बाँके : गाउँमा पूँजी, शहरमा बैंक

माओवादीको द्वन्द्वकालमा विस्थापित भएको बाँके राप्तीपारिको एकमात्र बैंक नेपालग बैंक लिमिटेड पुर्नस्थापना नभएपछि उक्त क्षेत्रमा रहेको जिल्लाको एक तिहाई जनसंख्या बैंकिंग सेवाबाट बञ्चित हुँदै आएको छ ।

राप्ती पारी क्षेत्रको एकमात्र बैंक नेपाल बैंक लिमिटेड पुनः स्थापित हुन नसक्दा त्यस क्षेत्रका स्थानियबासहिरु भारतीय बैंकमार्फत आर्थिक कारोबार गर्न बाध्य छन् । राप्तीपारी भारतीय सीमावर्ती क्षेत्रमा रहेका फत्तेपुर, गंगापुर, मटेहिया, नरैनापुर, कालाफँटा, लक्ष्मणपुर र कटकुइँयाका बासिन्दाहरु भारतीय बैंकमा कारोबार गर्न बाध्य भएका हुन् ।

सीमावर्ती क्षेत्रमा रहेका श्रावस्ती ग्रामीण बैंक, इलाहावाद बैंक, पंजाब नेशनल बैंक र सेन्ट्रल बैंक मार्फत स्थानीयहरुले कारोबार गर्दै आएका छन् । राप्तीपारिबाट बैदेशिक रोजगारमा गएका युवाहरुले विदेशबाट रकम पठाउँदा समेत सुविधा र पहुँचको आधारमा भारतीय बैंक नै प्रयोग गर्ने गरेके पाइएको हो ।

भारतीय नागरिकले नेपाली बैंकमा खाता संचालन गर्न सक्ने ब्यवस्था नभएपनि नेपाली नागरिकले भारतीय बैंकमा सजिलै खाता संचालन गर्ने गरेका छन् । नेपालगन्ज आवत जावत गर्न बाटो लगायत असुविधा भएका कारण सिमावर्ती क्षेत्रमा रहेका भारतीय बैंक प्रयोग गर्ने नेपाली नागरिकको बाध्यता हो ।
बाँके नरैनापुर गाउँपालिका वडा नं.१ कटकुईंयाका बासिन्दा होलीराम यादव भन्छन्, ‘नेपालगन्ज जाँदा ४४ किलोमिटर पर्ने र भारतीय क्षेत्र ३ किलोमिटर भित्रै पर्ने भएको अधिकाँश सुविधाका लागि स्थानीयहरु भारतीय ब्यवस्था नै रोज्छन् ।

भारतीय बैंकले नेपालीहरुलाई सुविधा हुने किसिमले सिमावर्ती क्षेत्रमै बैंक संचालन गरेको पाइएको हो । ‘बाँके जिल्ला भारतीय सिमावर्ती क्षेत्र संग जोडिएकोले उक्त क्षेत्रमा बढि आवागमन हुने र स्थानीयहरुले सुविधा लिने विषय सामान्य हो’, नरैनापुरका सन्तोष कुमार बर्मा भन्छन्, ‘तर, बैंकमा खाता संचालन गर्नु उचित नरहेको बताए ।’

यसअघि सहारा इण्डियामा रकम जम्मा गरेका कतिपयलाई समस्या भएको बताउँदै बर्माले भारतीय बैंकमा रहेको खाता त्यति विश्वसनीय नरहेको जानकारी दिए । ‘कतिपय अवस्थामा बैंकमा रहेको रकममा पनि समस्या आउँछ’, बर्माले भने, ‘त्यहाँको सुविधा त्यति सुरक्षित छैन ।’

स्थानीय पायक पर्ने क्षेत्रमा बैंक नहुँदा अर्को विकल्प छैन, । भारतीय बैंकमा रकम राख्ने र आवश्यकता परेका बेला झिक्ने विषय अहिले सामान्य भइसकेको छ । राप्तीपारि क्षेत्रका शिक्षक, कर्मचारी, सहित विभिन्न पेशामा संलग्न ब्यक्तिहरु पनि भारतीय बैंककै भरमा छन् ।

तर, जिल्लाको सदरमुकाम नेपालगन्जमा बैंकको भरमार छ । सुर्खेत रोड अहिले बैंक रोडझैं भएको छ । गाउँको नामबाट शाखाहरु सहर भित्रै छन् । निर्धन उत्थान बैंकले उदयपुरमा राख्नु पर्ने शाखा कृषि कार्यालय सामुन्ने राखेको छ ।

