वसन्त गौतम
आज असार १४ गते अर्थात प्रदेश नं १, ५ र ७ अन्तरगतका स्थानिय तहमा निर्वाचन हुने दिन । जनताले २० बर्ष पछि आफ्ना स्थानीय जनप्रतिनिधि चुन्न लागेको दिन हो आज । त्यसैले यो सुनौलो अवसरबाट कोही पनि नछुटौ । आफ्नो मताधिकारको सहि प्रयोग गरौ । निर्वाचन लोकतन्त्रको मुटु हो । आवधिक निर्वाचनले लोकतन्त्रिक शासन ब्यवस्थाको सुढृढीकरणमा मद्दत पुर्याउछ ।
एकात्मक शासन व्यवस्थाको सट्टामा नेपालले सङ्घीय शासन व्यवस्थालाई अङ्गीकार गरेको हुँदा नेपालको संविधान बमोजिम सङ्घीयता कार्यान्वयन तथा प्रशासन पुनर्संरचनाको लागि आवश्यक नीतिगत, कानूनी, संरचनागत, जनशक्ति व्यवस्थापन, वित्तीय तथा प्रणालीगत अन्तरसम्बन्धको व्यवस्थाका हुनुका साथै तिनको कार्यान्वयनका लागि निर्वाचिन स्थानीय तहको निर्वाचन हुन अपरिहार्य छ ।
संविधानसभाबाट जारी भएको नेपालको संविधान २०७२ कार्यान्वयनले नै लोकतान्त्रिक गणतन्त्रको सस्थागत बिकाशमा मद्दत पुग्दछ । त्यसका लागि आगामीे ७ माघ ०७४ भित्र स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्नु नै हो । निर्वाचन विनाको लोकतन्त्र वास्तविक लोकतन्त्र हुन सक्दैन । निर्वाचनबाट स्थानीय सरकार नबन्दा सम्म स्थानीय तहमा लोकतन्त्रको अभ्यास कमजोर बन्न पुग्छ ।
मतदानको माध्यमबाट प्रतिनिधि छनौट गर्ने प्रक्रिया निर्वाचन हो । मतदानको माध्यामबाट जनताको वास्तविक मत बुझ्ने र सोही अनुसार आफ्नो भुमिका बनाउने माध्याम पनि निर्वाचन नै हो । निर्वाचनलाई सम्बद्ध सबैले स्वस्थ प्रतिस्पर्धाको रूपमा ग्रहण गर्नु पर्दछ । निर्वाचनका सन्दर्भमा एकअर्काका विरूद्ध झुठो प्रचार प्रसार नगर्नु मतदाता समक्ष सबै दल÷ उम्मेदवारहरूले निर्भिक र सुरक्षित भई आ–आफ्ना विचार खुला रूपमा पु¥याउन पाउनु पर्दछ । निर्वाचनमा सबैको समान सहभागिताको सुनिश्चितता हुनु, मतदाताले कुनै डर, त्रास तथा प्रलोभनमा नपरी स्वतन्त्रतापूर्वक मतदान गर्न पाउनु, उम्मेदवारले निर्धक्क भएर उम्मेदवारी दिन र प्रचारप्रसार गर्न पाउनु, निर्वाचन प्रक्रियामा संलग्न हुने सबैले सुरक्षित रहेको अनुभूति गर्न पाउनु, निर्वाचनमा संलग्न हुने निकाय, पदाधिकारी र कर्मचारी तटस्थ रहनु, निर्वाचनमा पर्यवेक्षणको व्यवस्था हुनु र राज्यको स्रोतसाधन कुनै दल वा उम्मेदवारका पक्षमा दुरूपयोग नहुनु निर्वाचनका आधारभुत मान्यता हुन ।
लोकतन्त्र त्यतिवेला मात्र सुदृढ हुन्छ, जतिवेला स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीले स्थानीय सत्ता सम्हाल्दछन् । स्थानीय तहका बाटोघाटो, स्वास्थ्य, शिक्षा लगायतका विषयमा जनताका आकांक्षालाई पूरा गर्न स्थानीय सरकार जब क्रियायाशील हुन्छ, त्यतिवेला मात्र लोकतन्त्र जनता माझ पुग्न सक्छ । यदि स्थानीय तहमा जनताको प्रतिनिधित्व हुन सकेन, जनताबाट निर्वाचित अंगले काम गर्न सकेन भने लोकतन्त्र सिंहदरबारको अग्लो चौघेरा र नेताको घरभित्र मात्र कैद हुन्छ । लोकतन्त्रको मुटु भनेकै निर्वाचन हो । त्यसैले पनि स्थानीय तह, प्रदेश र केन्द्रीय निर्वाचन आजको आवश्यकता हो । त्यसैलेक पहिलो खुडकिलोको रुपमा रहेको स्थानिय तहको निर्वाचनमा सबैले उत्साहपुर्वक भाग लिई मतदानमा सरिक हुन जरुरी छ ।
तीनवटै तहका निर्वाचन विना न लोकतन्त्रको कल्पना गर्न सकिन्छ, न त समृद्धि र विकास निर्माणको आशा गर्न सकिन्छ । त्यसैले विकास, निर्माण, सुशासन र लोकतन्त्रका लागि निर्वाचन हुन आवश्यक छ र त्यसमा हामी सबैको सक्रिय सहभागितामा हुन पनि उत्तिकै जरुरी छ ।
निर्वाचनमा कसले जित्छ, कसले हार्छ, त्यो गौण विषय हो । निर्वाचन सम्पन्न भएपछि ब्यक्तिको हारजित भए पनि जनताले जित्छन् । लोकतन्त्रले जित्छ, । देशले जित्छ र नेताहरूले पनि जित्छन् । निर्वाचनमा मान्छेको हारजित भए पनि पद्धति र मुलुकको भविष्यको भने सधैँ जित हुन्छ हुन्छ त्यसैले लोकतन्त्रिक शासन ब्यवस्थाको सुदृढिकरण र जनताको अधिकार सुनिश्चितताको लागी पनि सबैले मतदानमा सरिक हुन जरुरी छ । निर्वाचनमा गए पनि आफूले जितिन्न भन्ने सोच राखेर कसैले पनि निर्वाचन भाँड्ने नियत राख्न हुदैन ।
आज हुने स्थानीय तहको निर्वाचनले स्थानीय तह जनप्रतिनिधिको हातमा पुग्नेछ । करिब २० वर्षपछि मतदान गर्न पाउने भएपछि जनतामा उत्साह छाएको छ । निर्वाचन सम्पन्न भएसँगै २०७२ असोजमा जारी भएको नेपालको संविधान कार्यान्वयन तर्फको अग्रगामी कदमतर्फ नेपाल अगाडि बढ्नेछ । स्थानीय तहमा एकैसाथ ३६ हजार ६ सय ३९ जनप्रतिनिधि बहाल हुनेछन् र जनताका आधारभुत समस्यामा आफूलाई केन्द्रित गर्नेछन् ।
लोकतन्त्रमा बहुमतको कदर र अल्पमतको सम्मान हुन्छ । अल्पमत र बहुमत छुट्ट्याउने बैधानिक आधार भनेको निर्वाचन नै हो । आफुलाई लोकतन्त्रमा विश्वास गर्छौ भन्ने राजनैतिक दलहरुले यसको पालना गुर्न पर्ने हुन्छ । बहुमतको आडमा अरुको कुरा नसुन्ने र उसको भावनालाई नबुझी अल्पमतलाई पेल्ने गरिनु हुदैन भने अल्पमतले पनि बहुमतको निर्णय मान्दै मान्दिन, मैले भनेकै हुनु पर्दछ भन्ने जस्तो अलोतान्त्रिक संस्कार देखाउनु हुदैन ।
निर्वाचन राजनैतिक दलहरुका लागी आफ्नो जनमत मापन गर्ने माध्याम हो ।
आफ्ना एजेण्डाहरु नाराका रुपमा निर्वाचनमा लागी जनअनुमोदित गराउने माध्याम निर्वाचन नै भएकाले निर्वाचनबाट कोही पनि भाग्ने र बिथोल्ने प्रर्यत्न गर्नु हुदैन । सके आफ्ना विचार र भनाईलाई अरुबाट समर्थन खोज्ने.नभए बिधि र प्रक्रिया अनि जनमत स्वीकार गरि त्यसै अनुसार अगाडी बढ्नुको बिकल्प हुदैन । बिगतमा नेपालमा धेरै पटक द्वन्द्व भयो । जसका कारण धेरै जनधनको क्षति पनि भइसक्यो । पहिलेका द्वन्द्व र आन्दोलनका पीडितहरुले अहिलेसम्म न्यायको अनुभुति गर्न सकेका छैनन भने पीडकहरु दण्डहिनतामा रमाइरहेका सन्दर्भमा जनतालाई दुःख र पीडा दिने काम कसैबाट नगरौ । लोकतान्त्रिक बिधि र प्रक्रियाबाट कोही पनि नभागौ । निर्वाचनलाई निकाशको माध्याम
बनाउ । विकास र सम्बृद्धिको ढोका खोल्ने कार्यमा सबै जुटौ ।
स्थानीय निकायबाट जनताहरुले राज्यको अनुभुति गर्न पाउनु पर्दछ । राज्यद्वारा उपलब्ध गराईने सेवा सुबिधाहरु र बिकास निमार्णका हरेक कार्यहरुमा जनताको प्रत्यक्ष सहभागिता हुन जरुरी हुन्छ । स्थानिय निकायमा असल इमान्दार राजनैतिक नेतृत्व चयन हुन सकेको खण्डमा समाजले विकास निर्माणका हरेक कुरामा मात्र नभई अन्य समाज परिवर्तन र सुशासनको पक्षमा समेत फड्को मार्न सक्छ । बिशुद्ध समाज सेवाको भावना लिई राजनीतिमा होमिएकाहरुले समेत आफुलाई सामाजिक रुपमा रुपान्तरण गर्ने सुद्धिकरण गर्ने अवसर प्राप्त गर्न सक्दछन् ।
अन्तमा लोकतन्त्रको मुटु नै निर्वाचन भएकाले असार १४ मा हुने स्थानीय तह निर्वाचनमा सबैले उत्साहका साथ भाग लिगौ । लोकतन्त्रको जगलाई तलैसम्म पुर्याउन र जनतालाई वास्तविक रुपमै अधिकारसम्पन्न बनाउनका लागी हामी सबैले मतदानको अधिकार प्रयोग गरौ ।
स्वच्छ, निष्पक्ष र भयरहित र शान्तिपुर्ण वातावरणमा निर्वाचन सम्पन गर्नमा सबैले सहयोग गरौ । असल, व्यवहारिक, मानव अधिकार र कानुनको शासनको सम्मान गर्ने, अर्काको इज्जत गर्ने, भरपर्दा तथा उदाहरणीय उम्मेदवारहरू लाई मतदान गरौ । आफ्नो मताधिकारको प्रयोग गरि सहि प्रतिनिधि चुन्ने अवसरबाट कोहि पनि नचुकौ । लोकतन्त्रिक गणतन्त्रको सस्थागत विकासका लागि, सिंहदरवार बाट प्रयोग हुने अधिकार अव गाउँघरबाटै उपभोगको वातावरण बनाऔ ।
(लेखक अधिवक्ता हुन ।)