विष्णु पादुका
सात दिनदेखिको उकालो र ओरालोको थकाइले सबै चुर थिए । हतार हतार चौंरीको भारी झार्ने पाल टाँस्ने आगो बाल्ने गर्दा साँझ संगै हिउँले पनि छोप्यो । सबैलाई आगो बालेर केही थुक्पा बनाउन हतार भयो । लुन्डुप र ङिमा पनि गुईठा जोडेर आगो सल्काउन थाले । तल खोलाबाट ल्याएको पाँच लिटरको ग्यालिनमा ल्याएको पानी कित्लीमा खनाएर चिया बनाए । बिहान छ्याङ्ग सँग मुछेर ल्याएको सातुको डल्लो आधै बाँकी थियो । दुबैजनाले आधा आधा सातुको डल्लो र चिया खाए । छ्याङ्गको स्वाद सातुमा छँदै थियो । तर उनिहरुलाई छ्याङ्गको तलतलले भोकलाई उछिनेर ल्यायो ।
‘टि आराक थुङ कोइ’, ङिमाले अलिकति रक्सी पिउने प्रस्ताव राख्यो । लुन्डुपलाई पनि पिउने प्यास उत्तिकै थियो । चियाको दुबै कपमा उस्ले चाइनिज रक्सी खन्यायो । पाल बाहिर अँध्यारो पार्दै हिउँ पर्दै थियो । चाइनिज रक्सी एकएक कप नसक्दै उनिहरुमा ताप बढ्न थाल्यो । टिनको चुलोमा गुईंठा निभेको पनि पत्तो भएन ।
चुलोको दुइतिर याकको भारी मुनि ओछ्याउने गलैंचा ओछ्याएर उनीहरु बस्दै रक्सी थप्दै गए । दिनभरिको थकाइ अनि कडा रक्सिको कारण उनिहरुलाई कति पिउने भन्ने हेक्का नै भएन ।
पिउँदै गए । थप्दै गए । बोली लर्बनी थाल्यो । दुबै एक्लै बोल्न थाले । केहीबेरमा उनीहरु गलैंचामा पल्टिए । हातखुट्टा जथाभावी फाल्दा चियाको कित्ली पानीको ग्यालिन रक्सिको ग्यालिन घोप्टिएको समेत थाहा भएन ।
लेकमा हिउँ बाक्लिदै थियो । याकहरु आफ्नै रौंमा टाउको लुकाएर हिउँ छेल्दै थिए । नजिक रहेका सबै पालहरुमा मान्छे निदाइसकेका थिए । अँध्यारो रात बाक्लो हिमपातले निर्मम चिसो थियो ।
आधारात बितिसकेको थियो ।
ङिमालाई रक्सिले छोडेझैं भयो । बेस्सरी तिर्खा लाग्यो । मुख घाँटी एकदम सुक्खा । लुन्डुपलाई बोलाउन खोज्यो । बोली नै आएन । उठ्न खोज्यो । उठ्नै सकेन ।डङ्ग्रङ्ग फेरि गलैचाछेउ पछारियो । हात खुट्टा सबैले काम नगरेको झैँ भयो । उसले सुतेरै चियाको कित्ली छाम्यो हल्लायो । रित्तै थियो । पानीको ग्यालिन हल्लायो । दुई घुट्की पानी रहेछ । मुखै जोडेर पियो । आगोमा पानीको छिटा छर्के जस्तो मात्रै भयो । उ बोल्न सम्म नसक्ने भयो । मुख देखि घाँटी स्वासनली सुक्दै गयो । उस्ले अँध्यारोमा आँखा च्यातेर हेर्यो । कालो देख्न सकेन । निला बेलुन फुलेको जस्तो देख्न थाल्यो वरिपरि । हातखुट्टा छाती पेट सबै पोले झैँ भयो । बाहिर हिउँको थुप्रो थियो उ बाहिर सम्म पुग्न समेत सकेन । एकदुइ हात परको साथिलाई बोलाउन र छुन हल्लाउन समेत सकेन । धेरैबेरपछि उसलाई अलिकति हातगोडा र टाउको चिसो भए झैँ लाग्यो । तनक्क जिउ तन्कायो । त्यसपछि उसलाई तिर्खा लागेकी थाहै भएन ।
बिहान हुँदा वरिपरि हिउँनै हिउँ थियो । हिमपात निरन्तर थियो । मान्छेहरुलाई आफ्नो याक भारी पाल मिलाउन हतार भयो । छिटो लेक काटेर नझरे हिउँले बाटो छेकिन्थ्यो । सबैजना हतार हतारमा भारी कसेर झरे ।
गाउँ पुगे पछि साँङ्मुले सोधी , ‘लुन्डुप ङिमा काँ ले ?’
गाउँलेहरूले पछि आउँदै छन् भन्ने आसयको उत्तर दिए । तर कसैले पछि आएको देखेका थिएनन् ।
बाटो हेर्दाहेर्दै एकहप्ता बित्यो । गाउँमा खोज तलास भयो । दुइजना चाइनाबाट नफर्केको हुँदा खोज्न जाने निर्णय भयो । तिनजना युवाहरु घोटामा काँटी कसेर निस्के ।
०००
लेकमा हिउँ पग्ली सकेको थियो । पाल भित्र दुई वटा मान्छे लडिरहेका थिए । नजिक पुगेपछि आएको गन्धले युवाहरू झसङ्ग भए । दुबैको सास फुत्केको एकहप्ता भइसकेको थियो ।
०००
घोडामाथि तेस्र्याएर निर्जीव मान्छे ल्याएको हेर्न गाउँलेको घुइँचो थियो साँगुरो बाटोभरी ।











