नेपालगन्जको वडा नं. १ पुरै सिल

एकै दिन ठूलो संख्यामा कोरोना भाइरसका संक्रमित भेटिएपछि नेपालगन्ज वडा नं. १ ले आफ्नो सम्पूर्ण नाका शिल गरिएको जनाएको छ । ‘वडा नं. १ का सबै नाकालाई पूर्ण रुपमा शिल गर्ने निर्णय गरिएको छ’, वडाध्यक्ष प्रमोद रिजालले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि स्थानीय धम्बोझी युवा क्लबसँग स्वयंसेवक परिचालनमा सहकार्य गरेका छौं ।’


वडा नं. १ ले सार्वजनिक सूचना नै जारी गरेर वडा प्रवेशका सबै नाकाहरु बन्द गर्ने जनाएको छ । ‘अत्यावश्यक कामका लागि आउजाउमा निगरानी गरी आवश्यक व्यवस्था मिलाउन धम्बोझी युवा क्लबका सदस्यहरुले सहकार्य गर्नेछन्’, वडाध्यक्ष रिजालले भने, ‘प्रहरी, प्रशासन, स्वास्थ्यकर्मी, सफाईकर्मी बाहेकलाई प्रवेश पूर्णतः निषेध गरिएको छ ।’

तरकारी, फलफुल पनि बाहिरबाट प्रवेश बन्द गरिएको छ । ‘यो अवस्थाको एउटा निक्र्यौल नहुँदासम्म वडा भित्रै जे छ त्यही खाने हो’, वडाध्यक्ष रिजालले वडाबासीलाई सहयोगको अपिल गर्दै भने, ‘पहिलो प्राथमिकता भनेको हामी सबैको स्वास्थ्य हो, त्यसपछि रुचि र चाहनाका कुरा ।’

वडाको निर्णयसँगै युवाहरु वडाका सबै नाकाहरुमा परिचालित भैसकेका छन् । वडा नं. १ ले औपचारिक निर्णय नै गरेर नाका सिल गरिरहँदा वडा नं. २ घरबारीटोलका युवाहरुले आफ्नो टोल प्रवेशका सबै नाका बन्द गराएका छन् । स्थानीयबासीले दिएको जानकारी अनुसार, जोखिम बढेपछि टोल प्रवेशका नाकाहरुमा अवरोध सिर्जना गरिएको हो । ‘खासगरी साइकल, ठेलामा तरकारी बेच्नेहरुले संक्रमण फैलाउने आशंका छ’, नाका बन्द गराउन सक्रिय युवाले भने ।
यसअघि नै जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्जका चार स्थानको नाका शिल गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया