सनत रेग्मी
नेपालगन्ज बजारको निर्माण हुनुपूर्व यो एउटा अस्थायी हिउँदे मण्डी थियो । प्रशासनिक इकाइको रुपमा बाँके किल्ला र किल्ला भित्र र बाहिरी गरी केही हिन्दु र मुस्लिमहरुको २ चार घरको टोल थियो । त्यसको कुनै नामाकरण थिएन । बाँके किल्ला र बाँके गाउँ यहाँका सबैभन्दा पुराना संरचना हुन् । त्यसभन्दा पुरानो बस्ती पाइँदैन । अरु बस्तीहरुको विकास बिस्तारै भएको हो ।
नेपालगन्जमा विक्रम संवत्को प्रयोग जंगबहादुरले नयाँ मुलुक प्राप्ती पछि भएको हो । त्यसभन्दा पूर्व यहाँ कि हिजरी सन्, कि इश्वी सन्को प्रयोग हुन्थ्यो । जंग बहादुरले नयाँ मुलुक पाएपछि सरकारी लेखोट र धार्मिक घण्टहरुमा शाके सम्वत् र विक्रम सम्वत् लेखनी थालिएको हो । अंग्रेजको अधिनस्थ अवधका नवाबहरुको अवधराज्य र त्यस अन्तरगत स–साना रजौटाहरुको जागिर र ती रजौटाहरुले पाएको पदवी राजा कहलाइन्थ्यो ।
सुगौली सन्धीमा हाम्रो तराईको भाग मध्य पश्चिम तर्फको तराईका भूभाग अंग्रेज शासनले लियो र हाम्रो भु–भागमा अवधका नबाबहरुका करद राज्य भित्र पर्ने रजौटाहरुको जागिरमा गाभियो । यसै बखत बाँके, बर्दिया, दाङ्गको कोइलाबास क्षेत्रहरु भारतको तुलसीपुर राज्यको भागमा पर्यो । तुलसीपुरका राजाले बाँके, बर्दिया क्षेत्रको प्रशासन र व्यवस्था हेर्ने गरी बाँके रावलले स्थापना गरेको बाँके किल्लालाई नै आफ्नो प्रशासनिक कार्यालय स्थापना गरे । तुलसीपुरका राजा बाँके किल्लाबाट जारी हुने तमाम लिखतहरुमा हिजरी सन्को प्रयोग भएको छ । अंगे्रजहरुले सम्वत्को प्रयोग गर्दैनथे । त्यसैले उनीहरुको सजिलोका लागि हिजरी सन् भन्ने प्रचलन थियो । राजा दिग्विजय सेनले जारी गरेका र बागेश्वरी मन्दिरको सरकारी लिखतमा भएको सन् हिजरी सन् हो । यसलाई धेरैले नबुझेर इश्वी सन् भनिदिएका छन् । अनुसन्धानकर्ताहरुले यसतर्फ ध्यान दिन आवश्यक छ ।
नेपालगन्ज बजार बस्नु भन्दा पूर्व तीन महिने मण्डीका रुपमा जयसपुरमा बजार लाग्दथ्यो । जुम्ला, हुम्ला, दैलेख, सुर्खेत र सल्यान जिल्लाको पश्चिमी भागबाट बर्षभरीको सामलको जोहो गर्न त्यस भेगका जनताहरु बाँकेमा झर्दथे । त्यतिबेला बाँके किल्लाबाट सुरक्षाको भरथेग हुने आशामा पहाड तिरबाट झरेका मानिसहरु बाँके किल्लाको वरिपरि नै बस्दथे ।
बाँके किल्ला बाहिर हालको बागेश्वरी मन्दिर नजिक अत्यन्त गझिन र ठूलो बगैचा थियो । त्यस बगैचामा बास बस्न जुम्ला, हुम्ला, मुगु र सुर्खेत दैलेखमा मानिसहरु हुन्थे । त्यहाँ बस्न आउनेहरुमा सबैभन्दा धेरै मानिस दुल्लु दैलेखका मानिस बस्ने हुँदा त्यस बगैचाको नाम दैलेखी बगिया रहन गयो । त्यस्तै अहिले सल्यानी बगैचा (टीन बंगाला) भएको ठाउँमा पनि एउटा ठूलो र गझिन बगैचा थियो । त्यस बगैचामा सल्यान तिरका मानिसहरु बढी आउने हुनाले त्यस बगैचाको नाम सल्यानी बगिया भयो । यिनीहरु विहानको खानपान गरेर जयसपुर जान्थे अनि दिनभरी सामान बिनिमय गरेर फर्कन्थे । र, राती त्यही बास बस्दथे । प्रथम विश्व युद्धमा नेपाली लाहुरेहरु ब्रिटिस आर्मीमा प्रवेश नगरुन्जेल युद्धको प्रचलन नाम मात्रको हुन्थ्यो र नेपाली जिनिस भारतबाट आयातित जिनिसबाट विनिमय प्रणालीमा व्यापार हुन्थ्यो । र, भारतबाट कच्चा पदार्थ लिएर नेपालमै भाँडाकुँडा र आवश्यक वस्तुहरु निर्माण हुन्थ्यो । घरबुनाको कछाड र मोटो लगाउने चलन थियो । विश्व युद्धको समाप्ती पछि लाहुरेहरु घर फर्कन थाले । उनीहरुसँग प्रशस्त मुद्रा थियो । उनीहरुले नै पहिलो पटक भारतमा बनेको बनिबनाउ भाँडाकुँडा र मीलमा बनेका लुगाफाटा मुद्रा तिरेर किन्ने वातावरण बनाए । यसरी त्यसबेलाको व्यापारमा मुद्राको प्रचलन बढ्यो । साथसाथै तामा, पित्तल, लोहाबाट बनाइने घरेलु उद्योगहरु पहाडबाट सेलाउँदै गए ।
०००
नेपालगन्ज सांस्कृतिक रुपले अवधी संस्कृति र थारु संस्कृतिको आधार भूमि हो । यहाँका मुस्लिम हुन् वा हिन्दु उनीहरुमा अवधी संस्कृतिको प्रष्ट छाप परेको छ । नेपालगन्जको बाहिर चुरेको घाँचदेखि दक्षिण तर्फ थारुहरुका बस्ती थिए । थारुहरुको आफ्नो संस्कृति थियो नै । नेपालगन्जको वरिवरि गाउँहरु बाँके गाउँ, भवनियापुर, धम्बोझी, वनिया गाउँ, गणेशपुर, पुरैनी, शाहा पूर्वा यहाँका पुराना बस्तीहरु हुन् । यी बस्तीहरुमा अवधी संस्कृति मान्नेहरुको बसोबास थियो । त्यसकारण नेपालगन्ज वरिपरि थारु र अवधी संस्कृतिको प्रभाव त थियो नै नयाँ मुलुकमा नयाँ सहर बसाउन जब नेपालगन्ज बजार बसाइयो तब यस सहरमा राजवरेली, जायस, उन्नाव, लखनउ, बहराइच, इकौना, विस्कोहर तिरका साना, ठूला व्यापारीहरुलाई नै बसाइयो र यी क्षेत्र पूर्णतया अवध संस्कृतिकै क्षेत्रका बस्तीहरु हुन् । उनीहरुकै प्रभावले नेपालगन्ज बजार अवधी संस्कृति बजार भएको हो । नेपालगन्ज र बाँके जिल्ला मंै जनसंख्याको दृष्टिले सबैभन्दा बढी अवधी भाषीहरु छन् । त्यसपछि नेपाली, उर्दु, थारु र हिन्दी भाषी छन् । भाषा र संस्कृतिको हिसाबले नेपालगन्ज बजार क्षेत्र पूर्णत अवधी भाषी र अवधी संस्कृतिको क्षेत्र हो ।
नेपालगन्जको पुरानो नेपाली भाषा, बोलचालको भाषा पनि अवधी मिश्रित नेपाली भाषा थियो । मेरो पुस्तासम्मकाहरु आज पनि अवधी मिश्रित नेपाली नै बोल्ने गर्छौं । आधुनिक प्रविधि, अवधी मात्र होइन अन्य अनेक लोक संस्कृतिहरु विलुप्त हुँदैछन् । एउटा समय थियो, नेपालगन्ज तुलसीकृत रामायण र राधेश्यामी रामायण सँगै उठ्थ्यो । घरघरबाट ब्रह्मानन्दका भजनहरु र तुलसीदासका दोहाहरु सुनिन्थ्यो । दिउँसो टोल, टोलमा सपेडा, स्वाँग, भाटका गीतहरु, रुप बदल र कठपुतलीका नाँचहरुले मनोरञ्जन हुन्थ्यो । साँझ पर्ना साथ आल्हाउदलका वीरगाथा ढोलकका थापहरु सँगै सुनिन्थ्यो । घरघरमा महिलाहरु चैतमा चैता, साउनमा कजरी, सावनी, बरसाइत, सोहर, उलारा गीतहरु गाइन्थ्ये । पर्व उत्सवहरुमा आजको जस्तो लाउडस्पीकर र फिल्मी गीत होइन । पर्व पर्वका लोक गीतहरु गाइन्थे । संस्कार गीत, जन्मौती, सोहर, उलारा, लोचना, बधवा, छैटी, बरही, मुडन, जनेउ र विवाह गीतहरु ढोलकको थापसँगै गुन्जिइन्थ्यो । प्रत्येक पुजा, पाठ, व्रत, त्यहोरामा लोक गीतका मधुर कण्ठहरु सुनिन्थ्यो । सबै पर्वहरु अवधी संस्कृति अनुसार नै मनाउने परम्परा थियो नेपालगन्जमा । आजको पुस्ताले त्यो आनन्द पाउँदैन । जुन आनन्द हाम्रो पुस्ताले पायो । नानी दादाको काखमा बसेर लोक कथाहरु सुन्ने दिन गए ।
एउटा दुःखद् पक्ष के छ भने १९१७ देखि २०२० सालसम्म अवधी भाषा, साहित्य र संस्कृतिको बोलबाला भएको यस अवध क्षेत्रमा अवधी भाषा, साहित्यको क्षेत्रका कुनै महत्वपूर्ण काम हुन सकेन । अवधी लोकगीत, लोककथा, कहावत, महावरा, लोकोक्तीहरुको संकलनको कुनै प्रयत्न भएन, गरिएन । नेपालगन्जबाट अवधी भाषा, साहित्य र लोक साहित्यको भण्डार त्यसै हराएर जान लागेका छन् । अवधी संस्कृतिका संस्कार, खानपान, रहनसहन र प्राचीन वस्तुहरुको स्मृति चिन्ह समेत नरहने हो की भन्ने चिन्ता भैरहेको छ । हुन त अवधीका नाममा केही साहित्यिक संस्थाहरु छन् तर तिनीहरु बहुभाषिक कवि गोष्ठी र सम्मान कार्यक्रम मै सीमित छन् ।
०००
नेपाली भाषा र साहित्यको क्षेत्रमा त यो क्षेत्र मरुभूमि झैं नै रहेको थियो । हाम्रो पुस्ताका युवा विद्यार्थीहरु हिन्दी भाषाका चेपुवामा थियांै । अवधी बोल्दथ्यौं र हिन्दी पढ्थ्यौं । २०१७ सालपछि मात्र हिन्दी माध्यम मै भएपनि नेपालीको इतिहास, भुगोल पढ्न पायौं । हिन्दी भाषामै भएपनि भानुभक्त, लेखनाथ, देवकोटाका विषयमा पढ्न पायौं र नेपाली भाषामा कविता कथा र निबन्ध पढ्न पायौं ।
हुन त नेपालगन्जमा भाषा शुद्ध नभए पनि नेपालीमा लेख्ने प्रारम्भ २००१ सालमा मेघराज समशेर र इन्द्रमणि मानवहरुले प्रारम्भ गरेका हुन् । नेपालगन्जका अग्रज र प्रमुख साहित्यकार त्यस बेलामा इन्द्रमणि मानव नै हुनुहुन्थ्यो । पछि २०१०, ११ सालतिर बव्रुवाहन सिंह, वि.विकास, २०१६ सालतिर मोहनलाल श्रेष्ठ देखा पर्नुभयो । त्यसपछि उहाँहरुकै पछिपछि मैले पनि नेपालीमा लेख्न प्रारम्भ गरेको हुँ ।
आधुनिक साहित्यको इतिहासमा नेपालगन्जमा हिन्दी, नेपाली, अवधी र उर्दु सँगसँगै बढेका हुन् । अवधीमा सच्चिदानन्द चौबे, लोकनाथ बर्मा, आशाराम मिश्र ग्रामीण, विष्णुलाल कुमाल, हिन्दीमा शिवप्रसाद वाजपेयी, अनिरुद्ध सिंह, महावीर प्रसाद गुप्ता, योगेश्वर मिश्र, ललित सिंह सिजापति, केशव सिजापति, श्रवण कुमार श्रेष्ठ र नेपालीमा इन्द्रमणि मानव, वि.विकास, जगत बहादुर सिंह (झल्ला राजा), बब्रुवाहन सिंह, प्रेम प्रकाश मल्ल, सनत रेग्मीहरुले नै भाषा साहित्यमा अभिरुचि देखाएका थिए । उर्दुमा दाना शाह, मो. गुलाम वारिस, मोहम्मद फारुख आरिफ, अब्दुल लतिफ शौकहरु नै भाषा साहित्यको जगेर्ना गर्न लागि परेका थिए ।
आज हिन्दी, नेपाली, अवधी, उर्दु र थारु भाषामा लेख्ने सैकडौं साहित्यकार सक्रिय छन् । कुनै बेला यस्तो पनि थियो कि साहित्यलाई सक्रिय र जीवन्त राख्न नयाँ पुस्ताका प्रयास समूह र नव प्रतिभा प्रवद्र्धन समूह भनेर जुर्मुराएर उठ्नु परेको थियो ।
नेपालगन्जले यहाँको अवधी, नेपाली, उर्दु, थारु भाषाको साहित्य र संस्कृतिलाई जोगाउन ठूलो प्रयत्न गर्नुपर्नेछ । यहाँको अवधी संस्कृतिलाई विलुप्त हुन नदिन एउटा ‘अवधी सांस्कृतिक संग्राहलय’ बनाउन ढिलो भैसकेको छ । नेपालगन्जको इतिहास, भौगोलिक परिवेश, यहाँको लोक साहित्यको संरक्षण र प्रवद्र्धन नेपालगन्जमा बसोबास गर्ने विभिन्न जाति, जनजाति र पिछडिएको वर्गको परिचयात्मक विलियोग्राफी पनि आवश्यक भैसकेको छ । यसमा नेपालगन्ज उपमहानगरपालिका र बाँके जिल्ला स्थित नगर र गाउँपालिकाहरुले पहल गर्नुपर्ने आवश्यक छ । यस क्षेत्रमा लागेका अगुवा व्यक्तिहरुले यसमा आवश्यक पहल गर्नु पर्दछ । अनिमात्र हामी आफ्नो सांस्कृतिक र अमूर्त सम्पदाहरुको रक्षा गर्न सक्नेछौं । सबैमा चेतना भया !