मित्रलाल सापकोटा
यहि पुषको महिना, जाडोसँगै राष्ट्रको प्रतिष्ठा र स्वास्थ बनाउनका लागि बसेको बैठक । दिन ११ गतेको, अनि महिना राष्ट्र निर्माता पृथ्बीनारायण जन्मेको, स्थानीय सरकारको मेयर रनिङ्ग शिल्ड खेलकूद प्रतियोगिताको लागि बिभिन्न उप–समितिहरुको गठन गर्ने भव्य बैठक चलिरहेको थियो । लगभग ६५ विद्यालयहरुका प्रधानाध्यापक ज्यूहरु, शिक्षाविद्हरु, बर्तमान शिक्षाका महारत प्राप्त हस्तीहरु, बर्तमान राजनीतिका स्थानीय महारथिहरु, स्थानीय सरकारका प्रमुख ज्यू, उप प्रमुख ज्यू, वडाका प्रमुख, बिभिन्न खेलसँग सम्बन्धित व्यक्तित्व ज्यूहरु, गन्यमान्य पत्रकार ज्यूहरुको उपस्थितिमा भएको त्यो बैठक कुनै मामुली बैठक थियो भन्ने मलाई लाग्दैन किन पनि भने यहाँ देश बनाउने नेता थिए, देशको स्वास्थलाई तन्दुरुस्त गर्ने खेलाडीहरु थिए, देशको भविष्यको मार्गदर्शन गर्ने र देशका कर्णधार उत्पादन गर्ने कारखानाका बडे बडे कारिगढहरु र देशको जनताका हितलाई नियाल्ने चक्षुहरुको यो बैठकमा मेरो एउटा मात्रै कुराबाट निस्केको अट्टाहासपूर्ण हाँसोमा कुनै छलछाम थिएन, कुनै आश्चर्य पनि थिएन, न त कुनै लज्जा नै थियो ।
यो क्षण थियो यहि पुष २७ गते पर्ने नेपाल राष्ट्रको पुर्नजागरण र एकिकरणका व्यक्तित्व पृथ्बीनारायण शाहको २९८ औं जन्मदिनको कुरा जुन कुरा प्रसंगवश म बाट उठ्यो । यसमा मेरो न त कुनै पूर्वाग्रह थियो न त कुनै लज्जाबोध ! बस् गर्वका साथ उठेको कुरा थियो । जसले यो राष्ट्रको जग बसाले, नेपाली भन्ने परिचय दिए, यत्रो देशको भूगोल दिए, पूर्व मेचि देखि पश्चिम महाकाली सम्म स्वतन्त्र सार्वभौम र अटल भन्ने गीत गाएर नेपाली बनि फैलिएर बस्ने स्थान बनाइदिए । उनको जन्म दिनको प्रसंगमा त्यति अट्टाहासपूर्ण हाँसोको के अर्थ हुन सक्छ र यो कुरालाई लिएर यो लेख तयार पार्दै गर्दाका दिन सम्मपनि उपहास भै रहेछ , भन्ने मेरो अनुत्तरित प्रश्नको जवाफ त छैन तर पनि नेपालको एउटा स्वतन्त्र नागरिक, उनकै पौरखमा पाएको मेरो पहिचानले मलाई त्यो दिनको सम्बन्धमा केहि भन्न र लेख्न साथ साथै हाम्रा ती व्यत्तित्व ज्यूहरुलाई आज ती राष्ट्रनिर्माता, नेपालको पुर्नजागरणका नायक नेपालीको परिचायक पृथ्बीनारायण शाहको पर्सी पुष २७ गते पर्ने २९८ औं जन्मदिनको सम्झनामा वहाँ प्रति सर्मपित यी शब्दहरु र नमन सहित केहि कुरा अवश्य सोध्न चाहन्छु ।
