातहरु धेरै हुदारहेछन् ।

वडाको विकास अभियानमा उनी सधैं जोडिइरहे । चाहे त्यो सार्वजनिक जग्गाको अतिक्रमणका विरुद्धमा होसु वा सडक चौडा बनाउनका लागि होस् । उनको विकास प्रतिको दृष्टिकोणमा प्रष्टता छ । भन्छन्, विकास भनेको भौतिक पूर्वाधारहरुको निर्माण मात्र हैन, वातावरणिय दृष्टिकोणले पनि अनुकुल हुनु पर्छ ।

वहुप्रतिक्षित वाटरपार्कको जग्गालाई प्लटिंग गर्न केहि जग्गा कारोबारीहरु सक्रिय थिए । उनैको अगुवाईमा युवाहरुले विरोध गरे । र त्यो जग्गालाई प्लटिंग नगरी त्यहाँ सार्वजनिक उद्यान बनाउने सहमती भयो । उनले आफ्नो प्रतिवद्धतामा यसलाई लेखेका छन्, वाटरपार्कमा बालमैत्री उद्यान बनाइने छ ।

वडा नं.१ को सार्वजनिक जग्गा जमीन कसैले पनि अतिक्रमण गर्न पाउने छैन । यसका लागि वडाको नंक्साकन उनको प्रमुख कार्ययोजना हो । धम्बोझि स्पोर्टस क्लबको अध्यक्ष हुँदा उनले खजुरा क्षेत्र पछि फुटवल खेल्ने ठाउँको रुपमा धम्बोझिलाई चिनाए । यति मात्र हैन, प्रोफेसनल बक्सिंगमा नेपालगन्जको प्रतिनिधित्व हुने गरी क्लब मार्फत उनले काम गरे ।

सामाजिक सद्भावमा उनको भूमिका सधैं रहि आएको छ । गैसस महासंघका अध्यक्ष प्रमोदसंग शान्ति र सद्भावका लागि धम्बोझिमा मात्र हैन राप्ती पारी मटेहियामा समेत अभियानहरु संचालन गरेको गौरवान्वित विगत छ ।

शुसासन र जवाफदेहिताविना स्थानीय सरकारले काम गर्न नसक्ने कुरामा दृढ उनले ४८ घण्टा भित्र सेवाग्राहिका कुनै पनि काम सम्पन्न गरिसक्ने बताउछन् । उनी थप्छन्, वडाबाट हुने कुनै पनि कार्यहरु र योजनाहरु तत्काल नागरिकले थाहा पाउने गरी सूचना मैत्री वडा बनाइने छ ।

वाटरपार्क उनको वडामा पर्छ । यसलाई पर्यटकिय स्थलका रुपमा विकसित गर्ने उनको लक्ष्य छ । नेपालगन्जलाई ट्रान्जिट बनाएर मानसरोवर जाने पर्यटकहरुलाई आकर्षित गर्ने उनको भनाई छ । उनी भन्छन्, वाटरपार्कलाई चराहरुको वासस्थलको रुपमा पनि विकसित गर्न सकिन्छ ।

स्थानीय श्रोतको उपयोगमा वढि ध्यान दिने, योजना निर्माण देखि कार्यान्वयनको चरणसम्म स्थानीय नागरिकको सक्रियतापुर्ण सहभागिता, लक्ष्य निर्धारणका लागि सूचक सहितको योजना निर्माण र जनपरिचालनलाई उनले आफ्नो कार्यशैली बनाउने बताउछन् । भन्छन्, १ दशकभन्दा धेरै समयदेखि सामाजिक अभियन्ता भएर काम गरिरहेको अनुभवलाई अब वडाको विकासमा प्रयोग गर्ने छु ।

धम्बोझी नेपालगन्जको मुटु हो । नेपालगन्जको मुटुलाई स्वस्थ्य बनाउन पर्यावरणिय सुन्दरतालाई विशेष ख्याल
गर्नुपर्छ । ताकि मुटुले काम गरिरहोस् र रगत सफा भैरहोस् । धम्बोझि चोकलाई काठमाडौको माइतीघरमा झै खुल्ला आइल्याण्ड बनाउने उनको योजनाको कार्यान्वयनसंगै नेपालगन्जको मुहार फेरिने छ भनेर आशा गर्न सकिन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया