चुनाव, भोट र गरिबी

सुमित्रा भट्टराई

जब जब चुनाव आउँछ, दलित, पिछडिएको र कमैया बस्तीहरूमा नेताजीहरूको उपस्थिति बाक्लिन्छ । उसो त विकासे संस्था र सरकार सबैका लागि यो समुह सधै कार्यक्रम संचालन गर्न टार्गेटमा पर्ने गर्छन । तर कार्यक्रम सुरू गर्ने दिन र सक्ने दिन बाहेक अरू दिन लक्षित वर्गले खासै चाल पाउँदैनन् ।

उसैगरी चुनाव नजिकिदा पनि ‘अशिक्षित अनि कमजोर आर्थिक हैसियत भएका बेरोजगार जनता’ नेताजीका लागि गोटी बन्दछन् । जसको मतको कुनै भर रहँदैन । चुनाव अघि जुन पार्टीले धेरै सुविधा दिन सक्छ भोट उसैलाई । केहीबेर मिठो भाषण गरेर मिठो मसिनो खान पाउँदा पत्याउनु परिगो नि भविष्य नि मिठै हुन्छ भनेर ।

चुनाव जित्न दलहरूबाट साम, दाम, दण्ड, भेदको इच्छा अनुसार प्रयोग हुन्छ । जसरी नि चुनाव जित्नुछ अझ कहीँ कतैका उम्मेदवारलाई त चुनावमा झिनो मतले जित्ने छुट पनि दिईएको हुँदैन त के गरून् ? मर्नु भन्दा बौलाउनु
निको ।
एकजना साथीले सेयर गरिन्, ‘कुनै जिल्लामा जब कुनै पार्टीलाई चुनाव जित्दिन भन्ने लाग्यो तब त्यो पार्टीको टार्गेटमा एक गरिब वस्ती पर्यो । जहाँबाट ३२ भोट आउँथ्यो, मासु चिउरा र लत्ता कपडा बाँडियो त्यो पनि मौन अवधिमा ।’ यो लोकतान्त्रिक गणतन्त्र नेपालमा कुनै दोस्रो व्यक्तिले यो हरफ भनेको भए सायदै म पत्याउँथेँ । यस्तो पनि हुन्छ र त्यो पनि स्थानीय तहको चुनावमा ? तर उनले भनेपछि पत्याउन कर लाग्यो ।
अझ केही दिन अघि दुई/तीन जिल्लामा ठुलै नेता र सभासदहरू पैसा बाँड्दै गर्दा बिटै सित जनताको नियन्त्रणमा शिर्षकमा समाचार पनि देखे सुनेको थिएँ । साथीले तिनै समाचारको पूर्नपुष्टी गरिदिईन् । हामीकहाँ सधै स्वच्छ प्रतिस्प्रर्धाको हार हुन्छ । लाखौँ खर्चेर सम्पन्न पत्रकार महासंघको चुनाव, गोजी रित्याएर गरिने स्ववियु चुनाव र देशै रित्याएर गरिने राष्ट्रिय चुनावहरू हामीले देखेकै हो ।

अघिल्लो पटक संविधान सभाको चुनावमा पनि साईकल बाँडेका, भोज ख्वाएका किस्सा र समाचार गाउँमा
फिँजीन्थे । यस पटक नि उस्तै भयो यी प्रथम पैँतिस जिल्लाहरूमा । जहाँ दाम बाँडीएन स्वच्छ प्रतिस्प्रर्धा भयो, त्यहाँ अचम्मै भयो । एकाध बाहेक फेरी ति पुरानै अस्त्र अपनाएर चुनावमा उत्रिए दलहरू ।

अहिले पहिलो चरणको चुनाव सकियो मतगणना गर्दै गर्दा एक अर्का दलको खर्च विवरण सामाजिक सञ्जालमा पेश गर्ने क्रम बढेको छ । बिल प्रर्दशन भनौँ क्यारे बुझ्ने भाषामा । र त फेसबुक र ट्विटरमा प्रतिपक्षी दलका बियर, मासु, तेल, दैनिकभत्ता सम्बिन्धित बिल भेटियो भने त्यो ‘एपिजे अब्दुल कलामकै कोट’ भेटीए झैँ भाईरल हुन्छ ।

चुनाव आउनु हप्ता दिन छाडेको दललाई गाली गर्दै फेसबुक र अन्य सामाजिक सञ्जालमा छाद्नु र नयाँ दलको बयान गर्नमै अधिकांशको समय खर्च भएको छ । निर्वाचन आयोगले आचारसंहिता जारी गर्ने तर प्रधानमन्त्री र मन्त्री ज्युहरू नै उम्मेदवारको प्रचार प्रसारमा व्यस्त भएपछि नियम के का लागि ?

‘डबलबेड’का तन्ना भन्दा ठुला पार्टीका झण्डा बोकेर पाँचवटा बिहेको भन्दा चर्को आवाजमा बाजा बजाउँदै प्रचारमा हिँडेका दलहरूको भोट पनि निकै आउनुपर्ने हो । आचारलाई ‘अचार’ बनाएर चुनाव प्रचारमा होमिएका दलहरूको भविष्य पनि हाल मत गणना हुँदैछ पक्कै केही पछि देखिनेछ ।

आफ्नो दलले सेतोलाई कालो भन् भन्यो भने कालै भनेर प्रचार गर्ने अन्धभक्त कार्यकर्ता, देश र अर्थतन्त्रले थेग्न नसक्ने सपना बोकेर हिँडेका राजनीतिक दलहरू सबै दोषी हुन् । नेतृत्व वर्ग जसले कर्तव्य सम्झाएनन् यर्थाथ देखाएनन् विना परिश्रम यो र त्यो पुर्याउँछु भनेर जनतालाई आश बाँडे । अनि कार्यकर्ता वर्ग जसले दलभित्रको सबै कुरा थाहा भएपनि न कहिल्यै गलत भयो भन्ने हिम्मत गरे नत जनतामाझ सत्य कुरा प्रचार गरे ।

अर्कातर्फ हामी जनता पनि संधै तरल भयौँ । हरेक चुनावमा आफ्ना अमुल्य भोटहरू मध्ये कुनै भोट आफन्तलाई बाँड्यौँ, कुनै भोट मितेरी साईनोलाई दियौँ, कुनै भोट टोलका बडाबा/बडीआमा त कुनै भोट ससुराली र माईती खलककालाई ।

अलि जान्ने सुन्ने र हैकम लाग्ने अभिभावक भएको परिवारमा परिवारैको भोट एकैतिर खन्यायौँ । देशलाई प्रभाव पार्ने उम्मेदवार भन्दा पनि आफुलाई फरक पार्ने उम्मेदवार चुन्दा यो लामो समय सम्म पनि केही खास व्यक्तिहरू मात्रै खास ठाउँ पुगे बाँकीको जहाँको त्यहीँ बास छ ।

यसर्थ फेरी पनि कमैया बस्ती, दलित बस्तीअनि अरू पछाडी पारिएका बस्तीमा भेटघाट चलिरहँदा भन्नैपर्ने समय आएको छ, क्षणिक लालचमा नभुलौँ । दशवर्ष अघि भोट माग्न आउनेलाई पनि तपाई र तपाईका आफन्तले बाटो र धारा मागे तर ति सुविधा तपाई भए ठाउँ आईपुगेनन् । नत तपाईको आवश्यकतालाई प्राथमिकतामै राखेर नै काम थालियो ।

आज दश वर्ष पछि भोट माग्न आउने ब्यक्ति समक्ष पनि तपाईका माग तिनै हुनेछन् र उम्मेदवारका प्रतिवद्धता पनि तिनै हुनेछन् । आज उम्मेदवार सही छान्नु भएन भने यो जुहारी लामो समय सम्म चलिरहनेछ । एकथरी आउँछ माग्छ दिनुहुन्छ तर तपाईको माग पुरा हुँदैनन् । तपाई हाम्रो गरिबी, पछौटेपन र अविकसित अवस्था केवल अरूलाई उकाल्ने भर्याङ् बन्छ । भर्याङ् चढेर आकाश देखेपछि फेरी भुँईका कमिला हेर्ने इच्छा कसले पो गर्छ र ?

अब विचार फेरौँ । भोट माग्न मात्र टोल टेक्ने, तपाईको भोट किन्न खोज्नेलाई चिन्नुहोस । उम्मेदवारहरूसंग प्रश्न गर्नुहोस । तपाईलाई भोट दिँदा समुदायलाई के फाईदा हुन्छ ? पत्याउन नसक्ने सपना बाँड्नेलाई भोट दिने की समाजमा मिलेर काम गरौँ, देश विकास गरौँ भन्ने पक्षलाई भोट दिने भन्ने बारेमा निर्णय लिने अधिकार हामीलाई नै छ ।

दोस्रो चरणमा चुनाव भईरहेका तपाई आम नागरिक यो आवश्यक छैन कि विगतमा जुन दललाई भोट हाल्नुभयो यसपटक पनि त्यसैलाई हाल्नुस् या नहाल्नुस । बस मन हैन विवेक प्रयोग गर्नुस । आज सहानुभुति र सहयोगका लागि तपाईले दिनुभएको अमुल्य भोट भोली उम्मेदवारको परिवार र आफन्तलाई नै ऐसआरामर सुख सुविधा थप्ने नहोस् ।

भोट माग्न आउँदा ढोग्नै खोज्लान् कुम्भमा हराएकी दिदी बहिनी वा दाजुभाईझैँ व्यवहार देखाउलान् तर रत्तिभर मन नपगाल्नुहोस । आज आफ्नो साथी, इष्टमित्र वा गाउँले जिताउनेकी भोली ठाउँ विकास गर्ने असल नेता ? पस्किने पालो तपाईकै ।

प्रतिक्रिया

प्रतिक्रिया