आज भएको नेपालको भूगोल र नेपाल भन्ने देश कसले बनायो ? नेपाली भन्ने परिचय कहाँबाट पाइयो ? आज संसार भरि गर्वका साथ नेपाली हूँ, मेरो देश नेपाल हो भनेर आफ्नो परिचय दिने कस्ले बनायो ? छिमेकका दुई देश नजन्मिँदै नेपाल भन्ने देशको सीमा कस्ले कोर्यो ? आज तपाईंहरुले मेरो सम्पत्ति भन्दै रवाफ लगाउँदै गर्दा र तपाईंका बाबुबाजेले आर्जेको मेरो पूर्खाको बिरासत भन्दै घमण्ड गर्दै गर्दा त्यसमा गर्व गर्ने भूस्वामित्व कसरी आयो ? के यो देश र यो परिचय रसियाका लेनिनले बनाई दिएको हो ? कि चीनका माओले बनाई दिएको हो ? या वि पी का गुरु भारतका राममनोहर लोहिया, जय प्रकाश नारायणहरुले बनाई दिएको हो ? कि हिजो आफ्नै देशका बिरुद्ध छिमेकीसँग साँठगाँठ गर्ने बर्तमान शासनका सुत्रधार, पैसाका पिसाच र बिदेशी गुप्तचरका दलालहरु, स्वार्थका खानी र भँडुवा अन्धभक्तहरुले बनाइदिएको हो र ? पक्कैपनि इमान्दारिताका साथ भन्नु पर्दा यसको उत्तर तपाईंहरुसँग हुने छैन । तपाईं पनि यो देश नेपाल भन्ने मात्र बनाउन त्यहि पृथ्बीनारायाण शाहको पसिनासँगै वीर सपुतहरुको रगत बगेको माटोको सुगन्धलाई दुर्गन्ध भन्दै नाक थुन्ने नेपाली नागरिक हो । त्यहि नेपालको पुर्नजागरणका नायकका सन्ततिलाई सामन्तको पगरी भिराएर आफु सामन्त बन्ने यात्रामा लागेकाहरुको भक्त हो ।
हो ! हिजोको त्यो इतिहास कसरी पढाइयो र कस्तो शिक्षा पाइयो प्रश्न उठ्छ । म पनि कुनै समय तपाईहरु जस्तै तिनै पैसाका पिसाच र बिदेशी गुप्तचरका दलालहरु, स्वार्थका खानी हरुको बहकाइमा नलागेको होइन । मलाई जम्मा जम्मी सिकाइएको आफ्नो पूर्खाको इतिहास होइन, आफ्ना पूर्खालाई गाली गलौच गरेर बिदेशीको भक्ति र तीनको तलुवा चाट्ने संस्कार सिकाउँदै गर्दा तपाईहरु पनि म सँगै त्यस्तै पाठशालाका विद्यार्थी हुनुहुन्थ्यो । समयले आँखा खोल्यो त्यो कालो पट्टी खुस्क्यो अनि हेर्दा त मेरो पैताला मुनिबाट मेरो धर्ती खस्किसकेको थियो । जीवनका अमूल्य पाँच पाँच दशक र तिनका आकाहरुको इतिहास पढेको झण्डै चार दशमा बिउँझिँदा मलाई मेरो माटोले पोल्दै थियो, मेरा पूर्खाको इतिहासले गिज्याउँदै थियो के गर्थें आज प्राश्चित गर्दै छु, क्षमा मिल्ला नमिल्ला तर आफ्नो धर्ती र यसको अधिकारदातासँग क्षमाको याचना गर्दै छु ।
आज हाम्रा विद्यालयहरुमा नेपाल र नेपालीको वीरगाथा, नेपालको इतिहास, नेपालको आफ्नो धर्म, संस्कार संस्कृति, भाषा र सभ्यता पढाउन छोडिँदै छ । नेपालको भूगोल, नेपालको आफ्नो मौलिक खानपान, आफ्नो बनस्पति, नेपालका बिभूतीहरु, आदी इत्यादीको भन्दा बिदेशीको बखान गराएर, उनीहरुका संस्कार संस्कृति रटाएर आफ्नो मौलिकतालाई पाखण्ड, अबिकसित, बिकासको बाधक आदीको पगरी भिराएर बढि क्रान्तिकारी शिक्षा दिएको दाबी गरिँदै छ । तर दुर्भाग्य भनौं या ती आधुनिक शिक्षाका हिमायतिहरुको असक्षमता, अधिकाशं विद्यार्थीले आफ्नै भाषा पनि पढ्न जान्दैनन् । यो कुरा स्वीकार गर्नु या नगर्नु अलग पाटो हो तर यो तितो यर्थाथ नै हो । बढि बुद्धिजीवी हुने होडबाजीमा रहेने मानसिकता, पद र पद्वी थाप्न आतुर रहेकाहरु, बर्तमान सत्ताको भोजमा सामेल हुने दौड र आइएनजीओको भत्तामा रमाउन पल्केकाहरुलाई आज मेरा यी शब्दहरुले औडाह हुनु स्वभाविक नै हो । मलाई सत्य भन्न कुनै बादशाहको अनुमति लिइरहनु पर्छ जस्तो लाग्दैन । आज पृथ्बीनारायण शाहले ठूलो दुःखले आर्जेको यो मुलुकमा यस्ता तमाम प्रश्नहरुको उत्तर पाउन अझै केहि समय लाग्ला तर उनलाई र उनका सन्ततिलाई गाली गलौच गर्दै बुर्कुसी मार्दै गर्दा नेपाललाई नेपाल नै राख्ने प्रयास कतै भएन बरु नेपाललाई पटक पटक स्वीटजरलैंण्ड, सिंगापुर आदि इत्यादि बनाउँदा बनाउँदै रोम र भ्याटिकन सिटी भने बनाईंदै छ । बडो गर्वका साथ ठूला ठूला फोटाहरु राखेर बिदेशीहरु, अर्कैका राष्ट्र निर्माताहरुका जन्म दिन र दिवस मनाउँदै शुभकामना पनि आदानप्रदान गरिन्छ, ठूला र भव्य प्रबचन गोष्ठि आदि इत्यादि राज्यकोषबाटै गरिन्छ । उनीहरुको महिमागानमा हाम्रा पत्रपत्रिका रङ्गिन्छन् यसरी मानौं यो देश नै तिनका सन्तानको बिरासत हो । तर यो देशका निर्मातालाई आजका राज्य सञ्चालकहरुबाट एक थुङ्गा फुल चढाइँदैन, यहि राष्ट्रको रसमा उन्मत्त हुनेहरुबाट मुक्त कण्ठले एक वचन मिठो बोलेर राष्ट्र निर्माता प्रति कृतज्ञता व्यक्त गरिँदैन । यो भन्दा ठूलो बिडम्बना संसारमा अरु केहि हुन्छ र ?
आज तमाम उठापटक र बैमानीपूर्ण तरिकाबाट आर्जन गरको शक्ति र यसका पुजारीहरुले जनताको मतबाट निर्वाचित भएर उनै राष्ट्रनिर्माताको छातीमाथि बुट बजार्दै गर्दा तिनै जनता प्रति ठूलो गुनासो गर्ने गरको पाईन्छ कि जनताले कर्तव्य बुझेन, जनताले यिनीहरुलाई सलाम गरेन, हिजो लगाइदिएको घोडाको टाप र आफ्नो राजिनामाको ठप्पा आज कतै मोहियानी हकको पुर्जा नबनोस् भन्ने चिन्ता पनि लागेकै छ, तर यहाँ मलाई यी महासयहरुलाई पनि सोध्न मन लाग्यो, आजको राजनीतिले सिकाइरहेको मन्त्र र अर्ती अधिकारको मात्रै होइन र ? आजको शिक्षाले पढाएर बनाएकोे विद्यार्थी प्रमाण पत्रको पात्र मात्रै होइन र ? तपाईको सिद्धान्तले सिकाएको अधिकारका लागि लड्ने, मर्ने, हत्या हिंसा गर्ने, सार्वजनिक सम्पत्तिको सत्यानाश पार्ने कर्म होइन र ? जनजनमा कित्ताकाट, घृंणावादको बिउ रोपेर आर्जन गरेको शक्तिको आडमा यी जनतासँग यत्रो अपेक्षा कसरी राख्न सुहाउँछ तपाईहरुलाई ? सन्तान सपुत हुनलाई पूर्खाले सत्कर्म गर्नु पर्छ कि पर्दैन ? तपाईहरुको आर्दशले बनाएको मार्गबाट पुगिने गन्तव्य नै यहि हो खोई किन न बुझेको ? अनि कसरी अपेक्षा राख्नुहुन्छ । हिजो तपाईले राष्ट्र निर्मातालाई गाली गलौच गर्दै, तानाशाह भन्दै, बिस्तारबादी भन्दै, कलिला मन मस्तिष्कमा घृणा छर्दा भोली म पनि शासक बनुँला भन्ने हेक्का थिएन कि सधैं त्यहि धन्दा चलिरहन्छ र यहाँसम्म आइँदैन भन्ने लागेको थियो ? या अचानक सत्ताको कागताली परेको हो ?
