सरसफाईप्रति नगरपालिका उदासिन किन ?

लोक बहादुर शाह

विकास विना नागरिकले अन्य मानव अधिकार र स्वच्छ वातावरणमा जीवन निर्वाह गर्न सक्दैन । यसैले विकास सम्वन्धी अधिकार प्रत्येक नागरिकको अभिन्न अंग हो । जनताका हक अधिकार प्रति सचेत र सम्वेदनशील भई विकास निर्माणका कार्य गर्नु गराउनु सरकारको कर्तव्य हो भने सो बमोजिमको नागरिकले आशा राख्नु स्वभाविकै हो । विकास सवैको साझा विषय भएकोले आफ्नो गाउ, टोल, सहर, समाज र देश प्रति नागरिकका पनि कर्तव्य र दायित्वहरु हुन्छन् ।

विकास अधिकार हो । हाम्रो टोल, छिमेक, शहरमा प्रयाप्त मात्रामा विकास भएको छैन भन्ने कुरा हामी सवैलाई थाहा छ तर किन विकास भएन ? र विकास निर्माणमा हाम्रो के कस्तो सहभागिता रहनु पर्दछ भन्ने सम्वन्धमा कहिल्यै जानकारी लिने प्रयास गर्ने गरेका छैनौं । विकास निर्माणको सम्पूर्ण जिम्मेवारी सरकार, स्थानीय निकाय, राजनीतिक दलको, अन्य संघसंस्थाको हो भनी सुतेर बस्न मिल्दैन । विकास सम्वन्धी अधिकारको उपभोग गर्नको लागि नागरिक कर्तव्य समेत निर्वाह गर्नु पर्दछ । हरेक विकास निर्माणका कार्यमा सवै नागरिकले चासो देखाई अर्थपूर्ण सहभागिता समेत देखाउन आवश्यक छ ।

सरसफाइको अवस्था र नागरिक :
स्वस्थ्यकर उपभोग्य वस्तुको प्रयोग गर्न पाउनु, स्वच्छ वातावरणमा सम्मानपूर्वक बाँच्न पाउनु मानव अधिकार हो । नेपालगन्ज उपमहानगर क्षेत्रको मात्रै कुरा गर्ने हो भने हामी हाम्रै कारणले दूषित र दूर्घन्धित वातावरणमा बाँच्न बाध्य छौं । हाम्रै कारणले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार बाट वन्चित भइरहेका छौं । दूषित र दूर्घन्धित वातावरणका कारण नागरिकहरु अस्वस्थ भई अकालमा नै ज्यानै गुमाउनु परीरहेको छ तर पनि हामी सरसफाई र स्वच्छ वातावरण प्रति चिन्तित र सम्वेदनशील छैनौं ।

हाम्रै घर, टोल, छिमेकमा फोहरमैला एवं दुर्घन्ध फैलिएको हुन्छ । हामी आफैले पनि घर पसलको फोहर व्यवस्थित गर्न सकेका छैनौं । आफ्नो घर, पसल, कार्यालय बाट निस्केको फोहरमैला बाटो तथा सार्वजनिक बाटो तथा नालीमा जथाभावी फालिदिने गर्दर्छौ । हामी आफैले गरेको फोहरमैलाले आफ्नै घरको र घर वरिपरिको वातावरण दुर्घन्धित गरी हाम्रै स्वास्थ्यमा प्रतिकूल असर पारी रहेको हुन्छ । फोहर हामीले गर्ने तर सफा स्थानीय निकाय वा संघसंस्था लगायत अरूसंग अपेक्षा राख्छौं ।

सार्वजनिक निकाय तथा कार्यालय देखि लिएर घर पसल वरीपरी स्वच्छ वातावरण देख्न पाइदैन । अव्यवस्थित रुपमा मासु खरिद–विक्री भैरहेको छ । व्यवस्थित बधशालाको अभाव छ । सडक छेउमै खोलिएका होटेलहरुबाट निस्कने धुँवा र फोहर छ । सार्वजनिक स्थलहरुमा व्यवस्थित सार्वजनिक शौचालयको अभाव र भएका सार्वजनिक शौचालयहरुको प्रयोग योग्य छैन । सार्वजनिक निकायमा रहेका शौचालयमा रहेको फोहर, प्लाष्टिकको अधिकतम प्रयोग, घर तथा पसलहरु बाट दैनिक रुपमा निस्कने फोहरमैला नाली तथा सडकमा फालिने गैर कानूनी प्रचलन आदिका कारण वातावरणीय दृष्टिकोणले हाम्रो टोल, छिमेक र शहर अव्यवस्थित छ, प्रदूषित छ, दूर्घन्धित छ र असभ्य छ ।

सरसफाई अभियान :
व्यापारिक, आर्थिक, धार्मिक, सास्कृतिक, पर्यटकीय, शैक्षिक, राजनीतिक लगायत सवै दृष्टिकोण बाट सक्षम, सवल र महत्वपूर्ण मानिएको नेपालगन्ज क्षेत्र वातावरणीय एवं सरसफाईको दृष्टिकोण बाट भने कमजोर अवस्थामा रहेको छ ।

नगरक्षेत्रको उल्लेखित अवस्थालाई मध्यनजर राखी नेपालगन्ज उपमहानगरपालिकाले नगरक्षेत्रमा सरसफाई सप्ताहको शुरुवात गरेको छ । नेपाल प्रहरी, नगरपालिका र विभिन्न संघसंस्था, वडावासी, नागरिक समाज समेतको सहभागिता रहने गरेको सरसफाई कार्यक्रम स्वागतयोग्य रहेको छ । नगर सरसफाई कार्यक्रमलाई स्थायी र दीर्घकालीन कसरी बनाउन सकिन्छ भन्ने विषयमा हामी नागरिक सजग, सचेत र जिम्मेवार बन्नै पर्ने देखिन्छ ।

नगरपालिकाले शुरुवात गरेको सरसफाई कार्यक्रमलाई हामीले आफ्नै कार्यक्रम बनाउनुपर्ने देखिन्छ । दैनिक रुपमा तरकारी वा खाद्य सामग्री खरिद गर्दा पसलबाट दिईने प्लाष्टिक झोलाको प्रयोग गर्नु भन्दा आफ्नो साथमा कपडा वा प्लाष्टिककै ठूलो झोलाको प्रयोग गर्दा प्लाष्टिकको झोला प्रगोगमा कमी आउछ र प्लाष्टिकजन्य फोहरमा कमी आउछ । सबै उपभोक्ताहरुले सदैव ठूलो झोला प्रयोग गरेका खण्डमा सरसफाईमा ठूलो सहयोग पुग्न सक्छ । त्यसैगरी पलाष्टिकजन्य झोलाहरुको प्रयोगमा पूर्ण रुपमा बन्द गरिनपर्दछ ।

उपमहानगरपालिकाको कर्तव्य :
नगरलाई व्यवस्थित, सुन्दर र वातावरणमैत्री कायम राख्नुपर्ने प्रमुख दायित्व उपमहानगरपालिकाको नै हो । स्थानीय स्वायत्त शासन ऐन र नियमावलीले नगर सरसफाईको कर्तव्य नगरपालिकालाई तोकेको छ । तत्कालीन पुनरावेदन अदालत नेपालगन्जले समेत नेपालगन्ज नगरलाई सफा सुग्घर राख्नु भन्ने फैसला समेत गरेको थियो । नगरपालिकाले न कानूनको पालना गर्ने गरेको छ न त अदालतको फैसला नै कार्यान्वयन गर्ने गरेको छ । स्थानीय नागरिकहरु समेत नगरको सरसफाईमा स्वेच्छिक रुपमा सहभागी बनीरहेदा समेत नगरपालिका आफ्नो कर्तव्य प्रति उदासिन र विमुख भएको देखिन्छ ।

नगरपालिकाकाले सरसफाईलाई प्राथमिकतामा राखेको व्यवहारतः देखिदैन । नेपालगन्जको व्यस्त बजार अदालत चौक देखि सदरलाईन, त्रिभुवन चौक, त्रिवेणी मोड, वागेश्वरी मन्दीर हुँदै धम्बोजी चौक सम्मको सडक नालीको विहान र साझ अवलोकन गर्ने हो भने नगरपालिका सरसफाई प्रति कति गैरजिम्मेवार छ भन्ने कुरा आफै स्पष्ट हुन्छ । विहान ८.०० बजे सम्म सडकको फोहर नउठाई सडक बाटोमा नै थुप्रिएको देखिन्छ ।

नगरपालिकाको इच्छाशक्ति हुने हो भने नगर सरसफाई कुनै समस्या होइन । नगरपालिकामा सरसफाईको लागि प्रयाप्त साधन र श्रोत रहेको छ । सो को सदुपयोग हुन सकेको देखिदैन । धुलो धुवालाई नियन्त्रण गर्न दिनमा कम्तिमा एक पटक सडक बाटोमा पानी हाल्ने व्यवस्था समेत गरिनुपर्दछ । सडक छेउमा रहेका सवै व्यापारीहरुले आफ्नो होटेल, पसल बाट निस्कने फोहरमैला नाली वा सडकमा नफाली ठूलो डष्टविनमा राख्ने कार्यलाई अनिवार्य रुपमा लागू गर्नु गराउनु पर्दछ ।

घरबाट निष्कने फोहरमैला आफ्नै घरभित्र खाल्डो बनाई जलाउने तथा गाड्ने व्यवस्था गर्नुगराउनु पर्दछ । सार्वजनिक निकाय तथा कार्यालयहरुले समेत आफ्नो कार्यालयको फोहरलाई कार्यालय हाता भित्रै व्यवस्थित गर्ने वातावरणको सृजना गर्न आवश्यक छ । नगरपालिकाले सरसफाई मापदण्ड बनाई सम्पूर्ण नागरिकहरु लाई वितरण गरी लागू गर्न सूचित गर्नुपर्दछ । सरसफाई मापदण्डको पालना भए नभएको विषयमा नियमित रुपमा अनुगमन गर्न समेत आवश्यक छ । कोही कसैले सरसफाई मापदण्डको पालना नगरे नगराएका खण्डमा सो को अवस्था समेत देखिने गरी नाम सहित पत्रपत्रिकामा प्रकाशित गर्ने र आवश्यक जरिवाना समेत असूल उपर गरी सरसफाई गर्न बाध्य पार्ने स्थितिको सृजना गर्न समेत आवश्यक छ ।

यदि कोही कसैले पटक पटक सरसफाई मापदण्डको उल्लंघन गरेका खण्डमा नगरपालिका बाट दिईने सेवा सुविधा बाट समेत वन्चित गरिनुपर्दछ र सरसफाई जस्तो सम्वेदनशील विषयमा सवै नागरिकलाई जिम्मेवार र सचेत बनाउनु पर्दछ ।

प्रतिक्रिया

प्रतिक्रिया