Tuesday, May 12, 2026
घर ब्लग पृष्ठ 297

युवा संघको नवौं महाधिवेशन: नेपालगन्ज आइपुगे पदाधिकारी

नेकपा (एमाले) सम्बद्ध युवाहरुको संगठन, राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको तयारीमा तिब्रता दिइएको छ । नेपालगन्जमा यहि चैत २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको तयारीमा तिब्रता दिइएको हो ।


त्यसका लागि राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेल, उपाध्यक्ष सुमन पुरीसहितका पदाधिकारीहरु नेपालगन्जमा आइपुगेका छन् । आयोजक मूल समितिका नेताहरुले महाधिवेशन तयारीका ८० प्रतिशत काम पूरा भएको जनाएका छन् ।


राष्ट्रिय युवा संघका अध्यक्ष पौडेलका अनुसार, पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनको तयारीमा जिल्ला पार्टी नेतृत्वसमेत सक्रिय छ ।


उद्घाटन समारोहलाई भव्य बनाउन मञ्च व्यवस्थापन, आवास तथा खाद्य व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन लगायतका कामहरु धमाधम भइरहेको अध्यक्ष पौडेलले बताए ।


‘दुई हजार भन्दा बढि प्रतिनिधि सहभागि हुने महाधिवेशनलाई भव्यतापूर्वक सफल पार्नेगरी तयारी भईरहेको छ’, अध्यक्ष पौडेलले सञ्चारकर्मीहरुसँग भने,‘अहिलेसम्म ८० प्रतिशत तयारी भइसकेको छ, दुईदिनमा बाँकी काम पनि पूरा हुनेछ ।’

महाधिवेशन उद्घाटन समारोहमा नेकपा (एमाले) बाँकेसँगको समन्वयमा दश हजारबढी जनपरिचालन गरिने तयारी भइरहेको अध्यक्ष पौडेलले बताए । उनका अनुसार, त्यसका लागि केन्द्रिय सदस्य एवम् बाँके इन्चार्ज सूर्य ढकाल, जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपति लगायत पार्टी कमिटी समेत खटिएको छ ।


महाधिवेशन उद्घाटन समारोहमा पार्टी अध्यक्ष ओलीसँगै, उपाध्यक्ष रामबहादुर थापा (बादल), महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवम् मोर्चा संगठन इन्चार्ज भानुभक्त ढकाल, पोलिटव्यूरो सदस्य महेश बस्नेत लगायतका नेताहरु सहभागी हुने कार्यक्रम तय भएको युवा नेता रबिन्द्र लम्साल जानकारी दिए । महाधिवेशन आवास तथा खाद्यान्न समिति संयोजक एमाले बाँकेका संयोजकसमेत रहेका लम्सालले देशभरीका दुईहजार प्रतिनिधि र अतिथिहरुको नेपालगन्ज र कोहलपुरका होटलमा बासको व्यवस्था गरिएको बताए ।


आयोजकका अनुसार, उद्घाटन समारोहमा चर्चित लोककलाकार बद्रि पंगेनी, राजा राजेन्द्र, अस्मिता अधिकारी, रबि वड लगायतले सांगीतिक प्रस्तुति दिनेछन् ।

त्यसको प्रचारप्रसारका लागि प्रचारप्रसारमा युवा संघका कार्यकर्ता परिचालित छन् । नेपालगन्जका विभिन्न ठाउँमा झण्डा व्यानर, पोष्टर टाँस्ने कामलाई तिब्रता दिइएको मूल आयोजक समितिका संयोजक सुर्य ढकालले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य ढकालका अनुसार, त्यसक्रममा युवा संघका कार्यकर्ताहरु बाँकेका ८१ वडामा परिचालित भएका छन् ।

नगरलाई सुपरको ड्रोन

विपद्का बेला उपयोग गर्न ड्रोन, खोज तथा २६ लाखबढीको उद्धार सामग्री प्रदान गरिएको हो

नेपालगन्ज उपमहानगरपालिकालाई विपद व्यवस्थापनजन्य सामग्री प्रदान गरिएको छ । शहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्रोजेक्ट)ले ड्रोन, खोज तथा उद्धार सामग्री, सूचना प्रविधि र कार्यालय व्यवस्थापन सम्बन्धि सामग्री, अग्नी नियन्त्रण सामग्री प्रदान गरेको हो ।


आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले विहीवार हस्तान्तरण गरिएको ती महत्वपूर्ण सामाग्री २६ लाख ४८ हजार मूल्य बराबरका रहेको बताए । ज्ञवालीका अनुसार, नेपालगन्जमा विपद् व्यवस्थापनका लागि काम गरिरहेको सुपरले विपद व्यवस्थापन, कार्यालय व्यवस्थापन, आगलागी नियन्त्रणका लागि अत्यावश्यक सामग्री हस्तान्तरण गरेको हो ।


विहीवार एक कार्यक्रमका बीच युनिसेफ नेपालकी आपत्कालीन विशेषज्ञ सुनिता कायस्थले नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टलाई सबै सामग्री हस्तान्तरण गरिन् ।


सामग्री हस्तान्तरण कार्यक्रममा उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, विपत् समिति संयोजक समिरप्रताप सिंह लगायत उपस्थित थिए ।


नेपालगन्ज उपमहानगरपालिकाले विपद्लाई प्राथमिकतामा राखेको भन्दै नगर प्रमुख विष्टले सुपरसंगको सहकार्यपछि विपद जोखिम न्यूनीकरणका क्षेत्रमा एक कदम अघि बढेको महसूस आफूले गरेको उल्लेख गरे । उनले युनिसेफका प्रतिनिधिहरुसंगको छलफलमा सुपरसंगको सहकार्यले विपद व्यवस्थापनका क्षेत्रमा अझ गहिरो ढंगले काम गर्न सहयोग पुगेको बताए ।


त्यसक्रममा युनिसेफकी आपतकालीन विशेषज्ञ कायस्थले विपद व्यवस्थापनका लागि सुपरसंगको सहकार्यमा नेपालगञ्जले गरिरहेका गतिविधि र सचेतनाबारे नागरिकमा राम्रो बुझाई रहेको आफूले पाएको उल्लेख गरिन् । कायस्थले प्रतिकार्यमा मात्रै बजेट केन्द्रित गर्ने परम्परागत अभ्यासलाई सच्याउँदै न्यूनीकरणका लागि गरिने पूर्व तयारीमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएकी थिइन् ।

आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार, युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सुपर प्रोजेक्ट सञ्चालनमा छ ।

नेपालगन्जको वडा नम्बर ३ र ७ मा सुपर प्रोजेक्ट सञ्चालन भइरहेको ज्ञवालीले जानकारी दिए ।

खोप नलगाएका बालबालिका खोजिंहुँदैछ है !

नेपालगन्जमा खोप लगाउन छुटेका बालबालिकाहरुलाई घर–घरमा पुगेर खोजिँदैछ । १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकाहरुलाई खोज्न सुरु गरिएको हो ।


बैशाखमा गर्ने पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि खोप लगाउन छुटेका बालबालिकाहरुलाई घर–घरमा पुगेर खोज्न थालिएको हो ।


वडास्तरमा वडा अध्यक्ष संयोजक रहने गरी बनेको खोप समन्वय समितिलाई अझ सक्रिय बनाएर अनुगमनका लागि उत्प्रेरित पनि गरिएको नेपालगन्ज उपमहानगरपालिका, स्वास्थ्य महाशाखाले जनाएको छ ।


यसअघि नै पूर्ण खोप घोषणा भइसकेको नेपालगन्ज उपमहानगरपालिकालाई बैशाखमा गर्ने पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि कोही पनि बालबालिका खोपबाट बञ्चित नहुन् भन्नका लागि घरदैलो अभियान र सर्वेक्षण थालिएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका २३ वटै वडामा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेर ‘खोज र खोप’ अभियान सञ्चालन गरिएको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए ।


‘खोज र खोप अभियानलाई प्रभावकारी बनाउन वडा–वडामा कार्यशाला गोष्ठी ग¥यौं, पूर्ण खोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि कार्ययोजना तयार गरेर स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई वडा–वडामा खटाएका छौं, चैत मसान्तसम्ममा खोप नलगाएका बालबालिकाहरुको लाइन लिष्टिङ गर्छौं, त्यसपछि खोप लगाउँछौं,” बस्नेतले भने– “वडा स्तरदेखि नै छुट बच्चाहरुको खोजी गर्ने र खोप प्रदान गर्ने नियमित प्रक्रियाको विकास गर्ने उद्देश्यले हामी घरधुरी सर्वेक्षणमा जुटेका छौं ।” युनिसेफको सहयोगमा घरधुरी सर्वेक्षण भइरहेको छ ।


घरधुरी सर्वेक्षणको प्रगति र प्रभावकारिताबारे अनुगमन पनि गरिरहेको बस्नेतले बताए । उनका अनुसार, हालसम्म वडा नम्बर ३, ८, १४ र २२ मा घरधुरी सर्वेक्षणको काम पनि भएको छ ।


नियमित खोप छुट बच्चाहरु, कारणको पहिचान र विश्लेषण गर्ने गरी कार्यशाला गोष्ठीबाटै कार्ययोजना बनाइएको थियो । उक्त कार्ययोजना अनुसार घरधुरी सर्वेक्षण भइरहेको छ । कार्यशालामार्फत पूर्ण खोप कार्यक्रमको लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको क्षमता अभिबृद्धि गरिएको छ ।

हनुमान जयन्ती: नेपालगन्जमा र्याली र झाँकी

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२ स्थित हनुमानगढीमा तीनदिने हनुमान जयन्ती आयोजना भइरहेको छ । त्यसक्रममा विहीवार नेपालगन्जमा भव्य र्याली र झाँकी प्रदर्शन गरिएको छ ।


अखण्ड रामायण पाठ अष्टयाम सङ्कीर्तन एवं निशान पूजनसहित सुरु भएको सो जयन्तीमा बुधवार साँझ भारतको अयोध्याबाट आएको १२ जनाको विशेष टोलीले विशेष झाँकी, श्रीराम भजन, ताण्डव नृत्यलगायत कथा प्रवचन गर्ने हनुमानगढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका उपाध्यक्ष जितेन्द्र सिंहले जानकारी दिए ।


२८ घण्टा निरन्तर होम हुने उल्लेख उपाध्यक्ष सिंहले गर्दै काठमाडौँ, विराटनगर, बुटवल, सुर्खेत, सल्यान भारतको बहराइज, सेराबस्ती, गोण्डालगायत क्षेत्रबाट भक्तजनको सहभागिता रहने बताए । स्थानीय प्रतिष्ठित व्यक्तिको चन्दाबाट उठेको रकमबाट करिब २० हजारलाई भण्डारा (भोजन) को व्यवस्थापन गरिएको छ । यसमा करिब रु २८ लाख खर्च हुने अनुमान गरिएको छ । “जहाँ जहाँ श्रीरामको कथा प्रवचन, भजन कीर्तन हुन्छ त्यहाँ त्यहाँ कुनै न कुनै रूपमा हनुमानजी प्रकट हुनुहुन्छ”, उनले भने ।


उपाध्यक्ष सिंहले हनुमानगढी गुरुजीको तपोभूमि भएको उल्लेख गर्दै यस स्थानमा गाईको सेवा हुने बताए । थानापती महन्त उमेश गिरीले हनुमानगढीको पवित्र स्थानमा भौतिक पूर्वाधारको कुनै संरचना नभएको उल्लेख गर्दै ३० वर्षदेखि गुरुजीले चरण राखेर गौशालाका रूपमा विकास भएको र अहिलेको कलियुगमा जुनसुकै ठाउँमा पनि हनुमानजीको चमत्कार भएको बताएका छन् ।


“विगतमा फोहोरको व्यवस्थापन गर्ने, कुस्ती खेल्ने ठाउँ भएको र बाल्दा नामको ऐतिहासिक तलाउ रहेको तर पछि ऋषिमुनिको आगमनपछि पाँच करोड गायत्री मन्त्रको जप भएको पवित्र स्थानका रूपमा यसलाई लिइएको छ”, थानापति महन्त गिरी भन्छन् ।


गिरीले जताततैबाट धर्ममाथि प्रहार भएकाले यसलाई बचाउन आवश्यक भएकामा जोड दिँदै धर्मप्रतिको आस्था र विश्वासलाई बलियो बनाउन आवश्यक रहेको बताए । धार्मिक अभियन्ता अर्जुन धिमालले हनुमान जयन्तीमा शिवजीको लीला, श्रीराम लीला प्रस्तुत हुने उल्लेख गर्दै अयोध्यामा जस्तै स्टेज बनाएर रातभर जाग्राम भजन हुने बताए । हनुमान जयन्तीको अन्तिम दिन रथ यात्रा, शोभायात्रा हुने र विशाल भण्डारा भएर समापन हुने बताइएको छ ।


अभियन्ता दिवाकर खनालले माल्दा तलाउ ऐतिहासिक भएको उल्लेख गर्दै हनुमानगढी र बागेश्वरी मन्दिरमा अदृश्य शक्ति भएको बताए । “बागेश्वरी माता हो हनुमानजी शिवाआंश हो”, उनले भने ।


ऐतिहासिक माल्दा तलाउ भएको स्थानमा तीन फिटको हनुमान मन्दिर बनाउन लागिएको छ । धार्मिक पर्यटन प्रवर्द्र्धनका लागि नेपालगन्जको बागेश्वरीमा तीन महिनादेखि आरती हुँदै आएको छ ।

मन्दीविरुद्ध राहत आव्हानः घरभाडामा छुट देउ

आर्थिक मन्दीले व्यवसायी पलायनको अवस्थामा पुगेको भन्दै नेपाल उद्योग तथा व्यवसायी महासंघ, बाँकेले त्यसविरुद्ध राहतको आव्हान गरेको छ ।


बुधवार नेपालगन्जमा पत्रकार सम्मलेनको आयोजना गरि महासंघले व्यापारीको पलायन रोक्न र व्यापारीलाई टिकाइ राख्नका लागि घर भाडामा छुट दिन आव्हान गरेको हो । महासंघले त्यससँगै सरकारले लिने गरेको आयकर, व्यवसाय कर छुटका लागि माग गर्दै नेपाल उद्योग वाणिज्य महासंघलाई त्यसको पहल लिन आग्रह गरेको छ ।


महासंघले नेपालगञ्जको व्यवसायलाई टिकाइ राख्न स्थानीय सरकारले लिने गरेको व्यवसायिक कर र भाडामा छुट दिने घरधनीको घरबहाल कर मिनाहा गरिदिन अनुरोध गरेको छ । ‘यसका लागि दबाब बढाउने’ महासंघको कार्यक्रम छ ।


‘कम्तिमा व्यवसायीका पक्षमा घरधनीले सकारात्मक भइदिन अनुरोध हो,’ महासंघका बाँके अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले नियमित बढाउँदै आएको घरभाडा सहज अवस्था नहुने बेलासम्म नबढाउन आग्रह गर्दै भने, ‘नेपालगन्जमा झण्डै २ सय सटर खाली भइसकेका छन्, यो क्रम रोकिएन भने के होला ?’ अध्यक्ष श्रेष्ठले खाली भएका सटर वा गोदामलाई सहुलियत दरमा उपलब्ध गराई बजार पलायन हुनबाट रोक्न र हाल लिइरहेको भाडालाई अहिलेको आर्थिक मन्दी र घट्दो व्यापार सही स्थानमा नआउँदासम्म जति सकिन्छ, भाडादरमा छुट उपलब्ध गराउन माग पनि गरे ।


अध्यक्ष श्रेष्ठले न्यूरोडस्थित आफ्ना घरमा बसेका पाँच व्यवसायीको एक वर्षसम्म भाडादर वृद्धि नगर्ने घोषणा गर्दै दश प्रतिशत भाडा छुट दिने निर्णय सुनाए । ‘मैले आफैबाट सुरुवात गरें,’ नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठले संघबाट यसखालको पहलको अपेक्षा गरिएपनि हुन नसकेकोमा चिन्ता गर्दै भने, ‘कोभिडका बेला पनि होटल व्यवसायी संघ नेपालगन्जको पहलमा घरधनीहरुले निकै राहत दिनुभएको थियो, अहिले अवस्था झनै खराब हुँदै गएपछि हामी यो अभियानमा निक्लिएका हौं ।’


नेपालगन्जबाट दुई सय व्यापारी पलायन भइसकेको बताइएको छ । यद्धपी यसको आधिकारिक अध्ययन भएको छैन । नेपालगन्जका मुख्य बजार क्षेत्रमै सटर खाली रहेका देखिन्छन् भने व्यवसाय हुन नसकेर बजारमा सन्नाटा बढेको छ ।


‘यो बेला हामी सबै एकजुट हुनुपर्छ, समस्याको मिलेर सामना गर्नुपर्छ,’ महासंघका सचिव भीम रानाभाटले भने, ‘यो बेला पलायन भएका व्यापारी फर्केर आउने सम्भावना रहन्न, त्यसैले पनि यो नेपालगन्जको साझा सवाल हो ।’ नगरपालिका, बाणिज्य कार्यालय, घरेलु, औषधी व्यवस्था कार्यालय, अन्तशुल्क कार्यालय, उद्योग वाणिज्य संघलगायत मातहतका कार्यालयले नविकरण तथा जरिवाना मिनाहा गरिदिनु पर्ने माग सचिव रानाभाटको छ ।


‘बैंक तथा वित्तीय संस्थाहरुले गरिरहेको ज्यादतीलाई सरकारले नियन्त्रण गर्दै अर्थतन्त्रलाई ट्रयाकमा ल्याउनु पर्छ,’ महासंघका केन्द्रीय सदस्य सन्जय अग्रवालले भने, ‘त्यतिन्जेल व्यवसायिक मर्कालाई कम गर्दै लैजान आपसी सहयोग, सहकार्य र समन्वय आवश्यक छ ।’


व्यवसायिक अगुवाहरु ज्ञानेन्द्र श्रेष्ठ, मधुसुदन शर्मा, मिना ढकाल, सरला विष्टले व्यापारीको पलायनले नेपालगन्जको रौनक घट्दै गएकाले व्यापारीलाई बचाउन र टिकाउन सबै निकाय लाग्नु पर्ने बताए ।


होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य भिमलाल कंडेलले कोभिडमा नेपालगन्जका व्यवसायी र घरधनीले आपसी सहकार्यमा दुखपीडा बाँडेको सम्झँदै भने, ‘होटल व्यवसायी संघ नेपालगन्जको आव्हानलाई घरधनीले सम्बोधन गरिदिनु भयो ।’ उनले होटल तथा पर्यटन क्षेत्र झनै जोखिममा रहेको औल्याए ।


महासंघका जिल्ला सचिव रानाभाटका अनुसार, घरभाडा छुटको आग्रहलाई देशभरि पुर्याइनेछ भने करछुटका लागि पहल लिन नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश र केन्द्रलाई घच्घच्याइने छ ।

महाधिवेशन:युवा संघका कार्यकर्ता ८१ वडामा परिचालित

उद्घाटनमा दुई दर्जन मुलुकका युवा प्रतिनिधि

राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनलाई भव्यता दिन आयोजकले तयारीलाई तिब्रता दिएको जनाएको छ ।
आगामी चैत्र २७ –२९ गते नेपालगन्जमा आयोजना हुने महाधिवेशनको पूर्वतयारीका काम भइरहेको जानकारी दिंदै आयोजक मूल समितिका संयोजक, प्रतिनिधिसभा सदस्य सुर्य ढकालले ‘ऐतिहासिक रुपले भव्यता दिइने’ बताए ।


देशभरबाट १ हजार ७ सयबढी चुनिएका युवा संघका प्रतिनिधि र २५ देशका युवा प्रतिनिधि सम्मिलित उद्घाटन कार्यक्रमलाई भव्यता दिन साँस्कृतिक कार्यक्रम पनि गरिन लागेको जानकारी दिंदै संयोजक ढकालले तयारी अगाडी बढाइएको बताए ।


पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने समारोहमा बाँके–बर्दियाबाट ठुलो जनसहभागिता रहने अपेक्षा गर्दै एमाले बाँकेका इन्चार्ज ढकालले दैनिक नेपालगन्जसँग भने, ‘तयारीका लागि बाँकेका ८१ वटै वडामा युवा कार्यकर्ता प्रचारप्रसारमा परिचालित भइसकेका छन् ।’

सुमन गिरि
लुम्बिनी प्रदेश इन्चार्ज/केन्द्रीय उपाध्यक्ष, युवा संघ

कहाँ पुग्यो महाधिवेशन तयारी ?
तयारी अन्तिम चरणमा छ । देशभरबाट प्रतिनिधि छनोट भैसकेको छ । १ हजार ७ सय ४० भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । झण्डा, ब्यानर लगाउने लगायतका प्रचारको काममा छौं हामी अहिले ।


महाधिवेशनका खास एजेण्डा चाहिं के हुन् ?
सर्वप्रथम त जतिपनि महाधिवेशन काठमाडौं केन्द्रीत भैरहँदा नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल पश्चिम नेपालको महत्वपूर्ण नगर नेपालगन्जमा आइपुगेको छ । हामी किन आएका हांै, नेपालगन्ज भने यसले समग्र पश्चिम नेपालको महत्वपूर्ण स्थान लिएको छ ।


