शैक्षिक महोत्सव र महत्व

शैक्षिक महोत्सव :
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेको आयोजनामा आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०७४ नेपालगन्जमा भईरहेको छ । सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान भन्ने मूल नाराका साथ आयोजित उक्त पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०७४ मंसिर २८ गते देखि पौष ५ गते सम्म संचालनमा रहने छ । प्रथम पटक वि.सं.२०६४ सालमा बुटवल बाट शुरु भएको राष्टिूय शैक्षिक महोत्सव बुटवल, धनगढी, चितवन, झापा, काठमाण्डौ, दाङ्ग हुँदै अहिले नेपालगन्जमा सम्पन्न हुँदैछ ।

 
पठन संस्कृतिको अभियानमा लाग्ने सर्जक, पाठक, उत्पादक, वितरक लगायत सम्वद्ध सबै पक्षलाई एकै ठाउँमा भेला गराई समसामयिक विषयवस्तुहरुमा बहस चलाउने, पठन संस्कृतिमा विकास गर्ने, घरघरमा शिक्षा पुर्याउने र शिक्षित समाजको निर्माण गर्ने मूलभूत उद्देश्यले समाज रुपान्तरणका लागि राष्टिूय पुस्तक प्रदर्शनी र शैक्षिक महोत्सवको आयोजना गरिएको देखिन्छ । मूलभूत रुपमा व्यवसायिक हकहितका खातिर स्थापना भएको पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले शैक्षिक क्षेत्रबाट समग्र समाजको रुपान्तरण गर्ने प्रयोजनका लागि नेपालगन्जमा आयोजना गरिएको पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको आयोजना यस क्षेत्रकै गौरवको विषय हो ।

 

संचालित पुस्तक प्रर्दशनी तथा शैक्षिक महोत्सवमा नेपाल राज्यभरीका स्टेशनरी व्यवसायीहरु एकैथलोमा बसेर शैक्षिक सामग्रीको सेवा प्रवाह गरी रहेका छन् । प्रदर्शनीमा शैक्षिक, साहित्यीक, धार्मिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक, मनोरन्जनात्मक लगायत सवै क्षेत्रका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पुस्तक तथा स्टेशनरी सामग्री राखिएका छन् । विध्यार्थी, युवा, जेष्ठ नागरिक लगायत सम्वद्ध सवैका लागि यो सुर्वण अवसर हो । त्यति मात्र होइन शैक्षिक महोत्सवमा सांस्कृतिक कार्यक्रम समेत संचालन गरिएको छ जस्ले गर्दा एकातर्फ स्थानीय देखि राष्ट्रिय लोक एवं कलासंस्कृतिको जगेर्ना गरेको छ भने अर्कोतर्फ कलाकर्मीलाई थप हौसला मिलेको छ । शैक्षिक महोत्सवकै कारण यस क्षेत्रको राष्ट्रिय रुपमा परिचय भएको छ भने पर्यटकीय एवं व्यवसायीक विकासमा समेत सहयोग पुगेको अवस्था छ ।

 

शिक्षा र शैक्षिक समृद्धि विना राष्ट सम्वृद्ध बन्न सक्दैन । अहिले हामी संघीय लोकतान्त्रिक शासन व्यवस्था अवलम्वन गरेको नेपालका सार्वभौम नागरिक हौं । संविधानतः स्थानीय तह, प्रदेश र संघको निर्वाचन सफलतापूर्वक सम्पन्न भए पश्चात जनचाहना अनुरुप तीन तहको सरकार निर्माणोन्मूख अवस्थामा रहेको छ । नेपालमा राजनीतिक एवं सांस्कृतिक परिवर्तनका लागि नेपाली नागरिकले पटक–पटक भएका आन्दोलन, जनआन्दोलनमा ठूलै कुर्वानी दिएको इतिहास साक्षी छ । अव नेपाल र नेपालीलाई आर्थिक र शैक्षिक क्रान्तिको खाँचो छ । समाज रुपान्तरणका लागि, सभ्य समाजको निर्माणका लागि र अझ भनौं सु–संस्कृत एवं सम्वृद्ध नेपाल निर्माणका लागि विकास निर्माणका साथसाथै शैक्षिक आन्दोलनको आवश्यकता छ । सरकारले, शैक्षिक संघसंस्थाले वा सदैव सम्वद्ध नेपालको नारा दिने राजनीतिक दलले नियमित रुपमा आयोजना गर्नुपर्ने शैक्षिक महोत्सवहरु गैरसरकारी क्षेत्र बाट आयोजना गरिएकोले यो शिक्षापे्रमी र राष्ट्रप्रेमी सबै नागरिकका लागि गौरवको विषय हो ।
बाँके जिल्लाको शैक्षिक अवस्था :

बाँके जिल्ला मध्य तथा सुदुरपश्चिम क्षेत्रकै (प्रदेश नं.५,६,७) शैक्षिक हब हो त्रिभूवन विश्वविध्यालय भन्दा पुरानो इतिहास बोकेको महेन्द्र बहुमुखी क्याम्पस बाँके जिल्लाको नेपालगन्जमा अवस्थित छ । वि.सं.२०१२ सालमा भारतको पटना विश्वविध्यालयबाट सम्वन्धन लिएर स्थापना भएको नारायण डिग्री कलेज २०१८ सालमा महेन्द्र डिग्री कलेजको नाममा रुपान्तरण भएको थियो । वि.सं.२०२८ सालमा नयाँ शिक्षा लागू भएपछि महेन्द्र डिग्री कलेजको नाम परिवर्तन गरी महेन्द्र बहुमुखी क्याम्पस राखिएको हो । यस क्याम्पसले मध्ये तथा सुदुरपश्चिमको शैक्षिक क्षेत्रमा अद्वितीय योगदान पुर्याइरहेको कुरामा विवाद छैन ।
बाँके जिल्लामा महेन्द्र बहुमुखी क्याम्पस सहित २० वटा नीजि तथा सामुदायिक म्याम्पसहरु रहेका छन् । नेपालगन्ज शहरको साथसाथै कोहलपुर र खजुराक्षेत्र समेत शैक्षिक केन्द्रका रुपमा विकसित भएका छन् । नेपालगन्ज प्राविधिक शिक्षाको समेत प्रमुख शहर बन्न सफल भएको छ । सरकारी स्वामित्वको भेरी प्राविधिक शिक्षालय लगायत एक दर्जन बढी प्राविधिक शिक्षालयहरु सन्चालनमा रहेका छन् । नेपालगन्ज मेडिकल कलेज, नेपालगन्ज नर्सिङ्ग कलेज, भेरी नर्सिङ्ग कलेज लगायतका कलेज मार्फत मेडिकल शिक्षाको समेत अध्ययन अध्यापन भइरहेको छ ।
बाँके जिल्लामा २६२ सामूदायिक (सरकारी) विद्यालय र १९५ संस्थागत (नीजि) विद्यालय रहेका छन् । बाँके जिल्लामा नै ५८२ वटा प्रारम्भिक बालविकास केन्द्र, २४ वटा सामूदायिक सिकाई केन्द्र, ११९ वटा मदरसा र ५ वटा गुरुकुल समेत रहेका छन् । राष्ट्रिय परीक्षा नियन्त्रण बोर्डको क्षेत्रीय कार्यालय, सिटिई भिटिईको क्षेत्रीय कार्यालय, शैक्षिक तालीमकेन्द्र समेत समेन यस जिल्लामा नै अवस्थित रहेका छन् ।

 

वि.सं.२०६८ सालको जनगणना अनुसार बाँके जिल्लाको साक्षरता दर ६५ प्रतिशत रहेको देखिन्छ । जिल्ला शिक्षा कार्यालय बाँकेको तथ्यांक अनुसार हाल बाँके जिल्लामा साक्षारताको अवस्था ९० प्रतिशत पुगेको छ । जसमध्ये महिलाको साक्षारता अवस्था ८१.१ प्रतिशत र पुरुषको साक्षारता अवस्था ९३.३५ प्रतिशत रहेको छ । यस साक्षारता अवस्थाले पनि बाँके जिल्लाको शैक्षिक अवस्थामा वृद्धि भईरहेको देखिन्छ । यसरी बाँके जिल्लाको उल्लेखित शैक्षिक तथ्यांक र शैक्षिक ईतिहास हेर्दा शैक्षिक दृष्टिकोणले बाँके जिल्ला महत्वपूर्ण क्षेत्र देखिन्छ । राजनीतिक, धार्मिक, भाषिक, सांस्कृतिक, शैक्षिक, पर्यटकीय, औद्योगिक लगायत हरेक दृष्टिकोणले महत्वपूर्ण मानिने बाँके जिल्लालाई अझ बढी सशक्त र समृद्ध बनाउनका लागि नियमित रुपमा राष्ट्रिय, क्षेत्रीय, प्रादेशिक र जिल्ला स्तरीय शैक्षिक महोत्सवको आयोजना गर्न समेत त्यत्तिकै आवश्यक देखिन्छ ।

 

महत्व :
बाँके जिल्ला हरेक दृष्टिकोणले महत्वपूर्ण जिल्ला हो । शैक्षिक विकासको माध्ययम बाट समाजलाई सकारात्मक रुपमा रुपान्तरण गर्न सकिन्छ भन्ने मूलमन्त्रका साथ बाँके जिल्लालाई शतप्रतिशत साक्षार जिल्लाको रुपमा विकसित गर्नुपर्ने आवश्यक्ता छ । निरक्षरता र रोजगारी विहिनताका कारण यस जिल्लामा अधिकांश आपराधिक कृयाकलाप र गैरकानूनी गतिविधि संचालन हुने गरेको देखिन्छ । शिक्षाको उज्यालो आँखाबाट मात्रै स्वयं नागरिक, परिवार, समाज र सिंगो राष्ट्र सभ्य हुन सक्छ भन्ने यथार्थता प्रत्येकको व्यक्तिको मन मष्तिस्कमा बोध गराउन सकियो भने हामीले आफ्नो नागरिक कर्तव्य पूरा गरेको ठहरिने छ । यस कार्यका लागि शिक्षा ग्रहण गर्ने र शैक्षिक सामग्री अध्ययन गर्ने वातावरणको सृजना गर्न समेत आवश्यक छ ।

 

बाँके जिल्लामा अवस्थित शैक्षिक, सांस्कृतिक, धार्मिक, औद्योगिक, पर्यटकीय हबको बारेमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न सकियो भने एकातर्फ यस क्षेत्रकै समग्र विकास हुने छ भने अर्कोतर्फ यस क्षेत्रको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय महत्व बढ्ने छ । यसतर्फ सम्वद्ध सबैको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया

प्रतिक्रिया