नयाँ सोच

सिर्जन लम्साल

 
अयोध्याप्रसादले अत्याधुनिक स्तरको नयाँ भवन निर्माण गर्यो । त्यो भवन सबै किसिमका अत्याधुनिक सुविधाहरुले सम्पन्न थियो । भवन निर्माणका सबै बाहिरी भित्री कामहरु सम्पन्न भएर रङ्गरोगन समेत भैसकेपछि उसले सोच्यो – नवनिर्मित भवन अत्याधुनिक स्तरको सुन्दर र आकर्षक भएर मात्र त भएन नि ! त्यसमा रहने बस्ने र सजाइने वस्तुहरु पनि त स्तरीय हुन पर्यो, नत्र त भवनको शोभा नै विग्रन्छ ।

 
नयाँ सोच अनुसार उसले पुरानो घरमा प्रयोग भैरहेका सामानहरु फाल्दै गयो । उसले पुरानो पलङ्ग, डसना, सिरक फाल्यो । टेबुल, कुर्सी, दराज, सोफा जस्ता फर्निचरहरु फाल्यो । पुराना दराजहरुमा रहेका लत्ता, कपडा, पोशाक अािद फाल्यो । भान्छामा रहेका पुराना भाँडाकुँडाहरु फाल्यो । पुरानो र्याकमा रहेका पुस्तक पत्रिकाहरु कबाडीलाई बेच्यो एवम् रीतले नयाँ भवनमा राख्न शोभा नदिने खालका यावत वस्तुहरु हटाएर नयाँ भवन सुहाउँदा वस्तुहरु जोर्यो र यथास्थानमा सजायो ।
अब उसले पछाडिको एउटा कोटामा बसेर खोकि रहेको वृद्ध बाउ र अर्थराइटिस् रोगले ग्रस्त वृद्ध आमालाई कता फाल्ने वा थन्क्याउने होला भनेर गम्भीरतापूर्वक सोचिरहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया