विवाह सम्वन्धी कानूनी व्यवस्था :
अभिभावको मन्जुरीले केटा केटीको उमेर १८ वर्ष पूरा भएको हुनु पर्ने र प्रेम विवाहको लागि केटा केटी दुवैको उमेर २० वर्ष पुगेको हुनु पर्ने नेपालको कानूनी व्यवस्था रहेको छ । विवाह गर्दा गराउदा ढाँटेर, झुक्याएर, गफलतमा पारेर र केटा केटीको इच्छा एवं सहमति विपरित विवाह गर्न गराउन समेत हुँदैन । कसैले कानूनले तोकेको उमेर पूरा नभएको अवस्थामा वा झुक्याएर वा केटा केटीको इच्छा विपरित जात, धर्म, परम्परा आदिका नाउमा विवाह गरे गराएका खण्डमा विवाह बदर हुने र त्यसरी विवाह गर्ने गराउनेलाई उमेरको अवस्था हेरी ६ महिला देखि ३ वर्ष सम्म कैद र जरिवाना हुने व्यवस्था रहेको छ ।
बालबालिका सम्वन्धी ऐनले १६ वर्ष उमेर नपुगेका लाई बालबालिका मानेको छ । कसैले विवाहको नाममा वा अन्य कारणले १६ वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मन्जुरी लिई वा नलिई करणी गरेमा जर्वजस्ती करणीको गम्भीर अपराध हुने व्यवस्था रहेको छ ।
विवाह भइसकेपछि गाउपालिका वा नगरपालिकामा दुवै पक्ष गई विवाहदर्ता गराई विवाह भएको बैधानिक प्रमाण लिनु पर्दछ । कुनै कारण बाट बैबाहिक सम्वन्ध कायम रहन नसक्ने अवस्था भएमा केटा केटीले लोग्नेस्वास्नीको सम्वन्ध विच्छेद गराउन सक्छन् । सम्वन्ध विच्छेदको क्रममा महिलालाई कानूनले नै विशेष प्राथमिकता दिएको देखिन्छ । महिलाले आफ्नो अंश समेत लिई अदालत बाट सहजै सम्वन्ध विच्छेद गराउन पाउछन् भने पुरुषको लागि भने सम्वन्ध विच्छेद गराउन सहज र सरल कानूनी व्यवस्था छैन ।
बालविवाहका कारण देखिने समस्या :
सृष्टि संचालनका लागि विवाह अपरिहार्यता हो । विवाह केटाकेटी वीचको बैधानिक सम्झौता हो । विवाहले केटा केटी वीचको सम्वन्धका साथसाथै गाउ, समाज, भाषा, क्षेत्र, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सम्वन्धलाई समेत जोडेको
हुन्छ । बैबाहिक जीवन सुखद रहेमा घरपरिवार देखि सुभचिन्तक सवै खुशी र सुखी हुन्छन् तर कसैको सम्वन्ध कुनै कारणले असफल भएमा घरपरिवार, आफन्त देखि समाजमा समेत यसको प्रतिकूल असर पर्दछ । बैबाहिक जीवन असफल भएका कारण हत्या, आत्महत्या, यातना जस्ता क्रुर र अमानवीय घटनाहरु पनि घट्ने गरेको पाईन्छ ।
हाम्रो समाजमा विशेष गरी मधेशी समूदायमा वालविवाहको अहिले सम्म पनि अन्त्य हुन सकेको छैन । बालविवाह गर्नु गराउनु बाल अधिकार, महिला अधिकार, मानव अधिकार र कानूनी शासनको समेत प्रतिकूल हो । बालविवाह बाट बालबालिका पढ्न पाउने, स्वेच्छिक रुपमा विवाह गर्न पाउने र सम्मानपूर्वक बाँच्न पाउने हकबाट समेत वन्चित भईरहेका छन् ।
बालिका रजश्वला हुनभन्दा पूर्व नै विवाह गर्दा धार्मिक एवं सामाजिक दृष्टिकोण बाट उपयुक्त हुन्छ भन्ने धार्मिक अन्धविश्वास र परम्पराका कारण पनि बालविवाह हुने गरेको पाईन्छ । बेरोजगारी, आर्थिक अभाव र धेरै सन्तान भएका कारण बाध्यताले पनि वालविवाह जस्ता गैरकानूनी कार्यले प्रश्रय पाइरहेको देखिन्छ । वालविवाहबाट बैबाहिक जीवनमा पर्न सक्ने असर, बालिकाको प्रजनन स्वास्थ्यमा पर्नसक्ने गम्भीर खतरा, बाल अधिकार, कानूनी बन्देजहरुको बारेमा राम्ररी थाहजानकारी नपाएका कारण पनि बालविवाहले निरन्तरता पाईरहेको देखिन्छ ।
बालविवाहलाई हाम्रो समाजले सहर्ष स्वीकार गरेको र बालविवाहको बारेमा सकभर कसैले उजुरी नै नगर्ने र कसैले कुनै कारणले उजुरी गरेकै खण्डमा पनि यो सामाजिक, रीतिरिवाज, धार्मिक एवं सांस्कृतिक प्रचलन हो भन्दै प्रहरी प्रशासनले समेत वालविवाहलाई सामाजिक मान्यता मिलापत्र गराई दिने गरेको छ । यि विविध कारणहरुले गर्दा अहिले सम्म पनि बालविवाह रोकिएको छैन ।
बालविवाह कानूनी रुपमा अपराध हो । कानूनले नै निषेध गरेको कुरा गर्ने गराउने अधिकार कोही कसैलाई हुदैन । प्रहरी प्रशासन एवं समाजको अगाडि नै खुलयाम बालविवाह भईरहेका छन् तर त्यस प्रकारका गैरकानूनी कार्य लाई रोक्ने र बालविवाह गर्ने गराउने अभिभावक समेतलाई कानूनको दायरामा ल्याउन सकिएको अवस्था छैन ।
सानो उमेरका बालिकाहरु स्वास्थ्य र मानसिक रुपमा समेत गर्भवती बन्न सक्ने अवस्थाका हुँदैनन । सानै उमेरमा बालिका गर्भवती भएका खण्डमा आफू स्वस्थ्य रहन र बच्चा समेत स्वस्थ रुपमा जन्माउन नसक्ने भई गर्भवती आमा तथा बच्चाको समेत अकालमा नै मृत्यू हुन सक्छ । परम्परा, धर्म, संस्कृति आदिका नाउँमा सानै उमेरमा विवाह गर्दा गराउदा आफ्नै बालिकाको अकालमा नै मृत्यू हुन सक्ने र सम्मानपूर्वक बाँच्न पाउने हकबाट नै वन्चित हुनु पर्ने यथार्थतालाई हाम्रो समाजले नजरअन्दाज गर्ने गरेको छ । बालविवाहकै कारण घरेलु हिंसा बढी हुने गरेको र हिंसा सहन नसकी महिलाले आत्महत्या समेत गर्ने गरेको देखिन्छ ।
बालविवाह रोकथामका उपाय :
बालबालिकालाई अनिवार्य रुपमा पढ्ने पढाउने वातावरणको सृजना गरिनु पर्दछ । बालविवाहबाट शारीरिक तथा मानसिक रुपमा पर्न सक्ने असर र क्षतिको बारेमा सवै अभिभावक तथा नावालक विद्यार्थीहरुलाई प्रशिक्षित गराउनु पर्छ । बालविवाह गर्ने गराउने परिवारको अभिलेखिकरण गरी सो को कारणका बारेमा गहिरो अध्ययन गरी सो को रोकथामको प्रयास गरिनु पर्दछ । बालविवाह गर्ने गराउनेलाई कानूनको दायरमा ल्याई सजाय समेत गरिनु पर्दछ । बालविवाह गर्ने गराउनेलाई अहिले भएको सजायको व्यवस्था कम भएकोले बालबालिकाको भविष्य र घट्न सक्ने गम्भीर घटनालाई मध्येनजर राखी बालविवाह गराउनेलाई सजाय बढाउनुु पर्दछ । केटा, केटापक्षका परिवार वा कोही कसैको कारणले महिलाले आत्महत्या गरेको अवस्थामा आत्महत्याको लागि बाध्य पार्ने आत्महत्याका कारणीलाई समेत सजायको व्यवस्था गरिनु पर्दछ ।
बालविवाह सामाजिक रोग हो । यस प्रकारको गैरकानूनी कार्यलाई रोक्न सवै सरोकारवालापक्षको सहयोग आवश्यक हुन्छ । बालविवाह गराउने कार्य निषेध गरिएका खण्डमा बाल–बालिका दुवैको भविष्य उज्जवल हुने, बालअधिकार र मानव अधिकारको संरक्षण हुने, समाजमा शान्ति सुव्यवस्था कायम गर्न मद्दत पुग्ने, स्वेच्छिक रुपमा मन परेका केटाकेटी संग विवाह गरी बैबाहिक जीवन सफल पार्न सफल हुने र कानूनको शासनको पनि सम्मान हुने भएकोले बालविवाहको अन्त्य गरौं बालबालिकाको सुनौलो भविष्य सुरक्षित गरौं ।











