Tuesday, May 12, 2026
घर ब्लग पृष्ठ 298

दुई दिन मनाइँदै महावीर जयन्ती

नेपालगन्जमा आज प्रभात फेरी र शुभकामना आदान–प्रदान गरिंदै


जैन धर्मका प्रवर्तक महावीर जैनको २६ सय २२औं जन्मजयन्ती यस पटक दुई दिनसम्म मनाइने भएको छ । आज सोमवार नेपालगन्जमा विभिन्न् कार्यक्रम गरि महावीर जयन्ती मनाइँदै छ भने, राजधानी काठमाडांैमा भोलि मंगलवार बनाइने भएको हो ।


नेपालमा बस्दै आएका जैन धर्मवालम्वीहरुले देशभर आफु भएका ठाउँमा विभिन्न कार्यक्रम गरी आज र भोलि महावीर जयन्ती मनाउने तयारी गरेका हुन् । राजधानी काठमाठडौंमा भने राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा महावीर जयन्ती कार्यक्रम मनाइने भएको छ ।


नेपालगन्जमा आज सोमवार विहान धम्बोझीस्थित राजेश जैन भवन परिसरबाट प्रभातफेरी नगरका विभिन्न ठाउँ हुँदै शितलनगरस्थित त्रिशक्ति मन्दिरमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्न लागिएको छ । आयोजकसमेत रहेका जैन धर्मावलम्बी अगुवा, वरिष्ठ उद्योगपति प्रदीप छाजेडले अहिंसा, करुणा र परोपकारलाई मूलमन्त्र मान्ने जैन धर्मावलम्वीहरु महावीर जयन्तीलाई अहिंसा दिवसको रुपमा समेत मनाउने गरेको बताए ।


‘महावीर स्वामीलाई जैन धर्मका २४ औं तीर्थकर तथा भगवानका रुपमा पूजा गरिन्छ,’ छाजेडले दैनिक नेपालगन्जसँग भने, ‘मूर्ति बनाएर पुजा गर्नेहरु मन्दिरमार्गी पनि हुनुहुन्छ, तर हाम्रो यहाँ नेपालगन्जमा मन्दिर बनाइएको छैन ।’

यस दिन भगवान् महावीरको शोभा यात्रा निकालिन्छ, जसमा जैन धर्मका अनुयायीहरुको ठूलो सहभागिता रहन्छ । कोरोनाका कारण आफ्नै घरमा पूजा गरेर मनाइएको महावीर जयन्ती यसपटक भव्यरुपमा आयोजना गर्न लागिएको हो ।


महावीर स्वामी जन्म जयन्ती, हरेक वर्ष चैत महिनाको शुक्ल पक्षको त्रयोदशी तिथिमा मनाइन्छ । महावीरले जैन धर्मको खोजसँगै यस धर्मका प्रमुख सिद्धान्तहरुको प्रतिपादन गरेका थिए ।


भगवान् महावीरलाई वीर, वर्धमान, अतिवीर र सन्मतिको नामले पनि सम्बोधन गरिन्छ । उनले आफ्नो जीवनमा तप र साधनाको नयाँ प्रतिमान स्थापित गरेका थिए । ‘हाम्रा गुरु भन्नुहुन्छ, पहिले व्यक्ति सुध्रनु प¥यो, समाज अनि राष्ट्र आफै सुध्रन्छ,’ जैन धर्मको मूल मर्मबारे छाजेड भन्छन्, ‘हामी भने आफु सुध्रनु छैन, समाज र राष्ट्र सुधार गर्ने कुरा गरेर कसरी सफल भइएला ?’


को थिए महावीर
महावीरको जन्म बिहारको कुण्डग्राममा ईसापूर्व ५ सय ९९ वर्ष पहिले चैत शुक्लको त्रयोदशीका दिन एक राज परिवारमा भएको थियो । उनका पिताका नाम राजा सिद्धार्थ र माता रानी त्रिशला थिइन् । भगवान् मावीरको बाल्यकालको नाम वर्धमान थियो । १२ वर्षसम्मको कठोर तपस्यापछि उनले आफ्ना इन्द्रियहरुमाथि विजय प्राप्त गरेको मानिन्छ । त्यसैकारण उनलाई महावीर नामले सम्बोधन गरिएको थियो । राज परिवारमा जन्म भएपछि संसारसामु ज्ञान फैलाउनका लागि उनी सन्त बनेका थिए ।


विवाह
महावीरको विवाहलाई लिएर दुुईथरी मत छ । श्वेताम्बर सम्प्रदायका मानिसहरु उनको विवाह यशोधरासँग भएको मान्छन् । उनीहरुका अनुसार यो जोडीकी एक छोरी प्रियदर्शना निकै सुन्दर थिइन् । यद्यपी, दिगंबर सम्प्रदायका मानिसहरुका अनुसार महावीरको विवाह भएको थिएन ।


३० वर्षको उमेरमा घर छाडे
महावीरले ३० वर्षको उमेरमै राजमहलको वैभवपूर्ण जीवन परित्याग गरेका थिए । यसपछि उनी ज्ञान र साधनाको बाटोमा हिंडे । एउटा अशोक वृक्षमुनी बसेर ध्यान गर्न थाले । उनले आफ्नो कठोर तपस्यामार्फत सबै इच्छाहरु र विकारहरुलाई काबुमा लिए । त्यसपछि उनी वर्धमानबाट भगवान् महावीरका रुपमा चिनिन लागे । उनले आफ्नो पूरै जीवन जनकल्याणमा समर्पित गरिदिए । उनले समाज व्याप्त कुरुती र अन्धविश्वासलाई टाढा गरिदिए ।


पाँच सिद्धान्त
भगवान् महावीरले मोक्षको प्राप्तिपछि पाँच सिद्धान्तका विषयमा बताए । उनले आफैं यसको पालना गरे र उनी गइसकेपछि उनका अनुयायीले महावीरद्धारा प्रतिपादित पाँच सिद्धान्तलाई मानिसहरुसम्म पु¥याउने काम गरे ।


उनले आफ्ना प्रत्येक अनुयायीका लागि अहिंसा, सत्य, अचौर्य, बम्ह्चर्य र अपरिग्रहका पाँच व्रतहरु पालना गर्नु आवश्यक छ भन्ने बताए । यी सबै व्रतमा अहिंसाको भावना सम्मिलित छ । यहीकारण जैन विद्धानहरुको प्रमुख उपदेश ‘अहिंसा नै परम धर्मको, अहिंसा नै परम ब्रम्ह् हो, अहिंसाले नै सुख शान्ति दिन्छ’ भन्ने हुन्छ ।


अन्तिम तीर्थकर
झन्डै १२ वर्षको साधनापछि महावीरलाई सच्चा ज्ञान प्राप्त भयो । यसपछि महावीर स्वामी जैन धर्मको २४ औं र अन्तिम तीर्थकर बने । महावीरजीले अलग–अलग स्थानमा गएर जैन धमैका प्रचार गरे । उनले मानिसहरुलाई सही मार्ग देखाएर राम्रो जीवन जिउने प्रेरणा दिए । (विभिन्न समाचार एजेन्सीको सहयोगमा)

नेपाल–भारत साहित्य संगोष्ठी, दुई देशका श्रष्टाबीच सत्संग

साँस्कृतिक सम्बन्धका बहस


नेपालगन्जमा छिमेकी राष्ट्र भारतका प्रतिनिधिमूलक श्रष्टा आमन्त्रण गरि नेपाल–भारतबीचका साँस्कृतिक सम्बन्धबारे बहस र बहुभाषिक काव्य संगम भएको छ ।


नेपाल र भारतका वरिष्ठ श्रष्टाहरुबीच महेन्द्र पुस्तकालयले दुई दिनसम्म यसखालको कार्यक्रम आयोजना गरेको हो । ‘सोमवार प्रसिद्ध शक्तिपीठ नेपालगन्जको वागेश्वरी दर्शन र बर्दिया राष्ट्रिय निकुन्ज घुमफिरको कार्यक्रम राखिएको छ,’ तीन दिने कार्यक्रमबारे जानकारी दिंदै पुस्तकालयका सदस्य वीरेन्द्र जैसीले भने, ‘औपचारिक कार्यक्रम आइतवार सकिएको छ ।’


महेन्द्र पुस्तकालयले नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा नेपाल–भारत साहित्य संगोष्ठी आयोजना गरेको हो । संगोष्ठीमा नेपाल र भारतका साहित्यकारहरुबीच दुई देशका साझा साँस्कृतिक सम्बन्धका विषयमा छलफल एवं साहित्य पाठ भएको जैसीले जानकारी दिए ।


शनिबार भाषा आयोगका सदस्य डा. अमर गिरिले उद्घाटन गरेको कार्यक्रममा भाषा आयोगका सदस्य गोपाल अश्क, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य हंसावती कुर्मी, प्राज्ञ सभा सदस्यद्वय महानन्द ढकाल र शशीराम कार्कीको सहभागिता थियो । कार्यक्रममा २० जना श्रष्टालाई सम्मान गरिएको छ ।


सम्मानित हुनेहरुमा भाषा आयोगका सदस्य डा. गिरि, साहित्यकार अश्क, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य कुर्मी, भारतीय साहित्यकारहरु रजनीकांन्त वशिष्ठ, डा. रामबहादुर मिश्र, आराध्या शुक्ला, नुतन वशिष्ठ, पुनिता अवस्थी, अनुपमा शरद, अनमोल मिश्र, जय सिंह, ममता शुक्ला छन् ।


त्यस्तै, अमिता पाण्डे, नवनित मिश्रा, स्नेहलता, प्रतिप सारंग, राजेन्द्र वर्मा, अलङ्कार रस्तोगी, द्वारिकानाथ पाण्डे र मनिषा खटाटेलाई पनि सम्मान पत्रसहित सम्मान गरिएको महेन्द्र पुस्तकालयका सदस्य जैसीले जानकारी दिए ।


कार्यक्रममा प्रमुख अतिथि डा. गिरिले नेपाल र भारतका साहित्यकारहरुको संगाष्ठीले नेपाल भारतका साझा भाषा र संस्कृतिको प्रवद्र्धन र विकासमा भूमिका खेल्ने विश्वास व्यक्त गरे ।


भारतीय साहित्यकारहरुले कार्यक्रममा बोल्दै नेपाल भारतको नागरिक–नागरिकबीचको सम्बन्धलाई साहित्य र साँस्कृतिक गतिविधिले झन् प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।


आइतबार संगोष्ठीमा नेपाल र भारतका साझा भाषा, संस्कृति, अवधी भाषा, साहित्य अनुवादका विषयमा साहित्यकार एवं विद्वानहरु सनत रेग्मी, आराध्य शुक्ला, द्वारिकानाथ पाण्डे, गोपाल अश्क, डा. रामबहादुर मिश्र र हंसावती कुर्मीले छुट्टाछुट्टै गोष्ठीपत्र प्रस्तुत गरे । उनीहरुले नेपाल भारतका भाषा, संस्कृतिमा समानता रहेको बताउँदै त्यसको प्रवद्र्धन साहित्यमार्फत पनि हुने भएकोले पुस्तक र लेख रचनाहरु अनुवाद हुनु आवश्यक रहेको बताएका छन् ।


आइतवारनै नेपाल र भारतका गरी करिब तीन दर्जन स्रष्टाहरुले कविता, कथा, गीत, गजल लगायतका बहुभाषिक रचना वाचन गरेका थिए । भारतबाट साहित्यकारहरु रजनीकांन्त वशिष्ठ, डा. रामबहादुर मिश्र, मनिषा खटाटेसहित १७ जनाले आफ्ना रचना वाचन गरेको काव्य संगममा वीपी अस्तु, नविन अभिलाषी, चरित्रा शाह, पुष्कर रिजाल र मीना बरालले आफ्ना श्रृजना पस्किएका थिए ।


करिब दुई दशक बन्द रहेको पुस्तकालयमा केही महिनाअघि निर्वाचित नयाँ कार्यसमितिले पुस्तकालयलाई पुनः व्यवस्थित गर्नुका साथै साहित्यिक र प्राज्ञिक क्रियाकलपापहरु सुरु गरेको अध्यक्ष बलराम यादवले बताए ।

कोहलपुरमा अपाङ्ग बाल अस्पताल

बाँकेको कोहलपुर नगरपालिका–१५ अकलघरुवामा नगर स्वास्थ्य प्रवद्र्धन केन्द्र र अपाङ्ग बाल अस्पताल पुनःस्थापना केन्द्र सञ्चालनमा ल्याइएको छ ।


शनिवार पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले कोहलपुर नगरपालिकाले सुरु गरेको नगर स्वास्थ्य प्रवद्र्धन केन्द्रको सेवा र अपाङ्ग बाल अस्पताल पुःस्थापना केन्द्रको उद्घाटन गरेका हुन् ।


पूर्वमन्त्री थापाले त्यसअवसरमा स्वास्थ्य र शिक्षालाई पूर्णरुपमा निःशुल्क गरिनु पर्ने धारणा राख्दै त्यसलाई गुणस्तरीय र सर्वसुलभ पनि बनाइनु पर्नेमा जोड दिए ।


लुम्बिनी प्रदेश सभा सदस्य सञ्जु कुमारी चौधरीले थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा रहेको सिकलसेल र थालेसेमियाका बिरामीको उपचारलाई निःशुल्क गरिनु पर्ने धारणा राखिान् । सिकलसेलका बिरामीलाई सरकारले उपचार खर्च भनेर १ लाख रुपैयाँ दिने गरेपनि यस्तै प्रकृतिको थालेसेमियाका बिरामीलाई नसमेटिएकोमा उनको गुनासो थियो ।
थारु समुदायलाई बढी प्रभाव पार्ने थालेसेमिया रोगका बिरामीलाई पनि सरकारले उपचार खर्च दिन नीतिगत रुपमा पहल गरिदिन सांसद थापासँग आग्रह गरिन् ।


कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य बसन्ती अधिकारीले स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन आवश्यक रहेको भन्दै त्यसका लागि प्रदेश सरकारले गर्न सक्ने पहलका गर्न आफु तयार रहेको बताइन् ।


कार्यक्रममा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले आफुले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको धारणा राख्दै स्वस्थ व्यक्तिबाट मात्रै विकास सम्भव भएकाले नगरपालिकाले स्वास्थ्य सेवालाई प्रभावकारी गराउने गरी काम गरिरहेको बताए ।


अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रका निर्देशक डा.विवेक बास्कोटा, कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुवेदी, प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, वडाध्यक्ष दिपेन्द्र चौधरी, केन्द्रका सूचना अधिकृत बिनिता खड्का लगायतले बोलेको कार्यक्रमबीच जग्गादाता स्वर्गीय पुन्सी थारुको अर्धकधको शालिक अनावरण गरियो । प्रवद्र्धन केन्द्र र अस्पताललाई स्वर्गीय थारुले १० कठ्ठा जग्गा दान गरेकी छन् । कार्यक्रममा जग्गादाताका परिवार सदस्यहरुलाई सम्मानित गरिएको थियो ।


केन्द्र स्थापनाका लागि विशेष योगदान पु¥याएका पूर्व जनप्रतिनिधिहरु पतिराम थारु, गुत्तु थारु, लौटन थारु, हरिराम थारु, राम लौटन यादव, राम मिलन तमौली र हुसेनी बस्फोरले कदरपत्रले सम्मानित गरिएको नगर प्रवक्ता नमबहादुर आलेले जानकारी दिए ।

साना तथा मझौला कम्पनीको शेयर निष्काशन नियमावली मस्यौदा तयार

नेपाल धितोपत्र बोर्डले ‘साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबारसम्बन्धी नियमावली, २०७९’ को मस्यौदा तयार पारेको छ । बोर्डले नियमावलीको मस्यौदा सार्वजनिक गर्दै विभिन्न क्षेत्रबाट सुझाव मागेको छ ।

साना तथा मझौला लगानीका कम्पनीलाई पुँजीबजारमा आबद्ध गर्नका लागि कानुनी व्यवस्था गर्न नियमावली ल्याउन लागिएको बोर्डले जनाएको छ ।

नियमावलीको मस्यौदाअनुसार साना तथा मझौला सङ्गठित संस्था धितोपत्र बोर्डमा दर्ता हुनका लागि त्यस्ता संस्थाको चुक्ता पुँजी बढीमा रू २५ करोडसम्मको हुनेछ तर साना तथा मझौला सङ्गठित संस्थाको उपस्थिति र बजारको अवस्था हेरेर बोर्डले चुक्ता पुँजीको सीमा हेरफेर गर्नसक्ने जनाएको छ ।

यस्ता कम्पनी पुँजी बजारमा आबद्ध हुन धितोपत्र बोर्डमा दर्ता गराउनुपर्नेछ । यसरी बोर्डमा दर्ता भएका कम्पनीले जारी पुँजीको ३० प्रतिशतभन्दा कम र ९९ प्रतिशतभन्दा बढी नहुने गरी धितोपत्र सार्वजनिक गर्नसक्ने व्यवस्था मस्यौदा राखिएको छ । यस्ता कम्पनीले सार्वजनिक निष्कासन गर्दा निश्चित शर्त पूरा गर्नुपर्नेछ ।

“पब्लिक कम्पनीका रुपमा आफ्नो उद्देश्यअनुसार कारोबार सञ्चालन गर्नका लागि आवश्यक कार्य अगाडि बढाइ एक आर्थिक वर्षको पूर्ण अवधि पूरा गरेको हुनुपर्नेछ”, मस्यौदामा भनिएको छ, “तर साविकमा प्राइभेट लिमिटेड कम्पनीका रुपमा दर्ता भई कारोबार सञ्चालन गरेको कम्तीमा दुई आर्थिक वर्ष पूरा भई पब्लिक लिमिटेडका रुपमा एक आर्थिक वर्ष पूरा हुन आवश्यक पर्ने छैन ।”

कम्पनी धितोपत्रमा दर्ता हुनका लागि वार्षिक लेखापरीक्षण गरेको, साधारणसभा सम्पन्न भएको र संस्थापकले लिन कबुल गरेको धितोपत्रको रकम रकम शतप्रतिशत चुक्ता भइसकेको हुनुपर्ने शर्त राखिएका छन् । नियमावलीको मस्यौदाअनुसार यस्ता कम्पनीले क्रेडिट रेटिङ गर्न अनिवार्य हुने छैन । तर धितोपत्र बोर्डले त्यस्ता कम्पनीको क्रेडिट रेटिङ गर्न आवश्यक देखेमा त्यसका लागि निर्देशन दिनसक्ने व्यवस्था मस्यौदामा राखिएको छ ।

यस्ता कम्पनी दर्ता भएर सार्वजनिक निष्काशनमा जाँदा सर्वसाधारण लगानीकर्ताले खरिद गर्न पाउने न्यूनतम शेयर सङ्ख्या पनि नियमावलीमार्फत तोक्न लागिएको छ । “आवेदकले निष्काशन गरिने शेयरमध्ये न्यूनतम न्यूनतम दुई सय ५० कित्ता खरिदका लागि दर्खास्त दिनुपर्नेछ”, नियमावलीको मस्यौदामा भनिएको छ । तर प्रारम्भिक निष्काशनमा शेयर खरिदका लागि दरखास्त आह्वान गर्दा प्रतिशेयरको अङ्कित मूल्यको ५० प्रतिशतभन्दा बढी रकम लिन पाइने छैन । यद्यपि, सङ्गठित संस्थाले आफ्नो अघिल्लो तीन वर्षको वासलात प्रकाशन गरी पुँजी सङ्कलन गर्दा ५० प्रतिशतभन्दा बढी रकमसहित दरखास्त माग गर्न सक्नेछन् ।

यस्ता कम्पनीले निश्चित शर्त पूरा गरेपछि प्रिमियममा पनि धितोपत्रको निष्काशन गर्न सक्नेछन् । “सङ्गठित संस्था लगातार पछिल्लो तीन वर्षसम्म खुद मुनाफामा सञ्चालनमा रहेको, प्रतिशेयर चुक्ता पुँजीभन्दा प्रतिशेयर नेटवर्थ बढी भएको, औसत वा सोभन्दा माथिको क्रेडिट रेटिङ पाएको र साधारणसभाले प्रिमियम मूल्यमा धितोपत्र जारी गर्ने निर्णय गरेको हुनुपर्नेछ”, मस्यौदामा भनिएको छ ।

यस्ता शर्त पूरा गरेका कम्पनीले पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरणअनुसारको प्रतिशेयर नेटवर्थको दुई गुणासम्म निष्काशित मूल्य तोक्न सक्नेछन् ।

धितोपत्र निष्काशन गरेका यस्ता कम्पनीले त्यसको कारोबारका लागि सम्बन्धित धितोपत्र बजार (हालको नेपाल स्टक एक्सचेञ्ज) मा सूचीकरण हुनुपर्नेछ । यो नियमावलीको मस्यौदाबमोजिम सूचीकृत धितोपत्रको कारोबार सञ्चालन हाल सञ्चालनमा रहेको मुख्य प्रणाली (मेन प्लाटफर्म) मातहत वा छुट्टै साना तथा मझौला सङ्गठित संस्थाको कारोबार प्रणाली (एसएमईज प्लाटफर्म) सिर्जना गरी स्वचालित विद्युतीय कारोबार प्रणालीमार्फत् गर्नुपर्नेछ ।

यस्तो कारोबार प्रणालीमा मूल्य तथा समय प्राथमिकता (प्राइस टाइम प्रायोरिटी) को आधारमा कारोबार हुने व्यवस्था मिलाउनुपर्नेछ । नेप्सले प्रत्येक दुई वर्षमा उक्त कारोबार प्रणालीको सम्परीक्षण (सिस्टम अडिट) गराउनुपर्नेछ र सोको प्रतिवेदन धितोपत्र बोर्डमा बुझाउनुपर्नेछ । सूचीकरण खारेज (डिलिस्टिङ)सम्बन्धी व्यवस्था पनि मस्यौदामा राखिएको छ ।

यस्ता संस्थाहरु एक आपसमा गाभिएमा वा प्राप्ति भएमा नयाँ कायम हुने संस्थाको धितोपत्र सूचीकरण हुनेगरी पूराना कम्पनीको सूचीकरण खारेज हुनेछ । त्यस्तै सूचीकरणको वार्षिक शूल्क नबुझाएको कारणले धितोपत्र बजारमा लगातार दुई वर्षसम्म कारोबार स्थगन भएमा पनि सूचीकरण खारेज हुने व्यवस्थासहित मस्यौदा तयार पारिएको छ ।

धितोपत्रको कारोबार, मूल्य परिवर्तन सम्बन्धी सीमा, धितोपत्र कारोबारको संख्या तोक्नसक्ने व्यवस्था, सर्किट ब्रेकरसम्बन्धी व्यवस्था, धितोपत्रको कारोबार स्थगन गर्न सक्नेलगायतका विषयहरु पनि मस्यौदामा राखिएका छन् । त्यस्तै, धितोपत्र बजारले खडा गरेको राफसाफसम्बन्धी कोषलाई साना तथा मझौला व्यवसायको कारोबारका लागि पनि प्रयोगमा ल्याइने व्यवस्था राखिएको छ ।

सर्वसाधारणका लागि प्राथमिक निष्काशन गरिएको धितोपत्र बाहेक अन्य धितोपत्र सङ्गठित संस्थाले सर्वसाधारण समूहको लागि प्राथमिकत सार्वजनिक निष्काशन गरी शेयर बाँडफाँट भएको मितिले पाँच वर्ष पूरा नभई बिक्री वितरण गर्न पाइने छैन । तर प्राइभेट इक्विटी, भेञ्चर क्यापिटल, हेज फन्ड वा यस्तो प्रकारको कोषका रुपमा बोर्डमा वा विदेशमा दर्ता भएको कोषको स्वामित्वमा रहेको धितोपत्रको हकमा यो लागू हुने छैन । साना तथा मझौला कम्पनी पुँजीबजारमा सूचीकृत हुँदा धितोपत्रको अङ्कित मूल्य भने प्रतिकित्ता रू सय हुनेछ । रासस

‘ग्रासरुटमा एमाले’ : स्वास्थ्य उपचारदेखि अर्मपर्मका योजना

यतिबेला मुलुकको प्रमुख प्रतिपक्ष दल, नेकपा एमाले देशभर ‘ग्रासरुट’ अभियानमा छ । त्यसक्रममा एमाले बाँकेले नेपालगन्जका दुई वटा वडामा शनिवार निःशुल्क छाला रोग परीक्षण स्वास्थ्य शिविर सञ्चालन गरेको जनाएको छ ।


‘जनतासँग प्रत्यक्ष जोडिने गरि थालिएको ग्रासरुट अभियानका क्रममा जनताको स्वास्थ्य समस्या समाधानका लागि सानो प्रयास गरिएको’ स्वास्थ्य शिविर शुभारम्भ गर्दै एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले भने । उनका अनुसार, पार्टीले सञ्चालन गरेको ग्रासरुट अभियानको क्रममा नेपालगन्जको वडा नं २१ र २३ मा निःशुल्क छाला रोग परीक्षण स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

अध्यक्ष कक्षपतिले ग्रासरुट अभियानमा टोलटोलमा पुग्दा धेरैमा छाला रोगको समस्या देखिएपछि राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घको सहकार्यमा छाला रोग सम्बन्धि शिविर चलाइएको बताए।


नेपालगन्जको पिछाडिएको वडा मानिने वडा नं २३ को जंगलीसिंहपुरुवास्थित नेराप्राविमा शिविर सञ्चालन गरिएको थियो । एमालेका नेता बाबुराम गौतम, जिल्ला अध्यक्ष कक्षपति, उक्त वडाका ग्रासरुट अभियानका संयोजक खिलप्रसाद भुसालले शिविरको उद्घाटन गरे ।


‘ग्रासरुट अभियान जनतासँग पार्टी अभियानलाई जोड्ने पुल हो,’ एमाले बाँकेका अध्यक्ष कक्षपतिले भने, ‘जनताको स्वास्थ्य उपचारदेखि खेतबारीमा कामका लागि अर्मपर्मसम्मका योजना बनाएर परिचालित छौं ।’ उनले एमाले राजनीतिमात्रै गर्दैन, जनताका लागि राजनीति गर्छ भन्ने कुरा गाउँतहसम्म पु¥याइरहेको दावी गरे ।


भेरी अस्पताल नेपालगन्जका छाला रोग विशेषज्ञ डा. अनिषा उप्रेती नेतृत्वको टोलीले गरेको स्वास्थ्य परीक्षणमा अधिकाँशमा लुतो, चिलाउने,दाद, खुट्टा फाटेका जस्ता समस्या देखिएका थिए ।


एमालेसम्बद्ध राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको सहकार्यमा शिविर सञ्चालन गरिएको हो । महासंघ बाँकेका अध्यक्ष राजन शाहीका अनुसार, शिविरमा १८० जनाको स्वास्थ्य परीक्षण भएको छ ।

मिटरब्याजविरुद्ध बन्यो आयोग

मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले उच्चस्तरीय आयोग गठन गर्ने भएको छ ।


सरकारले जाँचबुझ आयोग ऐन, २०२६ बमोजिमको आयोग गठन गर्ने भएको हो । गृह मन्त्रालयमा शनिवार सरकार र आन्दोलनरत मिटरब्याज पीडित सङ्घर्ष समितिबीच भएको पाँच बुँदे सहमतिअनुसार अब बस्ने मन्त्रिपरिषद्को बैठकले उक्त आयोग गठन गर्नेछ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितीमा सो सहमति भएको हो ।


मिटरब्याजीले निरक्षर, गरिब तथा आर्थिकरुपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिसँग उच्च ब्याजदरमा ऋण असुल्ने, वास्तविक लेनदेनभन्दा बढीको तमसुक कागजात बनाउने, ऋणीको जायजेथा आफ्नो कब्जामा लिने तथा ऋणको दुश्चक्रमा फसाइ विभिन्न ढङ्गले शोषण समस्या समाधानका लागि जाँचबुझ आयोग गठन गर्न नेपाल सरकार समक्ष सिफारिश गर्ने दुवै पक्षबीच सहमति भएको छ ।


साथै मिटरब्याज पीडितका नियमित रुपमा आउने उजुरी वा गुनासो सम्बोधनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिनेछ । जसमा जिल्लास्थित नेपाल प्रहरी, सरकारी वकिल, मालपोत, नापी कार्यालयका प्रमुख, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र मिटरब्याज पीडितको प्रतिनिधि समेत रहने छन् ।

जिल्लास्तरीय समन्वय समिति गठन गर्न सरकार समक्ष सिफारिस गरिनेछ । उक्त समितिले पीडितबाट उजुरी तथा गुनासो सङ्कलन तथा प्रमाण जुटाउन सहयोग गर्नेछ भने निःशुल्क कानूनी सहायता तथा सचेतनाका लागि सहजीकरण गर्नेछ ।
अनुचित लेनदेनसम्बन्धी कामलाई कसुर कायम गर्ने गरी अघि बढाइएको कानुन संशोधन प्रक्रियालाई शीघ्र निष्कर्षमा पु¥याउन सरकारलाई अनुरोध गर्ने समेत सहमति भएको छ । आयोग गठनको निर्णयसँगै पीडितले सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।


मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको गत भदौ २७ को प्रतिवेदनमा उल्लेख भएका सिफारिसको शीघ्र एवम् प्रभावकारी कार्यान्वयनका लागि सम्वद्ध निकायसँग आवश्यक समन्वय र सहजीकरण गर्ने सहमति भएको छ ।
सहमतिपत्रमा सरकारी वार्ता टोलीकातर्फबाट सहसचिव प्रदीपकुमार कोइराला, उपसचिवहरु जङ्गबहादुर डाँगी, उमाकान्त अधिकारी तथा दिलकुमार तामाङ र प्रहरी उपरिक्षक दिनेशराज मैनालीले हस्ताक्षर गर्नुभएको छ । साथै सङ्घर्ष समितिकातर्फबाट मनोज पासमान, श्यामकुमार चौधरी, सङ्घर्ष दाहाल, रामरिझन यादव र छेदीलाल पासमानले हस्ताक्षर गर्नुभएको छ ।


आज बिहान मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘¥यापिड एक्सन फोर्स’को शैलीमा मिटरब्याजी पीडकमाथि कारवाही गर्ने बताउनुभएको थियो । पीडितसँगको भेटमा प्रधानमन्त्री दाहालले मिटरब्याज पीडितहरूको समस्यालाई स्थायीरूपमा हल गर्न सरकारले काम अघि बढाएको बताउनुभएको थियो ।

सो अवसरमा उहाँले पीडितका समस्या समाधान गर्न न्यायिक अधिकारसम्पन्न उच्चस्तरीय आयोग गठनको प्रक्रियासमेत अघि बढेको जानकारी दिनुभएको थियो । रासस

साइकल दौडमा उछिन्दै बाँके

दोस्रो प्रज्ञा स्मृति साइकल म्याराथनमा बाँकेको सशक्त प्रदर्शन गरेको छ । भरतपुर, चितवनमा भएको उक्त प्रतियोगितामा बाँकेका ३ जना खेलाडीले मेडल हात पार्न सफल भएको छ ।


जसमा फिमेल जूनियर समूहमा बाँकेकी साया थापाले दोस्रो स्थानउदै मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार जित्न सफल भएकी छिन ।

त्यस्तै गरी पुरुष मास्टर समूहमा बाँकेका देव बोहोराले तेस्रो स्थान ल्याउदै मेडल, प्रमाणपत्र र नगद पुरस्कार पाउन सफल भएका छन् भने महिला इलाइट समूहमा बाँके की रुपा थारुले चौथो स्थानमा लायाउँदै मेडल तथा प्रमाणपत्र ल्याउन सफल भएकी छिन् ।


बाँकेबाट जम्मा ८ जना खेलाडीले सहभागिता जनाएको बाँके साइकल संघका अध्यक्ष गगन थापाले जानकारी दिए ।

नेपालगन्जका सडकमा ‘क्रिटिकल मास’ बढ्दो हस्तक्षेप

साइकलका लागि सडक अभियानमा लागेको ‘क्रिटिकल मास’ ले नेपालगन्जमा दबाब प्रदर्शन गरेको छ ।

यसखालको प्रदर्शन तेस्रो महिनाको कार्यक्रम भएको अभियन्ता गगन थापाले जानकारी दिए । उनका अनुसार, सडकमा साइकल यात्रीको हस्तक्षेप बढाउँदै लगिएको छ ।

त्यसक्रममा तेस्रो संस्करणरमा नेपालगन्जका २० भन्दा बढी साइकल यात्रीले धम्बोजी देखि वि पि चोकसम्मको बाटो १० मिनेटका लागि जाम गरेका हुन् ।

हरेक अङ्ग्रेजी महिनाको अन्तिम शुक्रवार नेपालका ४ वटा प्रमुख सहरहरू लगायत संसार भरी ३०० सहरहरुम यस खालको साइकल र्याली हुने गरेको थापाले जानकारी दिए ।

सडक साइकल यात्री र पैदल यात्रीको पनि हो भन्ने आभास गराउन एकै छिन् भए पनि साइकल यात्रीले अन्य सवारी साधनलाई पछाडि जाम बस्न बाध्य पार्ने गरेका छन् ।

आज काँग्रेस जिल्ला सम्मेलन

महामन्त्री गगन थापासँग शुक्रवार कोहलपुरमा भलाकुसारी गर्र्दै युवा नेता, कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण आचार्य । युवा नेता आचार्य महामन्त्री थापाका खास निकट मानिन्छन् । साथमा, उपप्रमु्ख संगिता सुवेदी, काँग्रेस बाँकेका सभापति नारायण गौडेल लगायत । पूर्वस्वास्थ्यमन्त्री थापा आज नगरपालिकाको कार्यक्रममा पनि आमन्त्रित छन् ।


नेपाली कांँग्रेस बाँकेले आज शनिवार जिल्ला सम्मेलन गर्दैछ । जिल्ला सम्मेलन उद्घाटनका लागि पार्टी महामन्त्री गगन थापा शुक्रवारनै नेपालगन्ज आइसकेका छन् ।


पार्टी जिल्ला सभापति नारायणप्रसाद गौडेलले १ हजार ६ सय प्रतिनिधि सहभागी हुने सम्मेलनले सांगठनिक, आर्थिक, वार्षिक नीति तथा कार्यक्रमको प्रस्तुतिकरण र त्यसमा छलफल बहस गर्ने जानकारी दिंदै तयारी पुरा भएको बताए ।


कार्यक्रममा प्रजातन्त्र सेनानी, पूर्व पार्टी सभापति, उत्कृष्ट वडा सभापति, महिला वडा सभापति, सहिद परिवार तथा जनआन्दोलन र द्वन्द्वका घाइतेहरुलाई सम्मान पनि गरिने भएको पार्टी सचिव सुधांशु कोइरालाले जानकारी दिए ।


जिल्ला सम्मेलनको पूर्वसन्ध्यामा नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को प्रथम क्षेत्रीय सम्मेलन शुक्रवार नेपालगन्जमा आयोजना भएको छ ।


क्षेत्रीय सभापति रमेशकुमार गुप्ताको सभापतित्वमा भएको सम्मेलन पार्टी केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले उद्घाटन गरेका हुन् । सम्मेलन उद्घाटन गर्दै बाल्मिकीले कांग्रेसको संगठनलाई जुझारु र सशक्त बनाउनतर्फ लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।


जिल्ला पार्टी सभापति नारायणप्रसाद गौडेल, पूर्व पार्टी सभापतिहरु गजेन्द्र हमाल, किरण कोइराला, कृष्णमान श्रेष्ठ, महाधिवेशन प्रतिनिधि अजितकुमार शर्मा, कांग्रेस नेता एवम् तरुण दलका पूर्व महासचिव हुर्मत न्यौपाने लगायतले सम्मेलनमा बोलका थिए ।


सम्मेलनमा सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुतिसंगै पार्टीको सांगठनिक अवस्था, भावी कार्यदिशा र योजनाबारे पनि छलफल भएको बताइएको छ ।


शुक्रवारनै, नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ बाँकेको आदिवासी जनजाती शाखालाई पूर्णता दिइएको छ । आदिवासी जनजाती शाखामा कृष्णबहादुर पुन, खडकबहादुर थापा मगर, तेजबहादुर पुन मगर, चन्द्रशेखर श्रेष्ठ, अमृता गुरुंग, हरिकला मगर, धनकुमारी पुन मगर, भगवती बुढा मगर, विरबहादुर थापा, देवबहादुर थापा, तारा राना मगर, जिम्बा राना, चेतबहादुर पुन, खगीसरा राना र नैनसिंह गाहामगरलाई मनोनयन गरिएको हो ।


त्यसक्रममा पार्टीले कोहलपुरमा आदिवासी जनजाती समुदायको हकहितका लागि नेपाली कांग्रेसको भूमिका विषयक कार्यक्रम आयोजना गरेको छ ।


आदिवासी जनजाती शाखाका कृष्णबहादुर पुनको अध्यक्षता एवम् नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य टेकनारायण भुषालको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा कांग्रेस बाँकेका उपसभापति कृष्णबहादुर कार्की, क्षेत्रीय सभापति पोषण केसी, जिल्ला सदस्य राजेन्द्र श्रेष्ठ, महाधिवेशन प्रतिनिधि नमबहादुर आले लगायतले बोलेका थिए ।

सकियो ४८ घण्टे आधारभूत मेलमिलाप तालिम

न्यायाधीश बामदेव ज्ञवाली विवाद समाधानको उत्तम उपाय मेलमिलाप प्रकृया भएको बताएका छन् ।

शुक्रवार नेपालगन्जमा आयोजित एउटा कार्यक्रममा न्यायाधीश ज्ञवालीले मेलमिलापको कार्यविधि संसारभरी मान्य रहेको औल्याउँदै समुदाय र नेपालगन्जका अदालतमा मेलमिलापकर्ताको अभाव महसुस गरी त्यसका लागि तालिमको आयोजना गरिएको बताए ।


सामुदायिक मेलमिलापकर्ता समाज नेपाल र उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले आयोजना गरेको ८ दिवसीय मेलमिलाप तालिम समापनमा न्यायाधीश ज्ञवालीले आठ दिन सम्म तालिममा सिकाइएका कुरालाई जीवनमा प्रयोग गरी सफल मेलमिलापकर्ता बन्ने सुझाव दिए ।


द एशिया फाउंडेशन र अस्ट्रेलियन एडको आर्थिक सहयोगमा भएको तालिममा बांके र बर्दिया जिल्लामा रही पत्रकारिता, राजनीति, स्वास्थ्य सेवा, न्यायिक र प्रशासनिक क्षेत्र, अधिवक्ता, शिक्षक, पूर्व न्यायाधीश, अधिकृत जस्ता विभिन्न क्षेत्रमा कार्यरतहरुको सहभागिता थियो ।


कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश इश्वर प्रसाद खतिवडा, उच्च अदालतका न्यायाधीश डा. रत्न बहादुर वाग्चन, न्यायाधीश बामदेव ज्ञवाली, सामुदायिक मेलमिलापकर्ता समाज नेपालका अध्यक्ष शोभा बस्नेत, जिल्ला अदालतका न्यायाधीश चाडक्य मणि अर्याल अधिवक्ता भानुभक्त रिजाल लगायतकाले सहजीकरण गरेका थिए ।