नेपालगन्ज – बाँकेको खजुरा गाउँपालिकामा रहेको ज्ञानोदय नमूना माबिमा नयाँ ब्यबस्थापन समिति सर्बसम्मत चयन गरिएको छ । शनिबार भएको अभिभावक भेलाले भक्तबहादुर केसी, तुलाराम गिरी, लालसरी खत्री र गीता गोदारलाई व्यवस्थापन समितिमा चयन गरेको हो ।
शिक्षक अभिभावक संघका अध्यक्ष सज्जन थापाको अध्यक्षतामा भएको कार्यक्रममा ज्ञानोदय नमूना माबिका प्रधानाध्यापक ऋषिराम सापकोटा, निबर्तमान अध्यक्ष महेन्द्र मल्ल, बेदनिधी प्याकुरेल, शिवराज श्रेष्ठ, पूर्णबहादुर भण्डारी, शिक्षक अभिभावक संघका निबर्तमान अध्यक्ष मानबहादुर भण्डारी लगायतले शुभकामना दिदै शैक्षिक गुणस्तर सुधार्न नयाँ निर्वाचित समितिको काँधमा जिम्मेवारी आएको बताए ।
छनौट समितिमा खजुरा गाउँपालिकाका योजना अधिकृत दिलबहादुर पौडेल, श्रोत ब्यक्ति टंक दाहाल, वडा नं ३ का सचिब थानेश्वर न्यौपाने रहेका थिए । निर्वाचित ४ सदस्यले २ जना अभिभावक मनोनित गर्ने, सम्बन्धित वडाको प्रतिनिधि पदेन सदस्य, शिक्षकहरुबाट शिक्षक प्रतिनिधि, बिद्यालयको प्रअ स्वतः सदस्य सचिब रहने ब्यबस्था अनुरुप यही टिमले नयाँ अध्यक्ष निर्वाचित गर्ने प्रावधान रहेको जनाइएको छ । सदस्यमा सर्वसम्मत चयन भएका केसी उक्त बिद्यालयका निबर्तमान अध्यक्ष हुन भने लामो समय शिक्षण पेशाबाट अवकास प्राप्त एक असल शिक्षक, असल अभिभावक र अग्रज समाजसेवी भएको अभिभावकहरु बताउछन् ।