हामीले यहाँबाट नेपालका हरेक ठाउँमा, हरेक कुनामा आफ्ना कुराहरु, एजेण्डाहरु लैजान सक्छौं । काठमाडौं केन्द्रित हुँदा पश्चिम, पूर्वका साथीलाई पनि अपायक पर्ने भनेर यहाँ आएका छौं हामी ।

नेतृत्व छनोट यहाँबाट हुन्छ । १० बर्ष हामी रुमल्लियौं । महाधिवेशन हुन सकेन । ८ औं महाधिवेशन बुटवलमा भएको थियो । १० बर्ष २ महिना भैसकेको छ । नेतृत्व छनोट नै प्रमुख कुरा हो ।

के लिएर जाँदै हुनुहुन्छ जनतामा ?
अब हाम्रा हिजोको युवा आन्दोलन लोकतन्त्र प्राप्तिका लागि अधिकार प्राप्तिका लागि थियो । अबको युवा आन्दोलन समृद्धिको लागि हो । हामीले नारा नै बनाएका छौं, सुशासन, समृद्धि, राष्ट्रियता, नविनता, सिर्जनशीलता र दक्षशीलता । त्यो मानेमा हाम्रा कार्यक्रमहरु नविनतम, गतिशिल हुन्छन् । जसले समृद्धिको खाका कोर्नेछ । विदेशमा बस्ने ५० लाख युवाहरुलाई नेपालमा कसरी ल्याउने भन्ने कार्ययोजना र कार्यदिशा बनाएर अगाडि बढाउने हाम्रो योजना छ ।

अपील केहो नवौं महाविधेशनका सन्दर्भमा ?
आज मुलु्कको समृद्धि चाहने पार्टी नेकपा एमाले हो । त्यसको जनवर्गीय संगठन हामी हो । यो मुलुकमा धेरै युवाहरुले हेरिरहनु भएको छ, युवा संघ नेपालले कस्तो एजेण्डा पास गर्नेछ, कस्तो नेतृत्व ल्याउने छ । त्यो नेतृत्वबाट केही आश राखेको छ । नेतृत्वले नयाँ कार्यदिशा, नयाँ कार्यक्रमहरु ल्याएर नेपाली युवा माझमा गएर भन्नेछ यो मुलुक समृद्ध गर्न आउनुस् साथीहरु, युवा संघ नेपालमा हातेमालो गरौं गोलबद्ध होऔं ।


आज केही साथीहरु अमेरिका बस्नुहुन्छ । त्यहाँ आफ्नो जवानी सकेर घण्टी लिएर आएर आउनु भएको छ । त्यस्ताका पछि लागेर अब हामी देश बनाउन सक्दैनौं । यो मुलुक बनाउने पार्टी नेकपा एमाले हो ।

विरहीलाई ‘पूर्णिमा साहित्य रत्न’

शनिवार कोहलपुरमा कवि केशव सिग्देलको एकल कविता वाचन

वरिष्ठ साहित्यकार रेशम विरहीलाई ‘पूर्णिमा साहित्य रत्न’ प्रदान गरिने भएको छ ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले आगामी शनिवार कोहलपुरमा साहित्यिक समारोहको आयोजना गरि श्रष्टा विरहीलाई ‘पूर्णिमा साहित्य रत्न– २०७७’ प्रदान गर्न लागेको हो । नगद राशी २५ हजार ५५५ रुपिया सहित सम्मान वरिष्ठ साहित्यकार विरहीलाई अर्पण गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष कपिल अन्जानले जानकारी दिए ।


प्रतिष्ठानका अनुसार, शनिवारनै पूर्णिमा साहित्य रत्न–२०७८, वरिष्ठ गजलकार श्रेष्ठ प्रिया ’पत्थर’लाई प्रदान गरिंदैछ । नगद राशी २५ हजार ५५५ रुपिया सहितको सम्मान कैलालीकी श्रष्टा श्रेष्ठलाई प्रदान गर्न लागिएको हो ।


वरिष्ठ गायक प्रेम प्रकाश मल्ल ‘मधुकर’लाई पहिलो पटक पूर्णिमा साहित्य रत्नले सम्मानित गरिएपछि यो पुरस्कारको स्थापना गरिएको थियो । मधुकरले २०७१ सालमा ग्रहण गरेको पूर्णिमा साहित्य रत्न क्रमशः सनत रेग्मी– २०७२, दिनेश अधिकारी–२०७३, नयनराज पाण्डे– २०७४, महेश विक्रम शाह–२०७५, माया ठकुरी–२०७६ र यसपटक एकैसाथ दुई जनालाई २०७७ र २०७८ का पुरस्कार अर्पण गर्न लागिएको अध्यक्ष अन्जानले जानकारी दिए ।


शनिवार टिकटमा एकल कविता वाचनको अर्काे विशेष संस्करणमा युवाकवि केशव सिग्देललाई निम्त्याइएको छ ।


‘साहित्यिक धरोहर संस्था हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले आयोजना गर्ने हरेक कार्यक्रम आफैमा महत्वपूर्ण रहँदै आएका छन्,’ कोहलपुरका युवा श्रष्टा सागर गैरेले साहित्यमा केही सिक्न चाहनेहरुका लागि अति महत्वपूर्ण प्लेटफर्म मात्रै होइन, साहित्यमा योगदान पु¥याएका अग्रज श्रष्टाहरुको कदर गर्ने साझा मञ्च समेत बनिरहेको तथ्य औल्याउँदै भनेका छन् ।


