रविन्द्र सिंह ठकुरी
बस्तीको बीचमै बालुवाको डिपो सञ्चालन गरिएपछि स्थानीयबासी समस्यामा परेका छन् । राप्ती गणेश कन्स्ट्रक्सन सप्लार्यस प्रालिले नेपालगन्ज उपमहानगरपालिका–१८ सनातन मार्गमा राखेको बालुवा डिपोका कारण स्थानीयबासीले असहज महसुस गरेका हुन् ।
विगत ८ महिना देखि जग्गा भाडामा लिएर निर्माण समाग्री सप्लायर्स गर्न थालेपछि स्थानीयबासीले धुलोका कारण समस्या हुन थालेपछि आक्रोशित बनेका छन् । ‘थुपारिएको बालुवा ओसारपोसार गर्दाका कारण गर्दा डिपो नजिक रहेका घरहरु धुलाम्मे हुने गरेको छ’, स्थानीयबासी भन्छन्, ‘दर्जनौं ढुवानीका साधनहरुले बालबालिकालाई अध्ययनमा समेत समस्या हुने गरेको छ ।
‘हावाहुरी आउदा घर बाहिर बस्ने अवस्था हुदैन’, स्थानीयबासी भन्छन्, ‘धुलोका बारण स्वास्थ्य समेत प्रभावित हुनसक्ने जोखिम छ ।’ उक्त सडकमा निर्माण सामागं्री लिन आउने र लैजाने दर्जनौं ट्रक, ट्याक्टर र ट्रिपरले सडक समेत जीर्ण बन्दै गएको छ ।
केही बर्ष अघि नेपालगन्ज उपमहानगरपालिका र स्थानीयबासीको संयुक्त लगानीमा निर्माण गरिएको सडक समेत अहिले जीर्ण बन्दै गएको तत्कालीन सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रेम प्रसाद डुम्रेले बताए । भित्री सडकमा मुख्य सडक जस्तो गाडीहरु चल्ने गरेपछि समस्या हुने गरेको स्थानीयबासी बताउछन् । ‘बस्तीको बीचमा भएको डिपो समस्या भैरहेको छ’, स्थानीयबासी समेत रहेका डुम्रेले यसबारेमा स्थानीयबासीले गुनासो गरिरहेको जानकारी दिंदै भने ।
स्थानीयबासी समेत रहेका नागरिक वडा समिति सदस्य शान्तिराज रेग्मीले राती र एकाविहानै देखि बालुवा ओसारपोसार गर्ने यातायातका साधनले स्थानीय निद्रा समेत बिगार्ने गरेको बताए । ‘विद्यार्थीहरुको पढाइमा समेत समस्या भैरहेको छ’, उनले भने । व्यवसाय सञ्चालन गर्दा समाजलाई मध्यनजर गरिएको प्रति स्थानीयबासी असन्तुष्ट रहेको रेग्मीको भनाइ थियो ।
यस सम्बन्धमा स्थानीयबासीले उपमहानगरपालिका समक्ष समेत गुनासो राखेका छन् । केही समय अगाडी नेपालगन्ज उपमहानगरपालिकाको टोलीले अनुगमन गरेतापनि अहिले सम्म कुनै प्रतिक्रिया नआएको भन्दै स्थानीयबासी बताउछन् । ‘उपमहानगरपालिकाले समेत कुनै ठोस कदम चालेन’, स्थानीयबासी भन्छन् । उसो त नेपालगन्ज उपमहानगरपालिकाले समेत बस्तीको बीचमा रहेको डिपो हटाउन प्रालिलाई निर्देशन दिइसकेको बताएका छन् । उपमहानगरपालिकाका निरीक्षण शाखा प्रमुख पवन कनोजियाले प्रालिलाई निर्देशन दिइसकेको भएपनि अटेरी गरिरहेको बताएका छन् । उनले छिट्टै समस्या समाधान गर्ने प्रतिबद्धता समेत जनाए ।
‘कुनै ब्यक्तिगत स्वार्थका लागि हामीले गुनासो गरेका होइनौं’, स्थानीयबासी डुम्रेले भने, ‘शान्त वातावरणमा बस्ने हाम्रो अधिकार हनन् भएको छ ।’ व्यक्तिगत फाइदाका लागि समाजलाई नै असर पर्ने गरी काम गर्न राम्रो नभएको बताउदै स्थानीयबासी भन्छन्, ‘शान्त र स्वस्थ रुपमा बा“च्न पाउने अधिकारबाट कसैलाई वञ्चित गराइनु हुदैन, सम्बन्धित निकायले यसबारे गम्भीर रुपमा सोच्नु पर्छ ।’ उनीहरुले प्रालिलाई समाजप्रति जिम्मेवार बन्न आग्रह गर्दै त्यसका लागि व्यवस्थापन मिलाउन माग समेत गरेका छन् ।
उपमहानगरपालिकाले सुनुवाई नगरेको भन्दै स्थानीयबासीले प्रशासन गुहार्ने तयारीमा रहेका । ‘लामो समय यही अवस्था रहे धुलोका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिने निश्चित छ’, चिकित्सक भन्छन् ।