खजुरा गाउँ पालिकाको नीति तथा कार्यक्रम र जन अपेक्षा

सतिश निरौला

यहि अशाढ १० गतेको गाउँ सभाद्वारा आर्थिक बर्ष ०७५÷०७६ को नीति तथा कार्यक्रम तय गर्ने तयारीका साथ खजुरा गाउँपालिका अघि बढी रहँदै गर्दा खजुराबासका केही आशा, अपेक्षा र योजनाका गफगाफ चियाचौतारा देखि भेला गोष्ठीहरुमा आउन थालेका छन् ।

 

खजुरापालिकाले कृषिको योजना अघि बढाउँदा कृषिमा यान्त्रिकिकरणलाई जोड दिनु जरुरी छ । हरेक कृषकका घरमा आधुनिक कृषि यन्त्र पुर्याउनु सम्भव नभए पनि सामुहिक कृषिमा जोड दिदै समुहमा स्थानीय सरकारले बिशेष अनुदानको योजना ल्याउनु जरुरी छ । खजुरापालिकाको वडा न २ सितापुर र वडा न ६ मा एक एक कृषि उपज तथा बेचबिखन केन्द्र स्थापना गरि कृषि उत्पादनलाई बजारीकरण गर्न बिशेष कार्यक्रम जरुरी छ ।

 

खजुरा बाँके जिल्लामा नै कृषि पकेट क्षेत्रका रूपमा बिकास भै अघि बढीरहँदा खजुरामा जनस्तरबाट सुरु गरिएको खजुरा शीत भण्डार निर्माणको योजनाको स्वामित्व अब गाउँ पालिकाले ग्रहण गर्दै विशेष बजेट सहितको गुरु योजना आउन जरुरी छ । खजुरा गाउँपालिका क्षेत्र न ३ को केन्द्र पनि हो । तसर्थ क्षेत्रीय स्तरमा कहीँ पनि स्तरीय रंगशाला नभएको अवस्थामा खजुरामा खेल प्रति देखिएको आकर्षणलाई मध्यनजर गर्दै राष्ट्रिय स्तरका खेल खेलाउन सकिने सुबिधाजन्य रंगशाला निर्माणको थालनी यस बर्षको नीति तथा कार्यक्रम भित्र पर्न सके खेल पर्यटनको बिकासमा समेत टेवा पुर्याउन सकिन्छ । सो का लागि पालिकाको वडा न ४ उपयुक्त हुनेछ । खजुरा गाउँपालिकामा हरेक बर्ष पालिका स्तरीय विद्यालय तहको खेल कार्यक्रम समेत यस बर्ष समाबेश भए खेल बिकासमा मद्दत पुग्ने छ ।

 

खजुरा नगर उन्मुख गाउँपालिका भएको हुँदा सुविधा सम्पन्न बसपार्क खजुराको आवश्यकता भैसकेको हुँदा सो सम्बन्धि योजना पनि यसपटक आउन जरुरी छ । नदी कटान र बाढी खजुरापालिकाको ठुलो समस्याका रूपमा देखा परेको हुँदा दीर्घकालीन रणनीति सहितको नदी कटान र बाढी नियन्त्रणको योजना बन्नु अपरिहार्य छ । क्रिडा स्थल, मनोरञ्जनका लागि बागबगैचा, पिकनिक स्थल, भ्यु टावर, चिडियाखाना आदीका लागि पनि योजना बनाउनु आवश्यक देखिन्छ । हरेक वडामा खेलमैदानका लागि बजेट बिनियोजन हुनुपर्छ । गिजरा सामुदायिक बनमा रहेको बनभोज स्थलको स्तरोन्नतिका लागि योजना आउनुपर्ने देखिन्छ भने सितापुरमा रहेको झोलुङ्गे पुल र सामुदायिक बनलाई लक्षित गरि पिकनिक स्पटका रूपमा योजना आउनुपर्छ । साथै सोही स्थानमा भ्यु टावर निर्माण गरि पर्यटन विकासमा टेवा पुर्याउन सकिन्छ ।

 

पालिका भरि नै राधापुर वडा न १ पहिलो साक्षर वडा घोषणा भएको छ । तसर्थ वडा न १ मा सामुदायिक पुस्तकालयका लागि बजेट बिनियोजन गरि प्रोत्साहन गर्न आवश्यक छ । र अब क्रमशः बाँकी वडालाई समेत साक्षर वडा घोषणा गर्ने कार्यक्रम आवश्यक छ । प्रविधिमैत्री पालिका बनाउने तर्फ अब पालिका अघि बढ्नुपर्छ । सोका लागि सबै वार्ड कार्यालय र पालिकाको मुख्य कार्यालयमा इ बिलिङ्ग सेवा सुरु गर्ने साथै सरलिकृत सेवा प्रवाहमा ध्यान दिनु जरुरी छ ।
खजुराबजारमा वडा नं. ३ मा नारि उत्थान केन्द्र सँग रहेको १४ कठ्ठा पार्कको नाममा रहेको जग्गामा योगा पार्क बनाइ पालिकामै नमूना पर्यटकीय स्थलका साथै योग द्वारा निरोगी हुने अभियानको थालनी गर्न सकिन्छ । यसो गर्न सके सम्भवत यो नेपाल कै पहिलो योगापार्क हुनेछ । वडा न ३ मै रहेको चारपाते क्लबको जग्गामा बहुउद्देश्यीय भवन तथा मिनि सभा हल निर्माण गर्न सके पालिकालाई नमूना पालिका बनाउन मद्दत पुर्याउने छ ।

 

अब बिकासलाई सडकमा माटोपटान र ग्राभेल सङ्ग मात्र जोडेर हेरिनुहुदैन अलि फराकिलो योजना सहित अघि बढ्नु आवश्यक छ । खजुरा गाउँपालिकाका ३ स्थानमा टेलिसेन्टर स्थापना गरि पालिकाबासीलाई सूचना र प्रविधिसँग जोड्ने नीति अबलम्बन गरे राम्रो हुनेछ । राधापुर, सोनपुर इ गाउँमा टेलिसेन्टर स्थापना गरिए उपयुक्त हुने हुँदा सोही बमोजिमको योजना आवश्यक छ ।

 

वडा न ४ र वडा नं. ६ मा स्वास्थ्यचौकीको स्थापना प्राथमिकतामा पर्नुपर्छ र हरेक नागरिक उपचार नपाएर नमरुन् भन्ने आशयका साथ नागरिक स्वास्थ बिमा कार्यक्रम आउनु पर्छ । आधुनिक युवा संजाल खजुराले आयोजना गर्दै आएको खजुरा महोत्सव तथा कृषि, पर्यटन तथा व्यापार मेलालाई भब्य र विशेष बनाई खजुरामा आन्तरिक पर्यटक भित्र्याउन योजना सहितको नीति आउन आवश्यक छ ।

 

शिक्षाको क्षेत्रमा मदरसा शिक्षालाई मुल प्रवाहमा ल्याउने र हाम्रो पालिकामा एक प्राविधिक शिक्षालय स्थापनामा जोड दिनु जरुरी छ । शिक्षाको बिकासका लागि राम्रोलाई पुरस्कृत गर्ने र नराम्रोलाई दण्ड सजायको ब्यब्स्था गर्नु जरुरी छ । हरेक ३ बर्षमा विद्यालयका प्रअको फेरबदल गर्ने नीति अबलम्बन गर्नु पर्छ । पलिकाको बिकासका लागि आन्तरिक राजस्व महत्वपूर्ण हो । तर, राजश्वका बिषयमा गम्भीरतापूर्वक निर्णय लिनु जरुरी छ ।

 

खजुरापालिका भित्र निजीक्षेत्रका लगानीकर्ता आउन सक्ने वातावरण तयार गरिदिन सके यस पालिकाको आर्थिक गतिविधि बढ्ने र रोजगारीका बाटाहरुसमेत खुल्ने छन् । निजी रूपमा संचालित विद्यालय, क्याम्पसलाई प्रोत्साहन गरि पालिकाको शिक्षामा बिकासका लागि सहकार्य गरि अघि बढनु आवश्यक छ । तसर्थ सोही बमोजिमका पब्लिक प्राइभेट पार्टनर्सिभका नीति आउनु जरुरी छ ।

प्रतिक्रिया

प्रतिक्रिया