बाँकेको आसमानपुर स्थित बालसुधार गृहमा रहेका बालकहरुका लागी औषधी र साबुन बितरण गरिएको छ । छाला सम्बन्धि रोगबाट पीडित बालकहरुका लागी औषधी बितरण गरिएको हो ।
२ दिन अघि अनुगमका क्रममा मानव अधिकारकर्मीको टोलीले बाल सुधारगृहमा रहेका बालकहरुमा अत्याधिक मात्रामा छाला सम्बन्धी रोगको संक्रमण देखि उपचारको पहल थालेका थिए । कोहोनाको कहरमा सुधार गृहमा रहेका बालकहरु छाला सम्बन्धी रोगबाट पीडित भए पनि उपचार नपाए पीडित अधिकारकर्मीसंग सहयोगको आग्रह गरेका थिए । अधिकारकर्मीले तत्काल औषधी ब्यवशायीसंघ बाँकेलाई सहयोगको आग्रह गरेका थिए ।
छाला सम्बन्धि रोगको संक्रमणबाट अत्याधिक बालकहरु पीडित भएको पाए पछि अनुगमनमा गएका अधिकारकर्मीले औषधीको ब्यवस्थापन गरि दिएका हुन । अधिकारकर्मी र औषधी ब्यवशायी संघका प्रतिनिधि सहितको टोलीले मंगलबार बालसुधार गृहमै पुगेर बालकहरुलाई औषधी बितरण गरेको अधिकारकर्मी वसन्त गौतमले जानकारी दिए ।
औषधी ब्यवशायी संघ बाँकेका महासचिव जिवन शर्माले तिस हजार बढीको छाला सम्बन्धी औषधी सहयोग गरेका थिए । यस क्रममा गोल्डेन एज अनलाईन प्रालीका तर्फबाट पत्रकार जयसिंह केसी र लाइन्स क्लव डिष्टिक एडभाईजर चिन्तामणि धितालले एक÷एक कार्टुन (१४४ पिस) डिटोल साबुन प्रदान गरेका थिए ।
यस क्रममा एडभोकेसी फोरमका संयोजक बसन्त गौतम र नेपालगंज उच्च बारका अध्यक्ष बिकाश आचार्यले बालकहरुलाई बालन्याय र कानूनी प्रक्रियाका बारेमा जानकारी गराएका थिए । यसै गरि औषधी ब्यवशायी संघ बाँकेका महासचिव जिवन शर्माले कोरोना संक्रमणबाट बच्ने उपाय र सावधानी बारे जानकारी गराएका थिए । औषधी बितरण कार्यक्रममा बालसुधार गृहकी प्रमुख बिमला काउचा मगर, अधिकारकर्मीहरु फियान नेपालका नेपालगंज प्रमुख सुरेश कुमार गौतम, आईएचआरसीका अध्यक्ष बिश्वजित तिवारी र उपाध्यक्ष कृष्ण मुरारी भट्ट, सुधार गृहका प्रसनी फत्ते चौधरी समेतको उपस्थिति थियो । कोरोना कहरमा बालसुधार गृहमा रहेका बालकको कसैले वास्ता नगरेको अवस्थामा छाला रोगको सक्रमणबाट पीडित बालकहरुले औषधी पाए पछि राहत महसुस गरेका थिए ।
७५ जनाको क्षमता भएको सुधार क्षमता भन्दा बढी १०० बालकहरु छन् । सिमित कोठामा कोचाकोच बसाइ, मुद्धाको कारवाही बारे बेखवर, नियमित स्वास्थ्य जाँच नहुँने, स्वच्छ खानेपानीको समस्या, शौचालयको सेफ्टी टंकीको ब्यवस्थापनमा नहुनु, औपचारिक शिक्षाबाट बन्चित हुन परेको भनी सुधार गृहमा रहेका बालकहरुले अधिकारकर्मीलाई बताएको अधिकारकर्मीले बताएका छन् । बालसुधार गृहका लागी साढे चार बिगाहा जग्गा दिएका समाजसेवी जे.के सिंहले बाल सुधारमा आवश्यक मापदण्ड पुरा नहुँदा दुख लागेको बताए ।
२ वटा भवन रहेको बालसुधार गृहका ३ कोठा र २ वटा सभाहलमा बालकहरु कोचाकोछ बस्न बाध्य छन् । कोरोना संक्रमण फैलिने जोखिम रहेका बेलामा एउटै हलमा ३० जनासम्म बस्नु परेको गुनासो गरेका थिए । बालसुधार गृहमा आवश्यक बजेट अभावमा त्यहा रहेका बालकहरुको नियमित स्वास्थ्य उपचार हुदैन । कुनै रोगको उपचार गर्नु परेमा बालकहरु आफैले पैसा तिर्नु पर्दछ । सुधार गृहमा छालाको मात्रै होईन एक ११ बर्षका बालकमा मानसिक रोगको समस्या छ भने अर्का एक बालक बेहोस हुने समस्याका रहेको पाइएको अधिकारकर्मीले बताएका छन् ।











