नेपालगन्जमा तेस्रो मेयर कप शारीरिक सुगठन प्रतियोगिता आयोजना गरिने भएको छ । आगामी फाल्गुन १६ र १७ गते प्रतियोगिताको आयोजना गर्न लागिएको बाँके जिल्ला शारीरिक सुगठन तथा फिट्नेश संघले जानकारी दिएको छ ।
प्रतियोगिताबारे जानकारी दिन शनिबार नेपालगन्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष मनोज कुमार श्रेष्ठले प्रतियोगितामा दुई राउण्डको प्रतिस्पर्धा गराइने जानकारी दिएका छन् । ‘पहिलो दिन प्रि–जजिङ र दोस्रो दिन फाइनल प्रतियोगिता हुनेछ,’ अध्यक्ष श्रेष्ठले भने ।
प्रतियोगितामा ६ वटा तौल समूहमा प्रतिस्पर्धा गराइने आयोजकले जानकारी दिएका छन् । ‘५५, ६०, ६५, ७, ७५ र ७५ प्लस तौल समूह बीच प्रतिस्पर्धा गराइनेछ’, अध्यक्ष श्रेष्ठले भने । प्रतियोगितामा ३ लाख ३५ हजार खर्च हुने अनुमान आयोजकले गरेका छन् ।
प्रतियोगिताको उपाधी विजेतालाई प्रमाणपत्र, ट्रफि सहित २० हजार नगद पुरस्कारको व्यवस्था गरेको आयोजकले जानकारी दिएका छन् । वजन समूहमा उत्कृष्ट हुनेलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । फाइनल खेलमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई स्वर्ण पदक सहित ५ हजार, दोस्रो हुनेलाई रजत पदक सहित ३ हजार र तेस्रो हुनेलाई काँस्य सहित २ हजार पुरस्कार तथा प्रमाणपत्रको व्यवस्था गरिएको छ ।