साँझ ४ बजेपछि मात्रै नेपालगन्जमा लकडाउनको अनुभूति हुने गर्दछ । जिल्ला प्रशासन कार्यालयले साँझमा भीडभाड हुन थालेपछि चार बजेपछि औषधी बाहेक अन्य पसलहरु बन्द गर्ने घोषणा गरेको थियो । त्यसयता साँझ चार बजेसम्म निर्वाध रुपमा मानिसहरु हिडडुल गर्दै आएका छन् । ४ बजेसम्म अत्यावश्यकीय खाद्यान्न मात्र होइन अन्य पसलहरु पनि खुल्न थालेका छन् ।
साँझ ४ बजेपछि भने लकडाउन मात्रै नभई कफ्र्युको आभाष हुने गरेको छ । सडकमा खटिएका सेना र प्रहरीले कडाई गर्छन् । बुधबार मात्रै लकडाउन उल्लंघन गरेको भन्दै समूहमा हिडेका ३७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई प्रहरीले सम्झाएर छाडेको थियो । त्यस्तै २१ वटा मोटरसाइकल र स्कुटरको चाबी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
नगरमा लकडाउनको प्रभाव देखिएपनि गाउँमा भने त्यसको कुनै प्रभाव छैन । बाँकेका गाउँपालिकाहरु पुग्ने हो भने सतर्कताका उपायहरु नअपनाइ मानिसहरु आआफ्नो काम गरिरहेको देखिन्छ । न मास्क लगाएको पाइन्छ, न सामाजिक दुरी कायम गरेको पाइन्छ ।











