बाढी र वर्षाले बगायो डाइभर्सन, बिपी राजमार्ग अझै अवरुद्ध

गत शनिबार साँझदेखि अवरुद्ध रहेको बिपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन।

१२ गते शनिबार रोशी खोलामा आएको बाढीले क्षति पुर्‍याएको डाइभर्सन आइतबार अधिकांश स्थानमा निर्माण गरिएको थियो। तर, १३ गते आइतबार साँझ परेको वर्षाले पुनः निर्माण गरिएका डाइभर्सन बगाएपछि राजमार्ग पुनः अवरुद्ध बनेको हो। आइतबार निर्माण गरिएका चिउरीबास, नार्के र चार सय बेँसी क्षेत्रका डाइभर्सन बगाएको जनाइएको छ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार रोशी खोलाले बगाएका १३ स्थानका डाइभर्सनमध्ये ८ स्थानमा पुनः निर्माण गरिएको थियो। तर, आइतबार साँझको वर्षाले तीमध्ये केही डाइभर्सन पुनः क्षतिग्रस्त बनाएको उनले जानकारी दिए। उनका अनुसार सोमबार बिहानदेखि पुनः डाइभर्सन निर्माण कार्य सुरु गरिएको छ।

शनिबार आएको बाढीले चौकीडाँडा, घुमाउने, चार सय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेशी, बुलढुंगा तथा माम्ती क्षेत्रमा डाइभर्सन बगाएको थियो। त्यस्तै सिन्धुलीतर्फ आँपघारी र नेपालथोकमा पनि डाइभर्सनमा क्षति पुगेको थियो।

प्रहरीका अनुसार सडक डिभिजन कार्यालय र सम्बन्धित ठेकेदार कम्पनीले मौसममा सुधार आएपछि क्षतिग्रस्त डाइभर्सन मर्मत गरी यातायात सेवा पुनः सञ्चालनमा ल्याउने तयारी गरेका छन्।

प्रतिक्रिया

प्रतिक्रिया