सफा शहर सबैको रहर

टीएस ठकुरी

 

डा. विनोद कर्णको मुल पेशा कुरुपतालाई सुन्दरता बनाउने हो । त्यसका लागि उनी दिनरात खटिएकै छन् । उनी यस क्षेत्रकै चर्चित प्लाष्टिक सर्जन हुन् । उनी नेपालगन्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालमा सिनियर कन्सल्टेन्ट प्लाष्टिक सर्जनका रुपमा कार्यरत छन् । सम्भवतः एक महिनाभित्र असिस्टेन्ट प्रोफेसर हुनेछन् । त्यसका लागि आवश्यक पाँच रिसर्च पेपरमध्ये चारवटा पहिल्यै पुरा भइसकेको हो । र पाँचौं पेपर पनि सम्बन्धित निकायमा बुझाइसकेको उनी बताउँछन् ।

 
उनको परिचय यतिमात्र छैन, उनी सरसफाइ अभियन्ताका रुपमा पनि अघि बढेका छन् । एक बर्षयता नेपालगन्जलाई सफा र हराभरा बनाउने सपनाका साथ अघि बढेका छन् । ‘क्लिन नेपालगन्ज, ग्रीन नेपालगन्ज’ शहर सफाइको एउटा अभियान बनेको छ । यसको नेतृत्व डा. कर्णले नै गरेका छन् । नेपालकै पुरानो शहरलाई सफा नेपालगन्ज, हरियाली नेपालगन्ज बनाउने यसको प्रमुख उद्देश्य हो । हरेक शनिवार उनी नेतृत्वको युवा टिम सफाइका लागि सडकमा आउँछ, हातमा झाडु लिएर फोहर बढार्छ । समाजमा देखिएका तमाम फोहर बढार्ने योजना बमोजिम राज्यको निकायलाई यो सांकेतिक दवाव हो, आम नेपालगन्जवासीलाई प्रेरणा हो । उनी चिकित्सा पेशाको व्यस्त समयबाट सफाइ अभियानका लागि हरेक शनिवार सडकमा आउँछन् ।

 
चिकित्सा पेशा आफैंमा समाजसेवी पेशा मानिन्छ । डाक्टरलाई देवत्वकरण गर्ने हाम्रो समाजका अगाडि उनी स्वयं यसलाई एउटा पेशा मात्र मान्छन् । तसर्थ अन्य सामाजिक कार्यमा रमाउँछन् । यो अभियानले गति लिइरहेका बेला उनले बाटो बिराएको भन्नेहरु पनि शहरमा धेरै छन् । प्रदेश सभा निर्वाचनमा एक राजनैतिक दलबाट उम्मेदवारी दिएर उनले अभियानलाई कमजोर बनाएको भन्नेहरुको कमी छैन । यद्यपी उनी भने यसलाई संयोग मात्र मान्छन् । ‘समृद्ध शहर बनाउने मेरो प्रतिवद्धतामा कमी छैन, भविष्यले बताउने नै छ ।’ उनको दृढसंकल्प छ ।


तर डा. कर्ण प्लास्टिक सर्जरीमा मात्र सिमित छैनन्, बाहिरको दुनियाँमा पनि त्यत्तिकै सहभागिता जनाइरहन्छन् । प्लास्टिक सर्जनको काम जन्मजात वा दुर्घटनाबाट कुरुप बनेका अनुहार र शरिरलाई शल्यक्रिया गरेर दुरुस्त बनाउनु हो । उनले सयौं मानिसलाई नयाँ जीवन दिएका छन् । अहिले पनि कीर्तिपुर अस्पतालसँगको सहकार्यमा हरेक महिनाको दोस्रो मंगलवार चार दिनसम्म कोहलपुरमा निशुल्क शल्यक्रिया गर्दै आएका छन् । हरेक महिना त्यहाँ ३५ देखि ४० जनालाई निशुल्क उपचार दिंदै आएको उनले बताए । जन्मजात अपांगता भएका, ओठ काटिएका, तालु फाटेका, जलेर हातखुट्टा बांगिएकालाई सही अवस्थामा ल्याउन शल्यक्रिया गर्नु उनको प्रमुख काम हो ।

 
चेकजाँच र शल्यक्रियाका यी सबै काम सकेर पनि शहरमा हुने खेलकुदलगायत सौन्दर्य प्रतियोगितामा उपस्थिति जनाएर उनले भुमिकाको दायरा बढाउँदै आएका छन् । उनी क्रिकेट, ब्याडमिन्टन र टेबलटेनिसका राष्ट्रिय स्तरका खेलाडी हुन् । खेलकुदले ठाउँलाई चिनाउने उनको बुझाइ छ । उनको शारीरिक तन्दुरुस्तीले खेलकुद पृष्ठभुमिलाई पुष्टि गर्दछ । उमेरले पाँच दशक टेक्नै आँटेका उनी फिट एण्ड फाइन छन् । त्यसैले होला, बिभिन्न सौन्दर्य प्रतियोगितामा निर्णायकको भुमिका पनि उनी निभाउँदै आएका छन् । ‘खेलकुद, साहित्य, सिनेमा, फेसन र सौन्दर्य प्रतियोगिता समृद्ध शहरको परिचय हो ।’ उनी भन्छन्–‘तसर्थ यस्ता कार्यहरुमा योगदान दिन चाहन्छु, दिंदै आइरहेको छु ।’

 

 
उनले नेतृत्व गरेको अभियानले एक सय साताको यात्रा पुरा गरिसकेको छ यसै साता । सफाइ अभियानले चर्चा राम्रै बटुल्न सफल भएको छ । सहभागिता बढ्दैछ । युरोपका १३ देशका साथै चीन, बंगलादेश र भारतका प्रमुख शहर घुमिसकेका डा. कर्ण नेपालगन्जलाई चीनको सिन्छ्याङ शहर जस्तै मान्छन् । त्यहाँको भेषभुषा र मौलिकतालाई नेपालगन्जसँग दाँज्छन् । चिनियाँ सरकारले उच्च व्यवस्थापन गरेर लोभलाग्दो बनाएको उनले बताए । यसका लागि राज्यको निकायले अगुवाई गर्नुपर्ने उनको धारणा छ । उपमहानगरपालिकामा एक सय भन्दा बढ्ता कुचीकार कार्यरत छन् । ती सबैलाई कर्तव्यबोध र जिम्मेवारबोध गराउन सके शहरको सफाइ गति बढ्छ । उनी नेपालगन्ज अव्यवस्थित र फोहर देखिनुमा दुई कारण देख्छन् । पहिलो व्यापारी वर्ग र दोस्रो अव्यवस्थित यातायात ।

 

 

एक समय मध्य तथा सुदुरपश्चिमको व्यापारिक केन्द्र रहेको नेपालगन्जमा व्यापारबाट निस्कने फोहर नै प्रमुख चुनौति रहेको डा. कर्णको बुझाइ छ । ‘करिब ७० प्रतिशत फोहोर व्यापारसम्बद्धबाट नै निस्कन्छ ।’ उनी भन्छन्–‘अर्को कारण अव्यवस्थित ट्राफिक नै हो ।’ चिनियाँ शहर सिन्छ्याङमा पेट्रोलबाट चल्ने दुई पाङ्ग्रे सवारीसाधनलाई शहरभित्र निषेध नै गरिएको उनले अनुभव सुनाए । पर्यावरणीय दृष्टिकोणलाई ख्याल गर्दै सिन्छ्याङमा विद्युतीय साधनलाई प्रवद्र्धन गरिए जस्तै नेपालगन्जले पनि त्यसको अनुशरण गर्न सके सफा शहर बन्न समय नलाग्ने उनको बुझाइ छ । उनी लामो समय चीन बसे । सायद धेरै चिनियाँ शहर घुमेको अनुभव उनीसँग छ । बिश्व परिदृष्यमा संसारलाई चुनौति दिने सामथ्र्य बटुलिसकेको चीनसँग नेपालले धेरै सिक्न सक्ने आधार छन् । उनी त्यस्तै सपनाका आधार नेपालगन्जमा तयार गर्न खोज्दैछन् । ‘व्यापार, व्यवसाय र उद्योगबाट निस्किएको फोहार व्यवस्थापनमा खास जोड दिइनुपर्छ ।’ उनी भन्छन्–‘त्यसपछि विद्युतीय सवारीसाधनको रुट तय गरिनुपर्छ, बैज्ञानिक संयन्त्र नै तयार गर्न सके सबै व्यवस्थित हुन्छ ।’

 

 
नेपाल चिकित्सक संघ भेरी शाखाका उनी अध्यक्ष हुन् । यसको नेतृत्व सम्हालेसँगै उनले चिकित्सक संघलाई बिभिन्न सामाजिक कार्यमा लगाउँदै आएका छन् । हरियालीसँग जोडिएका बिषयमा पनि चिकित्सक संघलाई जोड्दैछन् । सुर्खेतरोडसँग जोडिएका दुई ठाउँमा व्यवस्थित पार्क निर्माण गर्न नेपालगन्ज उपमहानगरपालिकासँग अनुमति लिएर काम अघि बढाइसकेका छन् ।

 

 
सामान्य जीवनबाट माथि उठ्ने साहस गर्नेहरुले नै सफलता चुमेका दृष्टान्त धेरै छन् । चार्ली च्याप्लिनले खानाकै लागि भिख माग्थे, अल्बर्ट आइन्स्टाइनले पियनको जागिर गर्थे, टेलिफोनको आविष्कार अध्यारो र गन्हाउने कोठामा भएको थियो ।

 

 
तसर्थ उनी यही अव्यवस्थित शहरले गर्व गर्ने इतिहास निर्माण गरेकोमा अझैं सम्भावनाका आधार त्यत्तिकै देख्छन् । यातायातले दक्षिण एशियाकै शक्तिशाली देशसँग जोडेको छ । उता देशका प्रमुख सडक सञ्जालसँग पनि नेपालगन्ज जोडिएको छ । नेपालगन्ज विमानस्थलको स्तरोन्नतिपश्चात नेपालगन्जले सिधा भारतको राजधानी नयाँ दिल्ली उडानसँगै यहाँको पर्यटन प्रवद्र्धन उल्लेख्य हुने बिश्वास छ । यसहिसाबले यातायात नेपालगन्जको प्रमुख आधार हो । त्यसपछि स्वास्थ्यका क्षेत्रमा बिशिष्ट श्रेणीको सेवा दिने हैसियतमा नेपालगन्ज पुगिसकेको छ । उदाहरण नेपालगन्ज मेडिकल कलेज र भेरी अञ्चल अस्पताल । यी दुवै अस्पतालमा प्लास्टिक सर्जरी, युरो सर्जरी, न्युरो सर्जरी र मुटुरोग सम्बन्धि बिशिष्ट सेवा छ । शिक्षामा पनि नेपालगन्ज अब्बल रहेको उनको बुझाइ छ ।

 

 
नेपालगन्जको पुरानोमध्येको महेन्द्र हाइस्कुलका संस्थापक प्रधानाध्यापक रुद्रपतिलाल कर्णका उनी कान्छो छोरा हुन् । उनका जेठो दाइ रविन्द्र प्राध्यापक छन्, माइलो दाइ सुरेन्द्र बैंक प्रबन्धक र साइलो दाइ इलेक्ट्रिकल इन्जिनियर छन् । निकै संघर्ष गरेर उनी यस ठाउँमा आइपुगेका छन् । उनी नेपालगन्ज आउनुअघि काठमाडौंस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपनिर्देशक पदमा कार्यरत थिए । जागिरे करिअर सुरु गर्नुअघि पढाइका सिलसिलामा उनी विदेशमै रहे । विदेशमा पढ्नु उनको रहर नभइ बाध्यता बन्यो । किनकी अस्कल क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरिसकेपछि एमबीबीएस अध्ययनका लागि २०५० सालमा प्रवेश परीक्षा दिए । त्यतिबेला सरकारी कोटा १५ जनाको मात्र थियो । उनले १८औं नम्बरमा नाम निकाले । वैकल्पिक तीन जनामा रहँदा यहाँ पढ्न पाउने आशा रहेन । उनले रुसको बाटो तताए । त्यहाँबाट एमबीबीएस र एमडीको अध्ययन पुरा गरे । अब प्लास्टिक सर्जनको पढाइमा रुची गयो । त्यो पढाइ नेपालमा हुन्थेन । तसर्थ चीन गए । त्यहाँबाट एमएस गरेपछि नेपाल फर्किएका हुन् । अझ एमबीबीएस पढ्न जानुअघि अर्को रोचक प्रसंग पनि जोडिएको छ । उनी अन्नपुर्ण क्यासिनोमा काम गर्थे । एमबीबीएस पढन् जान लागेको जानकारी गराउँदै राजिनामा दिदा महाप्रबन्धकले पत्यानन् । उनले सबै कागजपत्र देखाउनुपर्यो । पछि त भब्य बिदाइ गरियो । उनले सुनाए ।

 

 
तसर्थ चार्ली च्याप्लिन वा अल्बर्ट आइन्स्टाइनले जस्तै जस्तो विकराल परिस्थितिका वावजुद पनि जसरी माथि उठ्ने फैसला गरेका थिए र त उनीहरु सफलतासम्मै पुगे । सपनाको लहरो समाती माथि चढ्ने साहसीहरुका लागि नै सफलता भन्ने चिज बनेको हो । यसमा डा कर्ण सहमत छन् । उनी पनि सपनालाई समातेका छन्, जस्तो अवस्था छ, त्यहींबाट माथि उठ्ने साहस गरेका छन् । सफलताले आफैंलाई कुरेर बसिरहेको जस्तो उनलाई लाग्छ । नेपालगन्जलाई साँच्चिकै सफा र हरियाली सुन्दर शहर देख्ने सपना चाँडै पुरा हुने ठहर उनले गरिसकेका छन् ।
तसर्थ उनी उठ्दैछन्, युवालाई जगाउँदैछन् । किनकी यहाँँ उठ्नेहरु मालिक बनिरहे, सुतेकाहरु सधैं गुलाम बनिरहे । तसर्थ तमाम नेपालगन्जीया युवालाई उनको आग्रह छ –‘अब नसुत, उठेर नेपालगन्जको सफाइमा जुट ।’ सबेरै उठ्नेले नै चाँडै उज्यालो भेट्ने हो, सुत्नेहरु त अन्धकारमा रुमल्लिरहेका छन् । संसारमा सबेरै उठेर काम गर्नेहरुले नै स्वतन्त्रताको प्वांख फैलाइ उडिरहेका छन्, हामी आफ्नै पिंजडामा कैद छौं । उनीहरु उचाइ चुम्दैछन्, हामीहरु बाँच्नका निम्ति संघर्ष गर्दैछौं ।

 

 
त्यसैले नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत एमपी रोड स्थायी निवासी उनी भन्छन्–‘उठौं, जागौं र संघर्षको बलमा बिषमताको अन्धकारलाई चिर्दै असफलताको आँगन हुँदै अघि बढौं र सबैलाई देखाइदिऔं कि नेपालगन्ज चाँडै सफा र समृद्ध शहर बन्नेछ।’

प्रतिक्रिया

प्रतिक्रिया