आज चीनले माओको मार्ग छोड्यो, देङ्ग सियापिङ्ग हुँदै सी जीन फिङ्ग सम्म आइपुग्दा माओको साँस्कृतिक क्रान्तिको गल्ती सच्याउँदै चिनियाँ मौलिकता बचाउन आज कन्फ्यिूसियसको बाजरिकरणको मार्गमा लागेको छ । तर माओको कर्र्म र उनको आर्जन माथि आज पनि चीनले गर्व गर्छ, अझ यति सम्म कि लाश नै राखेको छ, रसियाले १९१७ को परिवर्तनलाई नै सबथोक मान्यो तर १९५६ मा आइपुग्दा आफ्नो संस्कृतिको बजारिकरण गर्न आवश्यक ठान्यो । आजको रसियाले लेनिनको मार्ग छोडेको तीन दशक भै सक्यो तर पनि लेनिनको जन्मदिन मनाउँछ, सम्मान गरेको छ, दुनियाँलाई गर्वका साथ बताउँछ कि रुस उनको आर्जन हो । जर्मनीका हिटलरको संसार भरि चर्चा हुन्छ तानाशाह भनेर, तर त्यहाँ उनलाई सम्मान गरिन्छ । विश्वमा त्यस्ता उदाहरणहरु तमाम छन् तर तपाईंहरुले त्यस्को उछितो काढ्यौ जसले तपाईंलाई बुकुर्सी मार्ने भूमि जोडी दियो, तपाईंलाई पिर्का चढाउने हामी जस्ता मूर्ख जनतालाई नेपालीको पहिचान बनाइदियो । तर खोइ त तपाईंको कर्तव्य ? खोई त तपाईंको ती महान राष्ट्रनिर्माता प्रतिको कृतज्ञता ? कर्तव्यहीन शासकका जनता कस्ता हुने ? कस्तो संस्कारको गुरु हो तपाईं र शिष्यहरु अच्छा हुने ? बताइ दिनुस ।
आफ्ना् दिब्य उपदेशमा भनेका थिए बडा महाराज पृथ्बीनारायण शाहले कि “उप्रान्त यो राजे दुइ ढुंगाको तरुल जस्तो रहेछ । चीन वादसाहसित ठूलो घाहा राषनु । दषिनको समुद्रको वादसाहसित घाहा त राषनु तर त्यो महाचतुर छ । हिन्दुस्थान दवाइ राषे छ । सरजिमिमा परि रहेछ । म भन्दा माथि मेरो देश, म भन्दा प्यारो देश” अर्थात यहाँ नेपाल राष्ट्रको निर्माण पछि नेपालको भूगोल र यसका उत्तर दक्षिणका देशसँगको सम्बन्ध कस्तो हुने भन्ने र शासक भन्दा देश माथि हुने भन्ने उपदेश । उनले खानीको रक्षा, बसोबासको ठाउँ कस्तो हुने, उद्योग सञ्चालन, राजाको कर्तव्य, न्यायमा शास्त्रको विवेकको व्यवस्था, आदी बारेमा पनि आफ्ना महान वाणीहरु दिएका थिए भने आज पनि सबैलाई खड्केको कुरा घुस खाने र घुस दिने दुबै राज्यका शत्रु हुन भन्ने भनाई त आज पर्यन्त नेपालमा मात्रै होइन संसार भरि सत्य साबित भएको छ । देशको पुर्नजागरण, एकताका साथै, यस्तो दुरदृष्टि राख्ने राष्ट्रपिताको नेपालमा कस्ले कल्पना गरको थियो कि उनको मूर्ति तोडेर, उनैको उछितो काढेर, उनकै पौरखमा उनका सन्ततिले पराइको स्तुतिगान गाउँदै गर्व गर्नेछन् भन्ने । आज उनले बनाएको चार जात छत्तिस वर्णको साझा फुलबारी भत्काएर एक एक शब्द उनकै उछितोमा खर्चेर उनी प्रति एक शब्द कृतज्ञताको भन्न नसक्नेले कस्तो संस्कार, संस्कृति र सभ्यताको बिकास गर्न खोजिएको हो ? त्यो त भावी सन्ततिले तपाईंहरुलाई पनि सोध्नेछन् । तर यो परिपाटीले देशमा पुस्ता दर पुस्ता अघिल्लो पुस्तालाई र तीनका कर्मलाई निषेध गर्ने परिपाटी बसाल्न खोजेको छ, आजको पद्धतिले सिकाएको र सिकाउन खोजेको त्यहि हो ?
आदरणीय गुरुहरु, यो देशका सर्वांगिण बिकासका आ–आफ्नो क्षेत्रबाट लागि परेका लागेका समाजका अगुवाहरु, कत्कर्म गर्न कहिल्यै ढिलो हुँदैन । समाज र सन्ततिलाई सुमार्गमा डोर्याउन समय अझै गएको छैन । आज शासन र सत्तालाई डोर्याउनेहरुले पनि केहि न केहि बिरासतमा पाएरै यहाँ आएको हो । सिक्न सिकाउनका लागि धेरै समय खर्चेको पनि हो । हो सिक्ने बेलामा समयको धार र केहि आन्तरिक अवस्थाले धेरै कुरा सिकाएन होला । नेपालीको रातारात सम्पन्न बन्ने सपनामा बग्ने स्वभावको शिकार तपाईंहरु पनि हुनुलाई नौलो मानिंदैन । बिदेशको चकाचौंधमा आफ्नो भविष्य सुरक्षित भएको देख्ने स्वभावले देशको अस्मिता बच्दैन । पक्कैपनि यो देशको इतिहासको बिरासतबाट हामीले धेरैकुरा पाएका छौं यो बिर्सनु हुँदैन । हो सबै कुरा राम्रै राम्रा नहोलान तर देशको भाषा, संस्कृति, सभ्यता र हाम्रा पूर्खाको जीवनभरको लगानीबाट सृजित यो भूमिको अस्मितालाई हामी कसैले पनि चाहेर पनि नकार्न सकिँदैन । हामी पनि भोली रहने छैनौं तर हाम्रा असल कामको हाम्रा सन्ततिले अनुसरण गरुन भन्ने अभिलाषा भने पाल्दै गर्दा हिजोका हाम्रा पूर्खालाई घृंणा गर्ने गल्ति नगरौं ।
इतिहास कहिल्यै पनि दोहोरिँदैन । यो संसार त बालकृष्ण शमले भने झै नियमित आकस्मिकता मात्रै हो । इतिहासलाई मास्ने, र बिरासतलाइ गाली गलौच गरेर यसलाई फेर्ने जर्मको गर्नेहरुको अस्तित्व जीवित रहेका राम्रा उदाहरणहरु छैनन । नेपाल देश कुनै विदेशीको र यसका दासत्व मानसिकता बोकेकाहरुकोे दानबकस होइन , यो हाम्रा वीर पूर्खाको नासो हो, राष्ट्रनायक पृथ्बीनारायण शाहको पौरख र पराक्रम हो । पृथ्बीनारायण शाहले नेपालीलाई दिएको अमूल्य उपहार हो । उनको सपनाको बगैंचा हो, यो बगैचाको मालीलाई गाली होइन उनको २९८ औं जन्म दिन यहि पुष २७ गतेमा एक दिन मात्रै भएपनि कृतज्ञताको शब्दफुल सहित ताली दिएर हाम्रो मौलिक परम्पराको, पूर्खालाई सम्मान गर्ने परिपाटीको पुनः थालनी गर्दै आफ्ना सन्ततिलाई आज मात्रै होइन भोली पनि आफ्नो सम्मानको मार्ग प्रशस्त गरौं ।










