डा. बद्री चापागाईं
विश्वमा महामारीको रुप लिएको कोभिड – १९ को सन्त्रासले मुलुक पुरै ‘लकडाउन’ को अवस्थामा छ । कोरोना संक्रमणमा रोग फैलिनबाट रोक्ने एउटा प्रमुख उपाय भनेको मानिसहरुलाई घर भित्रै बस भन्नु हो । घरमै बस भनेर भन्न त सजिलो हुन्छ, तर मानिसहरुलाई बिभिन्न किसिमका समस्या परिरहेका हुन सक्छन् । ‘लकडाउन’को पहिलो दिनका दृष्यले पनि त्यो देखाएकोा छ ।
कसैको घरमा बच्चालाई खुवाउन दुध नहुन सक्छ, कसैको बच्चा बिरामी भएर ज्वरोको औषधी चाहिएको हुन सक्छ, कसैको घरमा बेथा लागेर अस्पताल ल्याउन सवारी साधन चाहिएको हुन सक्छ ।
यस्तो बेलामा स्वयंसेवकहरुको उचित परिचालन हुन सक्यो भने सहि हुन्छ । कोभिड १९ नियन्त्रणको सबै काम स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मात्र होइन । मुख्य मोर्चामा युद्ध लडिरहेका उनीहरूलाइ यस्ता सहायक कामहरूमा सहयोग गर्नु जनताको दायित्व हो । जनता पनि सहयोगको निम्ति फिल्डमा आए भने फ्रन्टलाइनर स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई उत्प्रेरणा हुन्छ । यसका लागि सबैतिरबाट सार्थक प्रयास होस् भन्ने हाम्रो आग्रह हो । हाम्रो तर्फबाट सक्दो प्रयास पनि गरिनै रहेका छौं ।










