इजिपी प्रणाली ह्याक प्रकरणमा ९ पक्राउ, ठेक्का हेरफेरमा ‘क’ वर्गका ठेकेदार संलग्न

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सरकारी विद्युतीय खरिद प्रणाली (इजिपी) ह्याक गरी ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोपमा नौ जनालाई पक्राउ गर्दै अनुसन्धान अघि बढाएको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) अन्तर्गत सञ्चालनमा रहेको इजिपी प्रणालीमा अनधिकृत पहुँच कायम गरी ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ।

सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार ‘क’ वर्गका निर्माण व्यवसायीसहित तीन जनालाई सङ्गठित अपराध निवारण ऐन अन्तर्गत नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ। पक्राउ पर्नेमा कालिका कन्स्ट्रक्सनका अध्यक्ष विक्रम पाण्डे, भीषण कन्स्ट्रक्सनका सञ्चालक टङ्ककुमार श्रेष्ठ, चपुर निर्माण सेवाका सञ्चालक अमृत बोहोरा, कल्पवृक्ष बिल्डर्स प्रालिका सञ्चालक प्रकाश ढुङ्गाना तथा इन्कोन प्रालिका स्वदेश पोखरेललगायत रहेका छन्। यसअघि सोही प्रकरणमा अन्य चार जनालाई पनि पक्राउ गरिएको थियो।

अनुसन्धानका क्रममा सिआइबीले पाण्डे, श्रेष्ठ र बोहोरालाई मुख्य रूपमा संलग्न देखिएपछि नियन्त्रणमा लिएको जनाएको छ। पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता समेत रहेका पाण्डेलाई गत शुक्रबार काठमाडौँबाट पक्राउ गरिएको थियो। उनी विसं २०७९ को प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए।

सिआइबीका अनुसार पक्राउ परेका ठेकेदारहरूले आफूअनुकूल ठेक्का प्राप्त गर्न ह्याकरहरूको प्रयोग गरी ई–बिडिङ प्रणालीमा प्रवेश गर्दै आर्थिक प्रस्तावसम्बन्धी कागजातहरू खोलिनुअघि नै हेरफेर गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पाण्डेविरुद्ध यसअघि विसं २०७५ मा सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। सो मुद्दामा उनी चार करोड रुपैयाँ धरौटीमा रिहा भए पनि मुद्दा हालसम्म विचाराधीन रहेको छ।

यस घटनामा सिआइबीले विद्युतीय कारोबार ऐन तथा सङ्गठित अपराध निवारण ऐन अन्तर्गत अनुसन्धान अघि बढाएको छ। सरकारले सार्वजनिक खरिद प्रक्रिया पारदर्शी बनाउन लागू गरेको इजिपी प्रणालीमै ह्याकिङको घटना बाहिरिएपछि यसको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ।

प्रतिक्रिया

प्रतिक्रिया