श्रष्टाको जन्मोत्सवमा कृति

साहित्यकार किरण आचार्यले आफ्नो ६३ औँ जन्मदिनमा तेस्रो कृति लोकार्पण गरेकी छन् । थारु भाषामा लिखित उनको तेस्रो कृति सँप रजुवा (बट्कुही संग्रह–२०७७) को नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनतकुमार रेग्मी र पूर्व रक्षामन्त्री पत्तेसिंह थारुले सोमवार आचार्य निवासमै विमोचन गरेका हुन् । यसअघि उनको लघु कविता संग्रह–२०६१ र अस्तित्व (लघु कविता संग्र्रह–२०६५) प्रकाशित छन् ।

श्रष्टा आचार्यका अनुसार, बाँके, बर्दिया र दाङका थारु गाउँमा गएर कथा संकलन गरिएको छ । थारु समुदायको बास्तविक तस्वीर झल्किने गरि कथावस्तु रहेको सँप रजुवा कथा संग्रहमा थारु समुदायमा प्रचलित पुराना कथा (बट्कोही) समेटिएका छन् । थारु समुदायको तस्वीर झल्किने गरि कथा लेखिएको बताउँदै उनले कथाले सकारात्मक सन्देश दिनुका साथै ज्ञानबद्र्धक समेत भएको बताइन् ।

कोहलपुर नगरपालिकाका उपमेयर सञ्जु चौधरीले थारु समुदायले गर्न चुकेको साहित्य सिर्जना गरेर साहित्यकार आचार्यले थारु समुदायलाई ठूलो गुण लगाएको बताइन् । उनले कला, संस्कृतिसँगै साहित्यमा थारु समुदाय धनी भए पनि लिखित रुपमा बाहिर आउन नसक्दा हराउँदै गएको बताइन् ।

कार्यक्रममा सर्वदा साहित्य संगमका अध्यक्ष एवम् गजलकार खगेन्द्र गिरि (कोपिला), पत्रकार पूर्णलाल चुके, प्राध्यापक डा. जनार्दन आचार्यले विचार राखेका थिए । कार्यक्रममा साहित्यकारहरु महानन्द ढकाल, सुमित्रा न्यौपाने, दिला शाह, अमृत ढकाल निर्जन, पुष्कर रिजाल, वीपी अस्तु लगायतले कृति र जन्मोत्सवको शुभकामना दिएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया