भ्रष्टाचार बिरुद्ध युवा

समृद्ध जीवनशैली सबैलाई मन पर्नु स्वभावतः मानवीय स्वभाव हो । समृद्ध देशका जनता भनेर चिनिन पाउँदा गर्व गर्ने अवस्था हुन्छ । कसलाई मन छैन होला र समृद्धि सहितको जीवनयापन गर्दे विश्वभरी आफनो राष्ट्रको समृद्धिको बखान गर्न । देश समृद्ध त्यतिबेला हुन्छ जतिबेला मूलुकको शासन व्यवस्था पारदर्शी हुन्छ । हामी हाम्रो राष्ट्रको शुसासन र पारदर्शितालाई ब्यबहारिक बनाउने प्रयासमै छौं जुन अहिले पनि शिशु अवस्थामैं छ । यसका लागि भ्रष्टाचार नियन्त्रण गर्नुपर्दछ । विश्व परिदृश्यमा अल्पविकसित राष्ट्रहरुमा भ्रष्टाचार नराम्ररी जरो गाडेर बसेको अवस्था विद्यमान छ । विश्वका अतिकम विकसित मूलुकहरु मध्येमा पर्ने नेपाल पनि यस रोगबाट ग्रसित छ ।
बिकसित राष्ट्रको सूचीमा नेपालको नाम लेखाउने सपना पुरा गर्नकै लागि झण्डै एक दशक लामो आन्तरिक द्धन्द्ध भयो । ठुला —ठुला आन्दोलन भए, यसका लागि राज्यसत्ता नै परिवर्तन भयो । इतिहासका शासन प्रणालीहरुकोे चर्चा अहिले पनि चलिरहेकै अवस्था हो । समृद्धिकै लागि शहिद भएका ब्यक्तिहरुको सपना साकार हुन अझै कति बर्ष लाग्ने हो यसको कुनै निधो छैन ।
बिकास र सुशासन एक आपसमा अन्तरसम्बन्धित कुरा हुन । यो प्राप्ति हुन नसक्नुको मुख्य कारण सामाजिक पछौटेपन,अशिक्षा,गरिवी र भ्रष्टाचारको जालोमा जकडिएको राजनीति हो । यस्ता कुरालाई मध्यनजर गर्दे देशको समुन्नत भविष्यका लागि “समृद्ध नेपाल, सुखी नेपाली’’ भनेर सरकारले नारा अगाडि सारेको छ । यो नारा पुरा गर्नु फलामको चिउरा चपाउनु बराबर छ । किनभने नेपालमा भ्रष्टाचारको जरो निकै कसिलो बनिसकेको छ । नैतिकताको धरातलमा अडिएर उभिएका मानिसहरुको संख्या अत्यन्तै न्युन भएको सुन्न र देख्न सकिन्छ । पूर्वाधार विकास र अर्थतन्त्रमा फड्को नमारेसम्म मुलुक समृद्ध बन्न सक्दैन । पूर्वाधार विकास मानिसको दैनिकीसँग जोडिएको हुन्छ ।जीवनमा अपरिहार्य मानिने विद्युत्,खानेपानी ,सडक, स्वास्थ्य र शिक्षा अहिले पनि लथालिङ्ग छ । यी क्षेत्रमा सुधार हुन नसक्नुको मुख्य कारण भ्रष्टाचार हो । अब पनि युवा नजाग्ने हो भने भ्रष्टाचार घट्नुको साटो बढ्दै जाने देखिन्छ । त्यसैले देशका बलिया खम्बा युवाहरुले निगरानी र खवरदारी गरेर समाजलाई सुशासित बनाउनुको बिकल्प छैन । बिगतका दिनमा राजनीतिक चुनावको प्रचार प्रसारमा मात्र ब्यस्त देखिने युवाहरु अहिले सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि बोल्न थालेका छन । यो प्रयासलाई अझै सशक्त बनाउन भ्रष्टाचार विरुद्ध युवाको भुमिका खोजिनु सान्दर्भिक छ ।

साबित्री गिरि


नेपालमा भ्रष्टाचारको अवस्था
विश्व बैङ्कका अनुसार ब्यक्तिगत फाइदाको लागि सार्वजनिक ओहदा र शक्तिको दुरुपयोग नै भ्रष्टाचार हो । निजी स्वार्थ र हितमा राज्य शक्तिको दुरुपयोग गर्नु गम्भीर अपराध हो । भ्रष्टाचार निको नहुने रोग जस्तै गरी बढिरहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको ग्लोबल कर्पोरेसन व्यारोमिटरको अनुसार भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल सन् २०१९ को तथ्यांक हेर्ने हो भने ११३ औं स्थानमा रहेको छ । यो तथ्यांक केलाउँदा नेपालमा भ्रष्टाचार शुन्यमा झार्न प्रत्येक युवा सचेत बन्नैपर्दछ । भ्रष्टाचारको यो अवस्थालाई न्युनिकरण गर्दे नियन्त्रणको अवस्थासम्म पु¥याउन अत्यन्त आवश्यक छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनले नेपालमा भ्रष्टाचारको प्रमुख र दीर्घकालीन समस्याग्रस्त क्षेत्रहरु पनि औंल्याई दिएको छ । जसले राजनीतिक भ्रष्टाचारलाई प्रमुख समस्याका रुपमा प्रस्तुत गर्दे सार्वजनिक क्षेत्रमा हुने भ्रष्टाचार,सार्वजनिक पद र अधिकारको दुरुपयोग,व्यापार व्यवसायमा घुस र अनुगमन तथा कारबाहीमा फितलोपना गरी पाँच वटा सघन भ्रष्टाचार हुने क्षेत्र पहिचान गरेको छ । यिनै तथ्यका आधारमा हामी भन्न सक्छौं, आज नेपाली समाजको हरेक क्षेत्रमा भ्रष्टाचार ब्याप्त छ ।
बिडम्बना नै भन्नुपर्छ बिकासका खाका कोर्ने ब्यक्तिहरु नै भ्रष्टाचारको आरोपमा मुछिरहेको सुन्न मात्र पाइन्छ । विभिन्न कार्यालयका निम्न तहका कर्मचारीहरु मात्र घुसखोरीमा संलग्न भएका खबरहरु सार्वजनिक गरिन्छन् । यो सँगै यसका अन्य पक्षहरु जस्तै, नैतिक सामाजिक भ्रष्टाचार र नीतिगत भ्रष्टाचार बारे पनि युवाहरुले चासो दिनुपर्छ । किनभने भ्रष्टाचारको कारणले संस्था÷संगठनको लक्ष्य हासिल हुन सक्दैन । संस्थाको ख्याति र जनविश्वास गुम्दै जान्छ । समग्रमा राज्यको आर्थिक समृद्धि,बिकास निर्माण र सेवा प्रवाहमा ह्रास आउँछ । भ्रष्टाचारले ब्यक्ति,संस्था, समाज र राष्ट्रलाई अधोगतितर्फ लाँदै शासनको वैधता र राज्यको क्षमतालाई कमजोर बनाउँछ । त्यसैले युवाको भुमिका नबुझेकालाई बुझाउनुका साथै र बुझेका युवाहरु एकजुट भएर भ्रष्टचार बिरुद्ध आवाज उठाउन तयार हुनुपर्छ । सचेत तथा संगठित युवाहरुको अथक प्रयास नै भ्रष्टाचार बिरुद्धको धारिलो हतियार हुन सक्छ ।
चिनको उहान शहरबाट फैलिएको कोरना भाइरस भन्दा पनि खतरनाक भ्रष्टाचार नामको भाइरस नेपालमा फैलिंदै र झांगिदै गइरहेको अवस्था छ भन्दा फरक नपर्ला । कोरोना भाइरसको बिषम परिस्थितिमा चर्को बजार मुल्य र बेरोजगारीको चपेटामा समाज पर्दे गएको छ । यो ब्यतिथि अहिलेको मात्र होइन । यो अवस्थाको गुजारा बेला —बेलामा गरिरहनुपर्छ नेपालीलाई । यस अवस्थामा हजारांै युवाहरु पी.सी.आर. परिक्षणका लागि आवाज उठाउन बाध्य भए । हिसाब सरकारसँग माग गरे । यसरी युवाहरु संगठित भएर देशको शासन पद्धति र भुमिका बारे खोजी गर्ने प्रयास हुनु जायज कुरा हो । किनभने एउटा ब्यक्तिको प्रयासले मात्र समाजमा सुशासन कायम हुन सक्दैन ।
नीतिगत ब्यबस्था
नेपालले संविधानमा नै सुशासनलाई राज्यको साधन र साध्य दुवै रुपमा आत्मसाथ गर्दे भ्रष्टाचार नियन्त्रणका लागि नीति,विधि र संबैधानिक निकायको ब्यबस्था गरेको अवस्था छ । भ्रष्टाचार निवारण ऐन, सुशासन –व्यवस्थापन तथा सञ्चालन ऐन, सार्वजनिक खरिद ऐन, राजस्व चुहावट –अनुसन्धान तथा नियन्त्रण ऐन, सम्पत्ति सुद्धिकरण ऐन जस्ता कानी व्यवस्था र अख्तियार दुरुपयोग अनुसन्धान आयोग,विशेष अदालत,न्याय परिषद्,महालेखा परीक्षकको कार्यालय,संसद एवम् संसदीय समिति, सैनिक विशेष अदालत, राष्ट्रिय सतर्कता केन्द्र, राजस्व अनुसन्धान विभाग जस्ता संस्थाहरुको पनि ब्यबस्था गरेको पाइन्छ । यति हुँदाहुँदै पनि नागरिकको अनुभूति र राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा गरिएका भ्रष्टाचार मापनका अध्ययन र अनुसन्धानको नतिजामा नेपालमा भ्रष्टाचारको पारो बढ्दो अवस्थामा रहेको छ ।
प्रायःविश्वका सबै मुलुकले भ्रष्टाचारविरुद्धका कार्यका लागि संवैधानिक,कानुनी एवम् संस्थागत ब्यबस्था गरेका छन् । भ्रष्टाचारविरुद्ध संयुक्त राष्ट्र संघीय महासन्धि—२००३ ले राष्ट्रभित्र तथा अन्तर्राष्ट्रिय स्तरमा हुने भ्रष्टाचार नियन्त्रणका लागि दीर्घकालीन उपाय सुझाएको छ । भ्रष्टाचार नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्य, प्रतिरोध गर्नका लागि क्षमता बृद्धि र संस्थागत बिकासका लागि पनि दिशानिर्देश गरेको अवस्था छ । अन्तर्राष्ट्रिय स्तरमा विश्व बैंक,एसियाली बिकास बैंक, ट्रान्सपरेन्सी इन्टरनेसनल लगायतका संस्थाहरु भ्रष्टाचार नियन्त्रणमा सक््िरmय छन् । नेपालमा पनि सरकारी तथा गैर सरकारी क्षेत्रबाट भएका प्रयासलाई अझै सशक्त बनाउन युवाहरुलाई परिचालन गरिनुपर्छ । यसका लागि स्थानीय स्तरमा युवा क्लबहरु स्थापना गरी युवाहरुलाई क्रियाशिल बनाउनुपर्छ । साथै सामाजिक क्षेत्रमा क्रियाशील युवालाई प्रोत्साहन गरी शुसासन र पारदर्शिताबारे क्षमता अभिबृद्धि गर्नुपर्छ । यो कार्य पछि भ्रष्टाचार बिरुद्ध नागरिक सचेतता बढाउन सकिन्छ ।
भ्रष्टाचार बढ्नुको कारण
सार्बजनिक जीवनमा रहँदाको अवस्थामा पाएका स—सना सुविधा पनि ब्यक्तिगत जीवनमा उपभोग नगर्ने प्रबृत्ति बढ्दै गएको छ । एकातर्फ भ्रष्टाचार नियन्त्रण सबै राजनीतिक दल ,सरकार र अन्य जिम्मेवार सरोकारवाला सबैको साझा चिन्ता र सहमतिको बिषय हुनुपर्ने हो भने अर्कोतर्फ भ्रष्टाचार हुने प्रबृत्ति पनि मुल रुपमा राजनीतिक दल,सरकार र जिम्मेवार सरोकारवालाहरुमा नै रहेको अवस्था तथ्यहरुले देखाउँछ । यस्तो विरोधाभास अवस्थामा हामी छौं । त्यसैले भ्रष्टाचार हुने कारणहरुको पहिचान गरी कारणमा नै समाधान खोज्नु नितान्त आवश्यक छ । नेपालको राज्य प्रणलीमा रहेका ब्यबस्था र हालको अवस्थालाई विश्लेषण गर्दा मुलभूत रुपमा देहायका कारणहरुले भ्रष्टाचारलाई बढवा दिएको देखिन्छ ।
क ) आर्थिकःआज नेपाली समाजमा आधारभूत आवश्यकता परिपूर्तिका लागि समेत धेरै पुँजी आवश्यकता पर्ने अवस्था छ । राज्यले नागरिकका आवश्यकतासँग जोडेर नीति तथा कार्यक्रम ल्याउन सकेको छैन । आर्थिक गतिविधिलाई बढाउन आवश्यक पर्ने पद्धति ब्यबहारिक छैन ।
ख) सामाजिक तथा नैतिकः सामाजिक प्रतिष्ठालाई नैतिक सदाचारितासँग नभई आर्थिक सामथ्र्यसँग जोड्ने जनमत पनि ठूलो संख्यामा छ । हाम्रा सामाजिक ,साँस्कृतिक तथा धार्मिक रितिरिवाजहरु देखासिखिको प्रभावमा भड्किलो बन्दै गएका छन । नागरिकमा नैतिक मूल्य र मान्यतामा ह्रास आएको छ । राज्य ब्यबस्थाको प्रणाली परिवर्तन गर्देमा ब्यत्तिको नैतिक आचरण परिवर्तन नभएमा देश परिवर्तन हुन सक्दैन । हाम्रो देशमा नैतिक आचरणको खडेरी परेको अवस्था डरलाग्दो रुपमा विद्यामान रहेको छ । नैतिकवान मानिसहरुलाई दियो बालेर खोज्नु पर्ने अवस्था रहेको छ ।
ग) राजनीतिक ÷प्रशासनिकः ःराजनीतिक तथा प्रशासनिक जिम्मेवारीमा रहने कार्यहरुलाई नीति,विधि र प्रणालीबद्ध कार्य संस्कारका आधारमा सम्पादन गर्न आवश्यक छ । राजनीतिक र प्रशासनिक क्षेत्र नागरिकको सेवक र सहजकर्ता बन्न सकिरहेको अवस्था छैन । सूचनाको हकको कार्यान्वयनमा तदारुकता छैन ।
घ)लोभ र ब्यक्तिगत स्वार्थः परिश्रम बिनाको सम्पक्तिमा लोभ गर्नु हुँदैन भन्ने मान्यता भएतापनि मानिसमा धनप्रतिको आशक्ति बढ्दै गएको छ । यस्तो ब्यत्तिगत स्वार्थले मानिसलाई आत्म केन्द्रित लोभ र सामूहिक हितबाट टाढा पुर्याएको अवस्था विद्यमान छ ।
समाधानको उपाय÷युवाको भुमिका
युवाहरु समस्यासँग जुध्न तयार रहन्छन । तर, हाम्रो समाजमा अहिले पनि युवाहरुलाई कमजोर आँक्ने र मुख्य काममा विश्वास नगर्ने मानसिकता छ । युवाको साहस कति सम्म हुन्छ भन्ने उदाहरण स्वरुप पृथ्वीनारायण शाहलाई लिन सक्छौ । आधुनिक नेपाल एकीकरणको अभियान थाल्दा पृृथ्वी नारायण शाह २१ बर्षका युवा थिए । २००७ सालको क्रान्ति सम्पन्न गर्दा बीपी कोईराला मात्र ३६ बर्षका थिए । कृष्ण प्रसाद भट्टराई ३५ बर्षको उमेरमै पहिलो सभामुख भएको ईतिहास छ । ईतिहासका हरेक परिवर्तन युवाहरुको जोश, सुझबुझ र नेतृत्वबाट मात्र सम्भव भएका छन् । चाहे त्यो जहाँनिया राणा शासन ढाल्न होस् वा निर्दलीय पञ्चायत ब्यबस्थाको अन्त्य होस । यसैगरी युवाहरु सचेत हुने हो भने भ्रष्टाचार निर्मुल हुन धेरै समय लाग्दैन । यस्तो अवस्थामा युवाहरुको भुमिका देहाय बमोजिम खोज्न सकिन्छ ।
१) सामाजिक सचेतना ःसामाजिक सचेतना अभियान मार्फत भ्रष्टाचार विरोधी समाजको निर्माण गर्न सकिन्छ । भ्रष्टचारीहरुलाई कडा र निर्मम सजाय गर्ने बातावरण बनाउन सकिन्छ । सहकार्यको बातावरणका साथै सार्वजनिक पद धारकहरुमा नैतिक शिक्षा प्रदान गर्न सकिन्छ । ।यो कुरा युवाहरुले सडक नाटक,¥याली तथा घरदैलो मार्फत पनि गर्न सक्छन ।
२) समतामूलक बजेट र सेवाको मागः भ्रष्टाचार नियन्त्रणका लागि पक्षपात रहित बजेटको आवश्यक पर्छ । युवाहरुले चासोका साथ यो कुराको माग गरेमा शक्ति पृथकीकरणको प्रवद्र्ध्रन हुन्छ । पक्षपात रहित बजेट बिनियोजन हुन्छ जसका कारण रकम हिनामिना हुने संभावना हुदैन । तछाडमछाडको स्थिति पैदा हुने बातावरण हुदैन । अनि यसले राजनीतिमा रकमको प्रभावलाई न्यूनीकरण गर्न मद्धत पुग्छ र स्वार्थको द्धन्द्ध न्युनिकरण हुदै जान्छ ।यस्तो प्रयासपछि मात्र निर्णय प्रक््िरmयामा सरोकारवालाहरुको अर्थपूर्ण पहुँच, निर्वाचनमा देखिने विकृति नियन्त्रण हुन सक्दछ ।
३) सूचना मागः तिन तहको सरकार बनेपछि जनताले राज्यबाट पाउने सुविधा घरदैलोबाटै पाउन थालेका छन । निश्चय नै यो राम्रो पहल हो । यद्यपि, भ्रष्टाचार ब्याप्त मुलुकको श्रेणीमा नेपाल अझै कायम रहेकाले सरकारका नीति तथा कार्यक्रमको अवस्थाबारे सूचना माग गर्नुपर्छ । सूचना माग गर्ने कामले सरकारलाई पारदर्शी र जवाफदेही बन्न सहयोग पुग्छ । यो काम गर्न युवाले चाहेमा सूचनाको हक सम्वन्धी ऐन २०६४ प्रयोग गर्न सक्छन् ।
