–के.बि.मसाल

आजभोली विकास र समृद्धिको कुरा धेरै उठने गर्दछ । वास्तवमा बिकास भनेको परिवर्तन हो । बिकासमा भौतिक पूर्वाधार भएन भने कुनै परिवर्तन हुदैन । विकास भएन भने समृद्धि पनि हुदैन । अहिले सबै तिर सडक बिकास र पुर्वाधारका कुरा उठने गर्दछ । कर्णालीको बिकास पनि सडक बिकास र पुर्वाधारसंग जोडिएको छ ।

बिकासका लागि सडक तथा यातायातको महत्वपूर्ण भूमिका रहेको हुन्छ । यातायात तथा सडक निर्माणबिना अरु पूर्वाधारको विकास सम्भव हुदैन । त्यसैले सडकलाई पूर्वाधारको पनि पूर्वाधार भन्ने गरिन्छ । उधारणकै लागि जलविद्युत् आयोजनाका लागि निर्माणस्थल सम्म औजार र उपकरण पु¥याउन सडकको आवश्यकता पर्दछ । यसले पहुँचमा सहजता र आर्थिक विकासमा मद्दत पु¥याउनुका साथै जनताको जीवनस्तरमा पनि परिवर्तन ल्याउँछ । सडकको पहुँच नभएका कारण दुर्गममा स्याउ रुखमै कुहिएर खेर गएका छन् । कृषि उपकरणहरु, बीउ, मल आदि उचित स्थानमा पुग्न नसक्दा किसानले खेप्नुपरेको आर्थिक संकट मात्र होइन बालबालिकाहरु स्कुलसम्म पुग्न नसक्दाको पीडा पनि कम हुन्न ।

अहिले कर्णाली दश जिल्लाको प्रदेश भएको छ । तर कर्णाली भन्ना साथ अझै पनि धेरै मानिसहरुको बुझाइमा हिजोको कर्णालीलाई लिने गर्दछन् । कर्णालीको समृद्धिको लागि सडकको बिकास हुनु पर्दछ भन्दछन् । तर सडकको बिकास भित्र सडक राजनीति, अर्थतन्त्र, कुटनीति र संस्कृति पनि जोडिएने गरेको छ । नेपालमा योजनाबद्ध विकासको प्रारम्भदेखि नै सडक तथा पूर्वाधार निर्माण, उत्पादन र उत्पादकत्वमा वृद्धि, रोजगारीका अवसर सिर्जना गरी सामाजिक एव आर्थिक विकास गरेर जनताको जीवनस्तरमा सुधार गर्ने निती बन्दै आएको छ । सैद्धान्तिकरुपमा जुनसुकै प्रकारको विकास अवधारणा अवलम्बन गरे पनि हाम्रो विकास प्रारम्भदेखि नै राज्य शक्तिमा रहेका र पहुँच भएका व्यक्ति तथा वर्गको राजनीतिक तथा क्षेत्रगत प्रभाव र तजबिजले काम गरेकको हुन्छ ।

नेपाल सरकारले सबै पालिकाको सदरमुकामसम्म सडक सञ्जालको योजना बनाए पनि अझैंसम्म सडक सञ्जालले हुम्ला सदरमुकाम सिमीकोट जोडिएको छैन । आजभन्दा २० बर्ष पहिले अर्थात २०५७ मा शिलान्यास भएको कालीकोटको खुलालुदेखि हुम्लाको सिमिकोटसम्मको एक सय ९२ किलोमिटर सडकखण्ड अहिले सम्म निर्माण सम्पन्न हुन सकेन । सरकारले २०७१ सालमा नेपाली सेनालाई निर्माणको जिम्मा दिए पछि नेपाली सेनाले कर्णाली करिडोर निर्माण कार्य गर्दै आएको छ । करिडोरको सडक अहिले हुम्लाको दक्षिणी गाउँपालिका ताँजाकोट र अदानचुलीसम्म पुगेको छ । विकासको प्राथमिक पूर्वाधार सडक हो । सडक आफैले केही पनि उत्पादन गर्दैन तर सडकले स्थानीय उत्पादनलाई बाहिर पठाउन र बाहिरका उत्पादन भित्राउन भने सहयोग गर्छ । यस बाहेक सडक संञ्जाल विस्तार हुँदासाथ मानिसको आवतजावत बढछ र आर्थिक क्रियाकलपमा पनि बृद्धि हुदै जान्छ ।

नेपाल जस्तो भूपरिवेष्ठित तथा पहाडी र हिमाली भू–भाग भएको ठाँउमा सडक सञ्जाल कनेक्टिभिटीको मेरुदण्ड नै हो । विकास पूर्वाधारको यो क्षेत्रलाई राज्यले प्राथामिकतामा राखेर काम भएको छ भन्ने गरे पनि उपलब्धिहरु अपेक्षाकृत रुपमा हासिल भएको देखिदैन् । नेपालको राष्ट्रिय गौरवको कर्णाली करिडोरको सडक निर्माणले हुम्लाको सिमकिोट अझै जोडन सकेको छैन् । पूर्वाधार विभागका अनुसार ताप्लेजुङ, सखुवासभा, धादिङ मनाङका एक÷एक स्थानीय तह, त्यस्तै जाजरकोटमा तीन, डोल्पामा छ, कालीकोटमा पाँच, मुगुमा तीन, हुम्लामा सात, बाजुरामा चार, बझाङमा पाँच, बैतडीमा छ र दार्चुलामा तीनवटा स्थानीय तह समेत १३ जिल्लाका ४६ स्थानीय तहलाई सडक सञ्जालले जोडिएको छैन ।

कर्णाली करिडोर सुर्खेत, दैलेख, कालीकोट, बाजुरा र हुम्ला देखि हिल्सासम्मको लम्बाइ ४०३ किलोमिटर पर्दछ । करिडोर भारतको सिमाना जमूना देखि चिनको सिमाना हिल्सासम्मको सडकको लम्बाई ५३० किलो मिटर पर्दछ । करिडोरमध्ये बाजुरामा ४३ किलोमिटर र कालिकोट खण्डमा ४० किलोमिटर पर्दछ भने सेनाले निर्माण गरि राखेको हुम्ला खण्डमा १ सय १३ किलोमिटर सडक पर्दछ । सिमीकोट देखि हिल्सा सम्म ८५ किमि सडक निर्माण भै सकेर चिनिया गाडी चल्दछन् । सडक खण्डमा पर्ने खुलालु खोला, शान्तिघाट खोला, फूगाड खोला, भक्का खोला, जुठ्ठीगाड खोला, कुन्डा ओला र कुवाडी खोलामा गरी आठ ठाउँमा पक्की पुल निर्माण भइरहेका छन् ।

कर्णाली विकासको पुर्वाधार भनेकै कर्णाली करिडोर हो । कर्णाली करिडोर निर्माण पूरा भएपछि कर्णालीमा कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन लगायत विकासका पूर्वाधारमा राम्रो फडको मार्दछ । हुम्लाको दक्षिणी क्षेत्रका वासिन्दाका लागि भने यो सपना पूरा हुन अझै कति बर्ष लाग्ने हो यसको जवाफ दिने कोहि छैन । करिडोर निर्माण भए पछि भारतबाट हुम्ला हुदै मानसरोवर पुग्ने पर्यटकका लागि अत्यन्तै छोटो दूरी हुने छ । कर्णाली राजमार्गले आन्तरिक र बाह्य पर्यटकका लागि मानसरोवर पुग्न छोटो दूरी हुनेछ । कर्णाली करिडोर निर्माणले बाजुरा र हुम्लाका बासिन्दामा जीवन फेरिने आशा चुलिएको छ । बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर सम्म यातायातका साधन चल्न थालेका छन् । पुस्तौंदेखि नून–चामल बोक्नकै लागि संघर्ष गर्नुपर्ने दिन अन्त्य भएको छ ।

कर्णाली करिडोरका सडकले कर्णाली नदीको विकासमा नयाँ युग सुरु भएको छ । कर्णाली करिडोरको सडक हुम्लाको दक्षिणी गाउँपालिका ताँजाकोट र अदानचुली जोडिएको पछि सवारीसाधन सञ्चालनमा आएका छन् । करिडोरले खुलालु, रंगिल, शान्तिघाट, काप्रीगाउँ, पिलुचौर, अर्थंगेचौर, बोल्ढिक, कुवाडी, मकैगाउँ, तुम्चागाउँ, सरिसल्ला, सर्किगाड, लालिगाउँ, खर्पुनाथ, बारागाउँ र सिमिकोटका बासिन्दाले नयाँ अनुभुती गर्न पाएका छन् । करिडोर क्षेत्रमा बजार ग्रामणि बजारका केन्द्र भएका छन् । जग्गाको कारोवारदेखि व्यापारको कारोवारले गर्दा आर्थिक चहलपहल बढदै गएको छ । सडकको निर्माणले गर्दा खुलालु, लालीघाट र जितेगडा अहिले व्यापारिक केन्द्रका रुपमा बिकास भएको छ । रेंगिल, आम्तडा, सान्नीगाड, भात्तडी, भुराबगर, जारकोट र घाटपारीज्युलामा जग्गाको खरिद बिक्री बढेको छ ।

सडक सञ्जालको बिकासले दूरी छोट्याउने मात्र नभै गाँउको उत्पादनलाई बजारसम्म पु¥याउँछ । सुबिधा खोज्दै पुख्यौली थलो छाडनेको संख्यामा कमि ल्याउछ । सडक सञ्जालले नुन, तेल, खाद्यान्न तथा अन्य आवश्यक वस्तुको सहज उपलब्धता गराउछ । कर्णालीको किनारैकिनार सडक निर्माणपछि बजार स्थापना हुने क्रम बढ्दो छ । करिडोर अन्तर्गत दुई–तीन किलोमिटरको फरकमा बजार भेटिन थालेका छन् । अर्को तर्फ सडक पहुँच र सुविधाको लागि ग्रामीण भेकबाट सडक छेउछाउमा बस्न आउनेहरु पनि बढिरहेका छन् । जगन्नाथ गाउँपालिकाको पिलिचौर, जुठ्ठी, हिमाली गाउँपालिकाको बाधु, धुलाचौर, लेब्डी, कवाडी लगायतका स्थानमा गाउँबाट सडक किनारमा घर बनाउनेको सख्या बढन थालेको छ । कर्णाली करिडोरको निर्माणको अवधारणा आएदेखि नै स्थानीयवासी उत्साहित छन् । दुई दशकअघि करिडोरको अवधारणा आएपछि कर्णालीवासीमा समृद्धि र जीवनपद्धति फेरिने आशा सुरु देखिनै पलाएको थियो ।

कर्णाली नदीसंग कर्णालीको इतिहाँस, सभ्यता र अर्थतन्त्र जोडिएको छ । कर्णाली करिडोरको सडक नक्सा पनि कर्णाली नदीको किनार किनार बनेको छ । नेपालको सबैभन्दा लामो नदी कर्णाली नदी हो । कर्णाली नदीको नेपाल भित्रको लम्बाई करिव ५०७ किलोमिटर र जलप्रवाहित क्षेत्र ४९ हजार वर्ग कि.मी.रहेको छ । कर्णाली नदीका मुख्य सहायक नदीहरु मा हुम्ला कर्णाली, मुगु कर्णाली, तिला नदी हिमा नदी,सैपाल हिमालबाट आउने कवाडी गाड, रारा तालबाट उदगम हुने स्वतेड खोला, कुम्ना गाड, बडिमालिका तिरबाट आउने जुक्डी गाड पनि कर्णाली नदीका सहायक नदी हुन । कालीकोटको लालीघाटमा जुम्ला जिल्लाबाट आएको तिला नदी मिसिन्छ । यसैगरी कर्णाली नदी दैलेख जिल्ला र अछाम जिल्लाको सिमाना हुदै अगाडि बग्दछ । कर्णाली नदी दैलेख, अछाम र सुर्खेत जिल्लाको सिमानामा पर्ने कल्यानकाँध बाट नदीले बाटो बदलेर पश्चिम तिर बगेको छ ।

कर्णाली करिडोर वंगाल र भोटको व्यापार जोडने ठुलो आर्थिक करिडोर हो । कर्णाली करिडोरको निमाण सम्पन्न भएपछि मुलुककै अर्थतन्त्रमा सहयोग पु¥याउछ । त्यसको लागि कर्णालीको प्राकृतिक स्वच्छता र सुन्दरताको संरक्षण गर्नु पर्दछ । संसारमा नदी भनेको मानव सभ्यतासँग जोडिएको हुन्छ । कर्णालीको सम्बन्ध पनि मानव सभ्यता र संस्कृतिसँग जोडिएको छ । कर्णाली नेपालको प्राचीन सभ्यता हो । कुनै समय अविकसित कर्णाली आज विकास, पूर्वाधार र परिवर्तनको प्रतीक्षामा छ । कर्णाली सम्भावनाको अपार खानी हो, अब कर्णाली विकास र समृद्धिको खोजमा लाग्नु पर्दछ । कर्णालीमा अब ठूला उद्योगी, व्यापारिक,कम्पनीदेखि राज्यले पनि कर्णालीमा पर्याप्त लगानी गर्नु पर्दछ । कर्णाली समृिद्ध सम्भावनाका क्षेत्रमा आवश्यक लगानी हुन सके कर्णालीको गरिबी न्युनी करण हुदै समृद्धि तर्फ लम्कने छ ।

नेपालमा पन्चायत काल देखिनै विकास–निर्माणमा सबैभन्दा कम मात्र ध्यान दिइएको भूगोल हो हो कर्णाली । अहिले कर्णाली प्रदेशमा रुकुम (पश्चिम), सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, जाजरकोट, दैलेख र सुर्खेत गरी १० वटा जिल्ला पर्दछन् । कर्णाली प्रदेशभित्र २५ वटा नगरपालिका र ५४ वटा गाउँपालिका छन् । कर्णाली प्रदेशको कुल क्षेत्रफल ३१ हजार ८७३ वर्ग किलोमिटर रहेको छ । ०६८ को राष्ट्रिय जनगणनाअनुसार कर्णालीको कुल जनसंख्या १६ लाख २३ हजार ६ सय २ रहेको छ । जुन नेपालको जनसंख्याको ६.१२ प्रतिशत हो । विकासका धेरै सम्भावना बोकेको कर्णाली प्रदेशमा अरु प्रदेशभन्दा कम विकास भएको छ । यसको मुल कारण नै सडक हो । समग्रमा भन्नु पर्द बिकास र अर्थतन्त्रको मेरुदण्ड भनेकै यातायात हो ।
कर्णालीलाई जलविद्युत् उत्पादनको क्षेत्रका रुपमा विकास गर्न सकिने थुप्रै आधार छन् । कर्णाली हुम्ला हुँदै बग्ने हुम्ली कर्णाली, डोल्पा हुँदै बग्ने भेरी र जुम्ला हुँदै बग्ने तिला र हिमा नदीको पानीको उपयोग गरेर विद्युत् हबका रुपमा विकास गर्न सकिने आधार छन् । वर्तमान अवस्था गाउँ–गाउँमा साना जलविद्युत् आयोजनाले उज्यालो त दिएकै छ, तर पानीको क्षमता सामर्थअनुसार बिजुली उत्पादन नहुनु लगानीकै खाँचो हो । नेपालका ३ हजार खोलानालाका झन्डै १५ प्रतिशत कर्णाली प्रदेशमा रहेको तथ्यांक छ । कर्णाली बहुमूल्य जडीबुटीको खानी भएको क्षेत्र हो । कर्णालीमा हिमाल, जंगल र गाउँमा नेपालमा पाइने १४ सय जडीबुटीका प्रकारमध्ये ७ सयभन्दा बढी जडीबुटी कर्णालीमा पाइन्छन् । एकै सिजनमा जडीबुटी संकलनबाट कर्णालीका नागरिकले लाखौं कमाउँछन् । तर निर्माणाधिन सडक सम्पन्न नहुनाले यी सबै कुरामा कर्णालीबासी पछाडी परेका छन् ।

कर्णाली भन्ने वित्तीकै गरिब, अशिक्षित, अभाव अनि विकटको रुपमा परिचय हुने गरेको भएपनि कर्णाली प्रदेश कला–संस्कृति, सभ्यता र प्राकृतिक सुन्दरताले धनी छ । तर पनि आफ्नो परिचय बदल्नका लागि कर्णालीसँग सम्भावना धेरै भएपनि सडकको पूर्वाधार नहुदा विकास हुन सकेको छैन । कर्णालीका स्रोत र साधनलाई आम्दानीको राम्रो माध्यम बनाएर नागरिकको जीवनस्तर उकास्न सकिने भनेको पर्यटनको विकास पनि हो । मुगुको रारा, डोल्पाको शे–फोक्सुुण्डो तालदेखि जुम्लाको सिंजा, चन्दननाथ, दैलेखको ज्वालामुखी, दुल्लु दरबार, हुम्लाको हिल्सा, सल्यानको कुभिण्डेदह, सुर्खेतको काक्रेबिहार लगायतका दर्जनौँ पर्यटकीयस्थल कर्णालीमा रहेको छ । कर्णाली प्रदेश भौगोलिक रुपमा जति विकट छ प्राकृतिक सौन्दर्यका हिसाबले त्यति नै धनी छ । कर्णालीमा पर्यटन क्षेत्रको विकास गर्न दर्जनौ ऐतिहासिक स्थलहरु छन् ।

सिमीकोट–हुम्लालाई सडक सञ्जालसँग जोड्ने मुगु–हुम्ला लिंक रोड ६७ किलो मिटर लम्बाई भएको सडक सलिसल्लामा कर्णाली करिडोरमा जोडिएको छ । अहिले नेपालगन्ज देखि कालिकोट नाग्मा हुदै मुगुको सदरमुकाम गमगढी सम्म बस सेवा सन्चालन भै रहेको छ । तर सडक कच्ची छ । ढिलो भए पनि कर्णालीको कालिकोट, जुम्ला मुगु र डोल्पा सडकमा जोडिएका छन् । केहि बर्ष अगाडी सम्म कर्णालीमा सडक आउला गाडी चल्लान् भन्ने कल्पना समेत कसैले गर्दैनथे । मुगु हुँदै तिब्बत जोडने सडक र डोल्पाबाट जुम्ला जोडने सडक बन्नु पर्दछ । अर्को तर्फ कर्णालीमा जति सडक निर्माण भएका छन् ति सबैको स्तोन्नति हुनु पर्दछ ।
कर्णाली करिडोरले चिनियाँ सीमासित जोडिएको हिल्साबाट मानसरोवर जाने तीर्थाटन पर्यटकहरुका लागि छोटो दुरी पर्दछ । हिल्साबाट मानसरोवर १२० किलोमिटर पर्दछ ।

करिडोरले पर्यटकलाई सस्तो र सुलभ यात्रा हुन्छ । मानसरोवर जाने पर्यटकहरुमा भारतीय धेरै हुन्छन् । सडक यात्रा सहज भएपछि उच्च आय भएका पर्यटकले मात्रै यात्रा गर्ने मानसरोवर मध्यम र निम्न वर्गीय तीर्थाटनका पर्यटकहरु मानसरोवर पुग्न सक्दछन् । सडक यातायात नेपालीलाई विकल्प नभएको यातायात हो । जलमार्गको सम्भावना नभएको, हवाई मार्गमा अधिकांश नेपालीको पहुंच बाहिर रहेको छ । निर्माणाधिन अबस्थामा रहेका सडकहरुलाई राज्यले समयमानै बजेट दिने र निर्माण कार्य सम्पन्न गर्ने तर्फ ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया

प्रतिक्रिया