खाद्य अधिकारका लागि उम्मेदवारहरु प्रतिवद्ध

नेपालगन्जन्यूज । सबैलाई खान पाउनुपर्ने खाद्य अधिकारका लागि स्थानीय तहका उम्मेदवारहरुले प्रतिवद्धता जनाएका छन् ।

शुक्रबार नेपालगन्जमा आयोजना गरिएको कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनअधिकार फोरम लोकतान्त्रिकका नेता तथा स्थानीय तहका उम्मेदवारहरुले खाद्य अधिकार परिपुर्तिका लागि नीतिगत पहल गर्ने बताएका हुन् ।

खाद्य अधिकार सञ्जाल मध्यपश्चिम क्षेत्रीय समितिको आयोजना र इन्रुडेक कोहलपुरको सहकार्यमा भएको कार्यक्रममा मानव अधिकार आयोग लगायत खाद्य अधिकारको सवालमा कार्य गरिरहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा खाद्य अधिकार, नीतिगत प्रावधान र सरोकारवाला निकायको भूमिका विषयमा अधिवक्ता वसन्त गौतमले आधार पत्र प्रस्तुत गर्नु भएको थियो ।

आधारपत्रमा उनले खाद्य अधिकारको परिभाषा, वर्ष भरि आफ्नो उत्पादनले खान नपुग्ने किसान जनसंख्या करिब ६० प्रतिशत रहेको बताए । विश्वमा करिब ८० करोड जनसंख्यामा भोकमरीको अवस्था रहेको समेत आधारपत्रमा उल्लेख गरिएको छ । खाद्य अधिकारका बारेमा नेपालको संविधान २०७२को धारा ३६ मा खाद्य सम्बन्धि हकको व्यवस्था गरेको छ । यसैगरी धारा ३४ को श्रमको हक, धारा ३०को स्वच्छ वातावरण सम्बन्धि हक, धारा ३३ मा रोजगारीको हक र धारा ३५ मा स्वास्थ्य सम्बन्धि हकको व्यवस्था रहेको कुरा आधारपत्रमा उल्लेख गरिएको थियो ।
खाद्य अधिकारको परिपुर्तिका लागि कृषि क्षेत्रमा बजेट बढाउनुपर्ने, किसानहरुको समस्याको निदान, असल कृषि अभ्यासको प्रचार प्रसार, कृषि उत्पादनहरुलाई बजारीकरणमा सहयोग गर्ने भूमिका सरोकारवालाहरुको रहेको आधारपत्र प्रस्तुत गर्दै गौतमले बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका बाँके इन्चार्ज आइपि खरेलले कृषि उत्पादन बढाउन यान्त्रीकरणमा जोड दिनुपर्ने बताए । जमीनको स्वामित्व किसानको हातमा आउनपर्ने उनको भनाइ रहेको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका लाहुराम चौधरीले किसानहरुको समस्या समाधान गर्दै खाद्य अधिकारको सुनिश्चितताका लागि कांग्रेस प्रतिवद्ध रहेको बताए ।

यसैगरी नेकपा एमालेका तर्फबाट बैजनाथ गाउँपालिकाका अध्यक्षका उम्मेदवार मान बहादुर रुचालले बाँच्न पाउने अधिकारको सम्मान गरिने बताए । वर्गिय तथा सामाजिक रुपमा पछाडि पारिएकाहरुको खान पाउनुपर्ने अधिकारका लागि गाउँपालिकाबाट विशेष कार्यक्रमहरु संचालन गरिने बताए । उनले अगाढि थपे, सन्तुलित र पोषणयुक्त खानाको सहज पहुँचका लागि कार्यक्रम फोकस्ड हुने छ ।

किसानको उत्पादनमा समर्थन मूल्य तोकिने र गाउँपालिकामा खाद्यान्न भण्डारणका लागि उपयुक्त कदम चाल्ने प्रतिवद्धता व्यक्त गरे । कृषिलाई रोजगारी संग जोड्ने र पराम्परागत खेती प्रणालीमा आमूल परिवर्तन ल्याइने बताए ।
माओवादी केन्द्रबाट खजुरा गाउँपालिकाका अध्यक्षका उम्मेदवार डम्बर विक तुफानले जमीन र कृषि खाद्य अधिकारसंग जोडिएको छ भन्दै बाँझो जमीन राख्न नपाउने नीति गाउँपालिकाले लिने बताए । अहिलेका नीति तथा संविधानमा उल्लेख गरिएका प्रावधानहरुको सफल कार्यान्वयनका लागि आफु लागि पर्ने प्रतिवद्धता समेत उनले
जनाए ।

राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका टंक खनालले खाद्य अधिकारको नीतिगत सुधारका आयोगले बेलाबेलामा अनुसन्धान र अनुगमन गरिरहेको जानकारी गराए । साथै सरकारलाई समेत नीति कार्यान्वयन र नीति निर्माणका लागि सिफारिस गरिरहेको बताए ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले बाँकेको गरिबीको तथ्यांक कहालीलाग्दो रहेको बताए । बाँकेका साविकका गाविसहरु मध्ये करिब ६६ प्रतिशत गाविसहरुको उत्पादनले आफुलाई खान नपुग्ने अवस्था रहेको छ । धान, चामल, दलहन लगायतका खाद्यान्न निर्यात गर्नाका लागि निर्माण गरिएको नेपालगन्ज भन्सार रहेको जयसपुरको नै खाद्यान्न उत्पादन सन्तोषजनक नरहेको उनले दृष्टान्त पेश गरेका थिए ।

अहिले कार्यान्वयन भइरहेको कृषि विकास नीतिले धनी किसानलाई मात्र हेरिरहेको र गरिब तथा सीमान्तकृत जनताको पक्षमा नरहेको उनले बताए । आदीवासी जनजातीहरुलाई स्थानीय श्रोतमाथी स्वामित्व दिन नीतिले सहयोग गरिरहेको छैन । यसैले राजीहरुको माछा मार्ने पेशा र सोनाहको नदीको किनारमा बालुवा चाल्ने पेशाका लागि कानून बाधक बनेको उनले बताए ।

मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका हिरालाल लोनियाले कृषि र भूमि अधिकारको अभियान जोडिनु पर्ने बताए । तराइमा भइरहेको प्लटिंगलाई रोकिनु पर्नेमा उनले जोड दिए ।

जिल्ला कृषि सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदिले उत्पादन र वितरण प्रणालीलाई व्यवस्थित बनाउनु पर्ने बताए । खाद्य अधिकारका लागि सहकारीहरुलाई जिम्मेवार बनाउन उम्मेदवारहरुलाई आग्रह गरे ।
इन्सेकका भोला महतले सिटामोल नपाएर र खान नपाएर समेत मृत्युवरण गर्नुपर्ने अवस्था आउनु अत्यन्त दुखद घटना भएको बताए ।

कार्यक्रमको सहजीकरण बालकृष्ण चौधरीले गरेका थिए भने स्वागत भाषण धर्मलाल रोकायले गरेका थिए ।
लुथरन विश्व फेडरेशन, डेन्ट चर्च एड, फियान नेपालको सहयोगमा सम्पन्न कार्यक्रमको अध्यक्षता सञ्जालका मध्यपश्चिम संयोजक घनश्याम आचार्यले गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया