रामलाल श्रेष्ठ
मेरा एकजना घनिष्ठ साथीको २२ वर्र्षिय छोराले एक महिना अघि म सँगको छोटो भेटमा आफूलाई पढ्न पटक्कै मन नलागेको र जीवन प्रतिनै वितृष्णा लागेको कुरा व्यक्त गरे । मैले मेरो साथीलाई छोराको निराशापनको बारेमा अवगत गराँए र तुरुन्त मानसिक रोग विशेषज्ञ वा मनोपरामर्शकर्ता समक्ष भेट्न सल्लाह दिए । साथीको छोराले त्यो विचार व्यक्त गरेको केही दिनमा मैले थाए पाँए की उनले विष सेवन गरी आत्महत्या गरेछन् । पछि बुझ्दा अभिभावकले छोरालाई विशेषज्ञकोमा लाने प्रयास सफल नभएकोले बचाउन नसकिएको रहेछ । काठमाडौको एक माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययन गर्ने एक छात्रा केटा साथीहरुको नियमित खिसीट्युरीको कारणले विद्यालय जान छोडेको कुरा उनको अभिभावकवाट जानकारीमा आयोे । अर्को एक परिवारको २० वर्षीय छोरीले ‘साइबर बुलिङ’ को कारण निकै अप्ठ्यारो महसुस गर्नु परेको र यसैको कारण उनी मानसिक रुपमा अत्यन्त तनावमा परेकी कुरा उनकी नजीकका साथीलाई व्यक्त गरेकी थिईन् । यी त भए केही प्रतिनिधीमूलक घटना र घटनाका प्रभावित व्यक्तिहरुले सहँनु परेको पीडा र त्यसको कारण व्यक्ति र परिवारजनमा परेको मानसिक असर । यस्ता घटना र परिवेशहरुबाट युवाहरुनै मानसिक स्वास्थ्य समस्यामा बढि पर्ने गरेका र उनीहरुलाई यस्तो अप्ठ्यारो परिस्थितिमा मनोपरामर्श र मानसिक स्वास्थ्य सेवाको सहयोगको जरुरी रहेको प्रष्ट हुन्छ ।
यस वर्ष अक्टोवर १० गतेका दिन विश्व मानसिक स्वास्थ्य दिवसका दिन विश्व स्वास्थ्य संगठनले तय गरेको“Young People and Mental Health in a Changing World” अर्थात ूबदलिदो विश्व परिवेशमा युवा र मानसिक स्वास्थ्यू भन्ने नाराका साथ नेपाल लगायत विश्व भरिनै मनाइएको थियो । यसै सन्दर्भमा विश्व मानसिक स्वास्थ्य दिवस सन् २०१८ देखि २०२० सम्मको एउटै नारा “बदलिदो विश्व परिवेशमा युवा र मानसिक स्वास्थ्य” रहनुले समेत किशोरकिशोरीहरुको मानसिक स्वास्थ्यको गाम्भिर्यता स्पष्ट पारेको छ । यो दिवस विविध कार्यक्रम गरी मनाउन लागिएको छ । विश्व मानसिक स्वास्थ्य महासंघले विश्व मानसिक स्वास्थ्य दिवसको अवसर पारेर निकालेको सन्दर्भ सामग्रीमा उल्लेख भए विश्वव्यपीरुपमा हरेक ५ जना युवा मध्ये १ जनामा अर्थात कुल युवा जनसंख्याको २०% मा मानसिक स्वास्थ्य समस्या हुने गरेको उल्लेख गरिएको छ । तर युवाहरुको मानसिक स्वास्थ्यको प्रर्वधन र मानसिक स्वास्थ्य समस्याको उपचारको लागि खासै नगन्य बजेट खर्च गर्ने गरिएको छ । विश्व स्वास्थ्य संगठनको अनुसन्धान अनुसार आधाभन्दा बढी मानसिक स्वास्थ्य समस्या १४ वर्षभित्र शुरु हुन्छ र २४ वर्षको उमेर सम्म ७५% मानसिक स्वास्थ्य समस्या देखिसकेको हुन्छ । १५ देखि २९ वर्ष उमेर समूहका व्यक्तिको मृत्युको दोश्रो कारण आत्महत्या पाईएको छ । ७५% जस्तो आत्महत्याका घटना निम्न तथा मध्यम आयस्तर भएका देशहरुमा हुने गरेको छ । १८ देशका एक लाख युवाहरुलाई लक्षित गरिएको सर्वेक्षणमा २५% ले शारीरिक बनावट र सौन्दर्यता, २५% ले लैङ्गिक तथा यौनिकता कारण र २५% ले आफ्नो राष्ट्रियता तथा जातीय पहिचानको आधारमा आफू खिसीट्यूरी ९दगििथष्लन० मा परेको कुरा व्यक्त गरेका थिए । यस्तो खालको खिसीट्यूरीको कारणले ८३%ले आफ्नो आत्मसम्मानमा नकरात्मक असर परेको जनाएका थिए । यौनजन्य, लैङ्गिक तथा अन्य खालको हिंसाको कारणले विश्वभरिमा प्रत्येक १० मिनेटमा एक जना किशोरीको मृत्यू हुने गरेको त्यस सन्दर्भ सामग्रीमा उल्लेख गरिएको छ ।
वि.सं २०६८ सालको राष्ट्रिय जनगणना अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समुहका व्यक्तिहरु ४०% रहेका छन् । १४ देखि २८ वर्ष उमेर समूहका किशोर किशोरी तथा युवाहरु जीवनको त्यस क्षणमा आफ्ना छुट्टै पहिचान स्थापित गर्ने, शैक्षिक तथा व्यवसायिक शिक्षाको छनौट गरी अध्ययनलाई निरन्तरता दिने, भविष्य निमार्णमा जुट्ने र आफनो जीवनशैली अरुको भन्दा कसरी फरक बनाउने अभियानमा लागिरहेका हुन्छन् । जीवनका नमिठा अनुभव, आघातजन्य घटना, लैङ्गिक हिंसा, समाजिक विभेद, साथीहरुबाट खिसीट्यूरी, शारीरिक परिवर्तन, घर, समाज, विद्यालय र कलेजको बातावरण, दौतरी दबाव, आर्थिक विपन्नता आदि जस्ता कारणले युवाहरुले निरन्तरको तनाव तथा चूनौतीहरुको सामना गर्नु परिरहेको हुन्छ । यसको साथै विद्यालय परिवर्तन हुँदा, नयाँ कलेजमा भर्ना हुँदा, घर छोडेर बाहिर जाँदा, नयाँ कामको थालनी गर्दा आवश्यक समायोजन सम्वन्धी सीपको अनुभव नहुँदा उनीहरुले धेरै नै अप्ठ्यारो महसुस गरिरहेका हुन्छन् । यस्तो समस्याहरुलाई समयमै सुल्झाउन नसकेमा उनीहरुमा मानसिक तथा मनोसामाजिक समस्या आउने सम्भावना बढी हुन सक्दछ ।
नेपालमा लगभग कति युवाहरु मानसिक स्वास्थ्य समस्याबाट प्रभावित छन् भनेर अध्ययन अनुसन्धान नगरिएको भएपनि विश्व स्वास्थ्य संगठनको प्रक्षेपणलाई आधार मान्दा लगभग २२ लाख भन्दा बढि युवाहरु यस्तो खालको समस्या हुन सक्छन् भनेर आकलन गर्न सकिन्छ । नेपालका युवा तथा किशोर किशोरीहरु बीचैमा पढाइ छाड्ने, विद्यालय वा कलेज जान नमान्ने, सिक्न मन नगर्ने, सानो तनावलाई पनि व्यवस्थापन गर्न नसक्ने, तनावले वेहोस हुने, आघातजन्य समस्या, डिप्रेशन, आत्महत्याको प्रयास गर्ने, लागुपदार्थको दुव्र्यसनमा फस्ने, ‘साइबर बुलिङ’ जस्ता समस्याहरु युवाहरुमा बढ्दै गईरहेको देखिन्छ । अधिकांश युवाहरुमा आफ्नो मानसिक सुस्वास्थ्यको प्रवर्धन गर्ने तथा मानसिक स्वास्थ्य समस्या आएमा त्यसको समाधानको लागि विज्ञको सहयोग लिनु पर्दछ भन्ने चेतना खासै देखिदैन । साथै सामाजिक लाञ्छना तथा भेदभावका कारण अधिकांश युवाहरु उपचार खोज्नवाट टाढिने गरेका छन् । जनसंख्याको यति ठूलो हिंसा र यसमा पनि उत्पादनशील उमेरमा रहेका युवाहरुमा देखिन सक्ने मानसिक स्वास्थ्य समस्याको रोकथाम समयमा नहुदा र उपचार सेवामा सवैको पहुच नहुदा परिवार तथा देशले धेरै उत्पादकत्व क्षमता गुमाएको छ ।
किशोरकिशोरी तथा युवाहरुको मानसिक सुस्वास्थ्यको लागि विद्यालय वा कलेजमा मनोपरामर्श ईकाई स्थापना गर्नुपर्ने, जीवनउपयोगी सीपहरुको विकासमा जोड दिनुपर्ने, मानसिक रोग सम्वन्धी अन्धविश्वास र लगाईने लाञ्छना कम गर्न जनचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ । किशोर किशोरी तथा युवाहरुको मनको अलमल, अप्ठ्याराहरु एवं पीर, चिन्ता र तनावलाई समानुभुतिपूर्वक सुन्ने संस्कारको विकास घरपरिवार, विद्यालय, कलेज, कार्यालय हुदै समाजमा समेत सुनिदिने संस्कारको विकास गर्न जरुरी छ । यसो भयो भने उनीहरुको मानसिक सुस्वास्थ्यमा प्रवर्धन गर्न सकिन्छ र यसले मानसिक स्वास्थ्य समस्याको रोकथाम गर्न सहयोग पुर्याउँदछ ।
नेपालको संविधान २०७२ ले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हकका साथै आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा व्यवस्था गरी संवैधानिक मान्यता गरिसकेको अहिलेको अवस्थामा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन लगायत अन्य विकासे साझेदार संघसस्थाहरुले मानसिक स्वास्थ्य विना स्वास्थ्य सम्भव छैन भन्ने सत्यतालाई ह्रदयगम गर्दै विकासको रणनीतिक लक्ष्य हासिल गर्नको लागि स्वास्थ्य, शिक्षा लगायत अन्य विकासमा काममा मानसिक स्वास्थ्यलाई पनि एकीकृत गराएर लैजानको लागि आफ्ना नीति, रणनीति, कार्ययोजना र बजेटको माध्यमबाट यो समस्यालाई सम्वोधन गरेर अघि बढ्न जरुरी भैसकेको छ । यसो भयो भने मात्र मानसिक स्वास्थ्यको क्षेत्रमा जनचेतना अभिबृद्धि गरी मानसिक स्वास्थ्य समस्याको रोकथाम गर्न, मानसिक स्वास्थ्यको प्रवर्धन गर्न र मानसिक स्वास्थ्य सेवा ग्रामीणस्तरसम्म पुर्याई यस्तो स्वास्थ्य समस्या लिएर बाँचिरहेका ब्यक्तिहरुलाई उचित किसिमको मानसिक स्वास्थ्य सेवा, मनोपरामर्श सेवा तथा पुर्नस्थापना गर्न सहयोग गर्न सकिन्छ । मानसिक स्वास्थ्यको प्रवर्धन र मानसिक स्वास्थ्य समस्याको रोकथामको लागि युवाहरुको सीप, क्षमता अभिबृद्धि गरि परिचालन गर्न सकियो भने समग्र युवा जनसंख्या लगायत मानसिक स्वास्थ्य समस्याको जोखिममा रहेका अन्य व्यक्तिहरुको पनि मानसिक सुस्वास्थ्यमा योगदान पुर्याउन सकिन्छ । अतः यस विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा सवै सरोकारवालाहरुले युवाहरुलाई लक्षित गरी उनीहरुको मानसिक स्वास्थ्यको प्रवर्धन, मानसिक स्वास्थ्य समस्याको रोकथाम र उपचार सेवाको विस्तारमा लगानी गर्न अव ढिला गर्नु हुदैन ।
email: [email protected]