नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले बागेश्वरी गुठीको जग्गा हिनामिना गर्नेलाई कारवाही गरिनेमा आफु विश्वस्त भएको बताएका छन् । मंगलबार एउटा कार्यक्रममा पत्रकारहरुसँग प्रस्तुत भएका बागेश्वरी गुठीका अध्यक्ष समेत रहेका नगर प्रमुख डा. राणाले सरकारले केन्द्रीय स्तरबाटै छानविन गरी निर्णय समेत गरिसकेकाले दोषीलाई कारवाही हुनेमा आफु विश्वस्त रहेको बताए ।
बागेश्वरी गुठीको जग्गाको खोजबिनका लागि उपप्रमुख उमा थापा मगरको संयोजकत्वमा जाँचबुझ समिति बनाउँदा मालपोत लगायतका सरकारी निकायबाटै सहयोग नपाएको सम्झँदै गुठी अध्यक्ष डा. राणाले भने, ‘काठमाडौंको सम्पत्ति खोज्न बनेको समिति नेपालगन्ज आएपछि सबै कागजपत्र फेला पर्यो ।’ बागेश्वरीको सम्पत्ति फेला परेकोमा खुशी व्यक्त गरेका डा. राणाले आफुलाई अनाहकमा बदनाम गरिएको दुःखेसो पनि गरे ।
‘मन्दिरको जग्गा फेला पर्नु र फिर्ताका लागि सरकारले पहल गर्नु खुशीको कुरा हो’, डा. राणाले यी सबै प्रक्रियामा आप्mनो कुनै भूमिका नरहेपनि उपमहानगरपालिकाको गेटको अगाडि धर्ना, प्रदर्शन गरिएको टिप्पणी गर्दै भने, ‘अझ मलाई नै गब्बर सिंह बनाउन खोजिएको छ ।’
सरकारद्वारा गठित सार्वजनिक, सरकारी र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगका सदस्य जगत देउजाको टोली नेपालगन्ज आएर अनुसन्धान गरेर सरकारलाई प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनलाई आधार बनाएर सरकारले बागेश्वरी मन्दिरको नाममा रहेको ८४ विगाह जमिन फिर्ता गर्ने निर्णय गरेको थियो । नगर प्रमुख डा. राणाले बागेश्वरी गुठीको जग्गामा बसिरहेकाहरुको व्यवस्थापनका लागि सरकारले उचित निर्णय लिने कुरामा पनि आफु विश्वस्त रहेको बताए ।
‘सरकारले सुरुमा गुठीको सम्पत्ति बेच्नेहरुलाई कारवाही गर्ने भनेको छ’, गुठी अध्यक्ष समेत रहेका नगर प्रमुख डा. राणाले पत्रकारहरुसँग भने, ‘लामो समयदेखि सम्पत्ति खरिद गरेर बसिरहेकाहरुलाई भने यथोचित व्यवस्थापन गर्ने कुरामा सरकारले पक्कै केही सोंचेको होला ।’ उनले आन्दोलन आफुतिर लक्षित नगर्न पनि आग्रह गरे ।