जनताले नजिकैबाट लोकतन्त्रको अधिकतम उपयोग गर्ने थलो स्थानीय तह हो भन्ने मान्यतालाई स्थापित गर्ने पहिलो खुड्किलो हो, खजुरा सम्मेलन । सरकार र नागरिक बिचको सम्बन्धलाई दरिलो बनाउनु सम्मेलनको लक्ष्य हो । नागरिकहरुको गुनासो र सरकारको बाध्यता बिच समृद्धि र विकासका मार्गचित्रका बारेमा यथेष्ट संवादको जोहो हुुनु यो सम्मेलनको आकर्षण हो ।
किरण ढकाल
धेरैलाई लागेको छ, गाउँका सिंहदरबार अभिजात भए । कुरा नसुन्ने, छिर्न नसकिने सिंहदरबार हाम्रो संघीयताको परिकल्पना हँुदै होइन । बोल्दै नबोल्ने, प्रश्न सुन्नै नचाहने लोकतन्त्र पनि हाम्रो हैन । खजुरा गाउँपालिकाले बृहत खजुरा सम्मेलन आयोजना गर्दैछ । यो सम्मेलनले के सन्देश दिन्छ ? यो आलेख यसैमा केन्द्रित छ ।
संविधानमा लेखिएको र देखिएको स्थानीय सरकार नागरिकको आवाजको बुलन्द गर्ने तह हो । यो मर्ममा टेकेर लोकतन्त्रलाई जीवन्त र अनुकरणीय व्यवस्थाको रुपमा स्थापित गर्ने राजनीतिक महत्वकांक्षाबाट खजुरा सम्मेलन केन्द्रीत छ । खजुरा सम्मेलन स्थानीय स्तरमा लोकतन्त्रको अधिकतम उपयोग गर्ने थलो स्थानीय तह हो भन्ने मान्यतालाई स्थापित गर्ने पहिलो खुड्किलो हो ।
यो सम्मेलनमा खजुराको भविष्यका बारेमा छलफल हुन्छ । यो छलफल निर्वाचित जनप्रतिनिधि मात्रले हैन, खजुरालाई माया गर्ने खजुरेली नागरिकले गर्ने छन् । यो विकासमा नागरिकको प्रत्यक्ष सहभागिता र भनिने गरिएको सहभागितामूलक लोकतन्त्र स्थापित गर्ने अभ्यास पनि हो ।
यो सम्मेलन नागरिकको आवाजलाई सुन्ने सरकारको जवाफदेहितासंग सम्बन्धित छ । यो सम्मेलनबाट खजुराले सन्देश दिन चाहेको प्रष्ट छ, विकास स्थानीय तहको पेवा सम्पत्ति हैन । यो सबैको स्वीकार्यतामा मात्र दिगो हुन्छ ।
सरकार र नागरिक बिचको सम्बन्धलाई दरिलो बनाउनु सम्मेलनको लक्ष्य हो । नागरिकहरुको गुनासो र सरकारको बाध्यता बिच समृद्धि र विकासका मार्गचित्रका बारेमा यथेष्ट संवादको जोहो हुुनु यो सम्मेलनको आकर्षण हो ।
खजुरा सम्मेलन फगत एउटा इभेन्ट हुन सक्दैन । न त यो कुनै परियोजना नै । यो नागरिक र सरकारबिचको सम्बन्ध सेतुको लम्बे अभियान हुने गरि परिकल्पना गरिएको यथार्थ हो । खजुरा गाउँपालिकाले यो सम्मेलन गर्नुपूर्व गरेको तयारी, छलफल र सम्मेलन सम्पन्न गर्न गर्ने प्रक्रियाले नै यो सम्मेलनको महत्वलाई पुष्ट्याई गरेको छ ।
आमरुपमा प्रवासिनु नेपालीहरुको लागि बाध्यता हो । यो खजुरेली नागरिकको पनि रहर हैन, बाध्यता बनेको छ । प्रवासिएका खजुरेलीहरुमा खजुराप्रति अगाध माया र स्नेह छ । यो माया र स्नेहमा थपिएको दक्षता, सिप, अनुभवबाट सिंचित हुने अवसर खजुराले नगुमाउने ग्यारेण्टि सहित यो सम्मेलन आयोजना गर्न लागिएको हो ।
सम्मेलन चियापान मात्र हैन । सम्मेलन शुभकामना आदानप्रदान गर्नका लागि मात्र गरिंदैन । यसैले यो सम्मेलनमा समृद्धिका महत्वपुर्ण आधारका बारेमा छलफल हुनेछ । खजुरा सम्मेलनले खजुरा बिकासको समग्रताका बारेमा एउटा दिशा निर्दिष्ट गर्ने छ । यो सम्मेलन खजुरा बिकासको स्वर्णिम अक्षरले कुँदिने छ ।
बिकास र समृद्धिका आधारहरु माथि हुने छलफलले देशले लिइरहेको नीतिको दिशा निर्देश गर्ने पक्का छ । छलफलको प्रक्रिया आधारभूत तहमा लोकतन्त्रलाई मजबुत गराउने अभिप्रायबाट निर्देशित छ । ताकि लोकतन्त्र हाम्रो संस्कृति बनोस् । ताकि समृद्धि जागरण मात्र हैन, आधारभूत आवश्यकता रहोस् ।
गरिबीमाथिको विजय हाम्रो अभिष्ट हो । दिगो विकास हाम्रो लक्ष्य । यो सम्मेलन दिगो विकास लक्ष्यलाई पुरा गराउने गरि गरिएको खजुराको अभियान हो ।
समृद्धिको लामो अभियानमा नागरिक सहभागिता, सक्रियता र अपनत्वको महत्वपुर्ण भूमिका रहन्छ । यो यथार्थ नै बृहत खजुरा सम्मेलनको मूल आत्मा हो । समृद्धि बिकासको फैलावटले सबैलाई छुनु पर्ने दर्शनबाट निर्देशित छ । खजुरा सम्मेलन यहि सिद्धान्तको आलोकमा गर्न लागिएको एउटा अभियान हो ।
दावा के गर्न सकिन्छ भने यस्ता सम्मेलनहरु जहाँ नागरिक आवाजहरु बुलन्द हुनेछन्, जहाँ गाउँको सरकारसंग नागरिकले सम्भावनाका अवसर, चुनौती र सामथ्र्यको चर्चा गर्नेछन् । यस्ता अवसरहरुको व्यापकताले विकासका सकारात्मक आवाजहरुलाई अझ बढि भाइब्रेन्ट बनाउन भूमिका खेल्न बल पुर्याउने छ ।
आशा मात्र हैन, विश्वास लिन सकिन्छ कि बृहत खजुरा सम्मेलन नागरिक आवाज सुन्ने उपयुक्त लोकतान्त्रिक मन्चका रुपमा अन्य स्थानिय सरकारहरुका लागि अनुकरणीय अभियान हुने छ ।
(विकास र सुशासन विज्ञ ढकाल बृहत खजुरा सम्मेलन व्यवस्थापन समितिका सचिव हुन् ।)











