निर्वाचनसगै विकासको आशा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले राजनीतिक अस्थिरता बाट आक्रान्त निजी क्षेत्रले राहतको आशा गरेको बताएकी छन् । स्थानीय तह निर्वाचन सँगै विकासका सम्भावनाले ढोका खोल्ने विश्वास गरिएको भन्दै निर्वाचन सफल पार्ने दायित्व सबै नेपालीको भएको बताइन् ।

निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था, नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय नेतृत्वमा निर्वाचित भएपछि पहिलो पटक गृहनगर नेपालगन्जमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष राणाले औद्योगिक नीति बनि सकेकोले पनि उद्योगी व्यवसायीहरुलाई राजनीतिक स्थिरतासँगै व्यवसायिक वातावरण बन्दै जाने बताइन् ।

राज्यले उत्पादनशील उद्योगलाई प्राथमिकता दिएर अगाडी बढ्नु पर्ने धारणा राख्दै मध्यपश्चिमाञ्चल
क्षेत्रको आर्थिक समुन्नतीका लागि आफुले विशेष पहल गर्ने बताइन् । एक दशकअघि नेपालगन्ज उद्योग वाणिज्य संघमा सल्लाहकार मनोनित भई आफ्नो पेशागत राजनीति सुरु गरेकी राणा नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय अध्यक्ष निर्वाचित भएपछि संघले नेपालगन्जमा शुक्रबार भव्य स्वागत सम्मान गरेको हो ।

बाजागाजा सहित संघका पदाधिकारी, उद्योगी, व्यवसायी लगायतले स्वागत सम्मान गरेपछि आयोजित कार्यक्रममा सहभागी व्यवसायीहरुले राजश्वका अनुसन्धानका कर्मचारीबाट भएको व्यवहार प्रति आक्रोश व्यक्त गरेका थिए । सम्मान ग्रहणपछि महासंघ अध्यक्ष राणाले राजश्व विभागको राजश्वबारे सरकार सँग गम्भीर छलफल भैरहेको बताइएकी थिइन् ।

‘महासंघ नयाँ ढंगले अगाडी बढ्दैछ’, महासंघ अध्यक्ष राणाले उर्जाशिल युवाहरुलाई देशभित्रै टिकाइ राख्न विशेष पहल सुरु गरेको जानकारी दिंदै भनिन्, ‘सात वटै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गरी दक्ष जनशक्ति उत्पादनको योजना अघि सारिएको छ ।’

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय सदस्य विष्णु प्रसाद श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य अच्युत प्रसाई, उपाध्यक्ष दुर्गा भण्डारी लगायतले बोलेका थिए । बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य झलक गैरे लगायतले निजी क्षेत्रका सम्भावना र राणाको नेतृत्वले गर्न सक्ने पहल बारे सुझाव दिएका थिए ।
अध्यक्ष वैश्यले राज्यको नीतिका कारण व्यवसायीक क्षेत्र हतोत्साहित भएको भन्दै महासंघले विशेष पहल लिन आग्रह पनि गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया