बर्तमान लकडाउनका कारण द्वन्द्व पीडितलाई परेको अप्ठरो बारे टिजे संजाल बाँकेले चासो राखेको छ । संक्रमणकालिन न्याय संजाल बाँकेको संयोजनमा भएको भर्चुअल बैठकमा अधिकारकर्मीले लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदुर, यातना पीडित, अशक्त, अपाङ्गता भएका द्वन्द्व पीडितलाई निकै दैनिक अप्ठेरो परेको अधिकारकर्मी वसन्त गौतमले बताए ।
भर्चुअल बैठकमा टिजे संजालका संयोजक चन्द्रकला उप्रेती, संजालका पर्यवेक्षक राष्ट्रिय माननव अधिकार आयोगका नेपालगंज शाखाका प्रमुख चन्द्रकान्त चापागाई, सदस्यहरु इन्सेकका ५ नं प्रदेश संयोजक भोला महत, नेपालगंज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष बिकाश आचार्य, पत्रकार लक्ष्मी तिमिल्सेना लगायतको सहभागिता रहेको थियो । बैठकमा टिजे संजाल संयोजक चन्द्रकला उप्रेतीले द्धन्द्धको मारमा परेका पीडितहरु अहिलेको अवस्थाले झनै पीडित बनाएको बताईन । कति पीडितहरुलाई साँझ बिहान हातमुख जोड्न समस्या छ भने कतिलाई दैनिक खानु पर्ने औषधी खरिद गर्न पैसा नहुदा समस्या परेको उप्रेतीले बताईन ।
स्थानिय सरकारले राहत बाडे पनि कतिपय निम्न आय भएका र जोखिममा रहेका सबै द्धन्द्ध पीडितले पाउन नसकेको भन्दै राहत र स्वास्थ्य उपचारमा सम्बन्धित पक्षको ध्यान जानु पर्नेमा उप्रेतीले जोड दिईन । राष्ट्रिय मानव अधिकार आयोगका नेपालगंज शाखा प्रमुख चन्द्रकान्त चापागाईले लकडाउनका कारण औषधी खरिद गर्न बजार आउन नपाउनेका लागी र लक्षित बर्ग भएर पनि राहत नपाउनेका लागी पहल गर्न सकिने बताए । इन्सेकका भोला महतले अप्ठेरोमा परेका पीडितको संख्या पत्ता लगाई सहयोगका लागी पहल गन सकिने बताए । नेपालगंज उच्च बारका अध्यक्ष बिकाश आचार्यले लक्षित बर्ग भएर पनि द्धन्द्ध पीडित राहत नपाएको भए स्थानिय तहसंग कुरा गर्न सकिने बताएका थिए । महिला कानून र बिकाश मञ्चको संयोजनमा गठन भएको टिजे संजालले द्धन्द्ध पीडितको न्याय र द्धन्द्ध ब्यवस्थापनमा कार्य गर्दै आएको अधिवक्ता वसन्त गौतमले बताए ।