-गगन सिंह थापा
कुरा २०७२ दशैं तिरको हो । नेपालगन्जमा बढ्दो सवारी चापको विकल्पका रुपमा मलाई साइकल चढ्ने इच्छा जाग्यो । अगाडीदेखिनै साइकल चढिरहेका मित्र टिएस ठकुरीलाई साइकल चढ्न चाहेको बताए । उनलेनै मलाई नेपालगन्जको धम्बोजी स्थित बिबि साइकल सेन्टर लगे । त्यहाँ मैले ४५ हजार रुपैयामा बेनिची फोर्ड नामक साइकल किने ।
साइकल लिएर आफु कार्यरत अफिस गए । अफिसका साथीहरुले साइकलको मुल्य सोधे । मैले ४५ हजार रुपैयामा साइकल किनेको बताएपछि उनिहरु बेस्सरी हाँसे । अनि भने ‘तिम्रो बुद्धि के भयो हँ, ४५ हजारमा यो साइकल किन्नु भन्दा त त्यसमा १० वा १५ हजार थपेको भए त सेकेण्ड ह्याण्ड मोटरसाइकलनै आइहाल्थ्यो नी ।’
त्यो दिनबाट भन्न सुरु गरिएको यो भनाईले साइकल चढ्न सुरु गरेको दुई वर्ष पुगीसक्दा पनि मलाई छाडेको छैन । साथीहरुको प्रतिक्रियाले मलाई हाम्रो समाजमा साइकल चढ्ने प्रतिको भावना कस्तो छ भनेर सोच्न बाध्य बनायो । एक थरिले मोटरसाइकलको साटो साइकल चढेकाले कन्जुसको संज्ञा दिन्छन् भने अर्कोथरीले ‘कहि नभएको स्वांग पार्छ’ भन्छन । अहिले भने केहिले फलानो त स्वस्थ रहनको लागि साइकल चढ्छ भन्न थालेका छन् । जसले मलाई खुसी दिन्छ ।
वास्तवमा साइकल चढ्नुको एउटा प्रमुख कारण स्वस्थ रहनु त हो नै । तर यसले बढ्दो शहरीकरण, सवारीसाधनका कारण वातावरणमा पार्ने प्रभाव कम गर्न पनि अत्यन्त महत्वपूर्ण भूमिका खेल्छ । यतिमात्र होइन यसले इन्धनको खपत, सवारी साधानबाट निस्कने धुँवाले वातावरणमा पार्ने प्रभावलाई कम गर्छ भने इन्धनमा हुने खर्च कटौती र दुर्घटनासमेत न्यूनीकरण गर्छ । जसका कारण सवारी दुर्घटनाबाट हुन सक्ने भौतिक तथा मानवीय क्षति कम गर्न सकिन्छ ।
कुनै बेला साबिकको राधापुर रहेको गाउँबाट साइकल चढेर म करिब १२ किलोमिटर टाढा नेपागन्जमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा पढ्न आउँथे । त्यो बेला अहिले जस्तो अटो रिक्सा, बस थिएनन् । मोटरसाइकल केही हुनेखाने भन्नेहरुसँग मात्र हुने गथ्र्यो । त्यसबेला हामी जस्ता मध्यम वर्गका लागि साइकल मात्र एक भरपर्दो साधन थियो ।
समय सँगै मानिसको जीवन शैलिमा परिवर्तन आयो । वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यको कमाईको आधारमा घरमा खर्च गर्ने बानीको विकास हुन थाल्यो । कतिपयले आवश्यकता भन्दा पनि देखासिखिमा लागेर मोटरसाइकल किन्न थाले । जसकारण अहिले मेरो गाउँमा घरै पिच्छे मोटर साइकल अनिवार्य जस्तै हुन गएको छ । मेरो गाउँको परिवेश त प्रतिनिधि घटना मात्र हो । हाल यस्तो परिवेश सबैजसो गाउँहरुमा छन ।
अब कुरा आयो नेपालगन्जमा किन साईकल सँस्कृतिको विकास गर्ने ? नेपालगन्जका अधिकांश सरकारी तथा गैर सरकारी संघसंस्थाका कार्यालयहरु ५ देखि ७ किलोमिटरको दायरामा छन् । जुन ठाउँहरुमा पुग्न साईकलमै पनि २० देखि ४० मिनेट भन्दा बढि लाग्दैन । तर अहिले यी कार्यालयहरुमा पुग्न बढिजसो मोटरसाइकलको प्रयोग भएको पाइन्छ ।
मोटरसाइकल प्रयोग र यसबाट निस्कने हानिकारक धुँवाले वायुमण्डललाई प्रदुषित गरेको छ । अझ भनौ नेपालगन्ज जस्तो बढि गर्मी हुने शहरमा गाडी तथा मोटरसाइकलबाट निस्कने धुँवाले तापक्रम बढाउन सहयोग गरेको छ । मोटरसाइकलको विकल्पका रुपमा साईकल सँस्कृतिको विकास गर्न सकियो ढिलोचाँडो नेपालगन्जको तापक्रमलाईसमेत कम गर्न सकिन्छ ।
म हाल ३९ बर्षको भए र नियमित साइकल चलाई रहेको छु । आज सम्म मलाई कुनै प्रकारको रोग देखिएको छैन । यसको एउटा कारण नियमित साइकल चलाउनु पनि हो । अहिले आवश्यकता भन्दा पनि विलासिताको लागि सवारी साधन किन्ने चलन बढेको छ । आर्थिक अवस्था जस्तो भए पनि एउटा सवारी साधन नकिन्दा सम्म उसको समाजमा प्रतिष्ठा नबढ्ने हाम्रो समाजको सोचको छ । यस कारण पनि साइकल चढ्ने हरु बरु ऋण गरेरै भए पनि मोटर साइकल किन्ने र मोटर साइकल चढ्नेहरु कार किन्ने ध्याउन्नमा छन् ।
त्यस्ता सवारी साधन किन्नु हुँदैन भन्ने मेरो तर्क होइन । तर त्यस्ता सवारी साधनलाई वैकल्पिक साधनको रुपमा लिएर पहिलो प्राथमिकता साइकललाई दिन सकिन्छ ।
के नेपालगन्जका सडक साइकल चलाउन योग्य छन् त ? पक्कै पनि छैनन् । भित्रि सडकमा त साइकलको लागि भनेर छुटै लेनको व्यवस्थाको कल्पनानै गर्न सकिन्न । तर भर्खरै बनेको चार लेन सडकमा बनाइएको साइकल लेनमा ठुला गाडी पार्क गर्ने तथा आसपासका पसलहरुको सामान राख्ने स्थल बनेको छ । जसका कारण मुल सडकमा साइकल चलाउनुपर्दा सडक दुर्घटनाहरु हुने गरेका छन् । साइकल लेनलाई खाली र सुचारु गराउन सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।
नेपालगन्ज एउटा विकासशील सहर हो । यहाँ साइकल सँस्कृतिको बिकासका लागि न सरकारी निकायले चासो देखाएको छ न त नीजि क्षेत्रबाटनै कुनै पहल भएको छ ।
नेपालगन्जमा साइकल चलाउनेहरुको संख्या दिनहुँ बढ्दै छ । कैलालीको धनगढीमा त साइकल चलाउनेहरुले मासिक रुपमानै साइकल यात्रा गर्ने गर्छन जसले साइकल सँस्कृतिको विकासमा मद्दत गरेको छ ।
नेपालगन्ज आफैमा संभावना बोकेको शहर हो । यहाँ साइकल सँस्कृतिको विकास गर्न सकिए यसले सहरी सवारी साधनको चाप, टाफिक व्यवस्थापनका साथै सडक दुर्घटना न्यूनीकरणमा सहयोग गर्छ ।
त्यसैले साइकल चलाउने बानीको सुरुवात गरौं । नेपालगन्जलाई साइकल सिटीको रुपमा विकास गरी आफु स्वस्थ रहन तथा पर्यावरणको संरक्षणका लागि साझेदार बनौं ।
(थापा नेपालगन्जमा साइकल सँस्कृति विकासका लागि प्रयासरत युवा हुन)