लोक बहादुर शाह
आपराधिक मनोवृति
सबै नागरिकले सम्मानपुर्वक वाँच्न पाउनु पर्दछ । सवै नागरिकले आफ्नो मानव अधिकार, नागरिक अधिकारको उपभोग गर्न पाउनु पर्दछ । नागरिक स्वतन्त्रता प्रत्येक नागरिकको लोकतान्त्रिक अधिकार हो । घर, समाज र राष्ट्रमा शान्ति सुव्यवस्था कायम भयो भने नागरिकले पनि आफ्ना अधिकारको उपभोग गर्न पाउछ अनि समाज र देश पनि सुदृढ र बलियो हुन जान्छ । यो सवैको कामना र चाहना पनि हो । यि सैद्धान्तिक मान्यता हुन् ।
विविधतामा एकता नै समाजको परिभाषा हो । संसारमा रामराज्य कही छैन । अभाव, प्रभाव, अशिक्षा, सामाजिक वातावरण, नकारात्मक सोच, लोभ लालच, राजनीतिक स्वार्थ, व्यक्तिका नीहित स्वार्थ, छिटो धनी बन्ने होडवाजी आदिका कारण विभिन्न प्रकारका आपराधिक घटना घटी नै रहेका छन् । आपराधिक घटनाले प्रत्यक्ष रुपमा व्यक्ति र परिवारमा हानी, नोक्सानी र क्षतिपुग्ने भएपनि समग्रमा यस प्रकारका घटनाले समाज र सिंगो राज्यलाई नै प्रभावित पारेको हुन्छ । आपराधिक घटनाका कारण शारीरिक, मानसिक, आर्थिक र सामाजिक रुपमा क्षेति पुर्याएको हुन्छ । आपराधिक घटनाले आपराधिक मनोवृति भएका व्यक्तिलाई केही क्षणको लागि सन्तुष्टि मिलेपनि आत्मग्लानी भएकै हुन्छ । अपराध गर्ने व्यक्तिको पनि मानसिक र सामाजिक रुपमा क्षति भएकै हुन्छ । अर्थात अपराधले कसैको भलो गर्दैन ।
नागरिकको सुरक्षा गर्न, आपराधिक घटनालाई रोकथाम गर्न, अपराध पीडितलाई न्याय र पीडकलाई सजाय दिलाई समाजमा शान्ति सुव्यवस्था कायम गर्नका खातिर राज्यले विभिन्न कानुुनको निर्माण गरेको छ । तर पनि आपराधिक घटनामा पुनरावृति र वृद्धि भईरहेको छ किन ? आजको यक्ष प्रश्न जन—जनमा रहेको छ ।
यौन अपराध ः
अहिले बढी चर्चामा रहेको अपराध यौन अपराध नै हो । यौन अपराध सवैभन्दा बढी जघन्य, क्रुर र आततायी घटना हुन्छ । यस प्रकारको अपराधले महिलाको शारीरिक, मानसिक र सामाजिक रुपमा समेत गम्भीर क्षेति पुग्न जान्छ । यस प्रकारका घटनाले घर, परिवार र समाजमा असुरक्षा र अशान्ति फैलाउने कार्य गर्दछ । यौन अपराधका अधिकांश घटनाहरु आफ्नै अभिभावक, संरक्षक, आफन्त बाट हुने गरेका कारण यो अपराध अझ बढी जटील बन्न गएको छ ।
बालबालिकाहरु बढीमात्रामा यौन अपराधका शिकार बनी रहेका छन् । बालिका देखि जेष्ठ महिला सम्म यौन अपराधको शिकार बन्ने गरेका छन् । बालबालिकाहरुले हिंसाको प्रतिकार गर्न नसक्ने, घटनाको बारेमा यथार्थ जानकारी गराउन नसक्ने भएका कारण यौनपिपाशुहरु आफुले गरेका कुकृत्यबाट जोगिन सकिन्छ भन्ने मनसायका साथ अवोध बालबालिकालाई यौन हिंसा गर्ने गरेको पाइन्छ ।
कानुनले यौन अपराधलाई जघन्य अपराधको रुपमा परिभाषित गरेको छ, अधिकतम सजायको व्यवस्था पनि गरेको, वैवाहिक बलात्कार गर्नेलाई समेत कानुनको दायरामा ल्याईएको छ तर पनि यौन हिंसाका घटनाहरु दिन प्रतिदिन बढी रहेका छन् । दाईजो नल्याएको, आफुु अनुकुलको व्यवहार नगरेको, आफ्नो चित्त नबुझेको भन्ने लगायतका विविध कारणले सात जन्म सम्म संगै बाँच्ने संगै मर्ने कसम खाएका पुरुषहरुले श्रीमति माथिको रीस मेट्न र आफ्नो यौनतृष्णा मेटाउनका लागि कयौं पुरुषले दैनिक रुपमा वैवाहिक बलात्कार गरीरहेका छन् । पारिवारिक सम्वन्ध, सामाजिक मान्यता, आफ्नो र सन्तानको भविष्यलाई हेरी त्यस प्रकारका हजारौं वैवाहिक बलात्कारका घटनाहरु सार्वजनिक हुन सकेका छैनन् । त्यसै गरी अवोध बालिकाहरु जो आफ्नै अभिभावक र संरक्षक बाट प्रताडित छन् तिनले आफ्नै अभिभावक र संरक्षकको विरुद्धमा बोल्न सक्ने स्वतन्त्र र संरक्षित परिस्थितिको सृजना नै हुन सकेको छैन । जस्का कारण बालिका यौन हिंसाका अधिकांश घटनाहरु अझै प्राविधिक कारणले बाहिर आउन सकेका छैनन् ।
कतिपय यौन अपराधका घटनाहरु माया—प्रेमका कारण र विवाह गर्ने आश्वासनका कारण पनि हुने गरेको देखिन्छ । विवाह गर्ने प्रलोभन, आश्वासन र अनुचित प्रभावमा पारी शारीरिक सम्वन्ध कायम गरीसकेपछि विवाह गर्न नै इन्कार गर्ने गरेका पनि समाजमा प्रशस्तै उदाहरण रहेका छन् । यस प्रकारका घटनाहरु दुवै पक्षको सहमति र विश्वासमा हुने गरेका र यो कुरा बाहिर आएका खण्डमा परिवार र समाजमा आफैलाई दोषी मान्ने, विवाह गर्नमा पनि प्रतिकुल असर पर्न सक्ने भय र डरका कारण बाहिर आउँदैनन् ।
यौन अपराधमा पुरुषवादी सोचको पनि ठुलै हात रहेको छ । पुरुषले नै यौन हिंसा गर्ने गरेका कारण यस्को दोष पुरुषलाई नै जान्छ । मादक पदार्थको सेवन, धनको उन्मात, शक्तिको दुरुपयोग, राजनीतिक संरक्षण, आदिका कारण पनि यौनजन्य घटनाहरु घटीरहेका छन् । कतिपय यौन अपराधका घटना प्रकाशमा नै आउदैनन्, सार्वजनिक भएको आपराधिक घटनामा पनि निष्पक्ष र वैज्ञानिक ढंगबाट अपराध अनुसन्धान हुदैन, डर त्रास भय र स्वार्थका कारण पीडित स्वयंले अदालतमा आएर होस्टाईल बकपत्र गर्ने गरेका कारण पनि दोषीले उन्मुक्ति पाउने गरेका कारण पनि यस प्रकारका घटनाले पुनरावृति हुने गरेको देखिन्छ ।
यौन अपराध गर्ने कतिपय व्यक्तिहरु मनसिक रोगी समेत रहेको देखिन्छ । कतिपयले त महिला तथा महिलाका परिवार प्रतिको प्रतिशोधका कारण पनि यौन हिंसा गर्ने गरेको देखिएको छ । यौन अपराधको घटना घटाईसकेपछि पीडितले घटनाको बारेमा जानकारी गराउने भएका कारण र आफु अपराध बाट बच्नका लागि पीडितको हत्या नै गर्ने प्रचलन समेत बढ्दै गएको छ । कन्चनपुरकी निर्मला पन्तको वलात्कार पछि हत्या यसैको कारण हो ।
कसरी नियन्त्रण गर्ने ः
सर्वप्रथमतः महिला र बालबालिकालाई यौन शिक्षा र यौनजन्य अपराधको बारेमा विद्यालय, क्याम्पस र घरघरमा गई जनचेतनामुलक कार्यक्रम फैलाउन आवश्यक छ । त्यस प्रकारका कार्यक्रमले यौन शिक्षाको बारेमा जानकारी पाउनका साथै यौन अपराध, सजाय, न्याय र सुरक्षाको बारेमा ज्ञात हुनेछ जसका कारण कुनै वालिका वा महिला यौन हिंसा र यौन दुव्र्यवहारमा परेका खण्डमा खुलेर विरोध गर्न, उजुरी गर्न सक्नेछन् र यौन अपराधीहरुको मनोबाल गिर्नेछ ।
यौन हिंसा हुनुका कारणका बारेमा अध्ययन अनुसन्धान हुन आवश्यक छ । सामान्यतया अशिक्षा, वेरोजगारी, मादक पदार्थ सेवनका कारण यस प्रकारका अपराध हुने गरेको देखिन्छ । तथापि आर्थिक रुपमा सम्पन्न, रोजगारमा लागेका र पढेलेखेका व्यक्तिहरुले पनि यस प्रकारका अपराध गर्ने गरेको देखिन्छ । तसर्थ यस विषयमा गहनतम् रुपमा अध्ययन गरी अपराध हुनुको मुख्य कारक तत्व र समाधानको उपायको बारेमा खोज आवश्यक छ ।
यौन अपराधको विषयमा अनुसन्धान अझै पनि वैज्ञानिक र विश्वसनीय बन्न सकेको छैन । अनुसन्धानको क्रममा प्रायशः पुरुष प्रहरीकै वर्चश्व हुने गरेका कारण पनि यौन अपराधका घटनामा नेपाल सरकारले सफलता पाउन सकेको देखिदैन । पीडितको जाहेरी र घटना विवरण कागज, शारीरिक परीक्षण, घटना विवरण कागज, दशी प्रमाण आदिको समयमा संकलन र सही मुल्यांकन एवं विश्लेषण हुन सकेको देखिदैन । पीडितको जाहेरी दर्खास्तमा उल्लेखित भनाईलाई मात्र मुल आधार मानी अनुसन्धान शुरु गर्ने र उभियुक्तको बयानलाई प्रमाण मान्ने प्रवृतिले पनि दोषी मान्छे निर्दोष सावित हुने र कहिले काही निर्दोष मान्छे पनि दोषीको भागिदार हुने विडम्वनापुर्ण अवस्था विद्यमान छ । यसका लागि निष्पक्ष एवं स्वतन्त्र ढंगबाट अपराधको अनुसन्धान र न्यायनिरोपण हुन आवश्यक छ ।
यौन अपराधका घटनामा वृद्धि हुनमा र दोषीले सजाय नपाउनमा समाजको पनि त्यतिकै भूमिका रहेको छ ।
समाजको सहयोग विना अपराधको अनुसन्धान हुनै सक्दैन । हाम्रो समाज राजनीतिक, आर्थिक, धार्मिक, सास्कृतिक, पारिवारिक, वर्ग र क्षेत्रको आधारमा विभक्त छ । कुनै आपराधिक घटना घटेका अवस्थामा उल्लेखित आधारमा मानिसहरु पक्ष र विपक्षमा खुलेर नै लाग्ने गरेका छन् । जस्का कारण घटनाको वास्तविकता उजागर हुन सक्दै र दोषीले उन्मुक्ति पाउने सम्भावना रहन्छ । यसका लागि आफ्नै घरपरिवारका सदस्यले यौन अपराध गरेको अवस्थामा पनि त्यसको विरुद्धमा आवाज उठाउने, अपराधको अनुसन्धान र न्याय निरोपणमा सकारात्मक सहयोग गर्ने हो भने धेरै हदसम्म अपराधको नियन्त्रण र अपराधीलाई सजाय हुने सम्भावन रहन्छ ।
अन्तमा, हामी बालबालिका तथा महिलावर्ग आफ्नो हकअधिकार प्रति सजग र सचेत हुनै पर्दछ । आफुमाथि हिंसा गर्ने जो कोहीको पनि समयमा नै प्रतिकार र विरोध गर्न सक्नु पर्दछ । अपराध सहनु भनेको अपराधलाई प्रश्चय दिनु हो र अपराधको पुनरावृत्तिमा सहयोग गर्नुपनि हो । तसर्थ अपराध नसहने, अपराधीको विरुद्धमा डटेर सामना गर्ने, अपराध पीडितलाई विरामी सरह माया र सहयोग गर्ने संस्कृति र प्रवृतिको विकास गर्न सकियो भने महिला माथि हुने गरेका सवै प्रकारका अन्याय, अत्याचार र हिंसाको न्युनिकरण हुनेछ, घर समाज र देशमा शान्ति सुव्यवस्था कायम हुने छ अनि हामी सवै खुशी र सुखी हुनेछौं, आफ्नो घर, परिवार, समाज र देश प्रति गौरव गर्नेछौं हो हामी नेपाली हौं भनेर ।