यातना पीडितलाई सहयोग

प्रहरी हिरासतमा यातना पाएका कोहलपुर नगरपालिका–१५ का एक युवालाई आर्थिक सहयोग गरिएको छ । १८ वर्षीय दिपक यादवको उपचार सहयोगका लागि मानव अधिकार सहायता कक्षले शुक्रवार आर्थिक सहयोग गरेको जनाएको छ ।
मानव अधिकार सहायता कक्षले पीडितको थप उपचारका लागि सहयोग स्वरुप १० हजार रुपिया प्रदान गरेको इन्सेकका प्रदेश प्रमुख भोला महतले जानकारी दिए ।
इन्सेकका अनुसार, जिल्ला प्रहरी कार्यालयले चोरीको आरोपमा गिरफ्तार गरी हिरासतमा राखेर कुटपिट गरेको र यातना दिने प्रहरीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग भन्दै पीडितपक्षले ०७६ पुस २३ गते राष्ट्रिय मानव अधिकार आयोग, नेपालगन्जमा उजुरी दिनुको साथै इन्सेक नेपालगन्जमा बोधार्थ दिएका थिए । घटनाको राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गरिरहेको जनाएको छ । डिसिएको सहयोगमा स्थापना गरिएको मानव अधिकार सहायता कक्षको सचिवालय इन्सेक, नेपालगन्जमा रहेको छ ।

राष्ट्रिय मानव अधिकार आयोग, नेपालगन्जका प्रमुख चन्द्रकान्त चापागाईले पीडितको उपचारमा आर्थिक समस्या देखिएकोले उपचारमा सहयोग पु¥याउन राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार सहायता कक्षलाई सिफारिश गरेको बताए ।

बसमा यात्रा गर्ने क्रममा ०७६ पुस १३ गते एक जना महिलाको झोला र आवश्यक कागजात हराएको भन्दै पुस १६ गते नेपालगञ्जबाट कोहलपुरतर्फ जादै गरेको भे १ ख २२३९ नम्बरको बसलाई प्रहरीले कारकादो चोकमा रोकेर यात्रुलाई झार्न लगाई बसका चालक कोहलपुर नपा–६ बस्ने सुवास थारु, कन्डक्टर कोहलपुर नपा–७ बस्ने जंगली थारु र सहचालक दिपक यादवलाई जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको थियो ।
प्रहरी कार्यालयमा लगेर समान चोरेको आरोपमा लाठीले कुटपिट गरेको र खुट्टा पसार्न लगाएर बुटले कुल्चेर यातना दिएको दिपकको भनाइ छ । सोही कारण उभिन र हिंड्डुल गर्न नसक्ने यादवलाई नेपालगन्ज नर्सिङ होममा पुस १७ गते र पुनः पुस २१ गते उपचार गरिएपनि पुर्ण रुपमा ठिक नभएको पीडितले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया