नेपालगन्ज – विगत केहि वर्षदेखि बाँकेको नरैनापुर गाउँपालिकामा हरेक वर्ष सञ्चालन हुने साँस्कृतिक उत्सव कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएको छ । सामाजिक सद्भावको क्षेत्रमा विगत ४ वर्षदेखि कार्यक्रम सञ्चालन गर्दै आएको बास नेपालगन्जले केही बर्ष यता सामाजिक सद्भाव प्रवद्र्धनका लागि सांस्कृतिक उत्सव गर्दै आएको छ ।
सोही कार्यको निरन्तर्ता स्वरुप यूएनडीपी र नरैनापुर गाउँपालिकाको सहयोग तथा बासको आयोजनामा नरैनापुर गाउँपालिकाको वडा नं. ४ को आप बगियामा सोमवार सांस्कृतिक उत्सव सम्पन्न भएको छ । बिभिन्न धर्म, समुदाय तथा जातजातीको वसोवास रहेको नरैनापुर क्षेत्रमा सामाजिक शद्भाव, सामुदायिक मेलमिलाप र एकताको सन्देश दिने उद्देश्का साथ कार्यक्रम आयोजना गरिएको आयोजक संस्था बासका कार्यक्रम संयोजक शम्भु शाहीले बताए ।
सांस्कृतिक उत्सवमा बिभिन्न धर्म तथा जातजातीको सांस्कृतिक झाँगीहरु तथा बिभिन्न साँस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा मुस्लिम धर्मावलम्बीहरुले मोहर्रम पर्वमा बजाउने बाजा तथा हिन्दु धर्मावलम्बिहरुको भजन प्रस्तुत गरिएको थियो भने स्थानीय धार्मिक गुरुहरुले सामाजिक सद्भावको सन्देश दिने गित तथा कविता प्रस्तुत गरेका थिए । कार्यक्रममा वरिष्ठ कलाकार कमल बिके निर्मोही र श्यामानन्द सिंहले सांस्कृतिक प्रस्तुतिकरण गरेको कार्यक्रममा बिभिन्न कलाकारहरुले सामाजिक सद्भाव झल्किने नाटक, गित तथा नृत्य प्रस्तुत गरिएका थिए ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गाउँपालिका जनप्रतिनिधि, सुरक्षा निकाय बिभिन्न सामाजिक सद्भाव समिति, संघ संस्था, पत्रकार, स्थानीय गरि १ हजार बढीको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष ईस्तियाक अहमत साहले सामाजिक सद्भाव प्रवद्र्धनका लागि बासले महत्वपूर्ण भूमिका खेलेको बताए । विगतका केही बर्षहरुमा दुई धर्म बीच भएको द्वन्द्व, विवाद तथा झैझगडाले सामाजिक सद्भावमा असर पुगेको स्मरण गर्दै अध्यक्ष साहले भने, ‘पछिल्ला केहि वर्ष यता सबैको प्रयासका कारण नरैनापुरको सामाजिक सद्भाव मजबुद बनेको छ ।’ विभिन्न धर्म, समुदाय तथा जातजातीहरु एक आपसमा मिलेर बस्ने गरेको बताउँदै एक अर्कामा भाइचाराको सम्बन्ध स्थिापित भएको साहको भनाइ थियो ।
कार्यक्रममा नरैनापुर गाउँपालिका वडा नं. ३ का अध्यक्ष राज कुमार मौर्य, गैसस महासंघ बाँकेका सल्लाहकार तेजविक्रम शाह, महेन्द्र मावि मटहियाका पूर्व प्रअ पेस्कार सिंह लगायतले बोलेका थिए । बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाको अध्यक्षतामा भएको सांस्कृतिक उत्सवको सञ्चालन बासका प्रदेश २ का संयोजक मक्वुल अहमत मुकेरीले गरेका थिए भने महासचिव शिव कुमार वर्माले स्वागत तथा कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए । सामाजिक सद्भाव प्रवद्र्धनका लागि बासले ३ वर्षदेखि साँस्कृतिक उत्सव गर्दै आएको छ ।











