राजधानीस्थित नेपाल ल क्याम्पसका विद्यार्थीहरूले विश्वविद्यालयहरूमा रहेका विद्यार्थी सङ्गठन खारेज गर्ने सरकारको तयारीविरुद्ध प्रदर्शन गरेका छन्। बिहीबार उनीहरूले रामशाहपथ क्षेत्रमा सडक मार्चपास गर्दै विरोध जनाएका हुन्।
केही दिनयता विद्यार्थीहरू विभिन्न चरणमा आन्दोलनमा उत्रिँदै आएका छन्। सरकारद्वारा विद्यार्थी सङ्गठनहरू खारेज गर्ने तयारी भइरहेको भन्दै त्यसको विरोधमा राजधानीका कलेज तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरू सक्रिय भएका छन्।
प्रदर्शनका क्रममा विद्यार्थीहरूले शैक्षिक संस्थामा आफ्नो प्रतिनिधित्व, आवाज र अधिकार सुनिश्चित गर्न विद्यार्थी सङ्गठनहरूको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। उनीहरूले सङ्गठन खारेज गर्ने निर्णयले लोकतान्त्रिक अभ्यास र विद्यार्थी अधिकारमा प्रत्यक्ष असर पार्ने तर्क गर्दै उक्त कदम फिर्ता लिन सरकारसँग माग गरेका छन्।
रामशाहपथ क्षेत्रमा भएको प्रदर्शनमा सहभागी विद्यार्थीहरूले नाराबाजी गर्दै आफ्नो असहमति प्रकट गरेका थिए। आन्दोलनरत विद्यार्थीहरूले आगामी दिनमा पनि सरकारको निर्णयविरुद्ध चरणबद्ध आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।


