नेपाल राष्ट्र बैंकले बजारबाट एक खर्ब २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने घोषणा गरेको छ। बैंकले उक्त रकम १९ दिनका लागि संकलन गर्न बोलकबोल आह्वान गरेको हो।
केन्द्रीय बैंकले वित्तीय प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन तथा ब्याजदर नियन्त्रण गर्ने उद्देश्यले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ।
यस बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउन्टर पार्टीहरूले प्रस्ताव गरेको ब्याजदरका आधारमा सबैभन्दा कम दर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिँदै क्रमशः आह्वान गरिएको कुल रकमसम्म बाँडफाँट गरिने व्यवस्था छ।
निक्षेप संकलनका लागि शुक्रबार अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गरिनेछ, र ब्याजदर पनि सोही प्रक्रियाबाट निर्धारण हुनेछ। आज बोलकबोल गरिने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज २०८३ वैशाख ३० गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
बोलकबोलमा सहभागी हुन न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म प्रस्ताव गर्न सकिनेछ।
केन्द्रीय बैंकको खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार, वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा त्यसको व्यवस्थापन गरी बजार ब्याजदरलाई सन्तुलित राख्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनै पनि दिन संरचनात्मक खुला बजार कारोबारअन्तर्गत बढीमा ६ महिनासम्मका लागि दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ।
यही प्रावधानका आधारमा केन्द्रीय बैंकले समय–समयमा यस्तो उपकरण प्रयोग गर्दै आएको छ।


