खजुरा : कस्को पल्ला भारी ?

बाँकेको पुरानो बजार खजुरामा चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरु आफ्ना अजेण्डा सहित घरदैलोमा व्यस्त छन् । नगरपालिका बन्न ठिक्क परेको खजुरामा चुनावी माहोल बढेसंगै चुनावी जोडघटाउ सुरु भएको छ ।
खजुरा बजार नेपालगन्ज र कोहलपुर पछि बाँकेको प्रमुख व्यापारिक केन्द्र हो ।

खजुरा कोहलपुर भन्दा पनि पुरानो बजार हो । राझाँमा विमानस्थल बन्नु भन्दा अघि खजुरामा रहेको विमानस्थलबाट हवाइजहाज उड्ने र ओर्लने गर्थे भन्दा नयाँ पुस्ताका खजुरावासीहरुले समेत अपत्यारिलो मान्ने अवस्था छ । गाउँपालिकाका ४ वडाहरु ३ दशक अगाडि नै व्यवस्थित बसोबास सहितका छन् । जस्लाई पुनर्वास क्षेत्र भनेर समेत चिनिने गरिन्छ ।

नेपालगन्जबाट करिब ७ किमिको दुरीमा रहेको र सबै खाले सामाजिक सूचकांकमा अब्वल रहेका साविकका बागेश्वरी, सीतापुर र राधापुर जस्ता गाविसहरु अहिले खजुरा गाउँपालिकाका वडाहरु हुन् ।
खजुरा गाउँपालिकाको अध्यक्षको मुख्य दायित्व खजुराको गुमेको शान फिर्ता गर्नु हो भन्छन् आदर्श उच्च मावि खजुराका प्रधानाध्यापक राजेन्द्र सापकोटा ।

खजुरा गाउँपालिका साविकका रनियापुर, सोनपुर, उढारापुर, बागेश्वरी, सीतापुर र राधापुर गाविस मिलेर बनेको हो । मुख्यतः जातिय मत, सांगठनिक उपस्थिति र उम्मेदवारहरुको लोकप्रियता नै खजुराको चुनावी फ्याक्टर हुन् । जम्मा ८ वडाहरु रहेको खजुरामा एमाले, कांग्रेस र माओवादी केन्द्रका विचमा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ ।

जातिगत अवस्था

खजुरा गाउँपालिकाको जनसंख्या ५० हजार ९ सय ६१ छ । ४ वडाहरु पहाडे मूलका बासिन्दाको बाहुल्य र ४ वडाहरु मुस्लिम तथा मधेसी बाहुल्य रहेका छन् । जनसंख्याका आधारमा मुस्लिम ३१, क्षेत्री १८, मगर १३, बिश्वकर्मा ११, पहाडी बाहुन ८ प्रतिशत छ । त्यसपछि यादव ५, ठकुरी ५, थारु ४, गुरुङ ३ र सन्यासी २ प्रतिशत जनसंख्या छ ।
कांग्रेसले मुस्लिम समुदायबाट नक्की खाँलाई अध्यक्ष र मगर समुदायबाट दिपा आले मगरलाई उपाध्यक्षमा उम्मेदवार बनाएको छ । उपाध्यक्ष आले नेपाल मगर संघको समेत केन्द्रीय पदाधिकारी हुन् ।

नेकपा एमालेले अध्यक्षमा किस्मत कुमार कक्षपति र उपाध्यक्षमा एकमाया विकको उम्मेदवारी घोषणा गरेको छ ।
त्यस्तै, माओवादी केन्द्रबाट अध्यक्षमा डम्बर विक (तुफान) र उपाध्यक्षमा मुस्लिम महिलालाई उम्मेदवार बनाएको छ ।

जातिय मतले केहि प्रभाव पक्कै पार्ला तर निर्णायक चाहिं हैनन् । ‘किनभने खजुराका मतदाता राजनीतिक रुपमा सचेत छन्,’ प्राचार्य सापकोटा भन्छन्, ‘खजुराको सम्वृद्धि र विकासको अजेण्डामा जस्ले विश्वास जित्न सक्छन् उहि विजयी हुने हो ।’ सापकोटाको यो कुराको पुष्टि विगत निर्वाचनमा दलहरुले प्राप्त गरेको मतसंख्या र उम्मेदवारले प्राप्त गरेको मत संख्याले पनि गर्छ ।

सांगठनिक उपस्थिति

गज्जबको कुरा, खजुराले अहिले सम्म दोहराएर कसैलाई जिताएको छैन । निकट विगतका २ संविधानसभाका निर्वाचन मध्ये पहिलो निर्वाचनमा माओवादी केन्द्र र दोश्रो निर्वाचनमा एमाले विजयी भएका थिए ।
साविकको राधापुर र सितापुर एमालेका गढ भनेर चिनिन्छन् । उढरापुर र सोनपुर कांग्रेसको सांगठनिक आधार राम्रा भएका क्षेत्र हुन् । रनियापुरमा माओवादीको अवस्था बलियो रहेको मानिन्छ ।
खजुरा गाउँपालिकाका विभिन्न विद्यालय व्यवस्थापन समिति तथा अन्य उपभोक्ता समितिहरुको निर्वाचनलाई हेर्दा यहाँ एमाले र कांग्रेसको सांगठनिक उपस्थिति बलियो छ, माओवादी केन्द्रको तुलनामा । गाउँपालिकाको सबैभन्दा धेरै मतदाता वडा नं.२ (५,९४२), ३ (४,७४१) र ७ (३,९२४) मा रहेको छ ।

सम्बद्ध नेताका अनुसार, एमाले वडा नंं. १, २, ३, ४ र ६ मा सांगठनिक रुपमा मजबुत रहेको छ । वडा नं. ७ मा वडा अध्यक्षका उम्मेदवार प्रभावशाली देखिन्छन् । कांग्रेसको वडा नं.३, ५,६,७ र ८ मा बलियो उपस्थिति छ । यसैगरी माओवादी केन्द्र वार्ड नं.३,४,५, ७ र ८ मा बलियो रहेको दावी गर्छ ।

उम्मेदवारहरु को कति लोकप्रिय ?

एमाले बाँकेका प्रचार विभाग प्रमुख किस्मत कुमार कक्षपतिलाई एमालेले अध्यक्षको उम्मेदवार बनाएको छ । गाउँपालिकाको मुख्य बजार खजुरा बजारका बासिन्दा उनी प्रखर परोपकार मिसन अस्पताल नेपालका अध्यक्ष हुन् ।

यहि संस्थाको सक्रियतामा खजुरामा क्यान्सर अस्पताल निर्माण भएको हो । क्यान्सर अस्पतालले खजुरा गाउँपालिकाको साखलाई ‘रिभाइव’ गर्न सक्ने विश्वास गरिन्छ । लायन्स इण्टरनेशनल लगायतका सामाजिक संघसंस्थाहरुमा उनको संलग्नता रहेको छ ।

कांग्रेसका तर्फबाट अध्यक्षका उम्मेदवार नक्की खाँ कांग्रेसको क्षेत्र नं.४ का क्षेत्रीय सभापति हुन् । मुस्लिम बाहुल्य रहेको वार्ड नं. ८ रनियापुरका खाँ रनियापुर गाविसका पूर्व अध्यक्ष समेत हुन् ।

माओवादी केन्द्रबाट चुनावी प्रतिस्पर्धामा भाग लिइरहेका डम्बर विक युवा अनुहार हो । खजुरा गाउँपालिकाको परम्परागत केन्द्र भन्दा टाढा सीतापुरबासी हुन् उनी । ‘जनयुद्ध’ ताका खजुरालाई नै कर्मक्षेत्र बनाएका उनी माओवादीमा जिल्ला कै भरपर्दा युवा नेता मानिन्छन् ।

प्रतिक्रिया

प्रतिक्रिया