४) सहभागिता र समन्वयःयुवाका लागि छुट्याईएको बजेट पुर्वाधार बिकासमा खर्च भएको र त्यसमा पनि आर्थिक हिनामिना भएका घटना सार्वजनिक भएको अवस्था छ । युवा वर्गहरु सचेत बनेर योजना छनोट देखि नै सहभागी भएर कार्यान्वयन सम्म सहभागिता जनाई समन्वय गर्न सकेमा सम्वन्धित निकाय जवाफदेही बन्न बाध्य हुन्छन । अनि त्यस्तो अवस्था भेटिएमा कारबाहिको दायरा बढ्दै जाने अवस्था हुन आउँछ । त्यसैले प्रशासन,नागरिक समाज र सञ्चारमाध्यमसँग समन्वय र सहकार्य गर्नुपर्छ । साथै सेवा प्रवाहको अवस्थाबारे सूचना तथा सञ्चार प्रविधि प्रयोग गरेमा पनि सेवा पारदर्शि बन्न सक्छ । यो कार्यमा युवावर्गले समन्वयात्मक भुमिका खेल्न सक्नुपर्दछ ।
५) निगरानी तथा अनुगमनः सडक,बिद्युत,खानेपानी ,स्वास्थ्य र शिक्षाका क्षेत्रमा पुर्बाधार निर्माणका कामहरु हाम्रै घर आँगनमा भईरहेका हुन्छन तर हामीहरु सामाजिक सञ्जालमै धेरै भुलीरहेका हुन्छांै । त्यसो नगरीकन कति बजेट बिनियोजन भयो ? कमसल सामागी्र प्रयोग गरेर गुणस्तरीय सामानको बिल भर्पाई बनेको छ कि ? काम कति समय भित्र सम्पन्न हुनुपर्ने हो कति समय लाग्यो ? ठेकेदारको नियत कस्तो छ ? जनसमुदायको चासो र जनश्रमदानको अवस्था के छ ? भन्ने जस्ता कुरामा सचेत बन्न सक्छांै । यो कार्यले एकातर्फ भ्रष्टाचार न्युनिकरण हुन्छ भने अर्कोतर्फ योजना तथा कार्यक्रमले दीर्घकालिन फाइदा पुग्दछ । त्यसैले भनिएको हो युवा देशका बलीया खम्बा हुन भनेर । यो कुरा युवाहरुले बिर्सनु हँुदैन ।
अतःभ्रष्टाचार नियन्त्रणको बिषयलाई शासन, सेवा प्रवाह, विकास र समृद्धिका मुद्धामा सही रुपमा संरचनागत, प्रणालीगत तथा कार्यगत रुपमा आवद्ध गर्न सक्नुपर्छ । अव सामूहिक विवेक र जिम्मेवारी वोधका साथ काम गर्नुपर्छ । त्यसपछि हामीले कल्पना गरेको सुशासित र पारदर्शी देश बन्न सक्छ । अनि हामी समृद्ध जीवनशैली अपनाउँदै विश्वमा समृद्ध राष्ट्रको बखान गर्न सक्नेछौं । युवा वर्गहरु तन र मनदेखि लागि पर्ने हो भने यो दिन आउन धेरै लामो समय कुर्नु पर्देन । भ्रष्टाचार अख्तियारको दुरुपयोग हो । यसको नियन्त्रण राज्यको प्रमुख कर्तब्य, दायित्व मात्र नभई आम सरोकारको बिषय हो । सबैको समन्वयकारी भूमिका मार्फत भ्रष्टचारको नियन्त्रण गर्न सकिन्छ । अनि पारदर्शी, अनुशासित इमान्दार शासन र प्रशासनको माध्यमबाट समग्र राष्ट्रको उन्नति र विकास सम्भव हुन्छ ,जुन अपरिहार्य छ ।
(पत्रकार गिरिको यो निबन्ध बासले आयोजना गरेको राष्ट्र ब्यापी निवन्ध प्रतियोगितामा दोस्रो हुन सफल भएको हो)

प्रतिक्रिया

प्रतिक्रिया