डोजरको डरबीच सुकुमबासीको विरोध, ‘पुनर्वासबिना हटाउन पाइँदैन’

सरकारले सुकुमबासी बस्ती खाली गराउने निर्णय गरेपछि त्यसविरुद्ध विरोध प्रदर्शन भएको छ। थापाथलीस्थित बागमती किनारसहित विभिन्न स्थानमा बसोबास गर्दै आएका सुकुमबासीहरूले आफूहरूलाई एक्कासि हटाउन खोजिएको भन्दै शुक्रबार सरकारविरुद्ध प्रदर्शन गरेका हुन्।

उक्त प्रदर्शनमा राष्ट्रिय जेनजी नागरिक अभियानले पनि ऐक्यबद्धता जनाउँदै सहभागिता जनाएको थियो।

प्रदर्शनकारीहरूले “विकासको नाममा उठिबास होइन, अधिकार चाहिन्छ”, “गरिबमाथि अन्याय गर्न पाइँदैन”, “पुनर्वासबिना हटाउने निर्णय स्वीकार्य छैन” र “वास्तविक सुकुमबासीको पहिचान गर” लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए।

राष्ट्रिय जेनजी नागरिक अभियानका सह–संयोजक अजय सोडारीले सुकुमबासीको हक, हित र अधिकारका पक्षमा आफ्नो संगठनको पूर्ण समर्थन रहेको बताए।

उनले वर्तमान सरकारले डोजर प्रयोगमार्फत आतंक सिर्जना गरेको आरोप लगाउँदै वास्तविक सुकुमबासीको उचित व्यवस्थापनपछि मात्र कुनै पनि हटाउने प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।

यसैबीच, शनिबारदेखि सुकुमबासी बस्ती खाली गर्ने जानकारी सार्वजनिक भएपछि केही बासिन्दाहरूले आफ्ना सामान सार्न थालेका छन्। भूमिहीन दलित, सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूलाई हटाउने सरकारी निर्णयपछि उनीहरू बस्ती छोड्ने तयारीमा जुटेका हुन्।

प्रधानमन्त्रीले वैशाख ९ गते सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर सुकुमबासी बस्ती खाली गराउन निर्देशन दिएको बताइएको छ। सो निर्देशनपछि उपत्यकाभित्रका सुकुमबासी बस्तीहरूमा शनिबार र आइतबार डोजर प्रयोग गरी हटाउने तयारी भइरहेको छ।

प्रतिक्रिया

प्रतिक्रिया