तमु गुरुङ जातीको मूख्य ६ वटा पर्वहरु मध्य ल्होसार अर्थात नया बर्ष प्रमुख पर्व हो । यो बाहेक गुरुङ जातीहरुले मा ङी दिना सात कन्याहरुको उत्पत्ती एबम पारिवारिक सम्बन्ध कायम रहेको दिन । मे त्हले ल्हिपा, धन बिद्या पर्व । फु ता सो दिना, विधान सभा अर्थात गुरुङहरुको विधान दिवस पर्व । खे कु त्हे, नौ महागुरुहरुको उत्पत्ती दिवस अर्थात गुरु पूजा दिन । क्होला सोथर च्यूपा, नयाँ राज्य स्थापना दिवस जस्ता पर्वहरु पर्दछन । यी पर्वहरु मध्ये त कतिपय प्राय लोप हुन लागेको अवस्थामा पुगिसकेका छन भने कतिपय पर्वहरु महत्व मान्न छाडेको पाइन्छ ।


मानव सभ्यताको विकासमा सनातन सांस्कृतिक परम्परा सभ्य समाजका जीवन पद्धतिसग जोडिदै आएको छ । सभ्यताको विकास र विस्तारमा हिमवत्खण्ड मानव सभ्यताको उदगम मानिन्छ । सभ्यताको आदिम कालमा मानव सीमित समुदायको थियो र उसले प्रयोग गर्ने भाषा पनि एकै थियो तर सभ्यताको विकाससगै मानव अनेक समुदायमा धेरैतिर व्याप्त भयो अनि उनीहरुले प्रयोग गर्ने भाषा पनि धेरै भए । कालान्तरमा एकै भूभागमा अनेकन जाति र समुदायका मानिसहरुको बसोवास बढन थाल्यो । त्यसले समाज बहुजाति, बहुसंस्कृति र बहुभाषाको बन्न थाल्यो । नेपाल यस्तै मुलुक हो ।


वोन धर्म तमु जाति अर्थात समुदायमा विधमान पैत्रिक कुलधर्म हो, जुन धर्ममा तमु जातिले प्राचिनकालदेखि नै विश्वास राखी अनुशरण गर्दै आइरहेकोछ । वोन धर्म विश्वको पूरानो धर्म अन्तर्गत पर्ने एक प्राचिन धर्म हो जसमा मानव निर्मित मानवरुपि भगवानमा विश्वास राख्दैन । अझ भन्ने हो भने वोन धर्ममा भगवान हुदैन, देवता हुन्छ । त्यसैले वोन धर्मलाई भवगान नभएको धर्म पनि भन्दछ । शब्दगत अर्थ लगाउने हो भने पनि देवता र भगवानमा फरक पाउन सकिन्छ । तमु जातिले वोन धर्म अनुसार प्राकृतिक स्रोत अर्थात प्रकृतिलाई पूजा गर्दछन र तीनै प्राकृतिक स्रोत नै देवताको स्वरुप मान्दछन । वोन धर्ममा खोलानाला, पोखरी, रुख, पहाड, डाडाकाडा, भिरपखेरो, बन, जंगल, ठूला चट्टान, घाम, जुन, तारा, आकाश, भूमि, देउराली आदिलाई पूजा गर्दछन । तमु भाषामा भन्नु पर्दा क्लहेसोदी, परहेसोदी, आजीखे, आजीमा, सिल्दो, नाल्दो, सिमे, भूमे, खेकु, माङी, खेथे, माथे, सग्र्या, जस्ता प्राकृतिक वोन धर्म अन्तर्गतका देवताहरु हुन । वोन धर्म अनुसार संसार, जगतका सबै प्राकृतिक वस्तु, सजिव प्राणीहरु सबैको आत्म हुन्छ भन्ने विश्वास गरिन्छ ।


आदिवासी जनजातिमा सूचिकृत भएका मध्य एक जाति गुरुङ पनि हो । विशेषत जनजातीहरु संस्कार संस्कृतिले धनि जाति मानिन्छ । त्यसमध्ये गुरुङ जातिको पनि आफ्नै धर्म संस्कार संस्कृति भेषभुषा भाषा चाडपर्वहरु लगायतका छन । तमु ल्होसार गुरुङ जातिको महान पर्व हो । यो पर्व खासगरी नेपालमा र विश्वका अन्य देशहरुमा रहने गुरुङ जातीले, पनि मनाउछन । ल्होसार भनेको नयाँ वर्ष हो । यो पुस महिनाको १५ गते पर्छ । गुरुङ समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरुङ समुदायको पात्रोमा नयाँ सम्वत शुरु भएको सकेत गर्दछ । प्राचीन तमु प्यो शास्त्र अनुसार तमु ल्होसारको दिन तमुहरुका प्रथम महापुरुषको उतपत्ति भएको मानिन्छ ।


ल्होसार पर्व अघिल्लो दिनदेखि नै मनाउन सुरु हुन्छ । बेलुका पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा ’नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गर्ने प्रचलन छ । ल्होसारको दिन बिहानदेखि नै ढोग–भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर रमाइलोको गरिन्छ । ल्होसारको दिन गुरुङ जातिहरु आफ्नै शैलीका भेषभुषा सजिएका हुन्छन । महिलाहरुले शिरवन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिटको गुन्यु र मजेत्रो लगाएर सजिन्छन् भने पुरुषहरुले शिरमा टोपी, भोटो माथि भाग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन् । अन्य जातले जस्तै गुरुङ जातिहरुको पनि पर्वहरु मनाउने आफ्नै शैली छ । ल्होसार पर्वमा सोरठी स्थानीय भाषामा चुडका भनेर प्रचलित कौडा नाच नाचेर आफ्ना परिवार, साथीभाईहरु संग रमाइलो गर्छन् ।


गुरुङ समुदायको नयाँ वर्ष हो, तमु ल्होसार । ल्होले वर्ग अथवा वर्ष र सार÷छारले नयाँ भन्ने बुझाउँछ । गुरुङहरुले विगत २६०३ वर्ष अघिदेखि ल्होसार मनाउँदै आइरहेको मानिन्छ । हरेक वर्षको पुस १५ मा गुरुङको वर्ग÷वर्ष फेरिन्छ । पुस १५ लाई उनीहरुले नयाँ वर्ष र जातीय पर्वका रुपमा मनाउँछन ल्हो अर्थात वर्ग १२ वटा हुन्छन । ती सबै विभिन्न पशुपक्षीका नाममा राखिएको हुन्छ । ल्होसारको दिन अर्थात १५ पुषमा नयाँवर्ष प्रारम्भ हुने वित्तिकै अर्थात राती १२ बजे नै तमु समूदायहरु जगंल अथवा सार्वजनीक स्थलमा गएर आगो बालेर, धनुषकाँड खेलेर वर्षको विदाई गरेर नयाँ वर्षको शुरुवात गर्ने गर्दछन् । पश्चिमतर्फ हानेको धनुकाँडले गएको ल्हो अर्थात वर्षको विदाई अनि पूर्वतर्फ हानेको धनुकाँडले भोलीपल्ट त्यसै दिशाबाट उदाउने नयाँ वर्ष अर्थात ’ल्हो’ को स्वागत गर्ने चलन छ । विहानपख नराम्रो ल्हो अर्थात वर्षहरुलाई आउन नदिन जन्तर जगंलको रुखमा बाँध्ने चलन छ । ल्होसार पर्वको पहिलो दिनमा छागंकोल नामक पेय पदार्थ बनाएर ग्रहण गरिन्छ । भने दोस्रो दिनलाई राजाको ल्होसारका रुपमा लिइन्छ । ल्होसार पर्वको लागी विभिन्न मन्त्रहरु लेखिएका अनि विभिन्न रगंका तोरण, झण्डाहरु घर, डाँडा र वौद्ध विहारमा झुण्डयाइने प्रचलन हुन्छ । तमु भाषामा लेखियको यो भाषाले छयाँजलो, ताहान मिथेवामैलई छयाँजगे मु जाँसाजे । हाम्रो पात्रोको तर्फबाट तमु अभिवादन ! आज तमु ल्होसार हो भन्ने अर्थ दिन्छ । पे म्ह्स्या, छ्या म्हमु, छया म्हस्या ल्हु म्हमु,ल्हु म्ह्स्या म्हि म्हमु यसको अर्थ शास्त्र हराए संस्कृती हराउँछ, संस्कृती हराए परम्परा हराउँछ अनि परम्परा हराए मान्छे नै हराउँछ भन्ने मान्यता गुरुङ सस्कृतिले लिएको पाइन्छ ।


यो बर्ष तमु ल्होसारमा गाई बर्ग अर्थात ल्वो ल्हो वर्गलाई बिदाइ र बाघ वर्ग अर्थात तो ल्होलाई स्वागत गरिन्छ । तमु ल्होसार गुरुङ जातिको महान पर्व हो । तमु ल्होसारले गुरुङ समुदायको पात्रोमा नयाँ सम्वत शुरु भएको सकेत गर्दछ । तमु पात्रोमा १२ वटा वर्ग हुन्छन् । वर्गहरुको नाम विभिन्न जनावरहरुको नामबाट नामाकरण गरिएको छ । यी वर्ग आफूलाई फाप्ने नफाप्ने र त्यस वर्गको शुभ समय र अन्य विशेषता सबै लामा शास्त्र र पच्यु शास्त्र अनुसार थाहा पाउन सकिन्छ । शास्त्र अनुसार १२ वटा वर्गमा मुसा वर्ग (च्यु(ल्हो), गाई वर्ग (ल्वोँ(ल्हो), बाघ वर्ग (तो(ल्हो), बिरालो वर्ग (हि(ल्हो), गिद्द वर्ग (मुप्री(ल्हो), सर्प वर्ग (सप्री(ल्हो), घोडा वर्ग(त)ल्हो),भेंडा वर्ग (ल्हु(ल्हो), बादर वर्ग (प्र(ल्हो), चरा वर्ग (च्हया(ल्हो), कुकुर वर्ग (खि(ल्हो) र मृग वर्ग (फो(ल्हो) पर्दछ ।


नेपालमा तमु, तामाङ, शेर्पा, थकाली लगायतका जातीहरुले ल्होसार मान्दछन् । तर ती जातिहरुले मान्ने ल्होसार पर्व फरक फरक छन् । नेपालमा तीन प्रकारको ल्होसार मनाउने गर्दछन् । पुष १५ मा तमु समुदायले मनाउने ल्होसारलाई तोला ल्होसार भनिन्छ । त्यसैगरी माघ शुक्ला प्रतिपदामा मनाइने तामाङ लगायत पश्चिमी तिब्बतीहरुले मनाउने ल्होसारलाई सोनाम ल्होसार र फाल्गुण शुक्ला प्रतिपदामा शेर्पा लगायत पूर्वी तिब्बतीले मनाउने पर्वलाई ग्याल्पो ल्होसार भनिन्छ । तमु समुदाय प्रकृतिवादी भएकोले प्रकृतिका जीव जन्तु र पशुपंक्षीलाई साँस्कृतिक प्रतीकको रुपमा लिएको पाइन्छ । जुन एक देखि १२ सम्म एक अर्कामा दाहिनेबाट निरन्तर हरेक वर्ष एउटा वर्गबाट अर्काे वर्गमा घुमिरहन्छन् । एउटा चक्र पार गरेपछि पुनः दोहोरिएर घुमिरहन्छ । एशियाका प्राय आदिवासी जनजातिहरुमा ल्हो पद्धति प्रचलित छ । ल्होसार दुई शब्द मिलेर बनेको छ । ल्हो को अर्थ वर्ग जसलाई वर्ष मानिन्छ र सारको अर्थ नयाँ भन्ने हुन्छ । तसर्थ ल्होसारको वास्तविक अर्थ नयाँ वर्ष हो ।


तिब्बती भाषामा ल्हो को अर्थ वर्ष र सारले नयाँ जनाउँदछ । जसले गर्दा चिनियाँ तिब्बतीहरुले ल्होसारलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । तमु भाषामा लो को अर्थ वर्ग र छारले नयाँ भन्ने हुँदा ल्होछार पनि भन्ने गरेको पाइन्छ । भाषा विज्ञानका दृष्टिले तिब्बती सभ्यताको मूल शब्द ल्होसार भाषिक विकास र रुपान्तरणको चरणमा तद्भव शब्दको रुपमा ल्होछार भएको मत पनि पाइन्छ । हिन्दुहरुले बडा दशैं, विजयादशमी, तिहार, दिपावली शब्द फरक फरक प्रयोग गरेता पनि त्यसको अर्थ र संस्कृति एउटै हुन् । यी सबै शब्दहरु स्थापित भएकाले पर्यायवाचीको रुपमा लिने गर्दछन् । त्यसरी नै ल्होसार र ल्होछार शब्द फरक भए पनि अर्थ र संस्कृति तथा महिमा एउटै हो । भाषा विज्ञानको नियममा भाषा हरु तल माथि भइरहन्छन् । तसर्थ यसलाई पर्यायवाची शब्दको रुपमा ग्रहण गर्न पर्दछ ।


हरेक समुदायले आ–आफ्नै किसिमले नया वर्ष सुरुवातलाई चाडका रुपमा मनाउँछन । कसैले इस्वी संवतको, कसैले विक्रम संवतको र कसैले नेपाल संवतको सुरुवातलाई चाडका रुपमा मनाएजस्तै तमु समुदायले ल्होसार मनाउँदै आएको छ । वास्तवमा आदिकालका प्रकृतिपूजक समुदायले मनाउँदै आएको पर्व नै ल्होसार हो । ल्होसार विशेष गरेर मंगोल जातिले मान्ने पर्व हो । नेपालमा गुरुङ जातिको मूल थलो अन्नपूर्ण, मनास्लु, हिमचुली पहाडको दक्षिण पहाडका क्षेत्र हो । समयान्तरमा उनीहरु नेपालको पूर्वी पहाडका धेरै जिल्लामा समेत बसोवास गर्दछन । नेपालमा मात्र होइन गुरुङ जाती थोरै सख्यामा सिक्किम र भुटानमा समेत बसोवास गरेको पाइन्छ । केही इतिहासविदहरुका अनुसार, गुरुङहरु हान जातिबाट उत्पत्ति भएको र मध्य एसियाबाट सर्दै र फैलिदैँ आए भनिएको छ । केही विद्वान भने गुरुङहरु मङगोलबाट बसाइ सरेकाहरु हुन् भनेका छन् । तर मानव सभ्यताको विकास भएको मूल थलोहरु मध्ये चीनको ह्वाङहो नदीबाट नै गुरुङ जातिको पनि बिकास भएको मानिन्छ । लमजुङ जिल्लामा एउटा गाउपालिकाको नाम क्व्होलासोथार छ । क्व्होलासोथार को शाब्दीक अर्थ आदिम थलो हुन्छ । अर्थात गुरुङ र घले जातीहरुको त्यो क्षेत्र जस्तै घलेगाउँ, भुजुङगाउँ लगायतका भूगोल गुरुङ र घलेहरुको पुर्खाको थलो हो । त्यहि कारणले पनि गुरुङ सस्कृतिको बारेमा अध्यन गर्न पर्यटकहरु यहि क्षेत्रमा पुग्दछन ।


गुरुङ जातिको उद्गमस्थल मानिएको जिल्लाहरुमा ल्होसारको रमझम रमाइलो हुन्छ । पुस १५ को दिन गुरुङ समुदायले ल्होसार मनाउने भएपनि गाउँगाउँमा पहिले नै ल्होसारको रमझम सुरु भएको हुन्छ । आजभोली कतिपय गुरुङ जातीहरु आफ्नो मुल थला छाडी शहरी क्षेत्रमा बसाई सरेका छन । काठमाण्डौ उपत्यका लगायत बिभिन्न तराईका शहर बजार र ग्रामीण बस्तीमा रहने तमु अर्थात गुरुङ जातीहरुले ल्होसार पर्व बिभिन्न कार्यक्रमको आयोजना गरी मनाउने गर्दछन । कतिपय ठाउमा क्बलहरुले सास्कृति कार्यक्रमको आयोजना पनि गर्दछन । कतिपय रोजगारीको लागी देश बिदेश पुग्ने तमु युवाहरु पनि ल्होसारको समयमा आफ्नो घर फर्कियका हुन्छन् ।


हामी नेपालीहरुले मान्ने प्रत्येक पर्वको पछाडी रहेका पौराणिक कथाहरुले मानव जीवन सुखी हितकर बनाउने संदेश दिएको हुन्छ । ल्होसार पर्वको पौराणिक कथामा पनि यस किसिमको सन्देश पाइन्छ । पर्वहरुको कथाबाट पाइने सन्देश हाम्रो जन जीवन संग गासिएका छन् । हामीले मान्दै आएका सबै पर्वहरुले खुशीयाली र उमंग लिएर आउने गर्दछन । पर्वमा आफन्त ,साथीभाई सगँको भेटधाटले मानिसमा भएको निराशा, एक्लोपन हरायको महसुस हुन्छ । पर्वमा हुने भेटघाटले आपसी प्रेम, भाईचारा, सदभाव बढाई शान्ति, मेलमिलाप र निकटता कायम राख्न मदत गर्दछ ।


पर्वको शुभकामनाको आदन प्रदानले ब्यक्तिमा जोश, जाँगर र हैसला मिल्छ, आत्मबल बढाउछ, सकारात्मक मार्गमा हिडने प्रेरणा मिल्छ, सकारात्मक सोचको बिकास गरिदिन्छ । अर्को तर्फ मानसिक स्वास्थ्यका लागि पर्वले थेरापी कै काम गरिरहेको हुन्छ । पर्वको मनोबैजÞानिक प्रभाब बुझि यसलाई धर्मको रुपमा नहेरी पर्वको रुपमा स्विकार गर्ने र मनाउने हो भने धेरै फाइदा हुनछ । पर्वमा खाईने मिठो मसिनोले शारिरीक स्वास्थ्य राम्रो पनि बनाउछ । तर खाना खादा आफ्नो स्वास्थ्यको ख्याल भने राख्न पर्दछ । पर्वको बेला भेटघाट र शुभकामनाको आदन प्रदानले सामाजिक स्वास्थ्य कायम राख्छ । तमु गुरुङ जातीको ल्होसार पर्वमा मेरो पनि शुभ–कामना ।

प्रतिक्रिया

प्रतिक्रिया