बाँकेको राप्तीसोनारी गाउँपालिका—७ का वडाध्यक्ष रामलखन थारुको दिनचर्या बदलिएको छ । पहिले वडावासी जनता अध्यक्षलाई भेट्न उहाँ बसेको ठाउँमा आउँथे, अहिले भने जनता भेट्न वडाध्यक्ष थारु उनीहरुको घरदैलोमा पुग्नुहुन्छ । कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दी लम्बिदै गएपछि बाँकेका जनप्रतिनिधिहरु जनताको घर–घरमा पुगेर बन्दाबन्दीले दैनिक जिविकोपार्जनबाट प्रभावित बन्न पुगेका मजदूर तथा विपन्न समुदायलाई तत्काल राहत वितरण गर्ने गरेका छन् ।
वडाध्यक्ष थारुले आफूहरु जनताको घरमा चुलो बलेको छ कि छैन भन्ने अनुगमन गर्दै चुलो नबल्ने अवस्थामा अत्यावश्यकीय खाद्यान्नको व्यवस्था गरिरहेको बताउनुभयो । “सबैलाई राहत वितरण गर्दा समय लाग्न सक्छ, त्यसैले हामी जनताको घर–घरमा पुगेर साँझ बिहान खानेकुराको समस्या परेकालाई पहिलो प्राथमिकतामा राखेर सहयोग गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “लकडाउनका कारण कोही पनि वडावासीलाई हामी भोकै बस्न दिदैनौँ, सबैको घर–घरमा पुगेर अवस्था अनुसारको सहयोग गरिरहेका छौँ ।” नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० का अध्यक्ष कृष्ण कार्कीले बन्दाबन्दीबाट प्रभावित अपाङ्गता भएका व्यक्ति तथा विपन्न समुदायलाई दैनिक उपभोग्य सामग्री सङ्कलन गरेर वितरण गर्दै आएको बताउनुभयो ।
दैनिक गरिखाने मजदूर तथा विपन्न समुदायलाई साँझ विहान खानाको अभाव भएपछि वडा नं. २० ले घर–घरमा पुगेर अति आवश्यक खाद्यान्न वितरण गरेको उहाँको भनाइ छ । राप्तीसोनारी गाउँपालिका— ६ का वडाध्यक्ष जनक थारुले जनताको घरमा चुलो नबल्ने अवस्था रहेको जानकारी प्राप्त भएको आधा घण्टामै राहत सामग्रीसहित सम्बन्धित व्यक्तिको घरमा पुग्ने गरेको जानकारी दिनुभयो । “लकडाउनका कारण काम गरेर खाने विपन्नहरुलाई धेरै समस्या परेको छ, लगत सङ्कलनको काम भइरहेकोे छ तर दाल चामल नभएर चुलो नबल्ने अवस्था रहेमा तत्काल फोन गर्न आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो, “फोन आउनासाथ आवश्यक राहतसहित जनताको घरदैलोमा पुगेका छौँ, यो जनताको सेवा गर्ने मौका पनि हो ।”
कोरोना भाइरस महामारीको त्रास फैलिएका बेला वडाध्यक्षनै घर–घरमा राहत र सहयोग लिएर आउन थालेपछि वडावासी दङ्ग छन् । स्थानीय अगुवा अमर खड्काले भन्नुभयो, “अहिलेको जटिल परिस्थितिमा पनि जनप्रतिनिधिले घर–घरमा स्थानीय सरकारको उपस्थिति जनाएको छ, यो खुशीको कुरा हो ।” खजुरा गाउँपालिका वडा नं.४ का अध्यक्ष तीलकवीर सुनार हिजो–आज वडा कार्यालय र घरमा भेटिनुहुँदैन । “वडावासी जनतालाई भोकै बस्ने अवस्था आउन नदिन सजक छौँ, टोल–टोलमा पुगेर अवस्था अध्ययन गरी नयाँ व्यक्ति प्रवेश गर्न नदिन लागि परेका छौँ”, उहाँले भन्नुभयो ।
खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले गाउँपालिकावासी कोही पनि बन्दाबन्दीका कारण भोकै बस्न नपर्ने गरी आवश्यक तयारी गरिएको बताउनुभयो । जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले बन्दावन्दीका कारण समस्यामा परेका मजदूर तथा विपन्न समुदायलाई सहयोगका लागि वडाध्यक्षलगायत सबै जनप्रतिनिधिलाई जनताको घर–घरमा परिचालन गरेको बताउनुभयो ।