भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन : आज ब्रेकथ्रु गर्दै प्रधानमन्त्री

भेरीको ४० क्युमेक्स पानी बबईमा खसालेर ४६.८ मेघावाट बिद्युत उत्पादन आयोजनाले बर्दिया र बाँकेको करिब ५१ हजार हेक्टर खेतीयोग्य जमिनमा सिचाई उपलब्ध गराउनेछ ।

कृष्ण अधिकारी


प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलवार सुर्खेतको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङको ‘ब्रेक थु्र’ गर्दै छन् । तोकिएको समय भन्दा एक बर्ष पहिले नै सुरुड निर्माणको काम सकिएर प्रधानमन्त्री ओली ‘ब्रेक थु्र’का लागि आउन लागेका हुन् ।

 
बबइको हात्तीखालबाट सुरुङ खन्दै भित्र पसेको टीबीएम मेसिन ‘ब्रेक थु्र’ पछि भेरी नदीको चिप्लेबाट बाहिर निकालिने छ । करिब १२ किलोमिटर लामो सुरुङ मध्ये बाँकी रहेको दुई मिटर सुरुङ पनि आजै खनिने कार्यक्रम छ ।
सुर्खेतको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको काम २०७६ साल चैत १५ सम्म सुरुङ निर्माण पुरा गर्ने उद्देश्यका साथ नेपालमै पहिलो पटक ०७४ कार्तिक मसान्तदेखि टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोग गरेर खन्न सुरु गरिएको थियो ।

 
सुरुङ निर्माणको काम निर्धारित समय भन्दा पहिले नै सकिएका कारण चर्चामा रहेको आयोजनको ब्यारेज र पाबर हाउसकोको निर्माण प्रकृया भने सुस्त गतिमा छ । ब्यारेज र पाबर हाउसको निर्माण प्रकृया सुस्त भएका कारण सिचाई सुबिधा बिस्तार र बिद्युत उत्पादनका लागि कम्तिमा तीन बर्ष पर्खनु पर्ने छ ।

 
सिचाई बिभाग र मन्त्रालयको अलमल कारण ब्यारेज र पाबर हाउसको निर्माण प्रकृयामा करिब ६ महिना ढिलाई भएको हो । यद्यपी आयोजनाका सिनियर डिभिजनल हाइड्रोजुओलिष्ट कृष्ण प्रसाद उपाध्यायले छिट्टै ब्यारेज र पाबर हाउसको निर्माणका लागि ग्लोबल टेन्डर गर्ने तयारी भइरहेको बताए ।

 
नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टीबीएम) बाट सुरुङ खन्ने काम सुरु गरिएकाले सुरुङ खन्ने क्रममा आउन सक्ने समस्याहरुको आकलन गरी सुरुङ निर्माणका लागि २ बर्ष लाग्ने अनुमान गरेको थियो । सुरुङ निर्माण हुने समयको आंकलन कै आधारमा ब्यारेज र पाबर हाउसको निर्माण को प्रकृया अगाडि बढाएको थियो । सुरुङ निर्माणको काम १ बर्ष पहिले सकिए पनि त्यसै अनुसार ब्यारेज र पाबर हाउसको निर्माणलाई सिचाई बिभाग र मन्त्रालयले गति दिन नसकेका कारण निर्माण भई सकेको सुरुङ तीन बर्ष सम्म प्रयोग हुन सक्ने सम्भाबना निक्कै न्युन छ । त्यसका लागि थप तीन बर्ष अर्थात आर्थिक वर्ष ७९÷८० सम्म पर्खनु पर्ने छ ।

 
राष्ट्रिय गौरबको सिक्टा सिचाई आयोजनामा भएको अनियमिताको छानबिनका क्रममा सिचाई बिभागका महानिर्देशक सहित इन्जिनियर तथा परामर्शदाताहरु माथि अख्तियारले मुद्दा चलाएका कारण बिभाग र मन्त्रालय तहबाट गर्नु पर्ने निर्णणहरुमा धेरै समय लागेको हो ।

 
सुर्खेतको भेरी नदीको पानी सुरुङ मार्फत बबई नदीमा खसालेर ४६.८ मेघा वाट बिद्युत उत्पादन गर्ने र बर्दिया र बाकेको करिब ५१ हजार हेक्टर जमिनमा सिचाई सुबिधा बिस्तार गर्ने उद्देश्यले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको निर्माण कार्य सुरु भएको हो ।

 
भेरी नदीमा सुख्खा याममा पनि करिब ७५ क्युमेक्स पानी हुन्छ । अन्य सिजनमा भेरीमा पर्याप्त पानी हुन्छ । भेरीको पानी मध्ये करिब ४० क्युमेक्स पानी मात्रै सुरुङ मार्फत बबईमा खसालेर ४६.८ मेघावाट बिद्युत उत्पादन गर्ने र बर्दिया र बाँकेको करिब ५१ हजार हेक्टर खेतीयोग्य जमिनमा सिचाई उपलब्ध हुने छ ।

 
आयोजनाबाट सरकारलाई वार्षिक तीन अर्ब र उत्पादित विद्युतबाट ४ अर्ब आम्दानी हुने प्रक्षेपण गरिएको छ । साढे १० अर्बमा सम्झौता भएको सुरुङका लागि २०७५ फागुन मसान्तसम्म झण्डै ८ अर्ब खर्च भएको छ । सिञ्चाइ विभागद्वारा संशोधित गुरुयोजना अनुसार टनेल निर्माण, बाध, विद्युतगृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललगायत काम सम्पन्न गर्न ३३ अर्ब १९ करोड खर्च हुनेछ । आयोजनाको सम्पूर्ण काम आर्थिक वर्ष ७९÷८० सम्म सक्ने लक्ष्य छ ।

 

 
एउटा मात्रै सुरुङबाट भेरीको पानी बबईमा खसालिएर पछि पनि बर्दिया र बाँकेको करिब ५१ हजार हेक्टर क्षेत्रमा बबई सिचाई आयोजनाको नहरबाट बाह्ै महिना सिचाई सुबिधा पुग्नेछ । चिप्लेबाट १५ मिटर अग्लो बाँध बनाई प्रतिसेकेण्ड ४० घनमिटर भेरीको पानी बबईमा खसालिनेछ । त्यही पानीबाट बबई किनारमा ४६ दशमलव ८ मेगावाट विद्युत् उत्पादन हुने योजना छ । बिद्युत उत्पादन पछि त्यो पानी बबई नदी हँुदै करिब ४५ किलोमिटर तल पुगे पछि बबई सिचाई आयोजनाको बाधबाट नहर हुदै बर्दिया र बाँकेका किसानहरुको खेतबारीमा पुराइने छ ।

 
बर्दियाको खेती योग्य जमिनमा सिचाई सुबिधा पुराउन करिब ३० बर्ष पहिले अर्थात २०४५÷०४६ बबई सिचाई आयोजना निर्माण सुरु गरिए हो । बबई सिचाई आयोजनाको मुल नहरको क्षमता करिब ५३ क्यु मेक्स पानी संचालन हुने छ । तर, सुख्खा सिजन अर्थात चैत बैशाख जेठमा बबई नदीमा पानीको मात्रा निक्कै कम हुने गरेका कारण नहरबाट ५ क्युमेक्स मात्रै पानी संचालन हुन्छ । जसका कारण नहर भए पनि बर्दियाका किसानले सिचाइका लागि पर्याप्त पानी पाउन सकेका छैनन् । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना संचालन भए पछि सुख्खा सिजनमा पनि बर्दिया बाँकेका किसानहरुले सिचाइका लागि पर्याप्त पानी पाउने छन् । यसले खाद्यान्न उत्पादनमा उल्लेख्य विकासको लक्ष्य राखेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया