सरकार हुनुको अनुभूति दिंदै

बुद्धि सागर सुवेदी
वडाध्यक्ष
नेपालगन्ज उपमहानगरपालिका–१२

 

राजनीति पेशा होइन सेवा हो, बुद्धि सागर सुवेदीका यी कुरा आदर्शका लागि मात्रै जस्ता भएपनि उनले थोरै समयमा देखाएको अग्रसरताले सम्भव कुरा हो भन्ने मान्न सकिन्छ । नेपालगन्ज उपमहानगरपालिका १२ को वडाध्यक्ष निर्वाचित भएपछिको यो छोटो अवधिमा बुद्धिसागरले आफुलाई परिपक्व राजनीतिक व्यक्तिका रुपमा सावित गरेपछि पनि त्यो आदर्श व्यक्त गर्न सक्ने ल्याकतमा उभिए । जनप्रतिनिधिको हैसियतले सरकारको जनतास“ग नजिकको सम्बन्ध स्थापित गर्न उनी लागेका छन् ।

२०३० साल बैशाख २३ मा आमा गंगादेवी र बुवा चेतनाथ सुवेदीका कान्छा सन्तानका रुपमा जन्मिएका उनीसँग दैनिक नेपालगन्जले सोध्यो, वडाध्यक्ष पद आइलाग्यो कि तपाईको योजनामा थियो ? भद्र स्वाभावमा प्रस्तुत भएका बुद्धिसागरले भने, राजनीतिमा सबै कुरा चाहेरै हुन्छ भन्ने होइन तर, पाएको जिम्मेवारी पुरापुर निर्वाह गर्नुपर्छ । हुनपनि कक्षा ९ मै नेविसंघको राजनीतिमा सक्रिय उनी पार्टीमा ठुलो जिम्मेवारी नआउनुमा अरुलाई दोष दिएर बडप्पन देखाएनन् । विएस्सी गर्दागर्दै उच्च शिक्षाका लागि भारत बैग्ंलुर पसेपछि राजनीतिमा सक्रिय हुन नसकेको स्वीकार्दै बुद्धिसागरले भने, आएपछि पनि राजनीति भन्दा पेशाको सुनिश्चिताका लागि ल्याब र अस्पताल खोल्न सक्रिय भएँ । प्याथोलोजीमा एमएस्सीमा उनी विशेष बाल अस्पतालका प्रवन्ध निर्देशक पनि हुन् । ५ वर्षका लागि सबै छाडेर अहिले राजनीतिमा पुनः जोडिएपछि जनताले दिएका जिम्मेवारी पुरा गर्न कुनै कसर बाँकी नराख्ने बताएका बुद्धिसागर सुवेदीसँग पत्रकार झलक गैरेले गरेको कुराकानी संक्षेप आजको सम्यक संवादमा

 

जनअपेक्षा पूरा गर्न बजेट कत्तिको पाउनु भएको छ ?
वडा नंं. १२ ले अहिले पाएको बजेट ७२ लाख ४४ हजार १ सय २८ रुपैया“ हो । बजेट अनुसार हामीले वडाका लागि योजना ल्याइसकेका छौं । वडाका लागि ८४ हजार देखि १०÷११ लाखका योजना बनाइएको छ । बेलासपुर देखि मुक्तिपुर जोड्ने नया बाटो निर्माण गर्दैछौं । त्यसका लागि ११ लाख बजेट छुट्याइएको हो । नया“ बाटोको दुवैतिर २÷२ मिटरको नाली र ८ मिटरको बाटो हाम्रो योजनामा छ । समग्रमा भन्दा यो बजेट सडकको रेखांकनका लागि हो । ८ मिटरमा माटो पटान गर्ने हो ।
वेलासपुर डुबान हुने क्षेत्र हो । त्यही डुबानबाट जोगाउन कच्चि नाली सहितको नया“ बाटो बनाउन लागिएको हो । सडकको रेखांकन भएपछि एडिबीले सहयोग गर्छ भन्नेमा म आशावादी छु । हाम्रो वडाको बजेटले त मैले आफ्नो ५ बर्षे कार्यकालमा पनि त्यो सडक, नाली पक्की बनाउन सक्ने अवस्था छैन । तर, रेखांकन गरेपछि नया“ आधार भेटिन्छ र थप स्रोत जुट्छ भन्ने मलाई विश्वास छ ।
अर्को एउटा १० लाखको योजना कोरियनपुर र मुक्तिपुरको सडकको दुई तिर नाली बनाउने र फिल गरेर छोड्ने । अर्को बर्ष सक्यांै भने त्यसलाई पिच गर्ने योजना छ । अन्य योजनाहरुमा साना बाटा पिसिसि गर्ने, ग्राभेल गर्ने रहेको छ ।

 

विकास भनेको नाली, सडक मात्रै हो ?
होइन । हामी विकासका सबै सूचकमा काम गरिहेका छौं । बालमैत्री वडा बनाउने मिसनमा हामी छौं । त्यसका लागि अहिले २ लाख रुपैया“ बजेट छुट्याएका छौं । नया बनाउन लागेको १२ मिटरको बाटोका बीचमा ७÷८ कठ्ठा सरकारी जग्गा हामीस“ग छ । त्यसमा चिल्डेन पार्क बनाउदैछौं । चिल्डेन पार्क घेर्न उपमहानगरपालिकाले बजेट छुट्याएको छ । र, वडा कार्यालयका लागि पनि हामीसग ४/५ कठ्ठा जग्गा छ हामीसग । त्यसलाई पनि अहिले तारबार गरेर संरक्षित गर्ने योजना छ । रेडक्रस भवन बन्दैछ त्यसका लागि पनि २ लाख रुपैया छुट्याएका छौं । वडाका युवाहरुलाई उपयुक्त प्रयोजनका लागि २/३ कठ्ठा जग्गा छुट्याएर राख्ने योजना छ हाम्रो । अहिलेकै बर्षमा सबै काम हुन नसकेपछि सुरुवात भने गर्ने प्रयासमा छौं ।

 

वडामा प्राप्त बजेटबाट जनअपेक्षा पूरा होला ?
वडाबासी सन्तुष्ट हुनुहुन्छ । मैले वडामा गर्न खोजेका काम जनतालाई भनेको छु । उहा“हरुले पनि साथ दिइरहनु भएको छ । फोहोरमैला व्यवस्थापनका लागि वडा नं. १२ मा छुट्टै ट्याक्टर किन्न पहल गरेको छु । बजेटका लागि उपमहानगरपालिका र वडामा रहेका व्यवसायिक प्रतिष्ठानहरु स“ग पनि अनुरोध गरेको छु । यो बर्ष सकिएन भने अर्को बर्ष पूरा गर्ने गरेर पनि काम गर्दैछु ।

 

सरसफाईको योजना कसरी चलाइराख्नु भएको छ ?
स्वस्फूर्त रुपमा आफ्नो ठाउ आफै सफा गर्नुपर्छ भन्ने सोंचको कमी सबै वडाहरुमा देखिएको
छ । र, त्यो हाम्रो वडामा पनि छ । आफ्नो ठाउ आफै सफा गर्न शिक्षित वर्गमा पनि त्यो स्वस्फूर्तता देखिएको छैन । हाम्रो वडामा लोपोन्मुख जाति छन्, उनीहरु पनि सरसफाई प्रति अग्रसर भएको पाइएको छैन । तर, पछिल्लो दिनमा सचेतना पछि बिस्तारै सरसफाई प्रति मानिसहरु अग्रसर भएको पाएको छु ।

 

कस्तो वडा बनाउने योजना छ ?
मैले पाच बर्ष जनताको काम गर्ने हो । मैले आफ्नो कार्यकाल पूरा गर्दा आफ्नो छाप छोडेर जानेछु । वडाध्यक्ष भनेको कार्यकारी पद हो भन्ने मैलै लिएको छु । राम्रो काम गर्दा जनताले साथ दिनेछन् । मलाई विश्वास छ, मैले गरेको कामले स्थानीयबासी सन्तुष्ट हुनुहुन्छ । मैले सबै छोडेर जनताको सेवा गर्न आएको हु“ र, म त्यो गर्छु ।
क्षेत्रमा वडा नं. १२ लाई मैले जस्तो बनाउने सोचेको थिए, त्यो चाहिं अलि अप्ठेरो पाएको छु । मेरो वडामा लोपोन्मुख समुदाय चिडिमारहरु पनि हुनुहुन्छ । उहा“हरुमा शिक्षाको कमी मैले पाएको छु । उहा“हरुको ध्यान जीविकोपार्जनमा मात्र केन्द्रित हुने गरेको मैले पाए“ । कमाउने र पैसा मदिरामा खर्च गर्ने गरेको मैले पाएको छु । चिडिमार समुदायका बालबालिका स्थानीय विद्यालयमा पढ्ने गरेका छन् । ती बालबालिकालाई भेट्दा पढ्ने इच्छा भएको बताउ“छन् ।
चिडिमार समुदायका अभिभावकले मदिरा सेवन गर्दा आफुहरुको पढाई छुट्ने गरेको, उच्च शिक्षा अध्ययन गर्न नसक्ने अवस्था आउने गरेको पाए“ । उक्त कुरा विद्यार्थीहरुले पनि भने । वडाका महिला दिदी बहिनीहरुले पनि वडा कार्यालयमै आएर मदिराका बारेमा गुनासो गर्नुभयो । मदिराका कारण श्रीमान् काममा नजाने, घरेलु हिंसाका घटना हुने गरेको गुनासो उहाहरुबाट पाए । वडामा मदिरा सेवनका कारण युवा अवस्थामा रोग लागेको, अकालमा मृत्यु भएको घटना पनि मैले पाए“ ।
मैले आफ्ना वडाका साथीहरुसग कुरा गरे । र, वडामा घरेलु मदिरा पूर्ण रुपमा निषेध गर्ने निर्णय गरे भने घरेलु मदिराको कारोबारमा आश्रित परिवारलाई वैकल्पिक पेशामा संलग्न गराउने योजना बनाएँ । उनीहरुको आयआर्जनका लागि वैकल्पिक व्यवस्था गर्न वडाले सघाउने छ । घरेलु मदिरा निषेध गर्ने र वैध मदिरालाई नियमन र नियन्त्रण गर्ने निर्णयलाई सबैले मान्नुभएको छ । केही रिसाउनु भयो होला केही समयका लागि तर, सबैले मान्नुभयो । वैध मदिरा पनि बेच्ने समय तोकिदिएको छु । यो सबैका लागि राम्रो हो । सामाजिक काममा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम पनि वडामा आयोजना गरे । मेरो मिसन वडा नं. १२ लाई घरेलु मदिरा निषेध गर्ने हो । वैद्य मदिरा पनि निश्चित तोकिएको समयमा मात्र सेवन गर्न पाउने गरी नियन्त्रित गरिएको छ ।

 
उपमहानगरपालिकाबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
अहिले नेपालगन्जका नगर प्रमुख पार्टी बलियो भएर जित्नुभएको होइन । उहा“को कार्यशाली, विकासे छविका कारण उहा“ चुनिएर उपमहानगरपालिकामा आउनु भएको हो । नगरबासीले पार्टी होइन व्यक्ति छान्नुभएको हो, त्यो कुरा नगरप्रमुखले पनि मनन् गर्नुभएको होला । हामी स“गै एउटै बोर्डमा बसेर काम गरेका छौं । उहा“ मिलनसार हुनुहुन्छ । उपमहानगरपालिकामा फरक पार्टीबाट चुनिएर वडाध्यक्षहरु आउनु भएको छ । तर, हामी सबै विकासका लागि एक ढिक्का छौं ।
नेपालगन्ज अब नयाँ गतिमा अगाडी बढ्छ भन्नेमा ढुक्क हुने अवस्था सिर्जना भइरहेको छ । मैले काम गर्ने वडामा पनि सबै एक ढिक्का छौं । उहा“हरुको साथ मैले पाएको छु ।

प्रतिक्रिया

प्रतिक्रिया