नेपालगन्ज : नेपालगन्जका युवा प्रतिभा नवराज सुवेदीले यस वर्षको साधना म्युजिक अवार्ड जित्न सफल भएका छन् । ‘अग्रजलाई सम्मान नवलाई प्रोत्साहन, कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान’ भन्ने नारासहित सामना म्युजिक क्रियशनले राष्ट्रिय साधना म्युजिक अवार्ड २०७६ वितरण गरेको हो ।
गीतसंगीतका ३८ विधामा देशभरका १९० जना कलाकारले अवार्डमा प्रतिस्पर्धा गरेका थिए । नृत्य निर्देशकमा मोफसलमा ख्याती कमाइरहेका नेपालगन्जका युवा प्रतिभा सुवेदीले ‘तिमीसँग मेरो खुशी’ बोलको म्युजिक भिडियोमा नवप्रतिभा तर्फको उत्कृष्ठ ५ निर्देशकमा छनोट परेका थिए । ‘सबैभन्दा उत्कृष्ठ निर्देशकका रुपमा सबैलाई उछिन्दै प्रथम हुन सफल भएँ,’ सोमवार अवार्ड थापेपछि उत्साहित सुवेदीले दैनिक नेपालगन्जसँग भने, ‘नेपालगन्जमैं बसेर अझ धेरै गर्न सकिन्छ भन्ने सन्देश दिन सफल भएको छु ।’
सुवेदीले उत्कृष्ठ ५ मा पर्ने राजन महर्जन, दीपेन्द्र भण्डारी, प्रकाश क्षेत्री र निशान एसकेलाई पछाडी पारेर अवार्ड चुम्न सफल भएका थिए । नेपालगन्जबाट संघर्ष गर्दै हाल राजधानी काठमाडौंमा क्रियाशील अर्का प्रतिभा केशव बढुले सर्वाेत्कृष्ठ एरेन्जरमा राष्ट्रिय साधना म्युजिक अवार्ड २०७६ पाउन सफल भएका छन् ।
अवार्डमा ५० प्रतिशत भोटिङ र ५० प्रतिशत जुरीको मतका आधारमा विजेता छनोट गरिएको हो । अवार्डमा लोकदोहोरी आधुनिक, पप र विधामा देशभरका कलाकर्मीहरुले सहभागी जनाएका थिए ।