त्यसैगरि बेतहनी क्षेत्रमा हुनु पर्ने बैंक नेपालगन्जबाटै संचालित छ । कतिपय सहकारी पनि गाउँमा दर्ता भएपनि सहर भित्रैबाट आफ्नो सेवा प्रवाह गरिरहेका छन् । नेपाल बैंक लिमिटेड राप्तीपारि सार्नका लागि पहल गर्दै आएका मटेहियाका बासिन्दा अरुण कुमार तिवारी भन्छन्, बैंकले असुरक्षाको कारण देखाउँदै जान मानेनन् ।
अन्य बैंक पनि असुरक्षालाई मुख्य कारण देखाउँदै नेपालगन्ज आसपासका क्षेत्रमा पनि काम गर्न मानेका छैनन् ।

असुरक्षा बहाना मात्रै

बाँकेको कुनैपनि स्थान असुरक्षित नरहेको दावी गरिरहेका बाँकेका प्रहरी प्रमुख एसपी टेक प्रसाद राईले बैंकहरु गाउँ जान नखोज्नु असुरक्षाको कारण नभई बहाना भएको टिप्पणी गरेका छन् ।

‘सहरमा रहेको सुविधा उपभोग गर्नमा बानी लागेका कर्मचारी गाउँ जान मान्दैनन्’, असुरक्षा त बहाना मात्रै हो, एसपी राईले भने, ‘हरेक स्थानमा प्रहरी बसिरहेको छ । बैंकले कुनैपनि समयमा गाउँमा सुरक्षा माग गर्न आएको
छैन ।’

‘शाखा खोल्ने तर्फ चासो हुँदो हो त सुरक्षाको विषय पनि उठ्थ्यो’, राईले भने, ‘सहरमै काम भइरहेपछि गाउँमा किन जाने भन्ने धारणाका बिच असुरक्षा बहाना मात्रै बनेको छ ।’ उनले बाँकेको कुनैपनि स्थानमा बैंकलाई असुरक्षा नरहेको दावी गरे ।

जिल्लामा चुस्त सुरक्षा भएको विषयलाई हामीले प्राथमिकताका साथ अघि बढाईरहेको समयमा बैंकले असुरक्षा भन्ने तर्क गर्नु अश्वाभाविक रहेको राईले बताए । उनले धेरै असुरक्षा महसुस भए प्रहरी चौकी र थाना छेउमै बंैक संचालनको सुझाव दिए ।

बाँके कुनै पनि प्रकारले असुरक्षित छैन । ‘बैंक कारोबार, ब्यवसाय र उद्योग जुनसुकै स्थानमा संचालन गर्न सक्ने वातावरण छ’, एसपी राईले भने, ‘काम गर्न खोज्नेका लागि सुरक्षा हामी आफै दिन्छौं ।’ ‘त्यस्तो माग नआएकोले असुरक्षाका कारण र अवस्था बारे भ्रम मात्रै रहेको मान्न सकिन्छ’, उनले भने ।

शाखा बिस्तारको गृहकार्य

बाँके राप्तीपारि भगवानपुरमा द्वन्द्वकाल अघि संचालनमा रहेको नेपाल बैंक लिमिटेडलाई राष्ट्र बैंकले विस्तारै सोही क्षेत्रमा फर्काउने तयारी गरेको छ ।

सरकारले बैंक र वित्तीय संस्थाहरु गाउँपालिकाहरु स्थापित हुनु पर्ने ब्यवस्था अघि सारेपछि अहिले निजी बैंकहरु पनि गाउँमा शाखा विस्तारका लागि पहल अघि बढाएको नेपाल राष्ट्र बैैंकका निर्देशक गुरु प्रसाद पौडेलले जानकारी दिए ।

गाउँमा रहेको पूँजी जनताको हातमै मात्र सीमित रहने गरेको अवस्थाका बिच बैंकहरु गाउँतिर शाखा विस्तारको
पहल सुरु गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । ‘स्थानीय तह कायम भएपछि अब सहर भित्र मात्रै काम गरेर हुँदैन’, निर्देशक पौडेलले भने, ‘सरकारको ब्यवस्था अनुसार नै सबै स्थानीय तहमा सेवा दिनु पर्ने ब्यवस्था नै लागु भइरहेको छ ।’

प्रतिक्रिया

प्रतिक्रिया