दिउँसो घाम, साँझ पसल बन्द हुँदा विना काम हिड्नेले बहाना पाएनन्
गत चैत्र ११ गतेदेखि मुलुक लकडाउनमा रहेको छ । सुरुको दिनमा लकडाउन पालना गराउन प्रशासनलाई हम्मेहम्मे पर्यो । प्रशासन, प्रहरीको आग्रहलाई मानिसहरुले अटेरी गरे । सकडमा निर्वाध हिडे । भीड जम्मा भए । सामाजिक सञ्जालमा व्यापक आलोचना हुन थाल्यो ।
लकडाउनको पालनामा लापरवाही भएपछि प्रहरीले कडाई गर्यो । सेना समेत सडकमा छाडियो । चोकचोकमा यातायातका साधन रोकिए । सीमाबाट भित्रिने मानिस दशगजामै रोकियो । लकडाउनको ३/४ पछि मानिसहरु लकडाउनको अभ्यस्त भए । तर, फेरि लकडाउनमा लापरवाही गर्न थालिएको छ । दिनभर जसो सडक सुनसान भएपनि साँझ एक्कासी भिड लाग्ने गर्यो ।
कोरोना रोकथाम सम्बन्धी उच्च स्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक वस्तु उत्पादन गर्ने, उद्योग–प्रतिष्ठान खोल्न दिने निर्णय गर्दै आव्हान समेत गरेपछि लकडाउन खुकुलो भएको भन्दै मानिसहरु सडकमा निस्कन थाले । अझ विहान मर्निङवाक र साँझ सामान किन्नेको बजारमा भीड नै लाग्यो ।
प्रहरीले विना काम हिड्नेहरुको मोटरसाइकलको चाबी खोस्ने, मानिसहरु नियन्त्रणमा लिएर साँझसम्म राख्न थालेपछि लकडाउन केही प्रभावकारी भएपनि सामान किन्ने बहानामा मानिसहरु घरबाट बाहिर निस्कन छाडेनन् ।
तर, सोमबारदेखि जिल्ला प्रशासन कार्यालय बाँकेले अत्यावश्यकीय पसलहरु खोल्ने समय छुट्याइदिएपछि सकडमा लकडाउन उल्लंघन ह्वात्तै घटेको छ । प्रशासनले साँझ ४ बजेपछि औषधी बाहेकका पसल खोल्न नपाइने भनेपछि सडकमा सन्नाटा जस्तै देखिन थालेको छ । ‘साँझ विना काम हिड्न थालेपछि पसल खोल्ने समय तोकिदिएका हौं’, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले भने ।
नेपालगन्जको तापक्रम दैनिक बढ्दो क्रममा रहेको छ । दिउँसो चर्को घाम लाग्ने गर्दछ । मंगलबार नेपालगन्जको अधिकतम तापक्रम ३३ डिग्रीसेल्सियस भन्दा बढी थियो । दिउँसो घाम र साँझ पसल बन्द हुँदा मानिसहरु विना काम हिड्न छोडेका हुन् ।