गैरेले सामाजिक सञ्जालमार्फत चैत्र महिनाको अन्तिम शनिबार कोहलपुर बजार बन्द हुने भएकाले श्रस्टा सम्मान र कविता बाचनको कार्यक्रम सहभागिताको अपील गर्दै भनेका छन्, ‘फेरि एकपटक हामी सर्जकलाई सम्मान र कोहलपुरबाट उदाएका एकजना चर्चित कविका कालजयी रचना सुन्ने ऐतिहासिक मोडमा उभिएका छौं ।’

कोहलपुरमा साहित्यिक विमर्श


वागेश्वरी क्याम्पस कोहलपुरमा मंगलवार समसामयिक साहित्यिक विमर्श कार्यक्रम आयोजना भएको छ । वागेश्वरी साहित्य परिषद्को आयोजना र हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको समन्वयमा भएको कार्यक्रममा भाषा आयोगका सदस्य, वरिष्ठ कवि तथा समालोचक डा.अमर गिरिले ‘समसामयिक साहित्यका विविध पक्षमा चर्चा गरेका हुन् ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. गिरिले साहित्य र जीवनको गहिरो सम्बन्ध रहने बताए ।उनले साहित्य नभए जीवन शून्य र निरस हुने भन्दै हरेक मान्छेमा कविको गुण हुने विचार राखेका थिए ।


डा. गिरिले भाषामा संस्कृति र सभ्यता बाँच्ने हुनाले भाषा आयोगले लोपोन्मुख भाषाको संरक्षण र विकसित भाषाको प्रयोग विस्तारका योजना सरकालाई पेश गर्ने बताए ।


वागेश्वरी क्याम्पस प्रमुख दानबहादुर हमालले यस्ता कार्यक्रमले सिर्जनात्मक क्षमता विकासमा मद्दत पुग्ने बताएका थिए ।
परिषद्का अध्यक्ष उप–प्राध्यापक पुष्कर रिजालको अध्यक्षतामा भएको भएको कार्यक्रमको सहजीकरण उप–प्राध्यापक नवीन किशोर रत्नले गरेका थिए ।


पूर्णिमा साहित्य प्रतिष्ठानकी उपाध्यक्ष सुमित्रा न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममास्ववियु सभापति देवेन्द्र बुढा, बालज्योति विद्यालयका प्रधानाध्यापक दामोदर पौडेल, ज्ञानोदय पुस्तकालयका उपाध्यक्ष मणिप्रसाद गैरे, पूर्णिमाका सचिव बद्री ढकाल, कथाकार पूर्मल वस्नेत, गीतकार ललितप्रकाश चन्द लगायत प्राध्यापक, विद्यार्थी र साहित्यकारहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

काँग्रेसमा सल्लाहकार र आमन्त्रित सदस्य मनोनयन

नेपाली कांग्रेस बाँकेले १० जना आमन्त्रित सदस्य मनोनयन गरेको जनाएको छ ।


प्रबक्ता डिल्ली गिरीका अनुसार, पार्टी विधानमा रहेर जिल्ला सभापति नारायणप्रसाद गौडेलले सल्लाहकारहरुको नियुक्तिसंगै आमन्त्रित सदस्यहरु मनोनयन गरेका हुन् । ११ जना सल्लाहकार नियुक्त गरेका गौडेलले १० जनालाई आमन्त्रित सदस्य मनोनयन गरेका हुन् ।


पूर्व सभापतिहरु युवराज शर्मा, किरण कोइराला, गजेन्द्रबहादुर हमाल, कृष्णमान श्रेष्ठ र सनतकुमार रेग्मीलाई सल्लाहकार बनाइएको छ । पूर्व सांसदद्वय कैलाशनाथ गुप्ता र ज्ञानु केसी, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी तथा तरुण दलका पूर्व महासचिव हुर्मतकुमार न्यौपानेलाई सल्लाहकार बनाएका गौडेलले अधिवक्ताद्वय प्रल्हादबहादुर कार्की र चित्रबहादुर शाहीलाई कानुनी सल्लाहकार नियुक्त गरेका छन् ।

जिल्ला कार्यसमितिमा आमन्त्रित हुनेमा नेपालगन्ज ५ का कादिर अन्सारी, नेपालगन्ज २२ का आशिष बर्मा, नेपालगन्ज ११ का अनिलकुमार श्रेष्ठ छन् ।
बैजनाथ ८ का पवनकुमार थारु, जानकी २ का छत्रेश्वरप्रसाद शर्मा, कोहलपुर १० की तारादेवी भुसाल पाठक, बैजनाथ ८ का रामबहादुर विष्ट, कोहलपुर २ का गोपालप्रसाद देवकोटा, खजुरा २ का रामबहादुर महतरा, खजुरा ४ का अर्जुनसिंह पाण्डे र लाई आमन्त्रित सदस्यमा मनोनयन गरिएको जानकारी दिइएको छ ।


काँग्रेस बाँकेका प्रेस सल्लाहकार नविन गिरीका अनुसार, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) र नियमावली २०७६ को परिच्छेद १८ को विविध ५६(२) मा व्यवस्था भए अनुसार आमन्त्रित सदस्य नियुक्त गरिएको हो ।

नेपाली कांग्रेस बाँकेको हरेक क्रियाकलाप एवम् पार्टीका गतिविधिहरुको राजनीतिक तथा सामाजिक क्षेत्रमा सहज पहुँच स्थापित गर्न तथा संगठन सम्बन्धि आवश्यक सल्लाह सुझाब दिन सल्लाहकारहरु नियुक्त गरिएको गौडेलले बताए ।

यस्तै कांग्रेस बाँकेको हरेक क्रियाकलाप एवम् पार्टीका गतिविधिहरुको कानुन क्षेत्रमा सहज पहुँच र कानुन सम्बन्धि आवश्यक सल्लाह सुझाब दिन कानुनी सल्लाहकारहरु नियुक्त गरिएको गौडेलको भनाइ छ ।

नेपालगन्ज अब डुवानमा पर्दैन: मेयर विष्ट

भेरी प्राविधिक शिक्षालय भएर बग्ने नेपालगन्जको ठूलो नाला विभिन्न खाले फोहरको डंगुरले अस्तब्यस्त थियो । फोहर जाम भएर पानी नै बग्ने अवस्था थिएन । नालाको आधा भन्दा बढी भाग माटोले पुरिएर झाडी नै झाडीले भरिएको देखिन्थ्यो । माटोले पाटिएको र झाडीले झाँगिएको थियो ।

पानीको सहज निकासमा अवरोध थियो । तर, अहिले यो नालाको अन्तिम विन्दु (आउटलेट) बाट सरसफाई थालिएपछि आजभोलि ‘कलकल’ पानी बग्न थालेको छ । फागुन २६ गतेदेखि ठूलो नालाको आउटलेटबाट सरसफाई थालिएको हो । बर्षेनी बर्खाको बेला डुबान हुने समस्याबाट मुक्ति पाउन नेपालगन्ज उपमहानगरपालिकाले नाला सफाईको कामलाई अहिले अभियानकै रुपमा अघि बढाएको छ ।


संघीय सरकारबाट आएको विज्ञ टोलीले गरेको स्थलगत अध्ययनपछि प्राप्त सुझाबको आधारमा जेठ मसान्तसम्म नाला सफाई सक्ने गरी काम भइरहेको छ । यसअघि सामान्यरुपमा डुबानका बेला मात्र बजार क्षेत्रका नाली सफाई गर्ने गरिए पनि बर्षौंदेखि नालाहरु सफाई गरिएको थिएन ।

तीन वटा प्याकेजमा नाला सफाई गर्ने गरी काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । पहिलो चरणमा बजार क्षेत्र भएर बग्ने ठूलो नाला र दोन्द्रा नालाको अन्तिम विन्दु (आउटलेट) बाट सफाईको काम अगाडि बढेको छ । त्यसपछि नगरका भित्री नालाको सफाई गरिनेछ ।


“अन्तिम विन्दुबाट काम सुरु गरेपछि जहाँ जहाँ अबरोध छ, त्यसमा राम्रोसंग काम गर्न सकिन्छ भन्ने उद्देश्यले आउटलेटबाट काम सुरु गरेका छौं,” नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख (मेयर) प्रशान्त विष्टले भने, “बजार क्षेत्रभित्रको मुख्य नाला र दोन्द्रा नाला मिसिएर बनेको दोधारा नालाको अन्तिम विन्दुबाट फागुन २६ गतेदेखि काम सुरु गरेका छौं ।”


जेसिबीले सफाई गर्न सक्ने ठाउँमा जेसिबी र जेसिबीले गर्न नसक्ने ठाउँमा मान्छे नै लगाएर सफाई गरिरहेको विष्टको भनाइ छ । नाला सफाई कार्यको अवलोकनमा नगर प्रमुख विष्टले नाला सफाईको काम सकिएपछि अब नेपालगन्ज नडुब्ने विश्वास व्यक्त गरे ।

“नालाको आधा भन्दा बढी भाग माटोले पुरिएको अवस्था छ, कतिपय ठाउँमा जेसिवी प्रयोग गर्न सकिने अवस्था छैन, त्यसैले मान्छे नै लगाएर सफाई गरिरहेका छौं,” नगर प्रमुख विष्टले भने, “सहरको करिब ८० प्रतिशत पानी बग्ने मुख्य नालाको सफाई मुख्य प्राथमिकतामा राखेका छौं, यहाँबाट (अन्तिम विन्दु) भेरी प्राविधिक शिक्षालयसम्म र बजार क्षेत्रमा कर्णाली विकास बैंक छेउँसम्म राम्रोसंग सफा गर्न सकियो भने पानीको सहज निकास हुन्छ ।”


मेयर विष्टले नेपालगन्ज उपमहानगरपालिकाभित्र डे«नेजको पर्याप्त नेटवर्क भएपनि सहजरुपमा पानीको निकास नहुँदा समस्या निम्तिने गरेको बताएका छन् । विज्ञ टोलीले नेपालगन्ज जति पर्याप्त डे«नेज नेटवर्क अन्य सहरमा आफूहरुले नदेखेको बताएको विष्टले सुनाउनुभयो । पर्याप्त डे«नेज नेटवर्कको सदुपयोगका लागि आफूहरु सचेत रहेको उनको भनाइ छ ।

“विगतमा बजारको वरिपरि मात्रै सफाई गर्ने काम भयो, अब हामीले अन्तिम विन्दुबाट आमरुपमा सफाई थालेका छौं, दुई चरणमा काम गर्छौं, पहिलो चरणमा दुई ठूला नाला र दोस्रो चरणमा साना नाला सफाई गर्छौं, अहिले दुई ठूला नाला सफाई भइरहेको छ, यसपछि नगरका साना नाला सफा गर्छौं, यसले अब नेपालगञ्जलाई डुबान हुनबाट जोगाउनेछ,” मेयर विष्टले जानकारी दिंदै भने ।


१०/१० लाखको तीन वटा प्याकेजमा नाला सफाईको काम भइरहेको छ । नगर प्रमुख विष्टले नालामा जथाभावी फोहर नफाल्न पनि नगरबासीलाई आग्रह गरेका छन् । “सरसफाईमा नागरिक सहभागिता जरुरी छ, नेपालगञ्ज उपमहानगरपालिकाले एक्लै गरेर मात्र हुँदैन,” उनले भने, “नागरिक सहभागिता जरुरी छ, नागरिकमा चेतना र जागरण आवश्यक छ, हामीले जनचेतना फैलाउने काम पनि गर्छौैं, पटक–पटक अटेर गरिए कारवाही पनि गर्छौं ।”

सयबढी महिलालाई बनाइयो स्वरोजगार

बर्दियामा बाँके युनेस्कोद्वारा सञ्चालित परियोजनाको संयुक्त अनुगमन

बाँके युनेस्को क्लबले बर्दियाका १२० जना युवा महिलालाई विभिन्न सिपमूलक तालिम प्रदान गरेर स्वरोजगार बनाइएको जनाएको छ ।


क्लबले दिएको जानकारी अनुसार, सिपमूलक तालिम लिनेहरुमा १७ जना सिलाई कटाई, १९ जना कम्प्युटर, ८ जना ब्युटिपार्लर, १९ जना सुरक्षा गार्ड छन् ।


त्यस्तै, १६ जनाले सेल्स पर्सन, १० जनाले कुक, ९ जनाले पशुपालन, ७ जनाले डेन्टल, १० जनाले मान्टेशरी र ५ जनाले सवारी चालक तालिम लिएको क्लबले जनाएको छ ।


जोखिममा रहेका युवा महिलाहरुलाई जीवनयपयोगी सिप प्रदान गरेर स्वरोजगार बनाई आर्थिक रुपले सम्पन्न बनाउने उद्देश्यले सञ्चालन गरिएको युवा महिलाको आर्थिक सशक्तिकरण तथा रोजगार परियोजना अन्तर्गत तालिम दिइएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेजअली सिद्दीकीले जानकारी दिए ।


यसैबीच, बाँके युनेस्को क्लबले बर्दिया जिल्लाका विभिन्न पालिकामा सञ्चालन गरेको परियोजना र कार्यक्रमको संयुक्त अनुगमन गरिएको छ ।


प्लान इन्टरनेसनल नेपाल तथा स्ट्याण्डर्ड चार्टर्ड नेपालको संयुक्त टोलीले प्लान नेपालको साझेदारीमा बर्दियाको गुलरिया र ठाकुरद्धारा नगरपालिकामा क्लबले सञ्चालन गरेको युवा महिलाको आर्थिक सशक्तिकरण तथा रोजगार परियोजनाको अनुगमन गरेको हो ।


अनुगमन टोलीले गुलरिया नगरपालिका ९ रामपुरका सिलाई कटाई तालिम लिएर सामाग्री पाई उद्यम गरिरहेका महिलाहरुको अवस्था बुझ्नुका साथै गुलरियामा डेन्टल लैब असिस्टेन्ट, सुरक्षा गार्ड, पशुपालन र व्युटिपार्लर तालिम लिएकासंग अनुभव र आगामी योजनाका बारेमा छलफल गरेको थियो ।


टोलीले ठाकुरबाबा नगरपालिकाका सेल्सपर्सन तालिम लिएका किशोरीहरुसंग छलफल गरेको थियो । त्यसका साथै नगरपालिकाका पदाधिकारीहरु, प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजाल, महिला विकास अधिकारी गगनसरा आचार्य, रोजगार संयोजक रविन्द्र अर्याल, आर्थिक विकास अधिकृत चन्द्र साउदसंग टोलीले छलफल गरेको थियो ।


टोलीले ठाकुरबाबा नगरपालिकामा खाना पकाउने तालिम लिएर ओजीटी गरिरहेका महिलाहरुसंग पनि छलफल गरेको थियो भने सुरक्षा गार्डको तालिम लिएर ओजिटी गरिरहेकासंग पनि विभिन्न विषयमा छलफल गरेको थियो ।


छलफल र भेटघाटका क्रममा तालिम लिएका विभिन्न युवा महिलाले तालिम लिएपछि आत्मबल र आत्मविश्वास बढेको जनाउँदै प्राप्त गरेको सिपबाट रोजगारीको अवसर सृजना हुने विश्वास व्यक्त गरेका थिए ।


अनुगमन टोलीमा प्लान नेपालका क्षेत्रीय प्रबन्धक मिना पराजुली, प्राविधिक सल्लाहकार प्रतिमा कुँवर, ग्रान्ट कोअर्डिनेटर निशा अधिकारी र कार्यक्रम संयोजक गोमा ओली चौधरी सहभागी थिए ।


त्यस्तै, स्टयाण्डर्ड चार्टर्डका कर्पोरेट अफयेर ब्रण्ड एण्ड मार्केटिंग प्रमुख प्रनु सिंह, नेपालगन्ज शाखा प्रमुख सुजन प्रजापति, कर्पोरेट अफयेर मेनेजर नितिका घिमिरे अनुगमनमा सहभागी भए ।


बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दीकी, अध्यक्ष रवि तुलाधार, कार्यकारी निर्देशक साजिद अलि सिद्दीकी, कार्यक्रम संयोजक गोविन्द लामिछाने र फिल्ड सुपर भाइजरहरु गोबिन्द विक र कन्चन दहितको पनि अनुगमनमा सहभागिता रहेको जनाइएको छ ।